हल्लिरहेको म

    सुन्दर कविता लेख्दै गरेका कविमित्र निमा शेर्पा 27 जुनको दिन कालेबुङमा देखा परे। कविताकुरामा कफिकप रित्तियो। कोरियन युवाहरूले नेपाल आएर तयार पारेको ‘चिलड्रेन्स अफ गड’ नामक डोकुमेेन्ट्रीले कलात्मकरुपले टिपेको आर्यघाटमा जीवन गुजार्नेहरूको पीडाले हामीलाई कसरी हल्लायो, कुराको चुरो थियो। कसैले पनि त्यो डोकुमेन्ट्री हेरे लाशबाट खोलिएको लुगा अनि चढाइएका खानाको निम्ति गरिबबीच हुनेे संघर्षले नेपालको वास्तविक अनुहार दर्शकतिर फर्काइरहनेछ।
त्यसले हेर्नेलाई गज्जबले नै हल्लाएर राख्नेछ।

...

 अहिले नेपालले पुस्तक प्रकाशन र लेखनमा मारेको फड्‌को यता दार्जीलिङसम्म आइपुगेको छ। त्यताको पुस्तक यता आउँदा नेरु भएर आउँदैन, भारु भएर आउँछ।  किताबको कुरा आउँदा हामी पुस्तक दोकान नै पुगेका थियौं। कृष्ण धरावासीका निबन्धहरू जति जम्मै, नयनराज पाण्डेको ‘लू’ र पुण्यप्रसाद प्रसाईको ‘सार्त्र’ मैले टिपें। निमाले टिपे ‘लू’ र ‘पाण्डुलिपि’। हामीले भारु तिर्‍यौं। नेपालका पुस्तकलाई हामीले नेपाली मूल्य कहिल्यै तिर्न पाएनौं। स्वाद लाग्छ सोंच्दा वेस्वाद भन्दा धेर। हज्जारौं  भारु खर्च गरिरहेकाछौं नेपाली पुस्तकमा। यो यताको यस्तो बाध्यता हो, जसलाई पन्साउन मिल्दैन। विरोध गर्‍यो कि किताब आउँदैन।  धेरै पैसा तिरौं र किताब पढौं-संस्कार उठाउँदैछौं।
यो संस्कारले यताका हामी पढन्तेहरूलाई हल्लाएरै राखेको छ।

...

    मैले ‘लू’ र ‘सार्त्र’ व्यागमा हालेँ र सिलगढी हानिएँ। चिसो कालेबुङ पछिल्तिर छोडिँदै जॉंदा सिलगडीको तातो चर्किँदै गयो। कवि राजा पुनियानी सिलगडीमा मलाई पर्खिरहेका छन्‌। कवि मनप्रसाद सुब्बालाई एनजेपीमा भेट्‌नेछौं।  आदिकवि भानुभक्त आचार्यको 198 औं जन्म जयन्ती र परदेशी साहित्यिक पत्रिकाको 15 वर्ष पुगेको अवसरमा अगमसिंह गिरी संस्थान सलुवा र नेपाली वाणिज्यदूतावास कतकत्ताले बोलाएको सम्मान कार्यक्रममा भोलिपल्ट पुग्नु छ। 28 जूनको सॉंढेेआठबजी राती हामी चिम्टामा लाब्रेजस्तो कञ्चनकन्या चढिरहेका थियौं। सुब्बा कविको नाक रातो थियो। गरम चढेर।
रेलले हल्लाउँदै झार्दै थियो सुब्बा कविको नाकको टुप्पामा आएका पसिनाका थोपाहरू।
...

