साहित्य उम्रिने मङ्पूमा

उदय थुलुङको दोस्रो बिहेमा

    हामी पुग्दा रविन्द्र भवन अघि ठिङ्ग उभिएका थिए शालिन कवि मोहन ठकुरी। तिनको पहिलो वाक्य थियो- ‘खाना खान जाउँ।’
बङ्गलोमा पुग्दा सम्मान खान आएका कथाकार उदय थुलुङ खाना खाएर निस्किँदै थिए। पिरो खाएर स्वॉंस्वॉं गरिरहेका कवि केवलचन्द्र लामालाई हेर्दै थुलुङले भने-‘पिरो पो खाइयो।’
मैले भने-‘स्वादिलो सम्मान खान पनि पाउनुहुनेछ नी अहिले।’
अनि थुलुङको गालाका डॉंडाहरू उचालिए।

सानो मङ्पू तर ठूलो नाम। मङ्पूलाई सम्झिँदैमा औले ज्वरो भाग्छ। किन भने कुलैन उम्रिन्छ यहॉं। कवि मनप्रसाद सुब्बा भन्छन्-‘तितो उम्रिने मङ्पूमा कति स्वादिला साहित्य फल्छन्। भारतीय नेपाली साहित्यमा नै ठूलो ठाउँ ओगट्छ मङ्पूले।’ बगान भनेकै उत्तरऔपनिवेशिकताको संकेत मान्ने कवि सुधीर छेत्रीलाई लाग्छ-‘बगानले धेरै नदिए पनि भारतीय नेपाली साहित्यलाई मनग्गै पुग्ने साहित्य दिएको छ।’ 9868 ऐकरले बनिएको मङ्पूबाट 63 वटा पुसत्क र 11 वटा पत्रिका छापिइसकेको छ।
    यसै पनि कविगुरु रविन्द्रनाथ ठाकुर दुइपल्ट आएको यो ठाउँ गुगलमा लछ्याप्रै भेटिन्छन्। विश्वले रविन्द्रनाथ ठाकुर खोज्दा मङ्पू पनि संगै भेट्छ। बङ्ला साहित्यको इतिहासमा आफ्नो नाम अलग्गै लेखाउने मैत्रेयी देवी मङ्पूमा थिइन्। तिनले बोलाइन् रविन्द्रनाथ ठाकुरलाई। सिन्कोना कारखानाका कुइनोलोजिस्ट डा. मनमोहन सेनकी श्रीमती थिइन् मैत्रेयी देवी। तिनले बङ्लामा पुस्तक नै लेखिन्-‘मङ्पूते रविन्द्र’। अङ्ग्रेजीमा ‘टेगोर बाइट फायर साइट’ अनुवाद छ। मैत्रेयी देवीसित कविगुरुको मित्रता गहिरो। चारपल्ट आए कविगुरु मङ्पू। पहिलोपल्ट 1938, दोस्रो दुइपल्ट 1939 अनि एकपल्ट 1940 मा। दोस्रोपल्ट आउँदा तिनले मैत्रेयी देवीको बङ्गलोमा नै ‘जन्मदिन’ कविता लेखे। तिनी मङ्पूमा हुँदा नै त्यो कविता आकाशवाणीले प्रसारण गर्यो। त्यहीँ नै तिनले अनेकौं चित्र पनि कोरे। तिनले चलाएको कलम, कागज, कविता, चित्र अहिले रविन्द्र संग्रहालयमा नै छन्। रविन्द्रनाथ ठाकुर मङ्पू त्यसै आएनन्, साहित्यको बीज पनि लिएर आए। तितो कुलैन उम्रिने मङ्पूमा स्वादिलो साहित्य सप्रियो। 1938 मा कविगुरुले रोपेको साहित्यको बीज 1949 मा फल्यो। त्यहीवर्ष पहिलोपल्ट नरबहादुर थापाले ‘आशा’नामक हस्तलिखित पत्रिका निकाले। संयोग कस्तो भयो भने 20 वर्षपछि मुद्रित पत्रिका ‘छहारी’ छापे नरबहादुरले नै तर ती नरबहादुर भने छेत्री थिए। दीपलाल राईले छापेे उपन्यास ‘एक कलि मुस्काई’ त्यही साल। तीनवटा रजत नाघेको मङ्पूले तीनवटै अकादमी छिराइसकेको छ। मङ्पूको मात्र होइन भारत कै सन्दर्भमा पनि उदय थुलुङ सबैभन्दा कान्छो अकादमी प्रापक। एक्लै बसेर खुरुखुरु लेखिबस्ने उदय थुलुङको एकान्तबास-कथाकृतिले यो पुरस्कार पायो। रविन्द्रनाथ ठाकुरले छोडिराखेको चप्पल लगाएरै मङ्पूले 75 वर्ष लामो साहित्यक यात्रा तय गरिसकेको छ। जुन ठाउँमा बसेर रविन्द्रले कविता लेखे त्यहीं उदय थुलुङलाई मङ्पूवासीले सम्मान गर्न उभ्याएका थिए। राम्राहरूले पाउँदापाउँदै इलिटहरूले पुरस्कार ओगट्न थालेपछि बद्नाम भइसकेको साहित्य अकादमी गतवर्ष राम्रो पुस्तक नपाएकोले दिइएन। जुरीमा परेका कवि राजेन्द्र भण्डारी अनि समालोचक घनश्याम नेपालले पुरस्कार पाउने लायक पुस्तक भेटेनन्। सधैँ झुर लेखक र झुर पुस्तकलाई पुरस्कार दिलाउन लबीको संस्कार बसालिसकेको नेपाली परामर्श समितिलाई गजबको थप्पड हान्ने जुरीहरूको आँटले राम्रो बाटो खन्यो। किन भने यसपल्ट उदय थुलुङको ‘एकान्तबास’लाई छानियो। लबी गरेर पुरस्कार हत्याउनेहरूको निम्ति यो खबर राम्रो थिएन। तर शक्तिशाली लेखन र स्तरीय कृतिलाई विश्वास गर्ने र यस्तै कृतिको हकमा पुरस्कार पर्नुपछर्र् भन्नेहरूको निम्ति भने खबर रमाइलो थियो। यसकारण थुलुङको सम्मान कार्यक्रममा रमाउने साहित्यिकहरूको तॉंती लामै थियो।
    रविन्द्रभवनमा उदय थुलुङको सम्मान हेर्न चर्चित कथाकार गुप्त प्रधान त दार्जीलिङबाट झरेकै थिए कवि केवलचन्द्र लामा, मिलन वान्तवा, मनप्रसाद सुब्बो भूपेन्द्र सुब्बा, कर्व विरह, विमल राई, टेकध्वज जिम्बा, दलसिंह अकेला पनि झरेका थिए। कालेबुङबाट हामी केही पनि नेपाली साहित्यको शिखर क्षेत्र चठिरहेका थियौं।

    नाट्यभूषण पुरस्कार ग्रहण गर्न जॉंदा चर्चित नाटककार सीके श्रेष्ठलाई अगोर्खाले सोधेछन् दिल्लीमा-‘नेपाल कहिले जानुहुन्छ?’ कुरा बुझे श्रेष्ठले। तिनले भने-‘म चीन जान्छु।’ प्रश्नकर्ताले छक्क पर्दै फेरि सोधे-‘किन।’ श्रेष्ठले भने ‘विदेश नै जाने हो भने किन चीन नजाऊँ।’ प्रश्नकर्ता हेरेको हेरेकै भए।
    उदय थुलुङले दिल्लीबाट टिपेका घटनाहरू सुन्दाउँदा म सीके श्रेष्ठलाई नै सम्झिरहेको थिएँ। कथाकार उदय थुलुङ अकादमी पुरस्कार थाप्न दिल्ली पुगेका थिए। पुरस्कार प्रापकहरूलाई आयोजकले ‘मिट द प्रेस’मा सम्मिलित गराए। पत्रकारले थुलुङसित कुरा थाल्नअघि भने-‘म पनि नेपाल गइरहन्छु नी।’ कुरा बुझे थुलुङले। तिनले भने-‘भारतको मानचित्र थाहा छ तपाईँलाई? त्यहॉं पश्चिम बङ्गाल भन्ने राज्य छ। त्यही राज्यमा नै दार्जीलिङ पर्छ। पत्रकारलाई यति कुरा पनि थाहा नहुने हो भने के पत्रकार?’ पत्रकार चुप भए। अकादमी पुरस्कार ग्रहण गरेर फर्किएपछि कवि मोहन ठकुरी, सुरेन्द्र थिङ, सभासद् रतन थापाहरूले रवीन्द्र भवनमा थुलुुङलाई भव्यरुपमा सम्मान जनाइरहेका थिए। रविन्द्र भवनमा उभिएर थुलुङले भने-‘मैले पत्रकारलाई भनें। म यदि नेपालको हुँदोहुँ त भारतको राष्ट्रिय पुरस्कार कसरी पाएँ त? गलत बुझिराखेकाहरूलाई यसरी सच्याउने दायित्व पनि लेखकहरूमा आइपर्छ।’  देश र इतिहासबारे सही जानकारी नराख्नेहरूले यसरी गर्ने प्रश्नहरूको सम्मुखिन बारम्बार भइरहनुपर्ने स्थिति कसरी स्थापित भयो यसको खोजी भइरहेको छैन। थुलुङलाई लागेको छ, आफ्नै क्षेत्रमा लेखकीय स्वतन्त्रता छैन। तिनले आफ्नो कथामा अस्वतन्त्र समयलाई सुक्ष्मरुपमा राख्नुपरेको छ। तरै पनि कथाकारलाई डर लागिबस्छ। कुनै शक्तिले पो कथाको कुरा बुझेर असुरक्षित हुनेगरी प्रतिक्रिया गरिदिने हुन् कि? यसकारण सर्जकहरू स्वतन्त्रताको निम्ति होइन सुरक्षाको निम्ति लड्नुपर्ने स्थिति छ। कथाकार उदय थुलुङले भने-‘सिर्जनामा आफ्नै समाज आएमा, त्यसलाई पढ्ने अन्यभाषीले हाम्रो अवस्थानबारे जान्ने मौका पाउँछन्।’

    रविन्द्र भवनमा उदय थुलुङलाई दिने सम्मान कार्यक्रम पुग्न कालेबुङबाट हिँड्ने टोलीमा कवि सुधीर छेत्री, अहिलेका चर्चित प्रकाशक उमेश उपमा र दैनन्दिनी च्यानलका पत्रकार मनोज राई मङ्पूमा रबीन्द्रनाथ ठाकुरको उपस्थितिलाई केलाइरहेका थिए। बाटामा उमेश उपमाले भने-‘आखिर किन आए होलान् त रविन्द्रनाथ मङ्पूमा? कविता नै लेख्न? चित्र नै कोर्न? कि मैत्रेयी देवीको निम्तो खान? यसको खोजी भएको छैन।’ मङ्पूमा रविन्द्रनाथ ठाकुरले कविता लेखेका हुन्। चित्र बनाएका हुन्। यसकारण तिनको स्मरणमा रविन्द्र भवन स्थापित छ। त्यही रविन्द्र भवनमा उभिएर मङ्पूका सर्जकहरूले आफ्नो सिर्जना सुनाउँछन्। मङ्पूमा रविन्द्रनाथ ठाकुरको ऐतिहासिक उपस्थिति नै सर्जकहरूको निम्ति उर्जा भएको छ। उमेश उपमालाई लागेको छ- ‘मङ्पूलाई बङ्गालीहरूको सेन्टिमेन्टसित जोडेर पर्यटनस्थलकोरुपमा विकास गर्न सकिन्छ।’
तर मनोज राईले उपमालाई भने-‘कसले बनाउने मङ्पूलाई रविन्द्र धरोहर?’

    सिन्कोना बगानकोरुपमा चर्चित मङ्पूका तीन सर्जकले अकादमी पुरस्कार प्राप्त गरिसकेका छन्। एमएम गुरुङ, मोहन ठकुरी अनि उदय थुलुङ। सबैभन्दा हर्षित छन् कवि मोहन ठकुरी। अध्यक्षीय सम्बोधनमा तिनल भने-‘उदय थुलुङपछिका कमाहरूले पनि साहित्य एकादमी पाउनेछन्। विश्वास छ मलाई। एमएम गुरुङ कमा, मोहन ठकुरी कमा, उदय थुलुङ कमा,...।’ सुरेन्द्र थिङ, सञ्जय विष्ट, रेमिका थापाहरू....कमापछि थपिने नाम। यी शालिन कविको शालिन सपना हुन्।

    उदय थुलुङका कथाहरू केलाउन आएका कवि मनप्रसाद सुब्बा भारतीय नेपाली साहित्यमा नै मङ्पूको उपस्थितिलाई दह्रो मान्छन्। तिनको कुरा सुनेपछि यस्तो लाग्छ कि साहित्यको केन्द्र दार्जीलिङ होइन मङ्पू हो। तर मङ्पू अहिले पनि केन्द्रदेखि बाहिर नै छ। केन्द्रका कतिपय लेखकहरूले मङ्पूमा हुने भनिएको नेपाली अकादमीको विरोध गरिरहेका छन्। उनीहरूले जतिनै विरोध गरे पनि मुख्यमन्त्री ममता व्यानर्जीले भने मङ्पू कै नाम लिएकी छन् तर जीटीए र राज्य सरकारबीच शुरु भएको  द्वन्द्वले मङ्पूको नेपाली अकादमीलाई सिङ्गै निल्ने हो कि भन्ने शंका भने चुलिएको छ।
    मनप्रसाद सुब्बाले उदय थुलुङको कथाको केन्द्रमा मान्छेको पीढा रहेको मात्र खुलाएनन् किनारा पारिएका संवेदनाहरूको संयोजन रहेको पनि खुलाए। मङ्पूवासीले गरिमामय राष्ट्रिय पुरस्कार प्रापक थुलुङलाई खदामालाले पुरिरहेको बेला मङ्पूको हर्ष शिखरमा देखिन्थ्यो। सभासद् रतन थापाले थुलुङको साईँली औंलीमा सुनको औंठी लगाउँदै भने-‘यो उपहार होइन, दायित्वबोध सुम्पेका हौं।’    
    उसित नै बसेकी आफ्नी मायालु अर्चना थुलुङतिर हेर्दै उदय थुलुङले जवाबमा भने- ‘मेरो दुइपल्ट बिहे भयो। पहिलो बिहेमा औंठी पाइन, दोस्रो बिहेमा पाएँ।’ अनि भवनमा गुञ्जियो हॉंसो।

27 फरवरीको सॉंझ घर फर्किँदा थुलुङले साईँली औंलीको औंठीलाई खेलाइरहेका थिए।
‘यसले पो गाह्रो पार्ने भयो अब’-तिनले भने।
‘किन?’- हामीले सोध्यौं।
‘हरायो भने?’-तिनले उत्तर दिए।
कस्तो डर कथाकारको। त्यो डरको कारण खोज्दै जॉंदा हॉंस पनि उठ्दै जान्छ।
सॉंच्ची नै हरायो भने?
सम्मान खान गएका हामी उदय थुलुङको दोस्रो बिहे खाएर फर्किरहेका थियौं। जॉंदा सचेत गएको फर्किँदा अचेत थियौं।

फूलमाथि बसेको कविता



अलिखित त्रासदीहरू कति छन्‌ छन्‌। कविताले ती लेख्न बॉंकी छ। अरबी कवि सिनान अन्तनुले ‘सडकभरि लाश लडिरहेको बेला एउटा नानीले सडक पार गर्न कति समय लाग्छ?’ सोधेका छन्‌। सडक पार गर्न जति समय लाग्छ, त्यो समय अत्यन्तै कठिन हुन्छ। जे पनि हुनसक्छ। त्यो नानी अर्को लाश पनि बन्न सक्छ। सडक पार गरेर पनि त्यो नानी कहॉं जान्छ? यसरी कविताको हरफले आफू पछिल्तिर छोडिराखेका अर्थहरू निर्माण हुँदै जाने हो। सिनानले युद्धको समयलाई यसरी शब्दमा टॉंगेका छन्‌। त्यो कठिन समय कति त्रासद हुन्छ?
 कविताले जत्ति भन्छ, कोहीबेला कविताले नभनेका कुराहरू कविता बनेर निस्किन्छ। कविताले नभनेको कुरा अर्थपूर्ण हुन्छ। कविताले भन्दा पनि धेर त्यही नभनेको कुराले चिमोट्‌छ।
 कविताले सप्पै कुरा भन्दैन पनि।
जस्तो कि सूरज रोसूरिले भनेका छन्‌, ‘आगो झोसिराखेर
कहॉं गयो?/धुवॉं/ माथि-माथि उठ्‌दैछ।’
कहॉं, कसले, किन आगो झोसेको हो, सूरजले भनेका छैनन्‌। धुँवा उडिरहेको इमेजले भइसकेको युद्ध र त्यसले पारेको प्रभाव दिन्छ। पाठकलाई कल्पनाशील बनाउन राम्रो कविताले मात्र सक्छ।

...

