22 प्रश्नमा इन्द्रबहादुर राईले 17 वटाको मात्र उत्तर दिए। थरथर कामेका हातले ती लेखेका हुन्। उनका हस्ताक्षर हेरेपछि मलाई लाग्यो, मैले उनलाई सास्ती नै दिएछु।
यसै पनि तिनलाई पठाइएका
प्रश्नहरू उत्तर दिन लायक थिएनन्। किन भने तिनी चाहन्छन्, अन्तर्वार्ताकारले उनीहरूले लेखेका कृतिहरू पढेर, बुझेर टेक्स्टभित्रबाट प्रश्नहरू गरुन्। मैले जम्मै प्रश्न
टेक्स्ट बाहिरबाट गरेँ। अनि पाउँछु त उत्तर?
टेक्स्टभित्रबाट
तिनलाई गरिएका हजारौँप्रश्न र उत्तरहरूबाट दिक्क लागेको थियो। के छ अब तेस्रो
आयाम र लीला लेखनबारे गरिनुपर्ने प्रश्नहरू? अब अरू सरोकारका कुराहरू गरौं, यस्तो लाग्यो मलाई।
...
कवि निमा शेर्पा र म पुग्दा इन्द्रबहादुर राई कोठैमा थिए।
‘कहाँबाट आएको हो?को हो, मैले त चिनिनँ।’
तिनको यो प्रश्न थियो, हाम्रो दुर्भाग्य थियो। तिनले नचिनेपछि हामीले ‘हामी पनि कवि हौं नी, दार्जिलिङको’ भनिदियौं।
‘ए..’-बुझेको उहाँको टाउको हल्लियो।
‘2012 को साहित्य
एकादमी युवा पुरस्कार पाएको हो सर, यिनले।’ चिनि पो हाल्छन् कि भन्ने लागेर हो कि निमाले यसो पनि भनिदिए।
भनिसकेर निमाले मलाई हेरे, मैले ‘यसो त नभनेको भए नी हुने’ किसिमले हेरिदिएँ।
‘खै कसकसले के के पुरस्कार
पाउँदैछन्, के के लेख्दैछन्। आफू त
आफ्नै विचारको...,’ तिनले भने, ‘खै आफैले विचार गरेको लेख्नै दिँदैनन्।’
...
नेपालमा पुस्तान्तरको समस्या नरहेको सम्बन्धमा केही महिना
अघि काठमाडौंमा निमा र मैले कुरा गर्यौं। त्यही कुरा इन्द्रबहादुर राईको घरमा पनि
सम्झियौं।
नेपालमा तीनपुस्ताबिच
जोडिएको ‘सम्बन्ध’ आफैले देख्यौँ। आफ्नै पुस्ताबाट बैरागी काइलालाई सोझै ‘बैरागी काइला’ सम्बोधन गरेको सुनेर हामी हेराहेरसमेत गरेका थियौं। हामी
यता सम्बोधनमा‘सर’ जोडेनौं भने समस्यामा पर्छौं। कवि राजा पुनियानी भारतीय
नेपाली साहित्यमा देखिएको यो ‘हाइरार्की’ लाई समस्या मान्छन्।
हामी पनि इन्द्रबहादुर
राईलाई ‘सर’ भनिरहेका थियौँ।
मलाई ‘सर’ भन्दा कुनै
कम्पनीको मालिकजस्तो लाग्छ। कुनै नेताजस्तो। शासकजस्तो। हेपुवा, चलाक र सत्ताजस्तो लाग्छ। त्यो लाग्दै पनि भनिरहेका थियौं, ‘सर, हामी कविहरू
हौँ।’
...
उताका बैरागी काइँलालेजस्तो यताका इन्द्रबहादुर राईले नयाँ
पुस्तालाई चिन्दैनन्। केहीबाहेक। यसो त तिनी बुढा भए। तिनी विस्तारै चिन्न नसक्ने
आँखाका पनि भए। सुन्न नक्ने कानका पनि भए। तर बोल्न नसक्ने मुखका भइहालेका छैनन्।
विचार्न नसक्ने बुद्धिका भइहालेका छैनन्। इन्द्रबहादुर राईको घरैमा अघिल्लो
पुस्ताका कवि सञ्जय वान्तवाको‘इन्द्रबहादुर
राईले मेरो कविता पढ्दैनन्’ र जस योञ्जन
प्यासीको‘चाहिँदैन इन्द्रबहादुर
राईको कथा’ कविता सम्झिरहेको थिएँ।
किन हँ?
...
