आइ लभ यु, गाबो


 प्रिय गाबो,
तिम्री आमा मार्खेज र तिम्रा पिता गार्सियालाई थाहा थियो कि थिएन कि उनीहरूका छोरा गाब्रियलसितै उनीहरू अमर हुनेछन्। मातापिताको नामलाई समेत आफूमा जोडेर तिमीले उनीहरूको इतिहासलाई जिउँदो बनायौ। विश्वले तिमीलाई बाइबलपछि सर्वाधिक पढ्ने कृतिका लेखक भन्छन् रे। म तिम्रै म्याजिक रियलिज्मको सिकार हुन्छु। तिम्रो यो अथाहा यथार्थ त मेरो कल्पनाले मलाई पनि स्वप्नशील बनाउँछ। तिम्रो बाटो फरक थियो। त्यो भाषाको बाटो थियो। कलाको बाटो थियो। शिल्पको बाटो थियो। यथार्थ र त्यही पृथ्वीको थियो, जहाँ इश्वर र भक्त, मालिक र नोकर, पुरूष र स्त्री, नेता र जनता, नागरिक र सरकार, कम्पनी र उपभोक्ता बस्छन्। त्यसलाई केलाउने विचार तिम्रो आफ्नो थियो। 
  तिमीले संकटमा बोल्ने भाषा निकाल्यौ। समयको क्रुरतालाई, जटिलतालाई, अन्योलतालाई, विषमतालाई त्यही भाषाले लेख्यौ। तिम्रा समकालीन धेरै लेखक रोमान्स लेख्दै गर्दा तिमी भने साम्राज्यवादको विरुद्धमा बोलिरहेका थियौ। गाबो, मलाई तिम्रो यही प्रतिबद्धता खुब मन पर्छ। तिमी मेरो प्रिय साथी हौ, यो कुरा मलाई मात्र थाहा छ गाबो।
तिम्रा चर्चित पुस्तक ‘वन हन्ड्रेट इयर्स अफ सोलिच्युड’ बारे त सप्पैले जान्दछन्। न्यूयोर्क टाइम्सले भनेछ, , बुक अफ जेनेसिसपछि ‘वन हन्ड्रेट इयर्स अफ सोलिच्युड’ साहित्यको यस्तो पहिलो कृति हो जसलाई संसारका सम्पूर्ण मानिसले पढ्नुपर्छ।' अफसोस गाबो मै मात्र त्यो संसारको यस्तो मानिस हँ, जसले तिम्रो यो किताब पढेको छैन। तर मलाई तिमीबारे धेरै कुरा थाहा छ।
कोलम्बिया गृहयुद्ध (1940-50) ले खाएका  तीन लाख भन्दा धेर मानिसका मृत्युले तिमीलाई ‘लिभिङ टु टेल’ लेख्न कर लायो। मानिसले पाएका पीडाबाट नै तिमीले शब्द भेट्यौ। मानिसहरूको मनोविज्ञान र सत्ताको मनोविज्ञानकोबीचमा बसेर यस्तो भाषामा कथा भन्यौ कि तिम्रो विचार, लडाईँ र प्रतिरोध केलाउन निक्कै समय लाग्यो संसारलाई। तिम्रा त शब्दहरू नै तिम्रा सिपाही थिए। तिम्रो विचार चाँही उनीहरूका नाइके थिए। युरोपीय अतिवादी विचारक र आलोचकले तिमीलाई कल्पनामा रमाउने लेखकमा सिमित गरे पनि, पश्चिमी विचारले तिमीलाई एउटा कित्तामा राखे पनि हामी पढ्नेहरू जान्दछौं, कि तिम्रा लेखनीको खास उद्देश्य थियो।
द्वन्द्वलाई हेर्ने तिम्रो आफ्नो आँखा थियो। त्यसले देखेका र विचारले छरेका तिम्रा हरेक शब्द अजम्बरी छन्। यतिखेर तिमी छैनौ, म तिम्रो कथा अनुवाद गरिरहेको छु। त्यो क्रुर मेयरलाई नलट्याई  दाँत निकालेर चिकित्सकले दिएको पीडा वास्तवमा प्रतिरोधको अर्को भाषा थियो।
अब तिमीले हाम्रा बीसजना मारिएका मानिसको मूल्य चुकाउनुपर्छ।'
तिम्रो यो कथाको सर्वाधिक सुन्दर वाक्य यही हो। यति वाक्यले तिम्रो कथाशक्ति बोक्छ। संसारका अनेकौं फ्यानहरूमा म पनि पर्छु कि पर्दिन थाहा छैन तर तिम्रा कथाहरूले मलाई लट्ठ पार्छ। तिम्रा कृतिहरू धेर पढेको छैन मैले। जति पढेको छु इमान्दारिसित पढेको छु।
1928 मा युनाइटेड फ्रुट कम्पनीमा भएको हज्जारौं श्रमिकहरूको मृत्युमाथि पनि तिमीले लेख्यौ। अमेरिकाले भियतनामदेखि लिएर चिलीसम्म गरेको हस्तक्षेपको पनि विरोध गर्यौ। तिमीले त्यसको साटो 30 वर्षसम्म भिसा पाएनौ। तरै पनि तिम्रो विचार खस्किएन। फिडेल कास्त्रोसित तिम्रो मित्रतासम्मले पनि जल्यो अमेरिका। नाथु अमेरिका मित्रतासित पनि डराउँदोरहेछ, है गाबो? यतिखेर तिमीले मेरो ‘काफरे अमेरिका’ पढेको भए, के भन्थ्यौ होला। हा हा हा।
...
