'समाज, समय र किताब नपढ्नेले कविता नै नलेखुन्'


(मनोज बोगटी नेपाली भाषी भारतीय साहित्यकारहरुमा अहिलेको चर्चित नाम हो। समाजबाट टिपिएका विम्ब र प्रतिकहरुले सिंगारेर आगोजस्ता कविता लेख्ने यी उम्दा कवि दार्जिलिङमा रहेर साहित्य सिर्जनामा मग्न छन् । केन्द्रमा नेपाली पहिचान राखेर नेपाली भाषी भारतीयहरुको आवाज बोल्ने यी कवि साहित्य एकेडेमी युवा पुरस्कारबाट पनि सम्मानित छन् । हालै उनको कविता संग्रह काफेर अमेरिका फिनिक्स बुक्सले बजारमा ल्याएको छ । उनै कविसँग पाहुरका लागि लक्ष्मण श्रेष्ठले फेसबुकमार्फत गरेको छलफल यहाँ प्रस्तुत छ । सं.)

लक्ष्मणः दाइ कविता किन लेख्नुहुन्छ ?
·         मनोजः शुरुमा रहरले लेखियो । कवितीय कलाबारे जान्दैगएपछि कविता मानिसको निम्ति लेखियो । कलाले समाजको चेतनालाई प्रवुद्ध पार्न ।

लक्ष्मणः तपाईका कवितामा समयचेत र समाजचेत भेटिन्छ भनेर समिक्षकहरू भन्छन् । तपाको आफ्नै धारणामा, कविताको केन्द्रमा के राख्न रूचाउनुहुन्छ ?
·         मनोजः समीक्षकहरूले कविताको अन्तरले बोलेको कुरा सुनेको हो भने ठिक कुरा देखेको हो । कविताको केन्द्रमा आजको त्यो मानिस जसलाई समयले सम्बोधनमा राख्दैन, उनीहरूको जीवन र त्यो जीवनसित जोडिएको समयलाई नै केन्द्रमा राख्न ठिक लाग्छ ।

लक्ष्मणः मनोजको कवितामा भारतीय नेपालीले खोजेको पहिचानबोध हुन्छ भन्दा फरक पर्छ ?
·         मनोजः पर्दैन । जुन समाजलाई भारतीय संघीय सत्ताले सधैँ फेंदमा राखेको छ,  उनीहरूको पहिचानलाई कविताको मूल स्वर बनाउनु आजका कविहरूको कवितीय धर्म हो ।

लक्ष्मणः तर तपाहरू नेपाली भाषाला नै उन्नति गर्ने इन्द्रबहादुर राहरूसँग असहमति राख्नुहुन्छ रे?
·         मनोजः भाषा उन्नति गर्ने इन्द्रबहादुर राईमा हाम्रो असहमति होइन । तिनको लेखनले दर्शन र आन्दोलन यताको नेपाली समाजमाथि उभेर बोल्दैन । तिनी प्रयोगवादी लेखक हुन् । तिनलाई भारतीय नेपालीको मुद्दासित सरोकार छैन । प्रयोगको निम्ति प्रयोग बेकार कुरा लाग्छ । कलाको निम्ति कला भन्नेहरूले आफू उभेको भुइँ छोडेकोमा हाम्रो विमति हो । तिनीहरूको आन्दोलन भारतीय नेपाली समाजको पीडाबाट होइन पश्चिमी विचारको अनुशरणबाट भएको हो । उत्तराधुनिकतावादी तिनको लेखकीय प्रतिबद्धता लेखनको स्टाइलसित जोडिएको छ, समाजसित होइन । उनीहरू धेरै केही बोले झैँ गर्छन्, केही ठोस भन्दैनन्। ठोस भनिँदैन, भन्न सकिँदैनजस्तो विचारका दासीहरू हुन् उनीहरू। उनीहरू साहित्यलाई रैथाने समाजभन्दा मात्थिबाट व्याख्या गर्छन्। उनीहरूलाई लाग्छ, विश्वको साहित्यिक उक्लाईसितै अघि गइरहेछ नेपाली साहित्य। तर वास्तवमा सधैँ फेदमा नै हुन्छ। नेपाली साहित्यमा पोष्टमर्डनिज्मको कुरा गरेर उनीहरू विचार ल्याउने ब्रोकर बन्न सक्छन्, राइटर होइन। विश्व जतै पुगोस्, ज्ञानको, दर्शनको सिद्धान्त जतै पुगोस्, म उनीहरूलाई होइन समाजलाई नै पछ्याउँछु लेखनमा। उनीहरू प्रभावित समाजलाई केवल लेख्छन्, हामी त्यो प्रभावको मूल स्रोत छुट्याएर त्यसमाथि हस्तक्षेप गर्छौँ।
जुन समाजले तिनले लेख्ने भाषा बोल्छ, त्यो भाषाको उन्नति चाँही गर्ने तर समाजको उन्नतिको निम्ति गर्नुपर्ने लेखकीय प्रतिवद्धताप्रति चाँही आँखा चिम्लिने तिनको लेखनीसित हामीले चासो नराखेको हो । यसलाई इन्द्रबहादुर राईसित हाम्रो विमति देख्छन् भने हामीलाई आपत्ति पनि छैन।