अचेलका युवा कविहरू(सप्पै होइनन्) अलिक बढी अट्टेरी, अशिष्ट, अराजक र ढिट
देखिन्छन्। त्यो उनीहरूको कविताको स्वाभावले पनि बताउँछ। उनीहरू कला पनि चिन्छन्, विचार पनि। जीवन पनि चिन्छन् अनि सत्ता पनि। अध्ययनशील पनि
छन् र विचारशील पनि। धेरचाँहि सपनाशील छन्। यिनीहरूले इन्द्रबहादुर राईको ‘सम्पूर्णता’ लेख्ने
आयामलाई ‘अपूर्ण’ र ‘भ्रम’ बताउने लीलालाई ‘भ्रामक’ मान्छन्। यी
कुरा सम्पूर्ण मानिसहरुको निम्ति होइन, एकमुट्ठी मानिसका कुरा हुन्। सम्पूर्ण मानिसलाई प्रबुद्ध बनाउनको निम्ति होइन
केही मानिसका बौद्धिक विलासका कुरा हुन्। यी
कुरा साबित गर्न उनीहरूसित तथ्य पनि छ र तर्क पनि। उनीहरूसित विचारको फेदमा ‘मानिस’ छन्।
निसन्देह ती मानिस ‘भारतका
नेपाली’ र ‘विश्वसमाजका मानिस’ दुवै एकैचोटि हो। कतिले उनीहरूलाई कम्युनिष्ट देख्छन्। कतिले प्रतिरोधी
चेतका र कतिले अराजक चेतका। कतिले चाँही बेकारका। यसो चाँही तर उनीहरू रहरले भएका
होइनन्। विलासी साहित्य, केन्द्र र
राज्य सत्ता, चियाबारीका मालिक र
बजारले बनाएको हो। यसकारण उनीहरूले इन्द्रबहादुर राईबारे आलोचना गर्दा धेरैले ‘विरोधी’ देख्छन्।
यसलाई हामी ‘चेतनादोष’ भन्छौं।
एउटा जडतामाथि आलोचना गरेर नै, अन्वेषणगरेर नै अर्को बाटो बनिन्छ। जे गरेपनि जस्तै लेखे पनि, जस्तै विचारे पनि जम्मै उत्तराधुनिकता र वादको प्रभाव हो, मान्ने पारम्परिकचेत काम लाग्दैन दार्जीलिङमा। यो सोच गलत
पनि हुनसक्छ। छानबिन गर्न आलोचना, बहस चाहिन्छ।
त्यसैको प्रयासमा छन् ती कविहरू पनि। इन्द्रबहादर राई अझसम्म एउटा डिस्कोर्स हुन्
नै। लेखक इन्द्रबहादुर राईलाई हामी सधैँ सम्मान गर्छौं। विचारक इन्द्रबहादुर राईका
केही विचारहरूमा चाँही आपत्ति पनि जनाउँछौं। यति त हुनै पर्यो नी।
‘यो रुख बाङ्गो छ कि सिधा?’-कथा जमानाका हामी रहेनौं। राईले मानुन् नमानुन्, हाम्रो विचारको केन्द्र ‘सामुहिक प्रतिबद्धता’ नै हो लेखनमा।
र तिनलाई गरिने प्रश्नहरू
त्यही धारबाट बनिन स्वाभाविक हो।
...