तिमीलाई थाहा छैन गाबो, भारतजस्तो संघिय देशमा अल्पसंख्यक रहेको नोपाली भाषी गोर्खाहरूले के लेखिरहेका छन्। यताका ठूलाभन्दा पनि ठूला र नेपाली साहित्यकै शिखर मानिने लेखकहरू जिल्ला र भाषा काटेर बाहिर पुग्नै सकेका छैनन्। उनीहरूले तिमी र तिम्रा देशका नागरिकसम्म हाम्रा कुरा पुराउनै सकेनन्। मलाई थाहा छ पुगेको भए तिमी खित्का छोडेर हाँस्नेथ्यौ। उनीहरूको स्वाङ र ढोङ देखेर निराश हुनेथ्यौ। मलाई थाहा छ, मानिस संकटमा परेको बेला तिमीलाई निद्रा लाग्दैन। हाम्रा धेरै लेखकहरू यस्तो बेला मस्त निदाउँछन्। तर गाबो, यस्ता लेखकहरू पनि छन् , जो निदाइरहेको नाटक गर्ने समाज उठ्दैन भनेर जान्दाजान्दै पनि पानी छम्किबस्छन्। किन भने उनीहरूलाई थाहा छ, एक दिन मानिसहरू साँच्ची नै व्यँझिनेछन् अनि उनीहरूलाई सास फेर्न बञ्चित गराइएको हावा माग्नेछन्।
...
तिम्रो म्याजिक रियलिज्म यताका लेखकहरू खुब हल्ला गरेर पढ्छन् र आनन्द मान्छन्।  तिमीले भनेको जादुई यथार्थवाद यता फेसन छ। शाब्दिक चाटुकारिता र भाषिक जादु देखाएर गतिलो लेखक भएँ भन्ने विश्वासमा छन्। उनीहरूको ‘गुदी’ सुकेको छ। के गर्ने गाबो, कुनै पनि वादपछिल्तिरको तत्कालीन प्रयोजनको ठीक हेक्का नराखी त्यसलाई अर्को भूगोलमा छिराएर इतिहास बनाउने होडलाई उनीहरू आलोचना मान्छन् र लेखकीय धर्म मान्छन्, नयाँ कुरा मान्छन्। सप्पै नयाँको खोजमा छन् नेपाली साहित्यमा तर नयाँ केही छैन।
 तिमी नै सोध न, नेपालीमा पोष्टमर्डनिज्म छिराउने पहिलो लेखक को हुन्?