लक्ष्मणः अर्थात लेखकको प्रतिबध्दता समाजसित जोडिनुपर्छ भन्ने तपाईंको धारणा हो ?
·         मनोजः जुन समाज भारतीय भाषिक विविधताविच खुम्चिन्छ, जुन समाजको पहिचान नै छैन, उसको भाषामा लेखिने साहित्य समाजसित नजोडिए, त्यो समाजको निम्ति त्यो साहित्यको के अर्थ ? यो प्रतिबद्धता इन्द्रबहादुर राईले बङ्गालको सीपीएम सरकारसित जोडेर हेरेजस्तो होइन । लेखकीय प्रतिबद्धता समाजसितै जोडिनुपर्छ । भारतमा सरकारी मान्यताप्राप्त भाषा मात्र २४ वटा हो, ती भाषासम्म हाम्रो साहित्य नपुग्नुको कारण खोज्दै जाँदा पश्चिमी विचारका दासहरूको चटक र यो चटकलाई अनुवाद गर्न नसक्नु हो भन्ने निर्णयमा पुग्छु म । ती भाषाहरूमा नपुगी भारतीय साहित्यको केन्द्रमा भारतीय नेपाली साहित्यले डिस्कोर्ष ल्याउन सक्दैन । पक्कै पनि साहित्य जादू देखाउने मसाला होइन । उनीहरूले भारतीय नेपाली साहित्यको केन्द्र नेपाली साहित्य’-लाई बनाए जब कि हुनुपर्थ्यो भारतीय साहित्य

लक्ष्मणः अर्थात ती भाषामा नेपाली भाषहरूको साहित्य पनि पढिनुपर्छ, पढाइनुपर्छ ?
·         मनोजः अघि पनि भने, जस्तो कि तेस्रो आयाम र लीला लेखनहरू अरू भाषामा गएको भए उत्तराधुनिकता र विनिर्माणहरू जान्थ्यो, भारतीय नेपाली समय र समाजले आग्रह गरेको कुरा जाँदैन थियो । भारतकै अन्य भाषासम्म नजानुमा भारतीय नेपाली साहित्यमा भारतीय नेपाली समाजबाट गुदीनभरेकोले नै हो । उनीहरू खोस्टा, बोक्रा, रूप, फर्मतिर नै अल्झिए अनि विश्व साहित्यको हाराहारिमा केही गतिलो काम भयो भन्ने भ्रम(लीला)मा भुले । भारतलाई नेपाली साहित्य पढाउने काम भएन।

लक्ष्मणः तपाले भनेजस्तो अरु भाषामा जान नसक्नुको कारण के होला ?
·         मनोजः पश्चिमी विचारको प्रवाह स्रोतमा उनीहरूले पूर्वीय दर्शन मिसाएर नौलो काम गरेको हाँक नदिइबसेको भए अनि समाजलाई टिपेर हिँडेको भए हाम्रो कुरा ती जम्मै भाषामा जान सक्थ्यो । त्यो उनीहरूको निम्ति नयाँ कुरा हुन्थ्यो । बाहिरबाट ल्याइएका विचार गुदीमा राखिएकोले नै अनुवादहरू भएनन् भन्ने किटान छ मेरो त । यताका लेखकहरूले लगत ठाउँलाई केन्द्र मान्नु गल्ती भयो। शुरुदेखि नै भारतीय साहित्यलाई केन्द्र बनाउने काम गरिएको भए सबैभन्दा ठूलो दायित्व अनुवादको हुन्थ्यो तर नेपाली भाषा (नेपाललाई केन्द्र)लाई मात्र केन्द्र बनाउने जुक्तिले काम बिग्रिएको हो भन्ने मेरो अध्ययन छ।