दीपक सापकोटाले पठाइदिएका ‘निर्बन्ध मोन्टाज’ र ‘पाण्डुलिपी’ झोलामा छ। मनमा चाँही पाण्डुलिपीको एउटा अङ्कलाई ‘इन्द्रबहादुर राई विशेष’ बनाउने सापकोटाको सपना। निमाले रेकर्डर बोकेका छन्। मैले
प्रश्नहरू तयार गरेको छु डाइरीमा।
मैले इन्द्रबहादुर राईलाई श्याम ब्रदर्शले गरेको एउटा ‘टकशो’मा पाएको हुँ
पहिलोपल्ट 2007 मा। त्यो
वार्षिक वार्तामालाको कार्यक्रम थियो। त्यहीँ तिनले गरेको अध्ययन अनुसारको ‘उत्तराधुनिकताले केन्द्र नमान्ने र पूञ्जीवादको विरोध
गर्ने’ विचार सुनेको हुँ। त्यहीँ
‘उत्तराधुनिकता कहिल्यै
बित्दैन’ भन्ने तिनको तर्क पनि
सुनेको हुँ। यो तिनको विचारमाथिको विश्वास थियो। आफूले चलाउने विचारमाथिको विश्वास
कत्ति हुनुपर्छ? त्यसैको उदाहरण थियो त्यो
वार्ता।तिनी उत्तराधुनिकतावादका डाइहार्ड फलोवर हुन्। तिनले नेपाली साहित्यमा जत्तिपनि चलखेल गरे, नागार्जुन, क्युबिज्म, सापोक्षतावाद र विनिर्माणबाट झिकेका थोकहरूलाई हतियार बनाएर
गरे। नेपाली राइटिङलाई तिनले नयाँ रूपदिए। चर्चित भए। तिनीजत्ति अध्ययनशील, ज्ञानी र ट्यालेन्टेड सर्जक कोही छैनन्। यो मेरो निजीकिटान हो।
उत्तराधुनिकता कहीँबाट आउँछ कि त्यहीँ हुन्छ? त्यो त म जान्दिनँतर ‘दार्जीलिङको
जीवनमा उत्तराधुनिकता आयो के त?’, तिनले भनेका थिए, ‘अब आफूमा परिवर्तन जाँच्नुपर्छ।’ तिनले जाँचेका कुरा मानिसमा आइरहेको परिवर्तन थियो।
कर्पोरेट्सको चलखेल, नवउदारवाद, भूमण्डलीकरण र बजारवादले समाजलाई दिएको प्रभाव नै
उत्तराधुनिकता हो? सुनेर यस्तो
लागेथ्यो मलाई।
‘पुर्खा शुद्ध
नेपाली थिए,’ तिनले भनेका
थिए, ‘अहिले मिश्रित, विस्तृत छौं। अन्य ठाउँको समाज हामीमा पस्यो।’
मलाई लाग्छ, त्यो पसेको अरूको समाजलाई स्वीकार गर्ने कि आफ्नो समाजलाई
बँचाउने? सायद वैचारिक विभेद यसैमा
हो। स्वीकार्ने कि नकार्ने? यही दुइ
अप्सन रहेको समाज त्यही दार्जीलिङमा पनि छ। स्वीकार्नेहरू इन्द्रबहादुर राईहरू परे, नकार्नेहरूको पक्षमा हामी?
त्यो त पच्छि नै थाहा
पाइएला, अहिले सङ्केतहरूमात्र, केही धमिला शंका छोडिराखौं।
भ्यानगगको जुत्ताको चित्रको उदाहरण दिँदै हामी श्रोतालाई
दार्जीलिङमा इन्द्रबहादुर राईले उत्तराधुनिकता चिनाइरेहका थिए। भ्यानगगको त्यो
जुत्ता, फाटेको, हिलोमैलो लागेको, ले ‘क्लास’ चिनाउने र अहिलेका हजारौं कम्पनीहरूबाट बनिएको जुत्ताको
फोटोले कुनै क्लास नचिनाउने तिनको तर्क थियो। ‘भ्यानगगको जुत्तामा फिलिङ र मिनिङ दुवै थियो,’ तिनले भनेका थिए, ‘अहिले फिलिङ मात्र छ मिनिङ छैन।’
त्यो हराइरहेको मिनिङको
खोजीमा लाग्नुपर्ने हो कि? लागिरहेको
बेला कुरा गर्दै तिनले साहित्यको ‘निश्चित
अर्थ नरहेको’ र उत्तराधुनिकतावादलाई प्यास्ट्रिज(सप्पै हालेको) बताएर टुङ्गाएपछि मेरो विचारका केही तार अवश्यै हल्लिएको
थियो।
त्यसरी कुरा गर्न जानेका राईलाई पढ्दै आइरहेका हामीले भने ‘फेस टु फेस’ भेटेका
थिएनौं। जीवनमा पहिलोपल्ट इन्द्रबहादुर राई भेटिरहेका थियौँ। त्यो अवसरका बहाना थिए
पाण्डुलिपीका सम्पादक दीपक सापकोटाले।
...
हामीलाई चिनिसकेपछि इन्द्रबहादुर राईले आँखा बन्द गरे। एउटा आँखामा बारम्बार कचेरा निस्किबस्ने। तिनले
पुछिबस्ने।
निमाले हाम्रो परिचय
गराएपछि तिनले भने,
‘मनोज बोगटीहरू...ए..अस्ती
काठमाडौं जाने?’
यतिखेर पो दङ्ग पर्यौं।
खबर त राख्दारहेछन्। अघिल्लोदिन तिनलाई भेट्न पुगेका एक साहित्यिक टोलीले जानकारी
दियोकि? नत्र कसरी
थाहा पाए तिनले हामी काठमाडौँ गएको?