इलिट बुद्धिजीवीहरूको उपस्थिति र सत्ताचेतना के हो, के हो उसको भुईँ? सार्त्रले बुझाउँदै थिए मलाई। दार्जीलिङमा इलिट बुद्धिजीवीहरू जुन राजनैतिक केन्द्र स्थापनमा छन्‌, त्यो उसको सुरक्षा घेरा बन्दैथियो। म ती बुद्धिजीवीहरूको महत्वाकांक्षा फुटाएर उसको बुद्धितत्व बुझ्दै थिएँ। जातीय एकिकरण र अर्थनैतिक रुपान्तरणमा उनीहरूले खेलेको उल्टो नाटक हेर्दैथिएँ। व्यागबाट पुण्यप्रसाद प्रसाईँको ‘सार्त्र’ नामक वायोग्राफी निकालेँ। रेलको छुकछुकमा हल्लिरहेको  मैले अक्षर ठिम्याउने प्रयास गर्दैगर्दा राजा पुनियानीले ‘के हो?’ सोधे। त्यसदिन वास्तवमा हाम्रो यात्रा सार्त्रमय थियो। किन भने राजा पुनियानीले पनि व्यागमा सार्त्र नै बोकेका  थिए अनि मनप्रसाद सुब्बाले पनि। राजा पुनियानीले पनि बायोग्राफी नै बोकेका थिए तर कवि मनप्रसाद सुब्बाले भने सार्त्रको कविता। तिनको सार्त्र भने बिजुलीको बील तिर्न कार्यालयमा उभिएका थिए। आत्मनिर्णयको अधिकारको निम्ति भारतीय नेपाली भाषीहरूले देखेको स्वतन्त्रता (मुक्ति) को सपना सधैँ तुहिँदै आइरहेको छ। सार्त्रले आम नागरिकलाई प्रतिनिधित्व गर्ने बुद्दिजीवीको ‘भुईँ’ केलाउने विचार दिएपनि अन्तसमा एउटा प्रश्न रहिरहन्छ। इलिटहरूलाई कसले उभ्ने भुइँ प्रदान गर्छ? उसको नेतृत्व, लेखन वा सम्बोधनले सामाजिक मूल्य बद्लिन्छ भन्ने भ्र्रम छरेर उ आफ्नो सत्ता स्थापनाको निम्ति बुद्धि प्रयोग गरिरहन्छन्‌।  सार्त्रले भनेका छन्‌, इलिट बुद्धिजीवि सत्ताको विरुद्ध बोल्छ तर सत्ताको भाषामा। विशिष्टताको मोहको कारण तिनी बुद्धि बेेचेर बॉंच्ने प्राणीमा रुपान्तर हुन्छ। दार्जीलिङमा चलेको दुइवटै उन्मुक्तिको आन्दोलनलाई यी नै इलिट बुद्धिजीवीहरूले नेतृत्व गरेको कारण यतास्थितिको मार जनतालाई छ। मनप्रसाद सुब्बाले बिजुलीको कार्यालयअघि उभ्याएको सार्त्र हाम्रै समाजको कुनै प्रतिनिधि पात्र लाग्छ। कवि सुब्बाले त्यो कविता नेपालका महावाणिज्यदूत चन्द्र घिमिरेको कोठीमा सुनाउँदा मभित्र इलिटहरूप्रतिको विद्रोहले अण्डा पार्दै थियोे।
तिनको कविता यस्तो थियो-


अ-स्वतन्त्र
महाशय
तिमीले भनेको त्यो पूर्ण स्वतन्त्र मान्छे कहॉं छ? खै कहॉं?
कतै जान खोज्ने पाउहरू पासोमा परिरहन्छन्‌
आँखै-आँखाका पर्खालहरु छन्‌
पर्खालपछि पर्खाल
नाघेर पनि नाघिनसकिने
चाहना समात्न उठेका हातहरू
कसले हो तलबाट तानिरहन्छ

चोर-औंलाहरु ठडिएर अग्लो फलामे बार उभिन्छन्‌
खबरदार ! लाखेस !

पखेटा उम्रिन्छन्‌ दुइ कोखिलाबाट
अनि उड्छु म
तर उड्दा-उड्दै
प्राचीन देवदत्तको कॉंड पखेटामै लागेर खस्छु

तल
जहॉं तर सिद्धार्थको छायॉं पनि छैन।

बस्‌, आवाजै-आवाजको घेराबन्दी
या त मौनताको चिसो कारावास।

समुद्रको छातीबाट रहरहरु उठेर कुद्छन्‌ किनारतर्फ लहर-लहर
तर समुद्रले नै फेरि किनारबाट पछिल्तिर तानिरहन्छ लहरको स्वतन्त्रतालाई
...

अरे ! हेर त,
बिजुलीको बील तिर्न लामो क्यू-मा उभिने त्यो मान्छे
सार्त्रे नै होइन र?
उसलाई हिजो मैले
दवाई दोकानमा पनि देखेको थिएँ
हातमा प्रेस्क्रिप्सन लिएर पालो पर्खिरहेको।


...

अस्तित्वको दाबी गर्ने सार्त्रे को मृत्यु पनि आखिर इलिट बुद्धीजीवीहरुकै हातमा हुने हो भने इलिटहरू विरुद्ध कुनै पनि विद्रोह भनेको दिवास्वन मात्र हो त?
यस्तो भइरहेको छ दार्जीलिङमा। मुद्दा बुद्धिले छोपिँदै गइरहेको छ अनि इलिटहरूको साम्राज्य फैलिँदैगइरहेको छ। कुनै पनि सचेतलाई हल्लाउँदैन यो विभत्स सत्यले?

...