लक्ष्मणः अर्थात सामाजिक आधार कमजोर हुनु नी आइबी राहरूको मुख्य कमजोरी थियो ? नेपाली भूगोलभित्रकै साहित्यमा पनि लीलालेखनको ठूलो प्रभाव देखिन्छ । तपाइला के लाग्छ के उनीहरू पनि राकै समाजविमुख पथमै छन् ?
·         मनोजः देशमा परेको सङ्कट, समुदाय, ससाना भाषा र भाषीहरूमा परेको पहिचानको सङ्कटदेखि लिएर देशीय विचार र अर्थनीतिमा परेको सङ्कटलाई एउटा लीला मात्र हो भन्ने विचारको पथानुसरण गर्नु दुर्भाग्य थियो  । लीलाले विभिन्न ज्ञानुशासनका सन्दर्भहरूलाई जोडेर आयाम लेखनमा लागेको आक्षेपबाट बँच्ने उपाय गरेको भए पनि अन्तमा यथास्थितिवादी विचारलाई नै पश्रय दिने लेखन थियो । इन्द्रबहादुर राईको लीला लेखनलाई तिनका फलोवरहरूले पुरै संसोधन गरेर लेखनमा ल्याइसकेका हुन् । अचेलका लीलावादीहरूले समाज सरोकारलाई पनि विशेष प्रथमिकता दिइरहेकै लागेको हो ।

लक्ष्मणः मैले थोरै मोडें, नेपाली भारतीय समाजसँग त्यहींका साहित्यकारले गाँस्नैपर्ने प्रतिबद्धता के हुन् ? त्यो भाषिक पहिचानमै सिमित छ वा पहिचानका पनि बेग्लै स्वर छन् ?
·         मनोजः  भारतमा नेपाली भाषा पनि एउटा केन्द्र हो । तर त्यो भाषामा लेखिने साहित्य भारतीय साहित्यमा केन्द्र बनेको छैन । अब पहिलो भारतमा नै नेपाली साहित्यलाई उभ्याउने र यसको सौन्दर्य पढाउने काम गर्नु नै लेखकीय प्रतिबद्धतासित जोडिने सवाल हो । त्यसो गर्न भारतीय नेपाली समाजबाट नै भारतीय नेपालीसाहित्यको सौन्दर्य टिप्नु पर्यो। यसको निम्ति प्रतिबद्धता चाहिन्छ। प्रतिबद्धता भनेको चेतना हो। आफ्नै घर, समाज, समय, देशले दिने चेतना। भारतमा नेपाली समाज देखाउन, भाषिक, साँस्कृतिक, अर्थनैतिक, राजनैतिक मूल्यहरूमा परेको विविधता देखाइन पर्यो। लेखकीय विचार आफ्नै माटोमा उम्रिन पर्यो।

लक्ष्मणः मैले सुनेको थिएँ साहित्य एकेडेमी पुरस्कार पाउँदा वितरणा समारोहमा तपाइलाइ नेपाली कवि भनेर बोलाइयो । त्यसको तपाइले प्रतिवाद गर्दै म नेपाली होइन नेपाली भाषी भारतीय हुँ भन्नुभो रे । के फरक छ, एक नेपाली कवि हुनु र नेपाली भाषी भारतीय कवि हुनुमा ?
·         मनोजः यो घटना पुरस्कारको बेला होइन, अकादमीको एउटा गोष्ठीको हो । म भारतीय नागरिक कवि हुँ, तर भाषा नेपाली । हाम्रो भाषा नेपाली हो राष्ट्रियता होइन । म भारतीय कविलाई नेपालको कवि भनेर बोलाउनुले नेपाली भाषालाई लिएर केन्द्रिय तह भ्रममा छ भन्ने बुझ्नु सहयोग गर्छ। नेपाली बोल्ने बित्तिकै नेपालको हो भन्ने कुरा हामीलाई मात्र लागू हुन्छ, बङ्गला बोल्ने बित्तिकै बङ्गला देश सम्झिन्न फेरि, पश्चिम बङ्गाल नै सम्झिन्छन्। यसैमा मेरो हस्तक्षेप थियो । हामीलाई नेपाली बोलेको कारणले नै विदेशी भनिन्छ, अथवा नेपालको नागरिक । जुन भाषालाई भारतीय भाषा हो भनेर भारतको संविधानले मान्यता दिइसकेको छ । दिल्लीलाई के लाग्छ भने नेपाल भन्ने देश भारतमा छ । यसले हाम्रो पहिचानको सवाललाई स्पष्ट पार्छ । नेपाललाई पार्छ कि पार्दैन कुन्नि? हामी भारतीय नेपालीलाई नेपालको नेपाली बुझ्नु हुँदैन, यसले हाम्रो अस्तित्व र पहिचानको सवालमा ठूलो अर्थ राख्छ ।