‘हाम्रो काइँला के गर्दैरहेछन्?’ -सोधे।
‘हामीले हाम्रै कार्यक्रममा देख्यौं। बोल्नु पनि भयो। यत्ति
हो जानेको।’
तिनी डेडवर्ष भयो नेपाल
नछिरेको। पहिले त फोनबाट तिनको कुरा हुन्थ्यो काइँलासित। अहिले पैसा धेर खर्च गरेर
नबोल्ने भइसकेका छन्। तिनले त नेपाल नजानेसमेत प्रण गरिसकेका छन्।
‘पटक्कै नजाने म त नेपाल,’ तिनले भने, ‘दुइकिसिमको समस्या हुन्छ। एक उमेर नै उस्तो। घर जस्तो
हुँदैन, बस्नु खानु। अर्को, रातदिन साहित्यिक काम गर्छन् त्यहाँ, भ्याउनै गाह्रो।’
राती एघाह्रबजी पनि
अन्तर्वार्ता, बिहान सातबजी पनि। तिनलाई
नेपालमा चाहिएकोभन्दा बढ्ता साहित्यिक काम भएको लाग्छ। झिँझेट लाग्छ तिनलाई।
इन्द्रबहादुर राईलाई आफूले चाहेको काम गर्न नदिएकोमा झर्को लाग्छ। तिनलाई
अन्तर्वार्ता लिएको पनि मन पर्दैन अचेल। कसैको स्मृतिमा लेखेको पनि मर्दैन। ‘अस्ति प्रभुदानन्द स्वामी, त्यसपछि शरद छेत्री, हाइमनदास राईबारे लेखेँ,’ तिनले झर्को सुनाए, ‘आज पनि डा. कुमार प्रधानबारे लेखें।’ तिनलाई यस्ता लेखनहरूले अल्झाइरहेको छ।
‘आफ्नो लाइनको, विचारको, त्यही
विचारलाई पछ्याउँदै गएर भेटेको ज्ञान, कुरा लेख्नै पाइँदैन,’ सुनाए तिनले, ‘अब लेख्दिन भन्नु गाह्रो। अब चाँही एउटा लेखेको दुइहजार
लिन्छु भनौं लागेको छ। यसो भन्दा नलेख भन्छन् कि?’
यस्तो कठिन स्थितिमा मैले दीपक सापकोटाको सपनाबारे बताएँ।
दीपक सापकोटाले इन्द्रबहादुर राईले लेखेको पैसा दिन्छन् कि दिँदैनन्? यतिखेर मैले सोंच्नुपर्ने कुरा यही थियो।
‘कसले लिने अन्तर्वार्ता?,-सोधे तिनले।
‘हामी लिन्छौं। रेकर्डर
ल्याएका छौं। प्रश्न ल्याएका छौं। कुरा गर्दै जाऔं, हुन्न र?-भन्यौं।
तिनले त तीनपल्ट भने,-‘हुँदैन, हुँदैन, हुँदैन।’
तिनलाई लागेको छ, यसरी गरेको अन्तर्वार्ता राम्रो हुँदैन। नयाँ के के
निस्किएको छ, तीबारे आफू बोल्न सकिन्न।
तिनले भनेकोजस्तो, चाहेकोजस्तो
हुँदैन। इन्कार गरे इन्द्रबहादुर राईले।
‘प्रश्नहरू लिखित होस्, पुराना नयाँ लेखकहरूबारे केही, केही साहित्यका अरू कुरा होस्,’ तिनीसित विकल्प पनि थियो, ‘पढ्नेले केही नयाँ, राम्रो कुरा पाओस्। राम्रो होस्। हतार नगरौं।’
दीपकजी, यसरी चाहेको
गर्न पाइएन।
‘हो, फेरि अर्को
त्यस्तै काम आयो है। आफ्नो काम गर्न देउ न भन्छौं, यस्तो आइलाग्छ,’ यतिखेर तिनले यसो भनिदिए, ‘बरू पाण्डुलिपीको त्यो अङ्कको योजना यता उता गरेर ड्रप गरौं
न।’
तिनलाई हेरेँ, टाउको झुकाएर कसैलाई नहेरी, आँखा चिम्म गरी, एकएकवटा शब्द विचार्दै बोलिरहेका थिए। यत्रो उमेरमा आफूलाई
किन यसरी स्ट्रेस दिएका होलान्? तिनमा आफूले
बोल्दा राम्रोसित, ठिक्कको, चाहिनेमात्र बोल्नुपर्छ भन्ने चेत छ। अर्कोतिर
विशेषाङ्कहरूतिर तिनको मोह छैन। यी सबै तिनको लागि अल्झो हुन्। तिनी केही आफ्नै
विचारको नयाँ थोक लेख्न चहान्छन्। के छ त तिनीभित्र यतिखेर?