सानै थियौं हामी। लेख्थ्यौंै कविता। 12 वर्षअघि सूरज रोसूरी घरमाथिको डॉंडाको सडक किनारमा खन्ती लगाइरहेको थियो।
‘के गरेको?’-सोधें।
उसले हातले नक्साको कल्पना आउनेगरी भन्यो, ‘यहॉं भित्ते पत्रिका ठ्याक्क छापिन्छ।’
त्यो भित्तेपत्रिका थियो -जनावाज।
त्यही भित्तैपत्रिकामा सूरजका प्रारम्भीक हरफहरू टॉंसिए। ती हरफहरू कलिला नानीहरू सरह थिए। चकचके। सपनाशील। उ तोते बोल्थ्यो तर सोंचेको कुरा पुरा निस्किँदैन थियो। बोल्छु भनेको कुरा अलइलि निस्किन्थ्यो, त्यही कुरा अन्सारले बुझिन्थ्यो। शुरूका कविताहरू सबैका यस्तै हुन्छन्‌।
त्यतिखेर?
त्यतिखेर त त्यही कविता संसारका सबैभन्दा उत्कृष्ट लाग्थे।
मनोज बोगटी, छिरिङ दीन अनि अनिल तेलैजा रोसूरि (रोशन बोगटी, रिपन गौतम, सूरज गुरूङ) कोे निम्ति उनीहरूको विचार बग्ने कुलाहरू थिए। कुलाहरूबाट बग्दै बग्दै गएर ती विचारहरू खेतमा पुग्थ्यो अनि उम्रिन्थ्यो कविताजस्तै केही झार।
वास्तवमा त्यो झार थिएन। विरुवा थियो।
त्यो अहिले जवान रूखजस्तो छ।
त्यही रुखमा फलेका हुन्‌ यी कविताहरू।

यी कविताहरू डँडेलो सल्किएरपछि निस्किरहेको ‘धुँवा’ हो।
वास्तवमा त्यो धुवॉं जलिरहेको सपनाको हो। त्यो सपना हाम्रो समाजको हो। हाम्रा मानिसका हुन्‌। यस अर्थमा भित्तेपत्रिकाको नाम ‘जनावाज’ सूरजका कविताको मूल स्वर हो।

...

मेरो, छिरिङ र अनिलको नामथरबाट झिकेर हामीले ‘मदीत’ बनाएका थियौं। ’मदीत’ हाम्रो नामपछि झुन्डिने उपनाम थियो। हामीलाई लाग्थ्यो, उपनाम झुन्डिएका लेखक ठूला हुन्‌। सूरजहरूलाई पनि उस्तै लागेछ। झुन्डाए नामहरूबाट अक्षरहरू झिकेर ‘रोसूरि’। मदित र रोसूरी बनिन जति मेहनत भयो, त्यो साहित्यको निम्ति थियो। सूरज र रोशन कवितामा आए। रिपन कथामा।

सपना देख्ने उमेर कुन हो?
त्यही उमेरदेखि सूरजले सपना देखेका हुन्‌। सूरजले आफ्नो सपना मानिसहरूबाट टिपे। ती मानिसहरू जो मानिस बन्न हरक्षण सङ्घर्ष गरिरहन्छन्‌। लडिरहन्छन्‌ आफैसित। मरिरहन्छन्‌ आफैसित। हारिरहन्छन्‌ आफैसित। कहिल्यै ती मानिसले जितेको सूरजले देखेका छैनन्‌। आफ्नो समयलाई भोग्नु जान्नु कविद्वारा मात्र सम्भव छ। सूरज पनि कवि हुन्‌।

...

उसलाई लाग्थ्यो कि जुन लडाइँ चलिरहेको छ, त्यो उसको चिन्हारी निश्चितिको सङ्‌घर्ष हो। तर मानिसका सपनाहरूको व्यापार गर्न सत्ता सधैँ योजनाबद्धरूपले ती मानिसहरूसम्म जान्छ। र मानिसलाई सपनाहीन बनाउँछ। यो क्रुर खेल सूरजलाई मन पर्दैन।

पश्चिमी विचारले साहित्यलाई अझसम्म दास बनाएर राखेको छ। तेस्रो आयाम, लीला लेखनहरू यता त्यसका उदाहरण हुन्‌। अरु पनि छन्‌। ज्ञान, दर्शन, सिद्धान्त, विचार त्यो सहज उत्पादन बन्यो, जसलाई साहित्यमा राम्रैसित व्यापार गर्न सकिन्थ्यो। पश्चिमले विचारलाई  यसरी बेच्यो कि ती ‘विचार’ भारतीय नेपाली साहित्यमा नयॉं मार्केट बन्यो। त्यो मार्केट-ले लोकल विचारको हाट मासिदियो। जातीयसम्म आइपुगेको विचारले फड्‌को हालेर बिनिर्माण, उत्तरआुनिकताहरू समात्यो।
विचार ‘वास्तविक’ हुँदैन अथवा ‘सत्य कहिल्यै सत्य हुँदैन’ जस्ता गह्रौ कुराहरू दार्जीलिङ छिरेपछि स्थानिक गन्धका कविताको खोला सुक्यो। पश्चिमी विचारका दासीहरूले प्रयोगवादी चेतलाई हिँड्‌ने बाटो बनाउँदै गयो। तर प्रयोगशालामा भारतीय नेपालीहरूको रगत थिएन।
साहित्यलाई प्रभाव पार्ने विदेशी विचारले वास्तवमा हाम्रा मौलिक विचारहरू मारेका हुन्‌।
भारतीय नेपाली साहित्यमा देखिने यी सङ्‌कटहरूबारे ठूलो बहस भएन। केही समालेचकहरू त सूरजहरूको जमानामा पनि उत्तराधुनिकता, विनिर्माणहरूको परिचय दिइरहेका छन्‌। अनुवादमा आएका ती विचारहरू उस्तैरूपले आवोस नआवोस, तर उनीहरूले आफूलाई बँचाइराख्ने मैदान पाएका छन्‌। भारतीय साहित्यमा मात्र पनि नेपाली साहित्यको उपस्थिति कुन विचार र मुद्दाले स्थापित भइरहेको छ, त्यो चिनाउने काम अझसम्मै भएको छैन।
केही युवा कविहरू फेरि कवितालाई आम संवादमा लगिरहेका छन्‌। यसको विचारको केन्द्रमा ‘मानिसको सपना जोगाउनु’ रहेको छ।
सूरज त्यही मोर्चाका पछिल्लो पुस्ताका कवि हुन्‌।

...
सूरजले अघिल्लो आन्दोलनलाई भोग्न पाएनन्‌। दोस्रो आन्दोलनलाई आँखैले देख्यो। पहिलो आन्दोलन सूरजको निम्ति डँडेलो लागिसकेपछिको दृश्य थियो। सूरजले केवल डँडेलोबाट निस्किरहेको धुँवा देख्यो।
कसले झोसेको हो आगो?
 यो प्रश्न आम मानिसहरूको निम्ति भयानक विशाल रहस्य हो। सूरजले त्यही रहस्यलाई विम्ब बनाएका हुन्‌।
केन्द्र र राज्य सत्ताले सूरजका कविताका पात्रहरूमाथि धेरै ज्यादती गरेको छ। सूरज सत्तालाई सोझै प्रतिरोध गर्दैनन। तिनी आफ्ना पात्रहरूको कथा भन्छन्‌। परिस्थिति देखाउँछन्‌, अवस्था, प्रभाव र समय चिनाउँछन्‌। कविताका हरफहरूले बोलेको कविता त कविता भइगयो, नबोलेका कविता भने सूरजले गरेको त्यही सत्ताको विरोध हो।
‘यो आगो भनेको/ हाम्रो निम्ति रहेनछ।’ सूरजले यी हरफहरूभित्र कविता लुकाएर राखेको छ। पाठकलाई ‘खोतल्ने’ स्पेस समेत छोडिराखेर।

...

सूरजका कविताहरू पढेपछि, कविले भन्न खोजेको कुरा अर्थपूर्ण नरहने अक्टोभियो पाजको कुरा सम्झना गर्छु म। ‘कविले के भन्न चहान्छ, होइन,’, पाज भन्छन्‌, ‘कविताले के भन्न चहान्छ त्यहीं कविता हुन्छ।’

कविको सपना थियो, एउटा घर होस्‌। त्यसको निम्ति कवि र कविको समाजले समय लगानी गरिसकेको थियो। तर कविले जुनदिन कविता लेखे, त्यतिखेर सपना ‘पुरा’ नभएको पीढा बाहेक अर्थोक केही पनि आएन। सूरजको ‘घर’ कविताले बोकेको पीढा आम मानिसका पीढा हुन्‌।

 विचारलाई समयले प्रभावित गर्छ। दार्जीलिङमा कुन समय कस्तो परिस्थिति बनिनुपर्छ अनि त्यो समयमा दार्जीलिङका मानिसहरूको विचार के हुनुपर्छ भनेर नै केन्द्र र राज्य सत्ताले विचार निर्माण गर्छन्‌।
जस्तो कि, 40 दिन बन्द हुन्छ। मानिसहरू मर्छन्‌ अनि मानिसहरू अर्थनैतिकरूपले कमजोर बन्छन्‌
जस्तो कि, गोर्खालीग नेता मदन तामङको हत्या हुन्छ अनि मानिसहरूलाई लाग्छ, ‘यस्तो हत्याहिंसा हुने हो भने गोर्खाल्याण्ड चाहिएन। बरू शान्ति होस्‌।’
यो परिस्थिति निर्माता को हुन्‌? जसले मानिसको खास विचारलाई  मार्छ अनि उनीहरूको विचारलाई मानिसहरूमा आरोपित गर्छ। सत्तालाई जहॉं नोक्सान छ, त्यहॉं विनाश छ। सत्तालाई जहॉं फाइदा छ, त्यहॉं पनि विनाश छ। यस्तो सङ्‌कटमा मानिसले आफूलाई कसरी जोगाउनुपर्छ? त्यसको उत्तर भने कविताले दिन्छ।
 पाठकले आफ्नो समय कवितामा पाएन भने ती पाठकअघि कविताको मृत्यु हुन्छ। कवितामा आफूलाई नपाए कविता निषेधित पनि हुन्छ। यस्तो सङ्‌कट भारतीय नेपाली साहित्यमा अघिबाट नै आइसकेको छ। सूरजले सकेसम्म आफ्नो समयलाई लेखेका छन्‌।
कवि मनप्रसाद सुब्बा कविताले पाठकहरूसित संवाद गरिरहेको समय चेतलाई समकालीन कविताले प्राप्त गरेको सुखद प्राप्ती मान्छन्‌। तर समकालीन कविहरू सबैमा त्यो समय चेत स्पष्ट छैन। मनप्रसाद सुब्बा र रेमिका थापाको ‘किनाराका आवाजहरू’, टीका भाइको ‘पाइताला तल्तिर’ राजा पुनियानीको ‘अर्को लश्कर’हरूमा रहेको जस्तो समयचेतलाई अघि राखेर मनप्रसाद सुब्बाका भनाइलाई पुष्टि गर्न सकिन्छ। समग्रमा भने आंंशिक समय चेतसितै समकालीन कविता हुर्किरहेको छ।

...

सूरजभित्र पनि त्यही आंशिक समय चेत भेेटिन्छ। कवितालाई कलात्मक बनाउने दौडमा कोही बेला सूरजको समय चेतना च्यातिन्छ। एउटा विचार श्रृङ्‌खला बनाउँदै गएर कोहीबेला त्यो विचार बाटैमा रोकिन्छ। कोहीबेला कविता भङ्गालिन्छ र ताकेको लक्ष्यसम्म पुग्दैन। तरै पनि सूरजमा कविता भन्ने आफ्नो शैली छ। खाली ठाउँ, बोल्ड गरिएका लाइनहरूले कविता भन्ने कोसिस सूरजको राम्रो परफर्मेन्स हो।
सूरजका कवितामा कला र विचार घटबढ भइबस्छ। तिनको कविताभित्र लुकेको विचार आत्मसचेतताको प्रतिविम्बजस्तो लाग्छ। सूरज हरफहरूमा कविता दलिराख्छन्‌। त्यसको वासना चलिबस्छ। सूरजका कविता राम्रो चित्रकलाजस्तो पनि लाग्छ।
आर्ट हेरेजस्तो लाग्छ जब सूरज ‘जुलूसहरुको आगो’ जस्तो लाइन लेख्छन्‌। आगो त सल्केको तर ‘चिसा आवाजहरू’ सहितको। त्यस्तै जुलुस पनि ‘निहत्था जनताको आवाज’ बनेको कटु कुरा सूरजको कवितामा छ। सूरजलाई लाग्छ, त्यो जुलुस रोटीको निम्ति भइरहेको संघर्ष हो। जो कोहीबेला आत्मघाती पनि हुनसक्छ। कविताले सचेत पनि गराउँछ।
कति कवितामा शब्द भॉंचिन्छ र पाठकसित सोझो सम्बन्ध बनाइराख्न सक्दैन। कोही कविताले एकै झट्‌कामा पाठकलाई समात्न सक्छ। कोही कवितामा कवि कलिलो देखिन्छ कोही कवितामा छिपिएको।
कविता आफै एक पात्र हो। उभित्र चरित्र हाल्ने कविसित चारित्रिक गुणदोषको हेक्का कति छ, त्यसैबाट कविताले शक्ति बनाउँछ र हराउँछ पनि। सूरजमा शब्दसचेतता धेर छ। तर ती शब्दको सही संयोजन र व्यवस्थापनमा कहीं चुकेका, कहीँ उठेका छन्‌। सप्पै कविता राम्रा छैनन्‌। सप्पै कविता नराम्रा पनि छैनन्‌।
सूरजको प्रयास सधैँ शक्तिशाली कविता लेख्नु हो। यो सचेतता भनेको कविलाई जिउँदो राख्ने सूत्र हो। कवितासित सूरज इमान्दार छन्‌।