लक्ष्मणः निश्चय नै । म फेरी पहिचानको मुद्दामा फर्कएँ । अहिले नेपालमा पनि यो मुद्दा पेचिलो बनिरहेछ । तपाइलाइ कस्तो लाग्छ दार्जिलिंग शहरमा चिल्लो कारमा गुड्ने धनाढ्य नेपाली र तपाइको एक कवितामा भनिएझैं भान्साघर नै स्कुल, स्कुल नै भान्साघर हुने नेपाली दुवैलाइ एउटै पहिचान शब्दले सम्बोधन गर्न सक्छ ?
·         मनोजः धनि नेपालीको पहिचान हुने र गरिबको नहुने सम्बन्धको पहिचानको कुरा निश्चय पनि हामीले गरिरहेका छैनौं । नेपालीमा उठेको पहिचानको मुद्दा त्यहाँको इथ्निक, भाषिक, जातिक, र सास्कृतिक मूल्यको सवालबाट नै उठेको होला । दार्जीलिङ शहरमा चिल्लो कारमा कुद्नेहरूको संख्या कति नै पो छन् ?  दिल्लीको चिल्लो सडकमा कुद्नेहरूको तुलनामा।  यता दार्जीलिङमा धनी गरिब नेपाली भाषीको जनसंख्याको हिसाब लगाएर पहिचानको मुद्दालाई अर्थ दिन सकिन्न, परिभाषित गर्न सकिन्न । यो यता पनि जातिक, भाषिक र सास्कृतिक मूल्यवाट नै सम्बोधन गरिनुपर्ने मुद्धा हो ।

लक्ष्मणः अब थोरै शैलीको कुरा गरौं । तपाइ, राजा पुनियानी, टिका भाइ जस्ता कविहरू अहिले नेपाली भाषाी भारतीय साहित्यमा उम्दा कविको रूपमा चिनिनहुन्छ । तपाइहरूले शैलीमा ल्याएको फरकपन के हो जस्तो लाग्छ ?
·         मनोजः मेरो समाजले बुझ्नसक्ने भाषाबाट कलालाई उनीहरूको प्रयोजन र सरोकारमैत्री पार्ने हाम्रो शैली हो । विदेशबाट मिथ टिपेर पण्डित्याँर्ई देखाउने लेखक समाजले साहित्यबाट समाजलाई पर पारेको छ, हामी वर तान्ने शैली मन पराउँछौं । मिथ अब हामीसितै पर्याप्त छन्। बाहिरबाट ल्याउन पर्दैन।  बट्टारेको भाषाले, केन्द्रिय विचार र अन्तरपाठ फोक्से तर रुप र डिजाइन चाँही कलाले कुद्नसम्म कुँदेका साहित्य भारतीय नेपाली समाजको मनोविज्ञान वा समाजविज्ञान नविचारी, रतिको लागि, आनन्दको लागि, केवल कलाको लागि धेरै यता लेखियो, अब कवितालाई जनमुखी बनाउने वाग्धारा, शैली, प्रस्तुतितिर विचार पु¥याउँदै गरेको पुस्ता छ ।

लक्ष्मणः तपाइ आफ्नै कविता रचना प्रक्रियाको कुरा गरौं । कतिबेला कवित लेख्नुहुन्छ वा मुड पर्खिनपर्छ ? मनोज बोगटीलाइ कविता लेख्न उद्वेलित केले गर्छ ?
·         मनोजः समय, समाज र घटनाले नै आग्रह गर्छ। समाजको अध्ययन गर्दै जाँदा, जहाँ बोल्नुपर्ने हो लाग्छ, त्यो खाली ठाउँले कविताको रूप मागेको हो लाग्छ । मानिसको सत्तामा, उसको अधिकारमा, हकमा, दुःखमा, सुखमा देखिएको सङ्कटले उद्वेलित गर्छ, जस्तो कि भान्साघरको स्कूल कविता लेख्दा सरकारी योजनाहरू अभिभावकलाई आफ्नो नानीहरूलाई अन्डा र भात खुवाउने क्षमतानिर्माणको निम्ति तयार नगरेर भोका गरिबहरूलाई भातको लोभ देखाएर अक्षर सिकाउँछु भन्नु खतरनाक विचार हो। गरीबलाई सधैँ गरीबकोरूपमा व्याख्या गर्नु हो।  स्कूलस्कूलमा भात खुवाउने नीति, गरिबहरूलाई हेपेर बनाइएको योजना हो भन्ने ज्ञानले आग्रह गरेपछि लेखियो । यस्तो केही आग्रहहरूले लेख्छु कविता ।