...
इन्द्रबहादुर राई चुपचाप बस्न चहान्छन्।
तिनी यतिखेर मृत्युचिन्तामा छन्। मरेपछि आफूले
केही लैजान नपाउने कुरामा चिन्तित छन्। तिनीसित ज्ञानको भण्डार छ, त्यो पनि तिनीसित जाँदैन। साहित्यबारेका चिन्तनहरू छन्, त्यो पनि तिनीसित जाँदैन। नाम, यश छ त्यो पनि तिनीसित जाँदैन। सत्कार, इज्जत छ त्यो पनि तिनीसित जाँदैन। के जान्छ त इन्द्रबहादुर
राईसित? केही पनि जाँदैन।
तिनलाई लाग्छ, मरेपछि मानिसले के के लान्छ?
‘अस्ति एउटा विचार मनमा
आयो,’ तिनी भन्दै जान्छन्, ‘मरेपछि आफूले केही लाँदैन, सबैले भन्छन्। त्यही कुरा आफूले सोंच्दा गहिरिनु पर्यो।
भौतिक कुरा केही जाँदैनन्। हजारको नोट, टेबल, चौकी केही पनि। हिन्दु धर्मले भनेको छ, ज्ञान पनि भौतिक हो। म ठूलो इतिहासकार हुँ भने, त्यसको ज्ञानपनि शरिरदेखि वियुक्त हुन्छ। ज्ञान पनि जाँदैन।
इमोशन, फिलिङ्गस? के यो पनि भौतिक हो? माया लाग्नु, रिस उठ्नु भौतिक हो?
सोचौं त एकछिन, मर्नसाथ कस्तो हुन्छौं त?’
निमाले थपे, ‘ढुङ्गाजस्तो।’
‘सायद मरेपछि यही कोठामा
घुमिबस्छौं होला,’ राई अझ
गम्भीर भए, ‘ए म त मरेँछु
भन्ने याद हुन्छ। माया पनि लाग्दैन। रुँदैरहेछ मत्तै लाग्छ।’ तिनी यस्तो अवस्थालाई प्रकृत अवस्था मान्छन्। संसारमा आउँदा
अप्राकृतिक कुराहरू जोडिन्छन्।
‘विचार गर्दै जाँदा म त
साधु सन्तजस्तो पो हुन्छु त,’ तिनले
निष्कर्ष निकाले, ‘अनि यस्तो
भएपछि के लेख्नु पनि। किन पो लेख्नु पनि।’
तर यो निष्कर्ष मलाई मन
परेन।
‘लेखेको त रहन्छ नी,’ मैले भनें, ‘मान्छे पो रहन्न त।’
यसको जवाब पनि तिनीसित
थियो। ‘अरूको लागि पो रहन्छ, आफ्नो लागि चाँहि? आफ्नो लागि त नबस्दो रहेछ,’ भने, ‘अनि यस्तो
ज्ञान पाएपछि के लेख्नु र? त्यही धनीले
गरीबलाई शोषण गर्यो। लोग्नेले स्वास्नीलाई हेला गर्यो, नारीवादी..यस्तो त के
लेख्नु पनि हौ।’
लीला लेखनलाई अध्यात्मसित जोडेर हेर्ने
आलोचकहरू पनि छन्। गीताका केही पात्रका
उदाहरण तिनी आफैले पनि दिएका छन्। साहित्य नै रहेको गीताका कृष्ण लीलामा तिनले
विनिर्माणका झल्को पाउँथे। पढन्ते थिए तिनी। विनिर्माण नभनी तिनले ‘कठपुललीको मन’ लेखिदिए। बाइस बुँदामा मात्रतिनले विनिर्माण शब्द लेखे।
चामे र गौंथली-को अरूपाटो लेखिदिए। परम सत्य (एब्सोल्युट ट्रुथ) छैन भन्ने
कुराको खोजीमा लागेका राईले आफूलाई सन्त पाउनु स्वाभाविक हो।
यीजम्मै बताइराखेर राईले यही कुरा भन्न चहान्थे, कि यतिखेर तिनलाई केही खास लेख्ने इच्छा छ। केही नयाँ