सूरजले गाउँको दुःखलाई पनि लेखेका छन्‌ देशको सङ्‌कट पनि। संवेदना मरेको, देश सञ्चालन गर्नेहरू नै मुर्दा बनेको लेख्दालेख्दै सूरजले अन्धविश्वासको अँध्यारो पाटो पनि उघारेका छन्‌। कहीँ सूरजलाई आध्यात्मिक पनि देखिन्छ, कहीँ क्रान्तिकारी पनि। तिनका कविताका पात्रहरू दर्जीलिङका विभिन्न गाउँमा बस्छन्‌। कोही शहरिया भएका छन्‌। आजको समय लेख्दा सूरज साइवर कल्चरले प्रभावित समाज भुल्दैनन्‌।
 इटाली कवि युर्जेनियो मन्ता कवितालाई अट्टेरी ज्ञानी मान्छेजस्तो मान्छन्‌। कविताले कुनै पनि निरङ्‌कुशतालाई नमान्ने घोषणा पनि गर्छन्‌। अमेरिकी कवि एलेन गिन्सवर्ग चेतनाबोध र चेतनाको पुनद्वारबाट नै विश्वलाई बचाउन सक्ने बताउँछन्‌। तिनी यस्तो काम कविताले मात्र गर्न सक्ने पक्षका कवि पनि हुन्‌। सूरजका कविता पनि निरङ्‌कुसताको विपक्षमा छ। मानिसमाथि भइरहेका अन्यायहरूको विरोध, संवेदनाहरूको संरक्षण, मानिसले बॉंच्न सक्ने र बॉंच्न पाउने समाज सूरजका कविताले देखेको सपना हो।
सवाल्टर्नहरूको पक्षमा उभिएकी गायत्री चक्रवर्ती स्पीभाकलाई अचेल लाग्छ, आफ्ना विचारयात्रीहरू पनि सम्भ्रान्त बन्दै गए। उनीहरू बिल्डिङमा बसेर सवाल्टर्नको पक्षमा विचारको खेती गर्छन्‌। तर सवाल्टर्नहरूसम्मै नपुगिञ्जेल, उनीहरूसित उनीहरूजस्तै नबनिञ्जेल सत्य बुझ्न कठिन हुन्छ। यसकारण स्पीभाक घुमिहिँड्‌छन्‌।

दार्जीलिङका युवा कविहरूलाई यसरी घुमिहिँड्‌न परेन। उनीहरू आफै सिमान्तकृत हुन्‌। उनीहरूको कविताले बोलेको कुरा ती नै सिमान्तकृत मानिसको आवाज स्वत बन्छन्‌। तर भारतीय नेपाली कतिपय कविहरूले आफूलाई सिमान्तकृतहरूको जमातबाट माथि उठाएर कविता नलेखेका होइनन्‌। मानौं उनीहरू अर्कै टापूका मानिस हुन्‌। समयचेतका कविहरू भने ती नै वर्गमा बसेर उनीहरूकै पक्षमा कविता लेखिरहेका छन्‌। वास्तवमा उनीहरूले भारतीय नेपाली कविता लेखिरहेका छन्‌। ती मध्येमा सूरज पनि एक हुन्‌।
निग्रोहरूले आफ्नो छालालाई लेखे। आफ्नो गन्धलाई लेखे। ती हामीले पढ्‌न पायौं। भारतीय नेपाली कविहरूले पनि आफ्नो माटो, छाला, गन्ध, संस्कृति, समाजलाई नलेखेसम्म अन्य भाषीले हामीलाई पढ्‌न सक्दैनन्‌। क्यापिटलिस्ट सोसाइटीलाई जे चाहिएको हो, त्यही विचार विश्वलाई दियो। प्रभाव र प्रभुत्वमा राख्यो। हाम्रा बुद्धिजीवीहरू पनि त्यही प्रभावमा परे। उनीहरू विचारको दास बनेपछि समाज पनि दास बन्यो।
अबका कविहरू सकेसम्म यस्ता दोषहरूबाट बाहिर जान चहान्छन्‌।

...

अरबी कवि इमान मार्शलले कविहरूले आफ्नै शैली आफै बनाउने दाबी गर्छिन्‌। ‘परम्पराबाट कसैले शैली लिँदैनन्‌,’ भन्छिन्‌, ‘जब त्यो लेखक आफ्नो कुरा भन्ने बाटो खोज्छ, शैली आफै निर्माण हुन्छ।’ सूरजको कविताले पनि त्यो शैली खोज जारी राखेको छ। अहिलेलाई सूरजका कविताको चरित्र शालीन छ। यसै पनि युवा कविहरू एकरूपताको शिकार भएकै छन्‌। सूरज त्योबाट अछुत छैनन्‌। अन्य युवा कविहरू झैं आफ्नो कथ्यको खोज सूरजको पनि सङ्‌घर्ष हो।
धुवॉं-त्यही सङ्‌घर्षकालीन अवस्था हो।

...

त्यतिखेर हामी सानै थियौं। तर कविता लेख्थ्यौं।
के लेख्थ्यौं अहिले थाहा छैन। सूरज कविता त लेख्न चहान्थे, तर जान्दैन थिए। यसरी लेखन न, भन्थेँ म तर थिएँ उही ड्याङको। तर त्यतिखेर एउटा दाजुको कर्तव्य निभाएँ हुँला।
अहिले म पनि हुर्किएँ सूरज पनि। यतिखेर त हामीले कविता लेख्न जान्नुपर्छ। जानेनौं भने जान्नेहरूले हाम्रा कवितामा कविता भेट्‌दैनन्‌। हाम्रो कोसिस त कवितालाई जिउने शैली बनाउने हो। कवितालाई इमान्दाररूपले आफूमा समाहित गरिएन भने कविताले शक्ति हराउँछ। सूरजको समयचेत तीब्ररूपले आवोस्‌, लागेको छ।

सूरज कोमल कवि हुन्‌। फूलमाथि थपक्क बसेको छ सूरजको कवितीय शालीनता। सूरजका कविताहरू पढेपछि मैले गर्न सकेको कुरा यति हो अहिले। कुरा गर्ने पालो अब पाठकको।


उदास समयको कुरूप सौन्दर्य


कहिलेकॉंही उदास हुनु बेग्लै सन्तुष्टीको कुरा हो। म विचार गर्छु, मान्छे कतिखेर निक्कै उदास हुन्छन्? वास्तवमा मानिस बिनाकारण धेर उदास हुन्छन्। एकजना पत्रकारले उदास हुनु कति खतरनाक हुन्छ। एकजना कविले उदास हुनु उतिकै खतरनाक हुन्छ। उदास हुनुको निम्ति ठोस कारण चाहिन्छ, यस्तो लाग्थ्यो। तर उदास हुनुको निम्ति कारण हुनु पर्दैनरहेछ। भारतीय नेपाली साहित्यमा आएको उदासीनताको खास कारण छैन। विचारको एउटा साइकोलजिकल डिसअडरको प्रभावले उदास हुनु, के सॉंच्ची कै उदास हुनु हो र? वास्तवमा भारतीय नेपाली सर्जकहरूले उहासीनताको ढोङ गरिरहेका त होइनन्?

...
सुदामा पाण्डेय उर्फ कवि धूमिल ‘यसरी बातबातमा ‘यस समय’ उदास हुनु ठिक होइन भन्छन्।’ उदासीनतालाई समयले प्रेरित गर्दैरहेछ। कुनै सङ्कटको बेला उदास भइराख्नु वास्तवमा नै हॉंस्यस्पद कुरा हो।
    कविहरू सोंचसित ठोसरुपले तादाम्य नराखी विचारयात्रामा निस्किँदा समाज र कविता दुवै जोखिममा पर्छ। हुनु त समाजलाई कविताको बाटो हिँडाउन गाह्रो कुरा हो। तर समाजले कविताबाट प्राप्त गर्नुपर्ने ठोस दर्शन स्वस्थ कविद्वारा नै सम्भव हुन्छ। उदास कविबाट त्यो समाजले के पाउँछ?
धूमिलले निक्कै बल दिएर(स्ट्रेस दिएर) ‘यस समय’ उदास हुनु ठिक नहुने सुनाउँछन्। जीवन दर्शन नबुझी लेखिएका आख्यान कुनै दुर्घटनामा पर्ने कुरा कसैले गरेको सुनेको छु। समय दर्शन नबुझी लेखिएको कविता पनि दुर्घटनामा पर्नैसक्छ। जीवनको सङ्कट आर्थिक-सामाजिक क्षेत्रबाट प्राप्त हुने सबैभन्दा ठूलो  दुर्घटना हो। आर्थिकरुपले बलियो नभएको क्षणमा जुन संघर्ष जीवनले पाउँछ, त्यो संघर्षबिच नै सिर्जना प्रभावकारी बन्छ।
...
धूमिल विधवा आमा, प्रिय स्वास्नी, चार भाइ छोडेर कलकत्ता हिँडे।
कविलाई कसैले सहयोग गरेनन्। त्यसपछि तिनले टिनाफलाम बटुल्ने काम खोजे। दिनभर, कुहिएको रड, टिन, फलामका टुक्राहरू खोज्थे र बेच्थे। यो सङ्कट धूमिलको निम्ति सिर्जानात्मक उर्जा पनि थियो। त्यतिखेर धूमिलले लेखेका छन्,  ‘शब्द कसरी कविता बन्छ, हेर, अक्षरहरूबिच खसेको मान्छेलाई पढ। के सुनेको छौं? त्यो फलामको आवाज हो कि माटोमा खसेको रगतको रङ?’
साथीहरूले धूमिललाई मासुको फलाम भन्थे। सॉंच्ची नै फलाम धूमिलको लागि के थियो? मलाई लाग्छ, धूमिल कहिल्यै उदास भएनन्। बरू फलाम बटुलिरहे। लेखिरहे कविता। घरमा ‘भोक’ संत्रास थियो। भोकसित लड्न न त आमासित शक्ति थियो न त पितासित। ‘नानीहरू भोक्कै छन्,’ धूमिलले कवितामा लेखेका छन्, ‘आमाको अनुहार ढुङ्गा अनि पिता काठ। आफ्नै आगोमा जलिरहेछ सारा घर।’
...

आत्मसंघर्षबाट कविले टिपेको पीडा कविताको शक्ति बन्दोरहेछ। धूमिलको आत्मसंघर्ष मात्र पढ्दा पनि कठिन समय बोध हुन्छ। यस्तो ‘समय’-मा उदास हुनु कति खतरनाक हुन्छ?
संसारभरका गरिबी संघर्षशील कविको निम्ति कुरूप सौन्दर्य हो। कवि मुक्तिबोधले आफ्नो डायरीमा सौन्दर्यबारे साथी केशवसित धेरै तर्क गरेका छन्। ‘कुनै पनि वस्तु वा भावसित मानिस जब एकाकार हुन्छ तब सौन्दर्यबोध हुन्छ’,केशवले भनेका छन्, ‘सब्जेक्ट अनि अब्जेक्ट, वस्तु अनि त्यसको दर्शन, यी दुइ पृथक तत्वहरूको भेद मेटाएर जब सब्जेक्टले अब्जेक्टसित तादाम्य प्राप्त गर्छ तब सौन्दर्य भावना उद्बोधित हुन्छ।’
    यसै पनि कविहरू आफ्नो स्तरबाट सौन्दर्यबोध गर्नेगर्छन् तर मुक्तिबोधलाई केशवले पाठक, श्रोता र कविबिचको भेद मेटाएर नै सौन्दर्यबोध गर्न सही हुने विचार दिन्छन्। यी नै कुराहरूबिच मुक्तिबोधले धेरै तनाउ झेलेका पनि छन्। धूमिलले कविताको सौन्दर्य श्रमिकहरूबाट प्राप्त गरेका छन्। टिनाफलाम उठाउने मान्छेले आफ्ना कवितामा दिने सौन्दर्य के हुन्छ?
‘विश्वको सौर्यमय विम्ब श्रमिकहरूको आँशु र रगतले बनिएको हो’, धूमिलले भनेका छन्।
...

    नेपालका सिर्जनशील अराजक आख्यानकार राजन मुकारुङले नेपाली साहित्यको सौन्दर्य फेरिसकेको र पुरानो सौन्दर्यबाट नेपाली साहित्यको अर्थ नखुल्ने आफ्नो किटान रहेको मलाई सुनाएका हुन्। ‘मैले ‘नेपाली साहित्यको फेरिएको सौन्दर्य’ लेख्दा साहित्यिक जमातमा भन्दा राजनैतिक जमातमा धेर बहस चल्यो,’ तिनले भने, ‘सिमान्तकृतहरूको समाज र संस्कृतिबाट 60 को दशकमा नेपाली साहित्यले उचाईँ प्राप्त गरेको सॉंचो हो।’
द्वन्द्व र संक्रमणकालीन समयमा यी सर्जकहरू उदास भइदिनु हो भने राजन मुकारूङले यो डिस्कोर्स नेपालको राजनीति, समाज र साहित्यलाई दिन सक्दैन थिए।
    दार्जीलिङमा बसेर साहित्य लेख्ने जमातले यति तड्कारोरुपले भारतीय साहित्यको सौन्दर्य फेरिएको घोषणा कहिले गर्न सक्ने?
एउटा उदास लेखनले भारतीय नेपाली साहित्यलाई छोपेर राखेको छ। दार्जीलिङका चिया श्रमिकहरू, भारतीय नेपालीहरूको इतिहास, पहिचानको सङ्कट र साहित्य वास्तवमा कति टाडा टाडा छन्? भारतीय नेपाली साहित्यको यो उदाशीनता वास्तवमा हाम्रो समयको कुरूप सौन्दर्य हो।
त्यही सौन्दर्यलाई अधि राखेर, उदासीनतालाई फुटाएर निस्किएको स्वर हस्तक्षेपी भएन भने त्यो आफ्नो समयमाथि हेल्चेक्राई गरिएको हुन्छ। वास्तवमा भारतीय नेपालीहरूको संघर्षबाट नेपाली साहित्यले त्यो सौन्दर्य किन प्राप्त गर्न सकेन?
यो निक्कै चाखलाग्दो व्यङ्ग्य हो।
...