भो गाबो,  नसोधौं, लडाईँ शुरू हुन्छ। वास्तवमा उनीहरूलाई कसैले छिराएर पोष्टमर्डनिज्म छिर्दैन भन्ने कुरा नै थाहा छैन। तिम्रो म्याजिक निक्कै चर्चामा छ गाबो, रियलिज्मभन्दा पनि धेर। यहीँबाट तिमीले नेपाली साहित्यको गुदी थाहा पाउन सक्छौ। वास्तवमा कल्पना र यथार्थ मिसाएर तिमीले समाजलाई दिन खोजेको विचारतिर कसैले हेर्दैनन्। यता कलाका खुब कुरा हुन्छ गाबो। वास्तवमा विचारलाई समाजमा पुराउन सहज पार्ने माध्यम कला हो भनेर जान्ने थोरै छन्। टेक्निकको खाँचो कतिबेला पर्छ भन्ने कुरा पनि धेरैलाई थाहा हुन्न यता त। यसकारण म तिमीले भनेको कुरा साथीहरूलाई सुनाइबस्छुः
तिमी भन्थ्यौ, ‘संसार, जसले मेरो लेखनलाई शक्तिशाली मान्छन्, त्यो मेरो कल्पना होइन। वास्तवमा ल्याटिन अमेरिकी जीवनको नाङ्गो सत्य हो। मेरो यो डरलाग्दो रोमाञ्चकारी सत्यलाई प्रस्तुत गर्नुमा केवल एक जिम्मेवार दर्शकको भूमिका थियो। म जे देखिरहेको छु, जे सुनिरहेको छु, जो अनुभूत गरिरहेको छु त्यसलाई इमान्दारीसित संसारसामु राखिदिन्छु। म त ल्याटिन अमेरिकाबाहिरका मानिसहरूको निम्ति केवल दोभासे हुँ।’ 
गाबो, तिमीलाई सुटुक्क भन्छु, हाम्राहरूले त बाहिरका कुरा भित्र हुलेर डङ्का पिट्छन्। त्यहीँ भइरहेको, देखिरहेको कुरालाई अनुभूत गरेर, त्यो सङ्कटबाट बाहिर निस्किने बाटो खन्दैनन्। बरू खन्नेहरूको बाटो छेक्छन्। के गर्ने गाबो, भनेर साध्य छैन।
तिम्रो जादूईलाई केवल टेक्निकको निम्ति टेक्निक मानेर त्यसलाई फलो गर्नेहरूदेखि मलाई दिक्क लाग्छ। तिम्रो ‘समय’ र त्यो समयको ‘यथार्थ’ ल्याटिन अमेरिकाको यथार्थ थियो जो यति विकट, विषम अनि जादुई थियो, जसलाई बुझ्न नागिरकहरूको बसको कुरा थिएन। तिमीले टाइमलाई टिपेर, यथार्थलाई टिपेर जस्ताको तस्तै सुनाएनौ, तिमीलाई बोजुले कथा सुनाउने स्टाइलमा सुनायौ। बोजुलाई लाग्थ्यो, सानो केटोको मनमा पस्ने, त्यो अबोध मान्छेलाई भित्रसम्म हल्लाउने कथा सपाटरूपले भनेर हुँदैन। वास्तवमा तिम्री बोजु मनोवैज्ञानिक थिइन्। तिम्री बोजुले दिमाग लगाइन् र यथार्थहरूलाई भूतप्रेत, राजा, महाराजा, पुर्खासित जोडेर सुनाइन्। तिमीले बोजुबाट पाएको सम्पति त्यही ‘जादुई यथार्थ’ थियो। त्यसैलाई संसारले ‘वाद’-कोरूपमा चर्चा गर्छ। तिमीले ल्याटिन अमेरिकाको अन्योलता, सङ्कट, विषमता र बुझ्नै नसक्ने शासनबारे बताउन त्यसको प्रयोग गर्यौ तर त्यसको सिको यता धेरैले फेसनको लागि गर्छन्।
अनि? लाग्दैन त दिक्क? म चिङ्नाको छटपट्टिसित कसलाई के सरोकार?