लेख्ने रहर छ। फरक लेख्ने योजना पनि छ। तिनले म्याथ्यु आर्नोल्ड सम्झे। इलियटले म्याथुबारे लेखेका छन्, के के कुरा आफ्नो साहित्यमा छैन भनेर खोज्दै देखाउँदा नै
तिनले ‘आफ्नो विचार’ केही लेख्नै
पाएनन्। राईलाई पनि अहिले यस्तै लागेको छ। केक्केहरू लेख्दा लेख्दै ‘आफ्नो विचार’-को केही लेख्नै नपाइरहेको पीडा तिनीसित यो उमेरसम्म छ।
‘म्याथ्यु आलोचक त थिए तर
पनि तिनी आलोचक होइनन्,’ भने तिनले, ‘यस्तै अल्झोले नै त होला।’
इन्द्रबहादुर राईले 1965 मा प्रकाशित गरेको तिनको उपन्यास ‘आज रमिता छ’ को भूमिकामा
साहित्यले दुइवटा कुराको अध्ययन गर्ने बताएका हुन्। त्यो अध्ययन क्षेत्र ‘जीवन र जगत’ थियो। पछिका
आलोचकहरूले यही कुरा भट्याए। जीवन र जगतको कुरा राईले
म्याथ्युको ‘एसेस एण्ड क्रिटिसिज्म’ बाट झिकेका थिए। आलोचकहरू बोक्रे भएकोमा तिनको चिन्ता छ।
‘नयाँ कुरा खोतल्ने काम नै
भएको छैन,’ भन्छन् तिनी, ‘अचेलका आलोचकहरू पढ्दैनन्। कृतिमा त्यही जीवन र जगतको कुरा
छ मत्तै भनिबस्छन्।’
तिनले आलोचकहरूमाथि गर्ने
यतिखेर एउटा प्रश्न छ-
‘के पोष्टमोडर्निजमले साहित्यको
दुइवटा अध्ययन क्षेत्र ‘जीवन र जगत’-लाई नै बताउँछ?’
त्यो धारणा भत्किएको थाहा
नपाउने आलोचकहरू तिनलाई मन पर्दैन। ‘पोष्टमोडर्निजमले त स्टडी अफ नलेज भन्छ,’ आलोचकहरूलाई तिनको टिप्स छ, ‘आफूले विश्वास गरेको ज्ञान के हो त्यो चिन्नु, कस्तो ज्ञान हो बुझ्नु, खै त?’
...
इन्द्रबहादुर राईलाई सुनिबस्दा लाग्थ्यो, तिनी अब थाकेका हुन्। मनमा विचार अनेक आउँछ तर ती जम्मैलाई
मिलाएर लेख्न पाउँदैनन्। उमेर पाको भइसकेकोले घरैमा बस्ने मनको भएका छन् तिनी।
लेख्न पनि काँप्दै लेख्दा हुन्। कसरी पढ्दा हुन् आँशु निस्किबस्ने आँखाले किताबहरू? माया लाग्ने मानिस भएका छन् इन्द्रबहादुर राई। कतै जान पनि
तिनलाई मन लाग्दैन। कतै बोल्न पनि मन लाग्दैन। करैले जान्छन्, करैले बोल्छन्। यस्तो लाग्छ, तिनलाई सुन्दा। गइरहेकै छन् तिनी कार्यक्रमतिर, बोलिरहेकै छन् तर। नेपाल चाँहि जान्छन् कि जाँदैनन्
कुन्नी?
‘खै घनश्याम नेपाल कुनै
प्रोग्राममा जाँदैनन् त, कसैले
अह्राएको पनि लेख्दैनन् त। पढ्छन्, बस्छन्।
आफ्नै विचारको लेख्छन्,’ उदाहरण पनि छ
तिनीसित, ‘यसै गर्नु
रहेछ। उमेर पुगेपछि ज्ञान आउँदोरहेछ।’
...
तिनी आफूले चाहेको, खोजेको, रोजेको किताब
पढ्न पाउँदैनन्। राम्रा किताबहरू बजारभरि होला र ‘म छुटिँदैछु’-ले तिनलाई सताउँछ।
‘म त नानीहरूले ल्याइदिएको
खान्छु। उनीहरूले मन पराएको लुगा लाउँछु,’ उदाहरण पनि दिन्छन् र भन्छन्, ‘म अरूको चोइसको भइसकें।’
...