धूमिलले स्ट्रेस दिएको ‘समय’ मा यता भारतीय कविहरू उदास नै थिए। तर भारतीय नेपाली साहित्यमा समयको खोजी अब नयॉं डिस्कोर्स हुनसक्छ। पहिचानको निम्ति भएका दुइवटा आन्दोलन अनि दुइवटै असफलता, राज्य र केन्द्र सत्ताले आन्दोलन दबाउन गरिएको षडयन्त्र, अन्तराष्ट्रिय व्यापार, सिमाना र राजनैतिक स्वार्थ। आन्तरिक उपनिवेशित नेपाली भाषा, समाज र संस्कृति अनि संघर्षबाट डिस्कोर्समा ल्याउन समय लेखन र समय पठन अब अनिवार्य छ।
    यसै पनि अस्सीको दशक (सुबास घिसिङको आन्दोलन) भारतीय नेपाली साहित्यमा चहकिलो बनेर आएन। जब कि तेस्रो आयामकाल, लीला लेखनकालको साहित्यमा ‘टाइम र स्पेस’ खोज्दै जॉंदा पश्चिमतिर पुग्न सकिन्छ। भारतीय नेपाली साहित्यमा समय हराउनु, द्वन्द्वले दिएको प्रभाव नआउनु एउटा उदास यथार्थ हो। यही यथार्थले उदास समयको कुरूप सौन्दर्य भारतीय नेपाली साहित्यलाई दिएको छ। त्यस बेला, त्यस बेलाको (भूत) सामाजिकता, विचार र  समस्या चाल पाउन कथावाचकले कथा भनिराखेको हुनुपर्ने। भनेर छोडिराखेको ‘कथा’-बाट अहिले सुन्दा त्यस बेला बितेको ‘समय’ चाल पाउन सकिन्थ्यो। लेखेर छाडिराखेका कथा अहिले पढ्दा त्यस बेलाको सहज र कठिन समयको मनोविज्ञानमाथि तर्क गर्ने ‘पाठ’ पाउन सकिन्थ्यो।
    तेस्रो आयाम र लीला लेखनले त्यस बेला बितेको समयलाई कसरी लेखेको छ, यो बुझ्न धेरै मिहिनेत गर्नुपर्छ।  अब अगमसिंह गिरी, इश्वरबल्लभ, बैरागी काइँला, हरिभक्त कटुवाल, विकास गोतामे हुँदै मनप्रसाद सुब्बा, सुधीर छेत्री हुँदै राजा पुनियानी र प्रदीप लोहागुणसम्मैमा ‘समयचेत’ खोज्न अनिवार्य छ।
    कविताको सन्दर्भमा मलाई लाग्छ, सचेततापूर्वक ‘समय लेखन’-को अभियानमा कविहरू नरहेकाले उनीहरू भएर बितेको ‘समय’ कवितामा पसेन। त्यो समयसौन्दर्य पनि आएन।
...

    स्टिफन हकिङ्ग्सले समयको उत्पति ब्रह्माण्डको जन्मपछि भएको देखे। ब्रह्माण्डको जन्म समय ‘बोध’ गराउने घटना थियो। साहित्यमा घटनाहरूलाई क्रमानुक्रम राख्नु भनेको समयलाई सजाएर राख्नु नै हो। जान इलिस मेक टोगार्ट-को ‘काल सैद्धान्तिकी’-ले ‘प्रत्येक घटनाले बोकेर हिँड्ने समय व्यावहारिकतासित जोडिएको अवधारणा हो’ भन्छ। यसकारण हकिङ्ग्सले ब्रह्माण्डको इतिहास बताउँदा समयको इतिहास बताइरहेका हुन्थे। साहित्यले घटनाको इतिहास भन्दा पनि समयको इतिहास नै भनिरहेको हुन्छ।  तर रामायण, महाभारतजस्ता पूर्वीय ग्रन्थहरूमा पाइने ‘समय’-ले भक्तिज्ञानको खेती मात्र नगरेर राजा र प्रजा, पुरुष र स्त्री, शोषक र शोषित, सत्ता, क्रुरता, प्रेम, आदर्श, हिंसा र लोलुपताबारे ‘डिस्कोर्स’ पनि अघि ल्यायो। त्यसो हो भने अब भारतीय नेपाली साहित्यले आफ्नो सौन्दर्यको खोज समय पठनबाट नै गर्न सक्छ।
    भारतीय नेपाली लेखकको लेखनमा उसको इथ्निसिटी, समाजिक, सॉंस्कृतिक मनोविज्ञान, पहिचानको खोजी अथवा समयसत्ताको जुन उपस्थिति हुन्छ, त्यो अनुवाद भएर जॉंदा विश्वमा पुग्छ। भारतीय साहित्यको निर्माणमा त्यो ठूलो अभ्यास हुन्छ। तर 80 को दशकमा भएको सुबास घिसिङको तथाकथित आन्दोलनले सामाजिक-अर्थनैतिक, सांस्कृतिक, भाषिक, जातिक तथा मूल्यको क्षेत्रमा पारेको प्रभाव लेखनमा आएन। त्यही उदासीनता भारतीय नेपाली साहित्यको भयानक सौन्दर्य हो?

...

    ‘आफुले पाएकै दुख छोरीले पनि पाउलान्’ भन्ने दुःखले मानिसलाई कति आहत गर्छ, त्यसको जवाब छोरीको घॉंटी निमोठेपछि निस्कियो। अमेरिकन सिभिल वार (1861-1865)बिच यो कथा टोनी मौरिसनको ‘बिल्भेड’- ले भनिदिएको छ।
    मरेकी छोरी जब प्रेत बनेर घरैमा बस्न आयो, तब लेखनमा मायावी यथार्थवादको ‘समय’ पस्यो। (मायावी यथार्थवादलाई ‘समय’ बनाउने लेखनमा टोनी मौरिसन पनि एक थिइन्।) वास्तवमा तनाउबाटको मुक्ति मायावी चरित्रबाट पाइने विश्वास लाग्नैसक्छ। विश्वास लाग्नु मानसिक निकासको नयॉं बाटो हुनसक्थ्यो। छोरीको घॉंटी निमोठेर वास्तवमा एउटा ‘शक्ति’-कै हत्या गर्नु शिविल वारले निम्त्याएको वैचारिक क्राइसिस थियो। सामाजिक-अर्थनैतिक क्राइसिसले निर्माण गर्ने विचार नै वास्तवमा ‘समय’ थियो। ‘विल्भेड’- पढ्दा मायावी यर्थाथवादी ‘समय’ नै पढ्छौँ। यसकारण सर्वोच्च मुक्तिका निम्ति मौरिसनले पनि भनिराखिन्, ‘साहित्यको मूल विषय राजनीति हुनुपर्छ।’ किनभने राजनीति संसार र जीवनबिचको कोष हो। जीवनदेखि संसारतिर संसारदेखि जीवनतिरको यात्रा राजनीतिले नै तय गर्छ। साहित्यमा ‘राजनीति’-कुनै पनि दल वा पार्टीको विचार बस्ने घर होइन। पार्टी  र राजनीतिबिचको अर्थभेद चाल नपाउनेहरूले ‘समय’ पढ्न सक्दैनन्।
राजनीति निषेध गरिएको साहित्यमा ‘समय’ हेर्ने ठाउँ कहॉं हुन्छ?
 अरबी युवा कवि इमान मार्सल, जसले इराक र कुवैतबिचको द्वन्द्व आफ्नै आँखाले देखेकी थिइन्, उसलाई लाग्छ, ‘कविता आफै एक प्रत्यक्ष राजनैतिक क्रिया हो।’ नेपालका कवि श्रवन मुकारुङको ‘विसे नगर्चीको बयान’ समय लेखनको सुन्दर नमुना हो। उनको कविताले बोकेको राजनीति द्वन्द्वले कविलाई दिएको सौन्दर्य थियो। श्रवन मुकारुङका कविता दुई दशक नेपाली कविताको सौन्दर्यको केन्द्रमा त्यसैकारण पनि बसेको हो। त्यसैको प्रभाव आजका कवितामा आजसम्मै छ्याङ्ग देखिन्छ पनि।
    त्यसो हो भने भारतीय नेपाली साहित्यले खोज्नुपर्ने सौन्दर्य के हो त?

    ...

    बर्तोल्त ब्रेख्तले कम्युनिस्ट पार्टीको सदस्यता लिएनन् तर तिनी जन संवादी विचारमा विश्वास राख्थे। मार्क्सवाद ब्रेख्तको समय लेख्ने निब थियो। आफ्नो समयमा ‘लय’ भर्नु उसको कृतिमा रहेको शाश्वतता हो। उसले जबसम्म आफ्नो समयलाई लेख्न सक्दैन तबसम्म त्यस लेखकले आफ्नो समयलाई सङ्गीतबद्ध गरेर कसैलाई सुनाउन सक्दैन। लेखकले लेखेको समय ‘पाठक’-ले चाल पाएपछि मात्र लेखकको लेखकीय परीक्षण समाप्त हुन्छ। जस्तो कि हर्बर्ड इहरिङले ब्रेख्तबारे भने, ‘यिनले हाम्रो ‘समय’-लाई नयॉं मेलोडी दिएका छन्।’ वास्तवमा ब्रेख्तले संवादका निम्ति (सुन्न सकिने) आफ्नो भाषा निर्माण नगरेको भए तिनलाई यसो भनिने थिएन।  नाटकलाई अनुभव गर्दा प्रतिक्रिया छाडिने अनि प्रतिक्रिया गर्दा अनुभव छाडिने समयसङ्कटबिच ब्रेख्तले नाटकलाई पूर्व घटना मानेर त्यसैबाट तत्कालै हुनुपर्ने ‘आलोचनात्मक दृष्टि’-निर्माणबारे बोले। उदाहरणमा यस्ता केही इतिहासहरू राख्न सकिन्छ, जो जो ‘समय’ लेख्न विश्वलाई आग्रह गर्थे।
    भारतीय नेपाली साहित्यले दुइवटा द्वन्द्व र कुरूप राजनैतिक समयबाट नयोँ कोरियोग्राफ निर्माण गरेन भने भारतीय साहित्यले केही प्राप्त गर्न सक्दैन।

...

    वास्तवमा नै कविताले राजनीति नलेख्ने घटना भारतीय नेपाली साहित्यमा घटेकै हो। लेखनलाई ‘कोरा भावुकता’ मान्ने संस्थागत विचारकको ‘घटना वा समय’ पनि सकियो अब। लेखनले शैल्पिक र सघन सौन्दर्यको बाटो पनि हिँडिसक्यो। ‘स्थानिक’-लाई छाडेर कविता ‘वैस्थानिक’ पनि भइसक्यो।  उनीहरूलाई लाग्यो, यस्तो प्रादेशिक लेखनले त विश्व साहित्यमा आफूहरूको ‘उपस्थिति’-को कल्पनासमेत गर्न सकिन्न तर दुर्भाग्य के भयो भने उनीहरूको विचार र बौद्धिकताको उचाइ छुन भारतीय नेपाली समाजले अझसम्म सकेन। यसलाई दुर्भाग्य र विडम्बना एकसाथ मान्दा पनि हुन्छ। त्यस समय कवि विकास गोतामेले ‘समय’ लेख्ने परम्परा भने बसालिराखेका हुन्। विकास गोतामेले आफ्नो समयसित पर्याप्त संवाद गरेका छन्। तिनको कविताले 80 र 90 बिचको कथा भन्छ। गोतामेका कवितामा ‘घटना’ सत्ता र आम मान्छेबिचमा घट्छ। यो घटना सुखद छ। गोतामेलाई ‘पार्टीसाहित्य’ लेख्ने भनिए पनि तिनको कविताले ‘पार्टी’ बोकेको हामीलाई कमसेकम लाग्दैन। व्यक्ति कविदेखि कोसौं टाढा आफ्नो सौन्दर्यप्रवाह कविताले नै दिन्छ। अगमसिंह गिरी, विकास गोतामेहरूले छाडिराखेको बाटोमा आजको ‘समय र विचार’-को यात्रा कहिलेका सर्जकले गर्ने हो त?
अबका कविहरूको समकालीनता भनेको अब यही उदास समयलाई फुटाएर भारतीय नेपाली साहित्यको हस्तक्षेपी सौन्दर्यको खोज हो।

एक सनकीको आदिवासी डिस्कोर्स





            अमेरिकी कवि एलेन गिन्सवर्गले भनेका छन्‌, माई म्याडनेस इज डियर टु मि। त्यो सिर्जनाशील सनकीले मात्र भन्न सक्ने वाक्य हो। गिन्सवर्गबारे पढ्‌नेले धेरथोर तिनीबारे जानेकै हुन्छन्‌। गिन्सवर्ग कतिसम्म सनकी हुन्‌ भने आफू चॉंही गँजडीहरूसित लठारिन्थे तर लेख्थे, ‘अमेरिका म तिम्रो मुर्खताभित्र बॉंचेर कुनै पवित्र श्लोक कसरी लेख्न सक्छु?’

कुनै पनि असल कवि सधैँ शक्तिकेन्द्र अनि सत्ताको विपक्षमा हुन्छन्‌। गिन्सवर्गले त अमेरिकालाई ‘तिम्रो एटमसित आफै सम्भोग गर’ समेत भनेका थिए। यो लाइन सर्वाधिक चर्चित लाइन हो। वास्तवमा तिनको विचारको केन्द्रमा शान्ति र समानताको पुनर्स्थापना थियो।

            जब कुनै पनि कवि आफ्ना विचारमा प्रतिबद्ध देखापर्छ त्यसबेला उसमा त्यही सिर्जनात्मक सनक चढेको हुन्छ। यस्तै अवस्थामा पुगेको लक्ष्मीप्रसाद देवकोटालाई कसैले पनि पागल भनिदिनै सक्छन्‌ अनि देवकोटाले पनि ‘जरुर साथी म पागल’ भनिदिनै सक्छन्‌। वास्तवमा कविता भनेकै सनकी हुन्छ। असल कविताले सधैँ चिन्ता बोक्छ। किन भने त्योसित सामाजार्थिक, सांस्कृतिक रुपान्तरणको गहिरो सपना हुन्छ।

            हुन त कविता अनेकथरीका हुन्छन्‌। कोही कविता आकासको हिमालमा बादलको सिँडी चड्‌दै जाने र घामको उज्यालो चोरेर ल्याउने पनि हुन्छन्‌, कोही कविता जुलूसहरूको रुमालमा आर्तनातहरू पोको पारेर एउटा युगलाई डोकोमा बोक्ने पनि हुन्छन्‌। भनेको, शब्द गुम्फन, विचित्र चित्रमयता अनि अतिविम्बले कवितालाई जसले राम्रोसित लिप्न सक्यो कविता उति राम्रो भन्नेहरू पनि छन्‌। कति चॉंही विचारको कुरा चॉंही गर्ने तर त्यसको ‘हेतू’ चॉंही स्पष्ट नहुने कित्ताका कविता पनि छन्‌। ‘शैल्पिक दुरुहता, विम्बीय सघनता र वैचारिक अप्रतिबद्धता’ भारतीय नेपाली कवितालाई लागेकोे ठूलो रोग हो। यो रोग चिन्नेहरू आफ्नो लेखकीय हेतु र सामुहिक प्रतिबद्धतातिर लाग्दैछन्‌, नचिन्नेहरू यस्ता सनकीहरूको विरुद्धमा मोर्चाबन्दी छन्‌।

            यस्तोबीच नयॉं कवि आएका छन्‌, जसको फर्स्ट लुक्स्‌ नै सनकी छ।

तिनको डेब्यु नै अराजक प्रतिरोधी छबिबाट भइरहेकोे छ।



            तिनी हुन्‌ -प्रदीप लोहागुण।



...