त्यसकारण पत्रकारितातिर ध्यान दिन्छु। यतिखेर पनि मलाई तिम्रो सम्झना आउँछ। मलाई थाहा छ, जब 1 जनवरी, 1959 को दिन तिमी कलम बोकेर कास्त्रोको क्रान्तिलाई लेख्न हवाना पसेका थियौ, तिमीले थाहा पाएका थियौ सुप्तावस्थामा रहेको सामन्ति-पुँजीवादी ल्याटिन अमेरिकाको निम्ति कास्त्रो क्रान्ति नै सर्वव्याधिहारक थियो। कोलम्बियाको फौजी शासनले गरेको प्रेस सेन्सरसीपको विरोध त गरेकै थियौ कर्फ्यु र जेल यातनामाथि पनि तिम्रो कलम चलेको थियो। यही राज्य हिंसाले तिम्रो ‘इभिल आवर’ निस्कियो। 
त्यसकारण त तिमी भन्थ्यौ, ‘साँचो लेखकले केवल साँचो लेख्छ।
सोसलिस्टकोरूपमा तिमीले निभाएका जिम्मेवारी वास्तवमा एक नागरिकको थियो। तिमी के जान्दथ्यौ भने नागरिक समाजलाई सत्ता र केन्द्रले आफ्नो स्वार्थको निम्ति प्रयोग गरिरहेका हुन्छन्। तिमी त्यो स्वार्थ खोजेर निकाल्थ्यौ र संसारलाई देखाइदिन्थ्यौ। मलाई कोलम्बिया शासक पिनिल्लाले तिम्रो खबर कागज च्यातेको कुरा सम्झना भइबस्छ। 
कोलम्बियाको नौसेनाको मालवाहक जहाज डुब्यो। धेरैको मृत्यु भयो। जब तिम्रो 14 वटा रिपोर्ट निस्कियो तब शासकीय जाँच समितिले ज्वलनशील पदार्थहरूको प्याकेजिङ ठिकसित नगरेकोले यो दुर्घटना भएको स्वीकार गर्यो। हो, तत्कालीन तानाशाह तथा राष्ट्रपति गुस्तावो पिनिल्लाले तिम्रो खबर कागज नै बन्द गरिदियो। 
तिम्रो पत्रकारी लेखन पनि उस्तै इमान्दार र जिम्मेवार थियो अनि आख्यान लेखन पनि। गाबो, हामी यही इमान्दार र जिम्मेवार लेखकहरू अहिले सामुहिक प्रतिबद्धतासित अघि जाऊँ भनिरहेका छौं। हेर त हामी कत्ति ढिलो। हुनु त तिमीले नोबेल पाउँदा म चारवर्षको थिएँ। तर त्यतिखेर मैले तिम्रो जस्तो बोजु पाइनँ। हो गाबो, मलाई कहिल्यै बोजुले कथा सुनाइनन्। सम्झिन्छु तिम्रो बोजु, जसले तिमीलाई डरलाग्दो भूतको कथा सुनाउथिन्। मानौं कि तिम्रो बोजु भूतहरूका साथी हुन्। तिमीलाई लाग्थ्यो कि भूतहरू, चुडेंलहरू, पिसाचहरू यही संसारमा छन् अनि बोजु उनीहरूको समाजका सदस्य हुन्। वास्तवमा त्यस्तो थिएन भन्ने ज्ञान जब तिमीलाई भयो तब कल्पना र यथार्थबीचको सम्बन्ध थाहा पायौ। तिम्रो म्याजिक रियलिज्मको कुरा भारत-नेपालका नेपाली लेखकहरू खुब गर्छन्। 
मलाई उनीहरू पनि तिम्री बोजु झैं लाग्छ।
हुन त तिम्रो जादुई यथार्थवाद बिसौं शताब्दीको शुरुवाती युरोपीय समाजको विसङ्गति र विरोधाभाषहरूले जन्माएको थियो।  कुनै पनि कुरालाई परिभाषित र श्रेणीबद्ध गर्ने युरोपीय मानसिकताको सिकारमा तिम्रो लेखन पनि परेकै हो। 
‘मलाई अचम्म लाग्छ कि मेरोबारेमा कुरा गर्नेहरूले धेरै मेरो कल्पनाशीलताबारे गरेका छन्। तर वास्तवमा मेरो सम्पूर्ण लेखनमा एकै पङ्कति यस्ता छैनन्, जो वास्तविकतासित सम्बन्धित नहोस्’, तिमी नै भन्थ्यौ, ‘समस्या के छ भने क्यारिबियाई सत्य अतिरेकी कल्पनाहरूसित मिल्दोजुल्दो छ।’
हो, तिमी प्राक-ऐतिहासिक परिस्थिति रहेको घनघोर जङ्गल अनि तटीय क्षेत्रबारे लेख्थ्यौ जो निरन्तर आधुनिक समाजको अतिक्रमणको सिकार भइरहेको छ। आदिवासी र  तिनका समाज र संस्कृति, परम्परा र मान्यता देखि लिएर सरकारले प्रेस विज्ञप्ति मार्फत बोलेको झुटसम्म,  शासकले आफ्नो फाइदाको निम्ति खेलेको कुटनीतिदेखि लिएर दुर्घटना र आपदसम्मलाई लेख्थ्यौ।  बस, तिम्रो लेख्ने स्टाइल फरक थियो गाबो। लेख्न त त्यही कुरा लेख्थ्यौ जो अघिल्ला लेख्कहरूले लेखे। त्यही समाज लेख्थ्यौ जो उनीहरूले पनि लेखे। फरक यति थियो कि तिमी इमान्दार र जिम्मेवार थियौ।  तिम्रो इमान्दारितालाई सलाम गाबो।
तिमीझैं उर्जाशील र प्रतिबद्ध एक नेपाली लेखक जसले विश्वलाई आफ्नो ‘कथा’ सुनाउन्, यस्तो कल्पना गर्छु म। हुँदै नभएको र हुँदैनहुने यस्तो नेपाली लेखक जो तिमी झैं विश्वलाई वैचारिक कसरत दिँदै हिँडुन्, के सम्भव होला?