व्यक्ति इन्द्रबहादुर राई लेखकहरूको अभिभावक हुन्। लेखक
इन्द्रबहादुर राई पनि लेखकहरूका अभिभावक हुन्? यो चाँही सोच्नुपर्ने हुन्छ। तर तिनलाई कस्सैले
आवश्यकताभन्दा ज्यादा उचालेको पनि मनपर्दैन, बिना तर्क झारेको पनि मन पर्दैन। तिनलाई ‘तेस्रो आयाम’ र ‘लीला लेखन’ अझ पनि सान्दर्भिक लाग्छन्। दुइ लेखनभित्र विचारका
अन्य पाटोहरूको सम्भावना छोडिराखेको लाग्छ। पोष्टमोडर्निजमले सम्पूर्ण
सङ्कथनको निम्ति स्पेस खुला राखेजस्तै। अचेल केहीखास लेख्ने मुडमा पनि छन्।
यस्तोमा विभिन्न अल्झोमा पार्नु अपराध नै होला।
तर दीपकजीको फरमान मैले
मान्नु थियो। तिनलाई झिँजोलाग्छ, जानेर पनि। तिनको विचार लेखनमा बाधक भएँ, बुझेर पनि।तरै पनि तत्काल अन्तर्वार्तालाई तीनपल्ट ‘हुँदैन हुँदैन हुँदैन’ भनेपछि तिनैले दिएको आइडियाअनुसार पठाएँ 22-वटा प्रश्नहरू। जसमा
तिनले केही प्रश्नका उत्तर दिए आधा-आधा, केहीको त दिँदै दिएनन्।
...
उत्तरले बताउँछ, यस्तो झुर प्रश्न पनि गर्ने हो इन्द्रबहादुर राईलाई?
…..
अलिकति चूक हाम्रो भएको
हो- इन्द्रबहादुर राई
प्रश्नकर्ताः मनोज बोगटी
नेपालको चर्चित र स्तरीय
पत्रिका ‘पाण्डुलिपी’-को निम्ति भारतबाट पत्रिकासित सम्बन्धित रहेकोले तपाईँलाई
यी प्रश्नहरू गरिन्छ। तपाईँले दिनुभएको सल्लाहअनुसार यी प्रश्नहरू लिखितरूपमा
ल्याएको छु।
( टेप राखेर सोझै प्रश्न
उत्तर गर्न पाइएको भए एउटा उत्तरले जन्माएको अरु प्रश्न जन्मिन्थ्यो। यो सम्भव
भएन। लिखित प्रश्नमा तपाईँ र मबिच ‘ग्याप’ बनिन्छ। विषय
सम्बन्धित भइराख्न नसकिने भएकोले यहाँ एकैचोटि धेरै प्रश्न, धेरै उत्तरको अपेक्षाले गरिएको हो
भन्ने बुझिदिनु होला।)
1. तपाईँ नेपाली
साहित्य/ समाजको हुनुभयो। चुपचाप बस्न नमिल्ने, समाजले सोध्ने, माग्ने, आशा गर्ने व्यक्ति हुनुभयो। तर अचेल अन्तर्वार्तादेखि पर भाग्न
खोज्नुहुन्छ। सोध्नेले आफ्नो ‘इन्ट्रेस्ट’ थोप्छ भन्ने लागेर हो कि भन्नुपर्ने कुरा सकियो भन्ने लागेर
हो?
इबराः अन्तर्वार्ताकारहरूले हामीले लेखेका लेखादि अध्ययन गरेर, बुझ्ने प्रयत्न गरेर, पाठभित्रबाट प्रश्न गरे उत्तरहरू गर्नपर्ने हुन्छन्।
बाहिरी थाहाले गरिएका प्रश्नहरूलाई के भन्ने?
2. यतिखेर
मृत्युबारे (तेस्रो आयाम र लीला) विचार के होला तपाईँमा भन्ने कुरा जान्न मन लाग्यो।
इबराः जीवनमाथि दुवै लेखनले खूब सोचेको छ। मृत्युलाई जीवन
सम्बन्धमा हेरियो।
3. साहित्यिक
मान्छेलाई एकछिन बाहिर राखेर इन्द्रबहादुर राई मान्छे(जो जन्मन्छ-मर्छ)मात्रबारे पनि अध्ययन गर्नुभएको छ?(जोभित्र प्रेम, स्वास्नी, छोराछोरी, घर, समाज, दायित्वका कुराहरू हुन्छन्।) कस्तो पाउनुहुन्छ आफूलाई?