            अचेल विमर्शको निम्ति विमर्श हुने, विरोधको निम्ति विरोध गर्ने, प्रतिक्रियाको निम्ति प्रतिक्रिया गर्नेे, टिप्पणीको निम्ति टिप्पणी गर्ने एकदमै नराम्रो आदत लागेको छ कवि र टिप्पणीकारहरूमा। यसलाई म ‘फेसनेबल यथार्थवादी’-हरूको अतिश्लाघा भन्दै आइरहेको छु।

            टेक्स्टभित्र लुकेको प्रामाणिक अनुभवलाई खोतल्ने त होइन प्रतिक्रियावादीहरू सेल्फ डिफेन्सिफ आलोचनाको खेती गरिरहेको देखिन्छ। कोही शास्वत कविताको गफ गरेर जम्मै कवितालाई दुत्कार्ने र भन्ने ‘कविता नै कसैले राम्रो लेखेका छैनन्‌।’ स्थानिक कविता लेख्यो र कविताको आयु घटायो भन्दै चिन्ता गर्नेहरू, कोही कवितामा आक्रोस धेर आयो भनेर मुन्टो बटार्ने, कोही कविताको स्पेसलाई ‘वैस्थानिक’ भन्दै आफ्नो विचारको संरक्षण गर्ने माहौलमा केवल सनकै चढेको भरमा कविता लेख्ने प्रदीप लोहागुणको ठाउँ कहॉं होला?

कविताको सान्दर्भिकतामाथि अहिले बहस भइहालेको छैन।

            स्थानिक कविता स्थानिक परिस्थितिबाट टिपिन्छ। कविताले देखेको सपना जुन दिन पुरा हुन्छ, त्यही दिन कविताले सान्दर्भिकता हराउँछ। सान्दर्भिकता हराएको त्यही दिन कविको सफलताको दिन हो। किन ला......मो बॉंच्नु पर्‍यो कविता? किन सधैँ बॉंचिरहनु पर्‍यो कवि?

सधैँ स्तुत्य किन भइरहनु पर्‍यो कवि? किन आरती गाइरहनु पर्‍यो कविताको?

यस्तो महत्वाकांक्षा सम्भ्रान्तहरूको हुन्छ, प्रदीप झैं दलित, आदिवासी र उपान्तकृतको होइन।

...



            त्यसै पनि आफूलाई वैचारिकरूपले गह्रौँ मान्ने, पुरानो विचारक, कवि, आलोचना मान्नेहरूले प्रदीपजस्तो नयॉं फेसलाई स्पेस दिने त कुरैै आएन। तर प्रदीपको सनक कस्तो देखिन्छ भने ती जड र गतिहीन विचारक, कवि आलोचकहरूलाई लङ्‌कै छोडेर लुइँलुइँती फड्‌को मार्दै अघि पुगिदिन्छन्‌। ‘यो चिचिलो कविको यत्रो फुर्ति?’ स्टाइलमा झोक्किनेहरू कम छैनन्‌ अहिले।

            यस्तो किन भइरहेको छ भने कवि हुनलाई धेरैवर्षदेखि लेखिरहेको हुनपर्छ, अथवा उनीहरूको आँखामा आइरहेको हुनुपर्छ। यसपल्ट कवि प्रदीप र निमा शेर्पा दुवै अचानक, सुन्दर र प्रतिवद्ध विचारका कविताहरू लिएर अघि आएपछि धेरैको दिमाग सल्किएको छ। धेरैको आसन खतरामा परेको छ। अब झुर कविता लेख्नेहरूको मृत्यु प्रदीपहरूजस्तो कविहरूको उपस्थितिले गर्नेछन्‌ कि?

            कुनै पनि नयॉं कलाकारले अचानक राम्रो पर्फर्मेन्स गर्नु थाल्यो भने त्यही मञ्चका पुराना कलाकारहरूको हालत के हुन्छ?

            यो जडता तोड्‌ने सनक प्रदीपको हो।

...



            जमिनि यथार्थ बाहिर, सपाट, बोक्रे, अवास्तविक, अव्यावहारिक लेखन र प्रतिबद्धता, दर्शन र ज्ञानानुशासनको कुरा जुन छ, त्यो नै हो फेसनेबल यथार्थवाद।

केवल विरोधमात्र, केवल प्रतिक्रिया मात्र, केवल आलोचना मात्र, केवल टिप्पणी मात्र यी फेसनेबल यथार्थवादी चरित्र हुन्‌।

         

            कस्तो हो भने, सवाल्टर्न स्टडीजमा लागेका गायत्री चक्रवर्ती स्पीभाकले भनेका छन्‌, साथीहरू युनिभर्सिटीका कुर्सीमा बसेर सवाल्टर्नको डिस्कोर्स गर्छन्‌, तर त्यो डिस्कोर्स त भुइँमा झरेर मात्र सम्भव छ।

यो कुर्सीमा बसेर काम गर्ने चरित्र यही फेसनेबल यथार्थवादी चरित्र हो।

            भारतीय नेपालीहरूमा राजनैतिक, सामाजिक, सॉंस्कृतिक, अर्थनैतिकस्तरमा जुन जुन सङ्‌कटहरू छन्‌, पहिचान र सुरक्षाका जुन जुन सवालहरू छन्‌, सत्ताले उनीहरूको विचार गर्ने क्षेत्रलाई जसरी विकलाङ्ग बनाइरहेका छन्‌ ती जम्मै सरोकारका कुराहरूलाई छोडेर कविताहरूमा आत्ममुग्धता, शालीनता, वैचारिक प्रतिबद्धहीनता र हेतु बिहीन जुन चेतना देखिन्छ त्यो पनि फेसनेबल यथार्थवादी अतिचेतना नै हो। यस्तोमा असल कविहरूले आफ्नो विचारलाई जोगाएर सङ्‌कटग्रस्त समाजमा सिर्जनाशील पुनर्स्थापनाको निम्ति लड्‌नु केवल सनकीले मात्र सक्छन्‌।

            पुराना कविहरूले देख्दै नदेखेको देख्दै नयॉं कवि प्रदीप लोहागुणले तिनको समकालीनतालाई ‘सनकी समकालीनता’ वा तिनको समयलाई ‘सनकी समय’ मानिरहँदा जडवादीहरूले पत्याउने कुरो नै आउँदैन।

तर यो कविता सङ्‌ग्रह नयॉं कविको नयॉं चेतनाको घोषणा पत्र हो।

...



            अम्वेदकरवाद अनि मार्क्सवादको समन्वयमा ‘दलित कविता’ लेख्ने त त्यसलाई जीवन दिने मराठी कवि नामदेव ढसालको याद आउँछ, प्रदीपको कविता पढ्‌दा मलाई।

ढसाल आफै दलित थिए। यसकारण देशको मूल भाषा र साहित्यले तिनलाई सधैँ बाहिर नै राख्यो। ढसालको लडाईँ ती नै मूल भाषा र साहित्य विरुद्ध थियो। तिनको लडाईँलाई शुरुमा कसैले पत्याएनन्‌। अहिले ‘दलित कविता’ देशको मूल भाषा र साहित्यिक डिस्कोर्सको केन्द्रमा छ।

‘राजनीति बेगर कविता हुँदैन, यो एक दलितले मात्र भन्न सक्छन्‌,’ ढसालले भनेका छन्‌, ‘जसले राजनीति बेगर पनि कविता हुन्छ भन्छ उ दलित होइन।’

दार्जीलिङ, तराई, डुवर्स आफैमा केन्द्रले सधैँ बाहिर राखेको ठाउँ हो। भारतमा गोर्खाहरू आफै अल्पसंख्यक र आदिवासी हुन्‌। अब उनीहरूबाट आउने साहित्य चॉंही त्यो केन्द्र, सत्ता जसले उनीहरूलाई ठिकसित कहिल्यै सम्बोधन गरेनन्‌, को पक्षमा हुनुपर्छ कि विपक्षमा?

            यसको सही निर्णय गर्न सक्ने सनकी हुन्छन्‌, नसक्ने हुन्न। कलावादी, दर्शनवादी, हेतूहिन विचारवादीहरूलाई प्रदीपको कविता अँध्यारोबाट निस्किने दैलो हो। तिनको कवितैबाट थाहा पाइन्छ तिनी डुवर्सका नागरिक हुन्‌ अनि डुवर्सका नागरिकको सामाजिक, सांस्कृतिक, वैज्ञानिक, इतिहासिक, भौगोलिक, मूल्य कति छ? त्यो बुझ्न पर्दीपको कविता नै पढ्‌नुपर्छ। नपढी धरै छैन।

यो सङ्‌ग्रह एक सनकीको आदिवासी सौन्दर्य हो। यो सङ्‌ग्रह पहाड र तराईको सामाजिक मनोविज्ञान पनि हो।

         

            प्रदीपको कवितामा देखापरेको राजनीति ती नै पीडित मानिसको मुक्तिको निम्ति हो। प्रदीप आफै आदिवासी हुन्‌ अनि तिनको सम्पूर्ण कवितामा त्यही आदिवासी गन्ध छ। भारतीय नेपाली कविताले कहिल्यै सम्बोधन नै नगरेको समतलीय आदिवासीहरूको पीडा हो यो सङ्‌ग्रह।

            पहिचानको खोजी प्रदीपको पहिलो शर्त हो। त्यसपछि मानवीय मूल्यको पुनर्स्थापना दोस्रो शर्त।

पीडित मान्छे शालीन हुँदैन, तर पीडितहरू शालिनताको ढोङ गरिरहेको मन पर्दैन प्रदीपलाई। हाम्रा धेरै कविहरू त्यही ढोगीँ शालीनताका शिकार छन्‌। कवि प्रदीप शालीन छैनन्‌ र विध्वंशकारी पनि छैनन्‌। तिनी चेतनाको लिमिटेशन बुझ्ने कवि हुन्‌। आग्रहको सीमा चिन्ने कवि हुन्‌।

            प्रदीपको कविता पढेपछि मैले भन्न सक्ने कुरा के हो भने कलाको आवश्यकता ‘विचार भन्न’-को निम्ति हुँदोरहेछ। कला भन्नको निम्ति विचार होइन। यस हिसाबले कवितीय संस्कारका ठीक उल्टो हिँडाई हो प्रदीपको। विम्बहरूको सघनता, वक्रोक्ति, दुरुहता, सङ्‌केतहरूको बाक्लो उपस्थितिलाई कला मान्ने बबुरो कवि, आलोचक र समीक्षकहरूले बास गरेको ठाउँमा बस्छन्‌ कवि प्रदीप। त्यहीँ उभिएर कवितालाई नयॉं डिस्कोर्स दिनु, नयॉं भाषा दिनु खेलाइँची होइन।

प्रदीपको कवितामा आएको कला जति विचार राख्नु हो, र जति सुन्दरसित प्रस्तुत गर्नु हो उतिको लागि छ। विचारमा प्रदीप प्रतिरोधी छन्‌। आदिवासी, सवाल्टर्न वा उपान्तकृतहरूको गाउँ र जङ्गलबाट निथ्रुक्क भिजेर आएका कविता हुन्‌ यी।

...

            मैले सर्सर्ती हेर्दा देखेको कुरा के हो भने यो सङ्‌ग्रह तिनकै समयको दस्तावेज पनि हो। त्यो ‘समय’ डुवर्स र दार्जीलिङको हो।

            ‘डुवर्स’ सत्ता र सत्तालोलुप कुटनीतिज्ञहरूको निम्ति जङ्‌गल थियो। यस्तो अनकन्टार जङ्‌गलमा जन्मिएको प्रदीपले कविताको निम्ति जङ्‌गली फूलहरूले गाउने सोझो भाषा टिपेका छन्‌। आदिवासीहरूको गीत गाउँने प्रदीप दुस्मनको खोजीमा निस्किएका योद्धा लाग्छन्‌-

            चल रे इलया

            खोजी करब,

            के हेके हमार दुस्मन।’



            फूलमणिहरूको चुल्ठोमा सपना सिउरिने कविताको केन्द्रिय स्वर ‘समय’ छ। बोध नहुने समयको विपक्षमा उभिएर कविता लेख्नु प्रदीपको कवितीय आँट पनि हो। जडता र यथास्थितिवादी बौद्धिकताबाटको मुक्ति प्रदीपले खोजेको निकासको बाटो छ।

समय मुक्तिको चाह निराशालाई गरिने सम्बोधन होइन बरू ‘समय खोज’-को नयॉं बाटो खन्नु हो। यसकारण नै दह्रो उभेको कविता बोल्न सक्छ-

            चाखिहेर्‌ आँसुको स्वाद र छामी हेर्‌

            रगतको वेग

            सुघिँहेर्‌ मान्छेको गन्ध कुन गहिरोबाट निस्कन्छ

            लिइहेर्‌ सङ्‌घर्षको स्वाद

            छामिहेर्‌ रगतको यातना

            त्यसपछि पनि पग्लिएन भने तेरो मन

            त्यहीदिनदेखि मुक्त हुनेछु म समयमोहबाट।



            मूलस्रोततिर बढ्‌न नसकेको जङ्‌गली फूललाई अँध्यारो कोठामा  यसैकारण नै राखिएको थियो किन भने उनीहरू निरिह छन्‌। निरिहहरूकोे शक्ति कति हो भन्ने कुराको जवाब प्रदीपका कविता हुन्‌। उज्यालोसम्म(मूलधारतिर) पुग्ने हक हरेक नागरिकसित छ, त्यो नागरिक चाहे केन्द्रका हुन चारे उपान्तका। सत्ताको विपक्षमा निस्किएका अनार्किस्ट लाग्ने कवि प्रदीपको काव्य सौन्दर्य  एकाडेमिक आँखाहरूको निम्ति नारा मात्र हो, यो कुरा कवि आफैले ‘सडकछाप सौन्दर्य’-मार्फत भनिदिएका छन्‌। जडालोचकको दृष्टिमा देखिने नारा पनि ‘हेतू’ को निम्ति कवितामा राख्छन्‌ प्रदीप। यो हिसाबले यिनको कवितीय प्रतिवद्धता नाप्न सकिन्छ। तिनको विचार आफैमा आदिवासी सौन्दर्यको घोषणापत्र पनि हुन्‌। यसलाई हेर्न कविले ‘टेक्स्ट’ भित्र राखेको ‘प्रामाणिक अनुभव’ सम्म पुग्नपर्ने हुन्छ। वास्तवमा आलोचना कल्चरको आउटडेटेड र पाइरेटेड भर्सनमा प्रदीपका कविताहरूको सफ्टवेयर एडजस्ट हुनसक्दैन।



            देशअघि प्रश्न बोकेर उभिनु चानचुने शक्ति होइन। देशको दुस्मन बनिसकेको जातिले बोल्ने भाषा शालिन त हुँदैन नै। यसकारण प्रदीप चरित्रले नै सडकछाप हुन्‌। सडकछाप विचारको स्रोत केवल विसङ्गतिमात्र हुँदैन तर जडता तोड्‌ने उर्जाको बीऊ पनि हुन्छ।  वास्तवमा भोकको सौन्दर्यशास्त्र भोकाहरूलाई नै थाहा हुन्छ। भोकाले नै भन्न सक्छन्‌-