तिम्रो जादुई यथार्थवाद यो तनाउमा खुब काम लाग्दोरहेछ। आइ लभ यु, गाबो।


  • कथा


यस्तै कुनै दिन 


  • गाब्रिएल गार्सिया मार्खेज
  • अनुवाद - मनोज बोगटी


सोमबार बिहान। न घाम लाग्यो न पानी पर्यो। बिहानै झटपट बिम्झिने औरेलियो एस्कोवरले, जो दाँतका बिना डिग्रिवाला डाक्टर थिए, छ बजी नै क्लिनिक खोल्यो।  प्लास्टिकको आल्मारीबाट नक्कली दाँत निकाल्यो। केही औजारहरूसितै टेबलमा सजायो।
कलर नभएको र सुनौलो टाँक भएको सर्ट लगाएको त्यो मान्छे लुते थियो। पेन्टलाई ग्यालिसले अल्झाएको। मनमा के भाव आउँथ्यो, अनुहारको भङ्गी उस्तै हुन्थ्यो।
औजारहरू टेबलमा व्यवस्थित गरेपछि उसले ड्रीललाई चौकी सामुन्ने तान्यो अनि नक्कली दाँतहरू चम्काउन थाल्यो। उसलाई काममा ध्यान थियो कि थिएन किन भने ड्रिललाई खुट्टाले चलाइरहेको थियो। जब कि यसो नगर्नुपर्ने हो। 
आठ बजेको थियो होला खिड्कीतिर हेर्यो। उसलाई त्यता हेर्छुजस्तो पनि लागेको थिएन होला। हेर्दा देख्यो, एउटा गिद्ध घरको धुरीमा बसेर घाम तापिरहेको छ। उसलाई लाग्दैथियो दिउँसोको खाना खाएपछि पानी पो पर्छ कि क्या हौ। एघार बर्से छोरा कराएपछि ध्यान भङ्ग भयो
'ए बा।'
'के हौ?'
'मेयरले भनेको, तपाईँले उसको दाँत निकाल्दिने रे?'
'बा छैन भन्दे।'
हातमा सुनको दाँत चम्किरहेको थियो। समातेको हात पर लगेर यस्सो हेर्यो, टाउको घुमाएर। मुख चुच्चो पार्यो। निधार खुम्चायो। 
 वेटिङरुमबाट फेरि करायो छोरा-
'उसले भन्दैछन्, तपाईँ यही हुनुहुन्छ रे। उसले तपाईँ बोलेको सुनिराछ।'
तरै पनि दाँतचिकित्सकले दाँत जाँच जारी राख्यो। चम्केका अरु दाँतहरूको बगलमा त्यसलाई राखेपछि भन्यो-
‘ह्या...सुनिबसोस्।'
उ फेरि ड्रिल चलाउन थाल्यो। गत्ताको डिब्बाबाट, त्यहाँ त्यस्तो सामान राख्थ्यो, जो काम गर्न बाँकी छ, केही दाँत निकाले अनि सुन चम्काउन थाले।
'ए बा हौ।'
'के भो फेरि?'