‘हिन्दीमा प्रभा खेतानको सार्त्र पढेको थिएँ। नेपालीमा पुण्यप्रसाद प्रसाईँकोे  पाएँ’-मैले कवि राजालाई भनेँ। प्रसाईँको सार्त्र तिनको हातमा पुग्ने वित्तिकै एक लम्पटको सहस्योद्घाटन भयो। बाबै प्रसाईँले त डा. प्रभा खेतानकै सार्त्रलाई अक्षरस अनुवाद गरेका रहेछन्‌। ‘यो मान्छे त लम्पट रहेछन’्‌-राजाले प्रसाईँलाई देखाए। मैले पनि हेरेँ र दङ्ग परेँ। कवि मनप्रसाद सुब्बा भने हॉंस्नु भो। ‘कस्तो उपद्रो’-भन्नु भो। प्रसाईँको लम्पटपनलाई पुष्टि गर्‍यो तिनको सम्पादक शब्दले। हुनुपर्ने अनुवादक। हिन्दीका चर्चित कवि हुन्‌ डा. प्रभा खेतान। तिनले विश्व अमर ग्रन्थ गाथा श्रृङ्‌खलाको पहिलो संख्यामा नै सार्त्रको वायोग्राफी लखेका हुन्‌। प्रसाईँले त्यही पुस्तक अनुवाद गरेका रहेछन्‌। तर कहीँ पनि अनुवाद भन्ने शब्द पुस्तकमा छैन। जुन सार्त्रले इलिट बुद्धिजीवीको व्याख्याय गर्छन्‌ तिनकै पात्र थिए पुण्यप्रसाद प्रसाईँ। प्रसाईँले कहॉंसम्मको चोरी काम गरेछन्‌ भने प्रभा खेतानलेेे आफ्नो पुस्तक ‘सार्त्र-शव्दोंका मसिहा’मा जुन प्राक्कथन लेखेका छन्‌, त्यो पनि अनुवाद गरेर आफ्नो नाम लगाएछन्‌। अनुवाद लेखेका भए प्रसाईँले भारतीय तिन कविको सलाम पॉंउथे। तर तिनी भए रेल चढेका एक लम्पट। नेपालकाले पनि थाहा पाइसकेका छन्‌ कि यो कुरा?
साहित्यमा पनि इलिट बुद्धिजीवीहरूको चलखेल यस्तरी खुल्लमखुल्ला विकास हुने हो भने कुनै सचेतको दिमाग हल्लिनुपर्छ कि पर्दैन त?

प्रसाईंको लम्पटपनबाट ओर्लेर हामी इलिट राजनीतिज्ञ, भारतीय नेपाली कवितामा पसेका इलिट कवि र संस्थाहरूमा बसेका इलिट महोदयहरूमाथि चिन्ता गरिरहेका थियौं। मलाई कवि जीवन नाम्दुङले कालेबुङमा भनेका थिए-‘पुरस्कारको निम्ति लबीको संस्कार पछ्‌याउनुपर्छ।’ तिनको यो अर्तीले साहित्यका इलिटहरूको अनुहार छ्‌याङ्ग पार्छ। तर अफसोस्‌ मैले लबी गर्नु परेन साहित्य अकादमीको निम्ति। तर यस्ता साहित्यकार भन्दा पनि धेर संस्थाका गुरुहरूले भारतीय नेपाली साहित्यलाई देशमा जुन स्थानमा उचाल्दै लगिरहेका छन्‌ ,हामी त्यसैको चिन्ता गरिरहेका थियौं। यो चिन्ता कसैको व्यक्तिगत थिएन। थियो भने नेपाली साहित्यको थियो। यस्तै चिन्ता गर्ने चन्द्र घिमिरे र विकास कार्कीहरू कलकत्ता र सलुवामा हामीलाई पर्खिएर बसेका थिए।

...

 मनप्रसाद सुब्बा वर्थमा चढ्‌नु भो। राजा पुनियानी पनि चढे। म भने ‘लू’ खोलेर बसेँ। ‘इलैयाले हिजो कन्डोमको बेलुन बनाएर उडायो..’ मात्र के पढेको थिएँ, बत्ती निभ्यो। एक यात्री आफ्नो भाषामा गनगन गरिरहेका थिए। तिनी उज्यालोमा सुत्न नसक्ने, म अँध्यारोेमा पढ्‌न नसक्ने। बत्ती निभेपछि म अँध्यारोमा ‘लू’ च्यापेर निक्कैबेर बसेँ। भारतलाई हेर्ने आँखा कति विवादास्पद् छन्‌ नयनराज पाण्डेको। ‘लू’ पढ्‌नेले मलाई पाण्डे पात्रले भारतको झण्डाको कट्टु बनाएर लगाएको कुरा गरेका थिए। म यही कुरा सोंच्दै हल्लिरहेको थिएँ।  रेलले भन्दा पनि मलाई  यी कुराले धेर हल्लाइरहेको थियोे थियो त्यो थियो-इलिट बुद्धिजीवी, लम्पट र सार्त्र।

No comments:

Post a Comment