लक्ष्मणः सायद चर्चित कविता काफेर अमेरिकाको पछाडि विकिलिक्स र आसन्जको घटनाक्रम थियो होला है ?
·         मनोजः ती लगायत, त्यहाँ र विश्वका नागरिकहरूको व्यक्तिसत्ता, अधिकार, सुरक्षा, मानवाधिकारको सवालमा गरिएको केन्द्रियशक्तिको चलखेल र हस्तक्षेप, समाजिक, अर्थनैतिक र अन्य संयन्त्रको क्षेत्रमा देखिएको साम्राज्यवादी चलखेलको सवाल पनि छ । शक्तिकेन्द्र सधैँ शक्तिशाली हुँदैन, वास्तवमा त्यसको आधार कमजोर हुन्छ। कसैलाई मारेर नै आफू बाच्न सकिन्छ भन्ने विचारप्रति विरोधछ। प्रतिरोधी चेत छ, काफरे अमेरिकामा।

लक्ष्मणः तपाइ कवितालाइ चाहिने विम्ब र प्रतिकहरू कहाँबाट खोज्नुहुन्छ ?
·         मनोजः जतैबाट पनि, कविताको अन्तरपाठले बोल्न जुन जुन विम्ब माग्छ, प्रतिक माग्छ जहाँबाट माग्छ, खोजिन्छ। विम्ब, प्रतिक भन्ने कुरा त कविताले बोल्ने भाषा, जसले सुन्नुपर्ने हुन्छ, उसले सुन्न बुझ्न सक्ने र कलात्मक बनाउन चाहिने कुरा न हो ।

लक्ष्मणः समाजप्रति प्रतिबद्ध र अप्रतिबद्ध कविले गर्ने सौन्दर्यबोधमा के फरक हुन्छ ?
·         मनोजः सौन्दर्यबोध समाजबाट लिएको कवि समाजप्रति चिन्तित हुन्छ, उ सधैँ जनवादी हुन्छ। त्यसरी नलिएको कवि कलाप्रति चिन्तित हुन्छ, उ सधैँ कलावादी हुन्छ । कला विचारलाई सम्प्रेषणीय बनाउने माध्यम मात्र हो ।

लक्ष्मणः हामीलाइ बताइदिनोस् न नेपाली भाषाी भारतीय साहित्यको अहिलेको सबैभन्दा सकारात्मक पक्ष के हो ? सबैभन्दा चुनौती कहाँ छ ? के मा छ ?
·         मनोजः भारतीय नेपाली साहित्यको अहिलेको सकारात्मक पक्ष अधिकांश लेखकीय चेतना जनमुखी बन्दैछ । यसलाई विथोल्ने शक्ति पनि साहित्यिक समाजमा नै घुस्रिएकोले यो चेतनाको संरक्षणको सवालमा चुनौतिहरू देखापरिरहेका छन् । शाषक र शाषित एकै ठाउँ राखेर साहित्यलाई ग्रहण गर्ने घातक चेतना अबका हस्तक्षेपीहरूको निम्ति चुनौति हो । यो घरि समावेसीरूपमा आउँछ घरि यथास्थितिबोधीरूपमा। सहीँ बढी सचेत छौं।

लक्ष्मणः मलाइ लाग्छ तपाइसँग अझै धेरै विषयमा छलफल गर्न बाँकी छ । अन्त्यमा, कवितामा भर्खरै लागेको एक सिकारू कविले ध्यान दिनैपर्ने के कुरा हुन् ? भनिदिनुस न ।
·         मनोजः १९९६ मा घर फर्कनलाईशीर्षकमा मैले पहिलो कविता लेखेको थिएँ, त्यो पारि भुटानबाट खोदिएका नेपालीहरूको भूमि फर्काइको सपनाले, आग्रहले लेखियो । मनको जेसुकै कुरा लेख्नु कविता होइन । लेख्दैगरेकाले समाज र किताबको अध्ययनले कवितालाई तिखारुन् । यसो गर्न नसक्नेले कवितै नलेखुन् । समाज, समय र किताब कविको सबैभन्दा सशक्त हतियार हो ।