उसको हावभाव उस्तै थियो।
'उसले भन्दैछ, दाँत निकाल्नु भएन भने तपाईँलाई गोली ठोक्ने रे।'
आत्तिएन। चुपचापसित ड्रिलमा पाइडल लाउन छोड्यो। बेञ्चीलाई पर हुत्यायो। टेबलमुनिको दराज तान्यो। त्यहाँ एउटा रिबोल्भर थियो। 
'ल त,' उसले भन्यो, ‘त्यसलाई भनिदे आएर हानोस् गोली मलाई।।'
बेञ्ची घुमाएर दैलोको सोझो पार्यो। हात दराजमा लगायो।  मेयर दैलोमा देखापर्यो। 
उसले गालाको देब्रेतिर त दाह्री खुर्किएको थियो तर दाहिनेतिर भने फुल्लिएको र दुखाईको कारण त्यत्तिकै थियो। दन्त चिकित्सकले उसको आँखामा धेरैदिनको अनिँदो र निराशा देख्यो। दराज बन्द गर्यो र भन्यो-
‘बस।'
'गुड मर्निङ,' मेयरले भन्यो।
' मर्निङ,' दन्तचिकित्सकले फर्कायो।
जब औजारहरू उम्लिरहेको थियो तब मेयरले टाउको बेञ्चीको सिरानी लगायो। ढुक्क लागेजस्तो सास फेरिरहेको थियो। वास्तवमा त्यो थोत्रे क्लिनिक थियो। पुरानो काठको बेञ्ची, खुट्टाले चल्ने ड्रिल। माटाका सानासाना डिब्बा। त्यही सजाएको आल्मारी। बेञ्चीको छेउमा एउटा खिड्की। जहाँ काँधसम्म आउने पर्दा। जब उसले दन्तचिकित्सक आइरहेको थाहा पायो तब मुट्ठी बाँधेर मुख खोल्यो।
औरेलियो एस्कोवरले टाउको उज्यालोतिर घुमायो। संक्रमित दाँत हेरेपछि उसले औंलीले मुख बन्द गरिदियो। 
'यो काम नलट्याई गर्नुपर्छ।' -भन्यो।
'किन?'
'भित्र घाउ छ ।'
मेयरले उसको आँखामा हेर्यो। 
 'ल, ठीक छ।,' उसले भन्यो। भनिसकेर मुस्काउने कोशिश पनि गर्यो।
दन्त चिकित्सक भने मुस्काएन। हतारो नगरी अहिले पनि प्रयोग गरिएका सामान काम गर्ने टेबलमा ल्याइरहेको थियो। एउटा चिसो चिम्टाले पक्रिएर पानीबाट निकाल्यो। त्यसपछि थुकदान जुत्ताको नोकले पर ठेल्यो अनि वाशबेसिनमा हात धुन गयो। यी सबै मेयरलाई नहेरी गरिरहेको थियो उ। तर उसले जे जे गर्थ्यो, मेयर त्यही त्यही झिमिक नगरी हेर्थ्यो। 
घाउ दाह्रीको भित्रिभागमा थियो। दन्त चिकित्सकले खुट्टा फैलाएर चिम्टीले दाँत पक्रियो। मेयर बेञ्चीलाई जतिसक्दो जोरले पक्रिएर बसेको थियो। उसले गिजामा खालीपन अनुभव गर्यो। तर बोलेन। दन्त चिकित्सकले टाउको यता उता हल्लायो अनि कुनै विद्वेष कटु कोमलतासित भन्यो-
अब तिमीले हाम्रा बीसजना मारिएका मानिसको मूल्य चुकाउनुपर्छ।'
मेयरले मुखभित्र हड्डि हल्लिएको अनुभव गर्यो अनि उसको आँखा आँशुले भरियो। तर जबसम्म उसले सास फेरेन जबसम्म उसलाई दाँत निस्किएको थाहा भएन। आँशुबिचबाट उसले दन्त चिकित्सकलाई देख्यो। दुखाईको मारले उ यति निरिह देखिन्थ्यो कि उसलाई पछिल्लो पाँच रातको यातना सम्झनासमेत आउन सकेन।
थुकदानतिर झुकेको, पसिनाले लथपथ, स्याँस्याँ हुँदै उसले ज्याकेटको बटन खोल्यो अनि पेन्टको गोजीबाट रुमाल निकाल्न मात्र के लागेको थियो दन्त चिकित्सकले उसलाई सफा लुगा दियो।
'आँशु पुछ।' उसले भन्यो।
मेयरले त्यसै गर्यो। उ काँपिरहेको थियो। जब दन्त चिकित्सक हात धोइरहेको थियो उसले जिर्ण-शिर्ण छाना, धुलो लागेको माकुराको अण्डा र कीरा फट्याङ्ग्राले भरिएको माकुराको जालो देख्यो। हात पुछ्दै दन्तचिकित्सक आयो।
‘गएर सुत,’ उसले भन्यो, ‘अनि नूनपानीले कुला गर्नु।’
मेयर उठ्यो अनि अनौपचारिक फौजी सलामी दिएर बिदा लिएर, ज्याकेटको बटन नलगाई दैलोतिर लाग्यो
'बिल पठाउनु,' उसले भन्यो।
'तिम्रो कि शहरको नाममा?'
मेयरले उतिर हेर्दै हेरेन। उसले दैलो बन्द गर्यो अनि पर्दापछिबाट भन्यो-
 ‘एकै कुरा हो।'



No comments:

Post a Comment