            अब भोजनको सपना देख्न छोड

            भोकको सपना देख्न थाल।



            जस्तो कि तिमीलाई

            युगौंदेखि लागेको छ

            मान्छे भएर बॉंच्ने भोक।

            खासैमा भन्नु हो भने धेरैलाई अपत्यारू लाग्ने प्रदीपको कविता शक्ति चिन्न उस्तो मिहिनेत गर्नुपर्दैन। पूर्वाग्राही र कुरुप मानसिकताको बलमा विचार परिक्षण गर्नेहरूको जमातमा प्रदीपको उपस्थिति एउटा नसुनिने घटना हुनसक्छ। तर घटना चॉंही हो। घटना गतिमान चरित्र हो। यिनको डेब्यु प्रतिबद्ध लेखनसितै भएको छ। पेसामा पत्रकार प्रदीपको अभिव्यक्तिमा देखिने इमान्दारिताले नै काव्य सौन्दर्य खोज्दै हिँड्‌नेछ अनि एउटा आदिवासी डिस्कोर्सको निर्माण गर्नेछ भन्ने विश्वास चॉंही मैले गरेको छु। मैले भेटेको  प्रदीप लोहागुण छोटो समयमा कविताको आत्मा टिप्न सक्ने आम मान्छे हुन्‌।

            तिनका बारेमा मलाई धेरै भन्नु छैन। किन भने मैले भनिदिँदा प्रदीप बुझिने होइन। प्रदीपको विचार र कलाक्षेत्रमा विकासको निम्ति चाहिने गति छ। अहिले प्रदीप बोल्ने भनेको कवितामार्फत हो। तिनी आफै बोलेको सुन्नु पाठक/ श्रोताको निम्ति राखिएको स्पेस हो। मनपर्ने कविको कविता पठनपछि मलाई लागेको कुरा यहॉं भनिपठाएँ। पाठकलाई भनिराख्छु कि यो मेरो निजि ‘दृष्टि’ हो। हरेकको निजि विचारबाट नै सर्वसमावेशी समयको उत्खनन्‌ हुन्छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ भने प्रदीपलाई तपाईँले निजिरूपमा नै पढ्‌नुपर्ने हुन्छ।।

         

            ‘सनकी समय’-ले दिने ‘राजनैतिक’-बयान आजको कविताको केन्द्रिय स्वर हो, र हो त्यही स्वर नै ‘समय लेखन’-को प्रारम्भिक स्ट्रोक पनि।

इबराको दुःख


           
  22 प्रश्‍नमा इन्द्रबहादुर राईले 17 वटाको मात्र उत्तर दिए। थरथर कामेका हातले ती लेखेका हुन्। उनका हस्ताक्षर हेरेपछि मलाई लाग्यो, मैले उनलाई सास्ती नै दिएछु

यसै पनि तिनलाई पठाइएका प्रश्‍नहरू उत्तर दिन लायक थिएनन्। किन भने तिनी चाहन्छन्, अन्तर्वार्ताकारले उनीहरूले लेखेका कृतिहरू पढेर, बुझेर टेक्स्टभित्रबाट प्रश्‍नहरू गरुन्। मैले जम्मै प्रश्‍न टेक्स्ट बाहिरबाट गरेँ। अनि पाउँछु त उत्तर?
                 टेक्स्टभित्रबाट तिनलाई गरिएका हजारौँप्रश्‍न र उत्तरहरूबाट दिक्क लागेको थियो। के छ अब तेस्रो आयाम र लीला लेखनबारे गरिनुपर्ने प्रश्‍नहरू? अब अरू सरोकारका कुराहरू गरौं, यस्तो लाग्यो मलाई।

...
                कवि निमा शेर्पा र म पुग्दा इन्द्रबहादुर राई कोठैमा थिए।
कहाँबाट आएको हो?को हो, मैले त चिनिन
तिनको यो प्रश्‍न थियो, हाम्रो दुर्भाग्य थियो। तिनले नचिनेपछि हामीले हामी पनि कवि हौं नी, दार्जिलिङकोभनिदियौं।
..’-बुझेको उहाँको टाउको हल्लियो।
‘2012 को साहित्य एकादमी युवा पुरस्कार पाएको हो सर, यिनले।चिनि पो हाल्छन् कि भन्ने लागेर हो कि निमाले यसो पनि भनिदिए। भनिसकेर निमाले मलाई हेरे, मैले यसो त नभनेको भए नी हुनेकिसिमले हेरिदिएँ।
खै कसकसले के के पुरस्कार पाउँदैछन्, के के लेख्दैछन्। आफू त आफ्नै विचारको...,’ तिनले भने, ‘खै आफैले विचार गरेको लेख्नै दिँदैनन्।

...
                नेपालमा पुस्तान्तरको समस्या नरहेको सम्बन्धमा केही महिना अघि काठमाडौंमा निमा र मैले कुरा गर्‍यौं। त्यही कुरा इन्द्रबहादुर राईको घरमा पनि सम्झियौं।
नेपालमा तीनपुस्ताबिच जोडिएको सम्बन्धआफैले देख्यौँ। आफ्नै पुस्ताबाट बैरागी काइलालाई सोझै बैरागी काइलासम्बोधन गरेको सुनेर हामी हेराहेरसमेत गरेका थियौं। हामी यता सम्बोधनमासरजोडेनौं भने समस्यामा पर्छौं। कवि राजा पुनियानी भारतीय नेपाली साहित्यमा देखिएको यो हाइरार्कीलाई समस्या मान्छन्।
हामी पनि इन्द्रबहादुर राईलाई सरभनिरहेका थियौँ।
मलाई सरभन्दा कुनै कम्पनीको मालिकजस्तो लाग्छ। कुनै नेताजस्तो। शासकजस्तो। हेपुवा, चलाक र सत्ताजस्तो लाग्छ। त्यो लाग्दै पनि भनिरहेका थियौं, ‘सर, हामी कविहरू हौँ।
...
                उताका बैरागी काइँलालेजस्तो यताका इन्द्रबहादुर राईले नयाँ पुस्तालाई चिन्दैनन्। केहीबाहेक। यसो त तिनी बुढा भए। तिनी विस्तारै चिन्न नसक्ने आँखाका पनि भए। सुन्न नक्ने कानका पनि भए। तर बोल्न नसक्ने मुखका भइहालेका छैनन्। विचार्न नसक्ने बुद्धिका भइहालेका छैनन्। इन्द्रबहादुर राईको घरैमा अघिल्लो पुस्ताका कवि सञ्जय वान्तवाकोइन्द्रबहादुर राईले मेरो कविता पढ्दैनन्र जस योञ्जन प्यासीकोचाहिँदैन इन्द्रबहादुर राईको कथाकविता सम्झिरहेको थिएँ। किन हँ?
...
                अचेलका युवा कविहरू(सप्पै होइनन्) अलिक बढी अट्टेरी, अशिष्ट, अराजक र ढिट देखिन्छन्। त्यो उनीहरूको कविताको स्वाभावले पनि बताउँछ। उनीहरू कला पनि चिन्छन्, विचार पनि। जीवन पनि चिन्छन् अनि सत्ता पनि। अध्ययनशील पनि छन् र विचारशील पनि। धेरचाँहि सपनाशील छन्। यिनीहरूले इन्द्रबहादुर राईको सम्पूर्णतालेख्ने आयामलाई अपूर्णभ्रमबताउने लीलालाई भ्रामकमान्छन्। यी कुरा सम्पूर्ण मानिसहरुको निम्ति होइन, एकमुट्ठी मानिसका कुरा हुन्। सम्पूर्ण मानिसलाई प्रबुद्ध बनाउनको निम्ति होइन केही मानिसका बौद्धिक विलाका कुरा हुन्।  यी कुरा साबित गर्न उनीहरूसित तथ्य पनि छ र तर्क पनि। उनीहरूसित विचारको फेदमा मानिसछन्। निसन्देह ती मानिस भारतका नेपालीविश्‍वसमाजका मानिसदुवै एकैचोटि हो। कतिले उनीहरूलाई कम्युनिष्ट देख्छन्। कतिले प्रतिरोधी चेतका र कतिले अराजक चेतका। कतिले चाँही बेकारका। यसो चाँही तर उनीहरू रहरले भएका होइनन्। विलासी साहित्य, केन्द्र र राज्य सत्ता, चियाबारीका मालिक र बजारले बनाएको हो। यसकारण उनीहरूले इन्द्रबहादुर राईबारे आलोचना गर्दा धेरैले विरोधीदेख्छन्।

यसलाई हामी चेतनादोषभन्छौं।
               
                एउटा जडतामाथि आलोचना गरेर नै, अन्वेषणगरेर नै अर्को बाटो बनिन्छ। जे गरेपनि जस्तै लेखे पनि, जस्तै विचारे पनि जम्मै उत्तराधुनिकता र वादको प्रभाव हो, मान्ने पारम्परिकचेत काम लाग्दैन दार्जीलिङमा। यो सोच गलत पनि हुनसक्छ। छानबिन गर्न आलोचना, बहस चाहिन्छ। त्यसैको प्रयासमा छन् ती कविहरू पनि। इन्द्रबहादर राई अझसम्म एउटा डिस्कोर्स हुन् नै। लेखक इन्द्रबहादुर राईलाई हामी सधैँ सम्मान गर्छौं। विचारक इन्द्रबहादुर राईका केही विचारहरूमा चाँही आपत्ति पनि जनाउँछौं। यति त हुनै पर्‍यो नी।
यो रुख बाङ्गो छ कि सिधा?’-कथा जमानाका हामी रहेनौं। राईले मानुन नमानुन्, हाम्रो विचारको केन्द्र सामुहिक प्रतिबद्धतानै हो लेखनमा।
र तिनलाई गरिने प्रश्‍नहरू त्यही धारबाट बनिन स्वाभाविक हो।
...
                दीपक सापकोटाले पठाइदिएका निर्बन्ध मोन्टाजपाण्डुलिपीझोलामा छ। मनमा चाँही पाण्डुलिपीको एउटा अङ्कलाई इन्द्रबहादुर राई विशेषबनाउने सापकोटाको सपना। निमाले रेकर्डर बोकेका छन्। मैले प्रश्‍नहरू तयार गरेको छु डाइरीमा।

                मैले इन्द्रबहादुर राईलाई श्याम ब्रदर्शले गरेको एउटा टकशोमा पाएको हुँ पहिलोपल्ट 2007 मा। त्यो वार्षिक वार्तामालाको कार्यक्रम थियो। त्यहीँ तिनले गरेको अध्ययन अनुसारको उत्तराधुनिकताले केन्द्र नमान्ने र पूञ्जीवादको विरोध गर्नेविचार सुनेको हुँ। त्यहीँ उत्तराधुनिकता कहिल्यै बित्दैनभन्ने तिनको तर्क पनि सुनेको हुँ। यो तिनको विचारमाथिको विश्‍वास थियो। आफूले चलाउने विचारमाथिको विश्‍वास कत्ति हुनुपर्छ? त्यसैको उदाहरण थियो त्यो वार्ता।तिनी उत्तराधुनिकतावादका डाइहार्ड फलोवर हुन्। तिनले नेपाली साहित्यमा जत्तिपनि चलखेल गरे, नागार्जुन, क्युबिज्म, सापोक्षतावाद र विनिर्माणबाट झिकेका थोकहरूलाई हतियार बनाएर गरे। नेपाली राइटिङलाई तिनले नयाँ रूपदिए। चर्चित भए। तिनीजत्ति अध्ययनशील, ज्ञानी र ट्यालेन्टेड सर्जक कोही छैनन्। यो मेरो निजकिटान हो।
                उत्तराधुनिकता कहीँबाट आउँछ कि त्यहीँ हुन्छ? त्यो त म जान्दिनतर दार्जीलिङको जीवनमा उत्तराधुनिकता आयो के त?’, तिनले भनेका थिए, ‘अब आफूमा परिवर्तन जाँच्नुपर्छ।तिनले जाँचेका कुरा मानिसमा आइरहेको परिवर्तन थियो। कर्पोरेट्सको चलखेल, नवउदारवाद, मण्डलीकरण र बजारवादले समाजलाई दिएको प्रभाव नै उत्तराधुनिकता हो? सुनेर यस्तो लागेथ्यो मलाई।
                 ‘पुर्खा शुद्ध नेपाली थिए,’ तिनले भनेका थिए, ‘अहिले मिश्रित, विस्तृत छौं। अन्य ठाउँको समाज हामीमा पस्यो।
मलाई लाग्छ, त्यो पसेको अरूको समाजलाई स्वीकार गर्ने कि आफ्नो समाजलाई बँचाउने? सायद वैचारिक विभेद यसैमा हो। स्वीकार्ने कि नकार्ने? यही दुइ अप्सन रहेको समाज त्यही दार्जीलिङमा पनि छ। स्वीकार्नेहरू इन्द्रबहादुर राईहरू परे, नकार्नेहरूको पक्षमा हामी?
त्यो त पच्छि नै थाहा पाइएला, अहिले सङ्केतहरूमात्र, केही धमिला शंका छोडिराखौं।

                भ्यानगगको जुत्ताको चित्रको उदाहरण दिँदै हामी श्रोतालाई दार्जीलिङमा इन्द्रबहादुर राईले उत्तराधुनिकता चिनाइरेहका थिए। भ्यानगगको त्यो जुत्ता, फाटेको, हिलोमैलो लागेको, ले क्लासचिनाउने र अहिलेका हजारौं कम्पनीहरूबाट बनिएको जुत्ताको फोटोले कुनै क्लास नचिनाउने तिनको तर्क थियो। भ्यानगगको जुत्तामा फिलिङ र मिनिङ दुवै थियो,’ तिनले भनेका थिए, ‘अहिले फिलिङ मात्र छ मिनिङ छैन।
त्यो हराइरहेको मिनिङको खोजीमा लाग्नुपर्ने हो कि? लागिरहेको बेला कुरा गर्दै तिनले साहित्यको निश्‍चित अर्थ नरहेकोर उत्तराधुनिकतावादलाई प्यास्ट्रिज(सप्पै हालेको) बताएर टुङ्गाएपछि मेरो विचारका केही तार अवश्यै हल्लिएको थियो।

                त्यसरी कुरा गर्न जानेका राईलाई पढ्दै आइरहेका हामीले भने फेस टु फेसभेटेका थिएनौं। जीवनमा पहिलोपल्ट इन्द्रबहादुर राई भेटिरहेका थियौँ। त्यो अवसरका बहाना थिए पाण्डुलिपीका सम्पादक दीपक सापकोटाले।
...
                हामीलाई चिनिसकेपछि इन्द्रबहादुर राईले आँखा बन्द गरे।  एउटा आँखामा बारम्बार कचेरा निस्किबस्ने। तिनले पुछिबस्ने।
निमाले हाम्रो परिचय गराएपछि तिनले भने,
मनोज बोगटीहरू.....अस्ती काठमाडौं जाने?’
यतिखेर पो दङ्ग पर्‍यौं। खबर त राख्दारहेछन्। अघिल्लोदिन तिनलाई भेट्न पुगेका एक साहित्यिक टोलीले जानकारी दियोकि? नत्र कसरी थाहा पाए तिनले हामी काठमाडौँ गएको?
                ‘हाम्रो काइँला के गर्दैरहेछन्?’ -सोधे।
                ‘हामीले हाम्रै कार्यक्रममा देख्यौं। बोल्नु पनि भयो। यत्ति हो जानेको।
तिनी डेडवर्ष भयो नेपाल नछिरेको। पहिले त फोनबाट तिनको कुरा हुन्थ्यो काइँलासित। अहिले पैसा धेर खर्च गरेर नबोल्ने भइसकेका छन्। तिनले त नेपाल नजानेसमेत प्रण गरिसकेका छन्।
पटक्कै नजाने म त नेपाल,’ तिनले भने, ‘दुइकिसिमको समस्या हुन्छ। एक उमेर नै उस्तो। घर जस्तो हुँदैन, बस्नु खानु। अर्को, रातदिन साहित्यिक काम गर्छन् त्यहाँ, भ्याउनै गाह्रो।
राती एघाह्रबजी पनि अन्तर्वार्ता, बिहान सातबजी पनि। तिनलाई नेपालमा चाहिएकोभन्दा बढ्ता साहित्यिक काम भएको लाग्छ। झिँझेट लाग्छ तिनलाई। इन्द्रबहादुर राईलाई आफूले चाहेको काम गर्न नदिएकोमा झर्को लाग्छ। तिनलाई अन्तर्वार्ता लिएको पनि मन पर्दैन अचेल। कसैको स्मृतिमा लेखेको पनि मर्दैन। अस्ति प्रभुदानन्द स्वामी, त्यसपछि शरद छेत्री, हाइमनदास राईबारे लेखेँ,’ तिनले झर्को सुनाए, ‘आज पनि डा. कुमार प्रधानबारे लेखें।तिनलाई यस्ता लेखनहरूले अल्झाइरहेको छ।
आफ्नो लाइनको, विचारको, त्यही विचारलाई पछ्याउँदै गएर भेटेको ज्ञान, कुरा लेख्नै पाइँदैन,’ सुनाए तिनले, ‘अब लेख्दिन भन्नु गाह्रो। अब चाँही एउटा लेखेको दुइहजार लिन्छु भनौं लागेको छ। यसो भन्दा नलेख भन्छन् कि?’
                यस्तो कठिन स्थितिमा मैले दीपक सापकोटाको सपनाबारे बताएँ। दीपक सापकोटाले इन्द्रबहादुर राईले लेखेको पैसा दिन्छन् कि दिँदैनन्? यतिखेर मैले सोंच्नुपर्ने कुरा यही थियो।
कसले लिने अन्तर्वार्ता?,-सोधे तिनले।
हामी लिन्छौं। रेकर्डर ल्याएका छौं। प्रश्‍न ल्याएका छौं। कुरा गर्दै जाऔं, हुन्न र?-भन्यौं।
                तिनले त तीनपल्ट भने,-‘हुँदैन, हुँदैन, हुँदैन।

                तिनलाई लागेको छ, यसरी गरेको अन्तर्वार्ता राम्रो हुँदैन। नयाँ के के निस्किएको छ, तीबारे आफू बोल्न सकिन्न। तिनले भनेकोजस्तो, चाहेकोजस्तो हुँदैन। इन्कार गरे इन्द्रबहादुर राईले।
प्रश्‍नहरू लिखित होस्, पुराना नयाँ लेखकहरूबारे केही, केही साहित्यका अरू कुरा होस्,’ तिनीसित विकल्प पनि थियो, ‘पढ्नेले केही नयाँ, राम्रो कुरा पाओस्। राम्रो होस्। हतार नगरौं।

                दीपकजी, यसरी चाहेको गर्न पाइएन।

                ‘हो, फेरि अर्को त्यस्तै काम आयो है। आफ्नो काम गर्न देउ न भन्छौं, यस्तो आइलाग्छ,’ यतिखेर तिनले यसो भनिदिए, ‘बरू पाण्डुलिपीको त्यो अङ्कको योजना यता उता गरेर ड्रप गरौं न।
तिनलाई हेरेँ, टाउको झुकाएर कसैलाई नहेरी, आँखा चिम्म गरी, एकएकवटा शब्द विचार्दै बोलिरहेका थिए। यत्रो उमेरमा आफूलाई किन यसरी स्ट्रेस दिएका होलान्? तिनमा आफूले बोल्दा राम्रोसित, ठिक्कको, चाहिनेमात्र बोल्नुपर्छ भन्ने चेत छ। अर्कोतिर विशेषाङ्कहरूतिर तिनको मोह छैन। यी सबै तिनको लागि अल्झो हुन्। तिनी केही आफ्नै विचारको नयाँ थोक लेख्न चहान्छन्। के छ त तिनीभित्र यतिखेर?
...
                इन्द्रबहादुर राई चुपचाप बस्न चहान्छन्।
तिनी यतिखेर मृत्युचिन्तमा छन्। मरेपछि आफूले केही लैजान नपाउने कुरामा चिन्तित छन्। तिनीसित ज्ञानको भण्डार छ, त्यो पनि तिनीसित जाँदैन। साहित्यबारेका चिन्तनहरू छन्, त्यो पनि तिनीसित जाँदैन। नाम, यश छ त्यो पनि तिनीसित जाँदैन। सत्कार, इज्जत छ त्यो पनि तिनीसित जाँदैन। के जान्छ त इन्द्रबहादुर राईसित? केही पनि जाँदैन।

 तिनलाई लाग्छ, मरेपछि मानिसले के के लान्छ?
अस्ति एउटा विचार मनमा आयो,’ तिनी भन्दै जान्छन्, ‘मरेपछि आफूले केही लाँदैन, सबैले भन्छन्। त्यही कुरा आफूले सोंच्दा गहिरिनु पर्‍यो। भौतिक कुरा केही जाँदैनन्। हजारको नोट, टेबल, चौकी केही पनि। हिन्दु धर्मले भनेको छ, ज्ञान पनि भौतिक हो। म ठूलो इतिहासकार हुँ भने, त्यसको ज्ञानपनि शरिरदेखि वियुक्त हुन्छ। ज्ञान पनि जाँदैन। इमोशन, फिलिङ्गस? के यो पनि भौतिक हो? माया लाग्नु, रिस उठ्नु भौतिक हो?
सोचौं त एकछिन, मर्नसाथ कस्तो हुन्छौं त?’
निमाले थपे, ‘ढुङ्गाजस्तो।
सायद मरेपछि यही कोठामा घुमिबस्छौं होला,’ राई अझ गम्भीर भए, ‘ए म त मरेँछु भन्ने याद हुन्छ। माया पनि लाग्दैन। रुँदैरहेछ मत्तै लाग्छ।तिनी यस्तो अवस्थालाई प्रकृत अवस्था मान्छन्। संसारमा आउँदा अप्राकृतिक कुराहरू जोडिन्छन्।
विचार गर्दै जाँदा म त साधु सन्तजस्तो पो हुन्छु त,’ तिनले निष्कर्ष निकाले, ‘अनि यस्तो भएपछि के लेख्नु पनि। किन पो लेख्नु पनि।
तर यो निष्कर्ष मलाई मन परेन।

लेखेको त रहन्छ नी,’ मैले भनें, ‘मान्छे पो रहन्न त।
यसको जवाब पनि तिनीसित थियो। अरूको लागि पो रहन्छ, आफ्नो लागि चाँहि? आफ्नो लागि त नबस्दो रहेछ,’ भने, ‘अनि यस्तो ज्ञान पाएपछि के लेख्नु र? त्यही धनीले गरीबलाई शोषण गर्‍यो। लोग्नेले स्वास्नीलाई हेला गर्‍यो, नारीवादी..यस्तो त के लेख्नु पनि हौ।
लीला लेखनलाई ध्यात्मसित जोडेर हेर्ने आलोचकहरू पनि छन्। गीताका  केही पात्रका उदाहरण तिनी आफैले पनि दिएका छन्। साहित्य नै रहेको गीताका कृष्ण लीलामा तिनले विनिर्माणका झल्को पाउँथे। पढन्ते थिए तिनी। विनिर्माण नभनी तिनले कठपुललीको मनलेखिदिए। बाइस बुँदामा मात्रतिनले विनिर्माण शब्द लेखे। चामे र गौंथली-को अरपाटो लेखिदिए। परम सत्य (ब्सोल्युट ट्रु) छैन भन्ने कुराको खोजीमा लागेका राईले आफूलाई सन्त पाउनु स्वाभाविक हो।

                यीजम्मै बताइराखेर राईले यही कुरा भन्न चहान्थे, कि यतिखेर तिनलाई केही खास लेख्ने इच्छा छ। केही नयाँ लेख्ने रहर छ। फरक लेख्ने योजना पनि छ। तिनले म्याथ्यु आर्नोल्ड सम्झे।  इलियटले म्याथुबारे लेखेका छन्, के के कुरा आफ्नो साहित्यमा छैन भनेर खोज्दै देखाउँदा नै तिनले आफ्नो विचार केही लेख्नै पाएनन्। राईलाई पनि अहिले यस्तै लागेको छ। केक्केहरू लेख्दा लेख्दै आफ्नो विचार’-को केही लेख्नै नपाइरहेको पीडा तिनीसित यो उमेरसम्म छ।
म्याथ्यु आलोचक त थिए तर पनि तिनी आलोचक होइनन्,’ भने तिनले, ‘यस्तै अल्झोले नै त होला।
               
                इन्द्रबहादुर राईले 1965 मा प्रकाशित गरेको तिनको उपन्यास आज रमिता छको भूमिकामा साहित्यले दुइवटा कुराको अध्ययन गर्ने बताएका हुन्। त्यो अध्ययन क्षेत्र जीवन र जगतथियो। पछिका आलोचकहरूले यही कुरा भट्याए। जीवन र जगतको कुरा राईले म्याथ्युको एसेस एण्ड क्रिटिसिज्मबाट झिकेका थिए। आलोचकहरू बोक्रे भएकोमा तिनको चिन्ता छ।
नयाँ कुरा खोतल्ने काम नै भएको छैन,’ भन्छन् तिनी, ‘अचेलका आलोचकहरू पढ्दैनन्। कृतिमा त्यही जीवन र जगतको कुरा छ मत्तै भनिबस्छन्।
तिनले आलोचकहरूमाथि गर्ने यतिखेर एउटा प्रश्‍न छ-
के पोष्टमोडर्निजमले साहित्यको दुइवटा अध्ययन क्षेत्र जीवन र जगत’-लाई नै बताउँछ?’
त्यो धारणा भत्किएको थाहा नपाउने आलोचकहरू तिनलाई मन पर्दैन। पोष्टमोडर्निजमले त स्टडी अफ नलेज भन्छ,’ आलोचकहरूलाई तिनको टिप्स छ, ‘आफूले विश्‍वास गरेको ज्ञान के हो त्यो चिन्नु, कस्तो ज्ञान हो बुझ्नु, खै त?’
...

                इन्द्रबहादुर राईलाई सुनिबस्दा लाग्थ्यो, तिनी अब थाकेका हुन्। मनमा विचार अनेक आउँछ तर ती जम्मैलाई मिलाएर लेख्न पाउँदैनन्। उमेर पाको भइसकेकोले घरैमा बस्ने मनको भएका छन् तिनी। लेख्न पनि काँप्दै लेख्दा हुन्। कसरी पढ्दा हुन् आँशु निस्किबस्ने आँखाले किताबहरू? माया लाग्ने मानिस भएका छन् इन्द्रबहादुर राई। कतै जान पनि तिनलाई मन लाग्दैन। कतै बोल्न पनि मन लाग्दैन। करैले जान्छन्, करैले बोल्छन्। यस्तो लाग्छ, तिनलाई सुन्दा। गइरहेकै छन् तिनी कार्यक्रमतिर, बोलिरहेकै छन् तर। नेपाल चाँहि जान्छन् कि जाँदैनन् कुन्नी?
खै घनश्याम नेपाल कुनै प्रोग्राममा जाँदैनन् त, कसैले अह्राएको पनि लेख्दैनन् त। पढ्छन्, बस्छन्। आफ्नै विचारको लेख्छन्,’ उदाहरण पनि छ तिनीसित, ‘यसै गर्नु रहेछ। उमेर पुगेपछि ज्ञान आउँदोरहेछ।
...
                तिनी आफूले चाहेको, खोजेको, रोजेको किताब पढ्न पाउँदैनन्। राम्रा किताबहरू बजारभरि होला र म छुटिँदैछु’-ले तिनलाई सताउँछ।
म त नानीहरूले ल्याइदिएको खान्छु। उनीहरूले मन पराएको लुगा लाउँछु,’ उदाहरण पनि दिन्छन् र भन्छन्, ‘म अरूको चोइसको भइसकें।
...
                व्यक्ति इन्द्रबहादुर राई लेखकहरूको अभिभावक हुन्। लेखक इन्द्रबहादुर राई पनि लेखकहरूका अभिभावक हुन्? यो चाँही सोच्नुपर्ने हुन्छ। तर तिनलाई कस्सैले आवश्यकताभन्दा ज्यादा उचालेको पनि मनपर्दैन, बिना तर्क झारेको पनि मन पर्दैन। तिनलाई तेस्रो आयामलीला लेखनअझ पनि सान्दर्भिक लाग्छन्। दुइ लेखनभित्र विचारका अन्य पाटोहरूको सम्भावना छोडिराखेको लाग्छ। पोष्टमोडर्निजमले सम्पूर्ण सङ्कथनको निम्ति स्पेस खुला राखेजस्तै। अचेल केहीखास लेख्ने मुडमा पनि छन्। यस्तोमा विभिन्न अल्झोमा पार्नु अपराध नै होला।
तर दीपकजीको फरमान मैले मान्नु थियो। तिनलाई झिँजोलाग्छ, जानेर पनि। तिनको विचार लेखनमा बाधक भएँ, बुझेर पनि।तरै पनि तत्काल अन्तर्वार्तालाई तनपल्ट हुँदैन हुँदैन हुँदैनभनेपछि तिनैले दिएको आइडियाअनुसार पठाएँ 22-वटा प्रश्‍नहरू। जसमा तिनले केही प्रश्‍नका उत्तर दिए आधा-आधा, केहीको त दिँदै दिएनन्।
 ...
उत्तरले बताउँछ, यस्तो झुर प्रश्‍न पनि गर्ने हो इन्द्रबहादुर राईलाई?
…..

अलिकति चूक हाम्रो भएको हो- इन्द्रबहादुर राई
प्रश्‍नकर्ताः मनोज बोगटी

नेपालको चर्चित र स्तरीय पत्रिका पाण्डुलिपी’-को निम्ति भारतबाट पत्रिकासित सम्बन्धित रहेकोले तपाईँलाई यी प्रश्‍नहरू गरिन्छ। तपाईँले दिनुभएको सल्लाहअनुसार यी प्रश्‍नहरू लिखितरूपमा ल्याएको छु।
( टेप राखेर सोझै प्रश्‍न उत्तर गर्न पाइएको भए एउटा उत्तरले जन्माएको अरु प्रश्‍न जन्मिन्थ्यो। यो सम्भव भएन। लिखित प्रश्‍नमा  तपाईँ र मबिच ग्यापबनिन्छ। विषय सम्बन्धित भइराख्न नसकिने भएकोले यहाँ एकैचोटि धेरै प्रश्‍न, धेरै उत्तरको पेक्षाले गरिएको  हो भन्ने बुझिदिनु होला।)

1. तपाईँ नेपाली साहित्य/ समाजको हुनुभयो। चुपचाप बस्न नमिल्ने, समाजले सोध्ने, माग्ने, आशा गर्ने व्यक्ति हुनुभयो। तर अचेल अन्तर्वार्तादेखि पर भाग्न खोज्नुहुन्छ। सोध्नेले आफ्नो इन्ट्रेस्टथोप्छ भन्ने लागेर हो कि भन्नुपर्ने कुरा सकियो भन्ने लागेर हो?
इबराः अन्तर्वार्ताकारहरूले हामीले लेखेका लेखादि अध्ययन गरेर, बुझ्ने प्रयत्न गरेर, पाठभित्रबाट प्रश्‍न गरे उत्तरहरू गर्नपर्ने हुन्छन्। बाहिरी थाहाले गरिएका प्रश्‍नहरूलाई के भन्ने?
2. यतिखेर मृत्युबारे (तेस्रो आयाम र लीला) विचार के होला तपाईँमा भन्ने कुरा जान्न मन लाग्यो।
इबराः जीवनमाथि दुवै लेखनले खूब सोचेको छ। मृत्युलाई जीवन सम्बन्धमा हेरियो।
3. साहित्यिक मान्छेलाई एकछिन बाहिर राखेर इन्द्रबहादुर राई मान्छे(जो जन्मन्छ-मर्छ)मात्रबारे पनि अध्ययन गर्नुभएको छ?(जोभित्र प्रेम, स्वास्नी, छोराछोरी, घर, समाज, दायित्वका कुराहरू हुन्छन्।) कस्तो पाउनुहुन्छ आफूलाई?
इबराःआफुलाई चिनभनिएको हो अघिदेखि। तर आफूलाई कसैले चिन्न सकेन, कारण चिन्न सक्तैन। कसैले आफुलाई चिनें  सम्झेको उसको ऐलेको आत्मपरक चिनाई (भ्रम) मात्र हुन्छ।

4. तेस्रो आयामको फलोवर्सकम्ति र लीला लेखनको केही देखिन्छ। यसको अर्थ अझ पनि (तपाईँहरूले तेस्रो आयाम थाल्दा भन्नुभएको च्याप्टो साहित्य लेख्नेहरूको भीड) भावावेग लेख्नेहरू मात्र धेर भएर हो?
4.. कसरी लेख्ने’-मा तपाईँहरू विचार, चित्रकलाको भाषा, रूप र कलाले (र्मले)प्रतिबद्ध देखिनुभयो, अहिले कसरी लेख्नेको सवालमा सबैले बुझ्ने सरल भाषा’-मा विचार र कलाले सन्तुलित के लेख्ने’(कन्टेन्ट) भन्ने विचारमा प्रतिबद्ध लेखकहरू छन्, कसरी हेर्नुहुन्छ यी कुराहरू?
इबराःके लेख्ने?’ कसरी लेख्ने?’ चिन्तनशील कवि लेखकअघि सधैँ दुइ प्रश्‍न छन्। समाधान सोची लेख्नेहरू छन्। नसोची लेख्नेहरूको बथान छ, अघि 1995 तिरै पनि भनेका थियौँ।
5. वैचारिकरूपले बलियो लेखन मानिन्छ तपाईँ र तपाइँहरूक दुइवटा लेखनलाई। तिनको विचारको स्रोत तपाईँहरुको अध्ययन (पूर्व पश्‍चिम दुवैका केही दर्शनशास्त्र, विचार, साहित्य, रुप,वादहरू) क्षेत्र थियो कि तपाईँहरू बाँच्नु भएको समाज क्षेत्र (नेपाल, भारतकोनेपाली समाज)?
इबराः अघि अनुभवका काँचा थियौँ। धेर पढिन्थे र ज्ञानहरू बटुल्थ्यौँ। धेरै लाभान्वित बन्यौँ। अब जीवन र गजत्का अनुभवका केही पाका बनेका छौँ र स्वचिन्तनबाट ज्ञान केही पाइन्छ। र पनि, आज पनि, ठेलीहरू हेर्न उत्तिकै आवश्यक हुन्छ।
6. तपाईँ भारतीय नेपाली नागरिक हुनुहुन्छ। भारतमा नेपालीहरूलाई पहिचानको संकट छ कि छैन। छैन भने किन छैन। छ भने त्यसलाई साहित्यले सम्बोधन गर्न पर्छ कि पर्दैन?
इबराः भारतमा नेपाली भाषालाई भारतको संविधानमा राष्ट्रिय मान्यता प्राप्त छ। नेपाली साहित्यलाई भारतको सर्वोच्च साहित्यिक संस्था साहित्य एकादेमीमा मान्यता र आसन प्राप्त छ। भारतीय नेपाली वा गोर्खाहरूलाई भारतको पूर्ण नागरिकता भारतको संविधानको धारा 5 ले प्राप्त छ। बृटिशकालमै पनि भारतका नेपाली/गोर्खा सबलाई बृटिश प्रजाको मान्यता प्राप्त थियो। अझ पनि 1816 को सुगौलीको सन्धिले नेपालले छोडेको भारतीय भूभागका नेपाली वासिन्दा सब स्वतः अन्तराष्ट्रिय कानूनले बृटिश-भारतीय नागरिक मानिन्थे। भारतमा केवल नेपाली/गोर्खा जातिको आफ्नै राज्य भएको उच्च राजनैतिक मान्यता छैन। यस प्राप्तितिर सबै लागेका छौँ। भारतीय नेपाली साहित्यले त्यस लक्ष्यमा सकृय सहयोग राख्छ, राखेको छ।

7. तेस्रो आयामले नेपाली साहित्यलाई धेरै कुरा दियो भनिन्छ नेपाली समाज(भारत)लाई चाँही के दियो? नेपाली समाजले तपाईको साहित्यबाट पाएको ठोस विचारके होउपान्तकृत भारतीय नेपालीहरूको आवाज कसरी आएको छ तेस्रोे आयाम र लीला लेखनमा?
इबराः स्थानीय नेपाली साहित्यले केही दिइएको पनि समग्र नेपाली साहित्यलाई दिइएको हुन्छ। समस्त नेपाली जगत्लाई दिइएको हुन्छ। केही सारपूर्ण भए। आयाम लेखन र लीला लेखनलाई जुन लेखनलक्ष्य दिइएका थिए सोझैमा उपान्तकृत समुदाय र लेखनको अध्ययन पर्दैनथ्यो। एउटा कुरा तर हेर्नुछ। कृतिचेतनाले मात्र लेखिँदैन, सँगैमा हाम्रा अवचेतना र अचेतनाले पनि लेखिन्छ। कृतिका ज्ञातपक्षहरू मात्र हुँदैनन्, अज्ञातपक्षहरू पनि हुन्छन्, स्थान र समयका अथाह प्रभावहरू लेखिएका। समग्रमा ती उज्यालिन सक्छन्।

8. नेपाली साहित्यमा (मेन स्ट्रीम राइटिङ)बाक्लै चर्चा बटुल्ने, बहस बटुल्ने, आलोच्य हुने, पठनीय हुने तेस्रो आयाम र लीला लेख्न बंगालको बङ्गला, भारतको हिन्दी (अरु देश र भाषाको त कुरै छोडौं) साहित्यमा कहिल्यै आलोच्य देखिएन। बहस, चर्चा, पठन भएको देखिएन। किन?
9. अरुभाषामा अनुवाद हुनुपर्छ यी विचारहरू(विचारसम्मत कथा, कविताहरू) भन्ने कुरा सोचिएन कि अनुवाद अनिवार्य छैन भनेर मानियो त? तपाईँहरू अनुवाद गर्नै सक्नुहुन्थ्यो, अथवा गराउन सक्नुहुन्थ्यो। अकादमीमा पनि संलग्न हुनुहुन्थ्यो।
10. पश्‍चिमी विचारले विश्‍वलाई नै विचार क्षेत्रलाई उपनिवेश बनाइरहेको समय पूर्वले पनि त्यो गर्न सक्थ्यो, लीला लेखनमा पूर्वीय दर्शनबाट झिकिएका र लेखनको लागि तयार पारिएका विचारहरू थियो होइन र?
11. विश्‍वभरिका राम्रा लेखहरूलाई नेपाली पाठकले पढ्छन्। त्यसरी नै विश्‍वले नेपाली साहित्य पनि पढ्नुसक्थ्यो, तपाईँहरू त अझ भावावेग लेख्नेहरूको विरुद्ध, लेखनमा विचार, अनुभूति जोडेर जीवनलाई सम्पूर्ण लेख्ने अभियानमा हुनुहुन्थ्यो। त्यो नयाँ कुरा उनीहरूले पाउन सक्थे, पहलै पो गर्नुभएन हगी? कि त्यो नयाँ कुरा नभएर विभिन्न दर्शन, विचार, कलाको आँटाको डल्लाबाट अलिअलि चुडेँर फेरि अर्को डल्ला बनाउने र रोटी सेक्ने अभियान थियो?
इबराः (8, 9, 10, 11 को एउटै उत्तर) नेपाली उत्कृष्ट कृति र नेपाली श्रेष्ठ कृतिकारहरू अन्य साहित्यमा समेत चर्चित भएका देख्न चहाने यहाँको सदाशयताको गुणग्रहण गर्छु। अलिकति चूक हाम्रो भएको हो।
12.(म अहिले चिनुवा अचिबीको थिङ्क फल अपार्ट पढ्दैछु। त्यसको रिभ्युमा द गार्डियनले पश्‍चिमी विचार (जो गोरा उपनिवेशवादमाथि आधारित थियो)लाई भत्काइदिएको भनेको पनि पढें। तपाईँको आज रमिता छअफ्रिकाको मजस्तै साधरण पाठकले पढ्दा नेपाली समाज, रहन सहन, सांस्कृतिक, सामाजिक कथा पढ्न पाएर त्यसबेलाको नेपाल-भारतका नेपालीहरूलाई बुझ्न सक्नेथियो कि भन्ने लाग्यो।)?

नेपाली साहित्यमा नै तपाईँहरूको वैचारिकताथुनियो हगी? तपाईँहरूको बेलामा(क्षेत्रीय सन्दर्भ समय) साहित्यमा सपाट भावावेगमात्र भएकोजस्तो तपाईँहरूको लेखन पनि नेपाली साहित्यसम्मको विचारावेग मात्र भएन?
इबराः थिङ्क फल अपार्टमा युरोपीय उपनिवेशवादीहरू आउन अघिको अफ्रीकी समाज स्वतन्त्र, आत्मनिर्भर, स्वनिमायक र संयुक्त थियो; युरोपीय व्यापार स्वार्थ, धर्म स्वार्थ र तथाकथित उच्च संस्कृति र सभ्यता प्रचार स्वार्थका प्रहारले त्यो भत्किएको, टुक्रिएको छ।
                ‘आज रमिता छमा बृटिश साम्राज्यवादले भारत र दार्जीलिङदेखि विदा लिइसकेको तर देशी उपनिवेशवादले त्यो स्थान लिएको समय छ। नेपाली समाजलाई टुक्राउन सकेको छैन, बरू संघर्षमा नेपाली जाति अझ बलियो बनेको छ।
                उपन्यासको यसरी उत्तरउपनिवेशवादी अर्थ्याई हुनसक्ने देखिनुमा अघि हामीले चर्चा गरेको समयले कृतिको अज्ञात अर्थ उज्याल्ने सम्भावना बोल्न खोजेको सुनिन्छ।

13. साहित्यमा समयसम्मत लेखन (समय लेखन) तिर तपाईँहरूको विचार योजनाबद्ध र प्रतिबद्ध थिएन?
इबराः हिजो हामीलाई जे लेख्नलायो लेख्यौं। आजले जे लेख्न लाउँदैछ लेख्दैछौँ। भोलिले जे लेख्न लाउँला लेखौंला। तर व्यर्थमा कोही बद्लँदैन। कुनै विचारिक पक्रममा बद्लन्छ।
मार्क्सीय प्रतिबद्धता’  सम्झाउनु भएछ। हामी बाहुल्यवादी प्रतिबद्धता पनि सोचौँ र व्यवहारगत बनाऔँ।
14. हरेक ठाउँको लेखनमा हरेक स्थानिक नै वैश्‍विक हो भन्ने लाग्छ। पढ्दा त्यहाँ पाइएको समाज, भाषा, संस्कृति, समयबाट प्रभावित लेखन हो भन्ने चाल पाइन्छ। त्यो स्थानिक विचारको पठन भने वैश्‍विक हुन्छ। तपाईँहरूको विचार(कला) स्थानिक नभएर वैश्‍विक थियो? तपाईँहरूको भने वैश्‍विक विचारलाई स्थानिक पठन भयो हगी?
इबराः स्थानिकमा वैश्‍विकको प्रतिविम्वितिकै चर्चा हो यो। धेरथोर सबैको कृतिमा यसो हुन्छै हो।
                यसो हुनुमा आधारिक कारक हुन्छ: मानिस सब आफ्ना अन्तरतम सार्विक (युनिभर्सल) हुन्छन्। प्रत्येक व्यक्ति सार्वित मानिस हुन्।
15. तेस्रो आयाम र लीला लेखन, यस्तो हो उस्तो हो भनेर पाठकको स्पेस हनन गरिएको, लाग्छ कि लाग्दैन? टेक्स्टले नै त्यो तेस्रो आयाम र लीलाबोध दिइनुपर्थेन र?
इबराः मानिस/ पाठक सब समान र एक योग्यताका हुँदैनन्। पाठकवर्ग, लेखकवर्ग सबलाई मार्गदर्शक हुनसक्ने साहित्यालोचनलाई स्वागत्य मानौँ। यस अन्तर्वार्तालाई पनि पाठकवर्गको अधिकार मिचाहा मान्नुहुन्न होला।

16. बैरागी काइँला आजको पुस्तासित पनि काव्यिक संवाद गरिरहेका भेटिए। तिनका कविताले नयाँ पुस्तालाई विचारको बीऊ थमाएको सुनिन्छ। मदन पुरस्कार प्राप्त गर्ने आख्यानकार राजन मुकारुङले त 50-60 को दशकमा नेपाली साहित्यको सौन्दर्य नै फेरिएको किटान गर्छन्। आजको एकपुस्ता पहिचानको मुद्दामा प्रतिबद्ध भएर लेखिरहेका छन्, उनीहरू चर्चित पनि छन्। यता काइँलाले भने पनि त्यसबेलाको र अहिलेको राजनैतिक, सामाजिक  परिस्थितिमा अन्तर छ। यो परिस्थितिले नै लेखनलाई उर्जा दिन्छ। तपाईँ आजका पुस्तासित कत्तिको नजिक हुनुहुन्छ? कसले के काम गर्दैछ, के लेख्दैछ भन्ने कुरा थाहा छ कि छैन? नाम लिँदा अफ्ठ्यारो हुन्छ भन्ने कुरा नठानी तपाईँले लिने नाम कुन कुन हो। के गरिरहेका छन् उनीहरू?
इबराः पाइएजति नयाँ प्रकाशन सबै पढ्छु। पारम्परिक र प्रयोगात्मक दुवै थरी। अघिका कवि लेखक उत्तिकै पढ्छु। सिक्न ज्ञान पाउन सबतिरबाट सकिन्छ।

17. मौलिक आलोचना सिद्धान्त छैन भनेर तपाईँद्वारा धेरैलाई भनिएको सुनिएको हो। साँच्ची नै छैन? अचेलका आलोचकहरू फोस्रा मात्र देखिन्छन्। नपढी लेख्ने। तपाईँलाई कस्तो लाग्छ?
इबराः मूल कुरा सुन्नुभएछ। सही कुरा होः प्रौढ सचेत समालोचकले आफ्नो समालोचना-पद्धति प्राप्त गर्छन् जसबाट विशेष प्रकाशकर कृतिहरू हेर्छन्।