इबराः‘आफुलाई चिन’ भनिएको हो अघिदेखि। तर आफूलाई कसैले चिन्न सकेन, कारण चिन्न सक्तैन। कसैले आफुलाई चिनें सम्झेको उसको ऐलेको आत्मपरक चिनाई (भ्रम) मात्र हुन्छ।
4. तेस्रो
आयामको ‘फलोवर्स’ कम्ति र लीला लेखनको केही देखिन्छ। यसको अर्थ अझ पनि (तपाईँहरूले तेस्रो आयाम थाल्दा भन्नुभएको च्याप्टो साहित्य
लेख्नेहरूको भीड) भावावेग लेख्नेहरू मात्र धेर भएर हो?
4.क. ‘कसरी लेख्ने’-मा तपाईँहरू विचार, चित्रकलाको भाषा, रूप र कलाले (फर्मले)प्रतिबद्ध देखिनुभयो, अहिले ‘कसरी लेख्ने’ को सवालमा ‘सबैले बुझ्ने सरल भाषा’-मा विचार र कलाले सन्तुलित ‘के लेख्ने’(कन्टेन्ट) भन्ने ‘विचार’मा प्रतिबद्ध लेखकहरू छन्, कसरी हेर्नुहुन्छ यी कुराहरू?
इबराः‘के लेख्ने?’ र ‘कसरी लेख्ने?’ चिन्तनशील कवि लेखकअघि सधैँ दुइ प्रश्न छन्। समाधान सोची
लेख्नेहरू छन्। नसोची लेख्नेहरूको बथान छ, अघि 1995 तिरै पनि भनेका थियौँ।
5. वैचारिकरूपले बलियो
लेखन मानिन्छ तपाईँ र तपाइँहरूका दुइवटा लेखनलाई। तिनको विचारको
स्रोत तपाईँहरुको अध्ययन (पूर्व पश्चिम दुवैका केही दर्शनशास्त्र, विचार, साहित्य, रुप,वादहरू) क्षेत्र थियो कि तपाईँहरू बाँच्नु भएको समाज क्षेत्र (नेपाल, भारतकोनेपाली समाज)?
इबराः अघि अनुभवका काँचा थियौँ। धेर पढिन्थे र ज्ञानहरू
बटुल्थ्यौँ। धेरै लाभान्वित बन्यौँ। अब जीवन र गजत्का अनुभवका केही पाका बनेका छौँ
र स्वचिन्तनबाट ज्ञान केही पाइन्छ। र पनि, आज पनि, ठेलीहरू हेर्न उत्तिकै आवश्यक हुन्छ।
6. तपाईँ भारतीय
नेपाली नागरिक हुनुहुन्छ। भारतमा नेपालीहरूलाई पहिचानको संकट छ कि छैन। छैन भने
किन छैन। छ भने त्यसलाई साहित्यले सम्बोधन गर्न पर्छ कि पर्दैन?
इबराः भारतमा नेपाली भाषालाई भारतको संविधानमा राष्ट्रिय मान्यता
प्राप्त छ। नेपाली साहित्यलाई भारतको सर्वोच्च साहित्यिक संस्था साहित्य एकादेमीमा
मान्यता र आसन प्राप्त छ। भारतीय नेपाली वा गोर्खाहरूलाई भारतको पूर्ण नागरिकता
भारतको संविधानको धारा 5 ले प्राप्त छ। बृटिशकालमै पनि भारतका नेपाली/गोर्खा सबलाई ‘बृटिश प्रजा’को मान्यता प्राप्त थियो। अझ पनि 1816 को सुगौलीको सन्धिले नेपालले छोडेको भारतीय भूभागका नेपाली
वासिन्दा सब स्वतः अन्तराष्ट्रिय कानूनले बृटिश-भारतीय नागरिक मानिन्थे। भारतमा केवल नेपाली/गोर्खा जातिको आफ्नै राज्य भएको उच्च राजनैतिक मान्यता छैन।
यस प्राप्तितिर सबै लागेका छौँ। भारतीय नेपाली साहित्यले त्यस लक्ष्यमा सकृय सहयोग
राख्छ, राखेको छ।
7. तेस्रो
आयामले नेपाली साहित्यलाई धेरै कुरा दियो भनिन्छ नेपाली समाज(भारत)लाई चाँही के दियो? नेपाली समाजले तपाईको साहित्यबाट पाएको ठोस ‘विचार’ के हो? उपान्तकृत
भारतीय नेपालीहरूको आवाज कसरी आएको छ तेस्रोे आयाम र लीला लेखनमा?
इबराः स्थानीय नेपाली साहित्यले केही दिइएको पनि समग्र नेपाली
साहित्यलाई दिइएको हुन्छ। समस्त नेपाली जगत्लाई दिइएको हुन्छ। केही सारपूर्ण भए।
आयाम लेखन र लीला लेखनलाई जुन लेखनलक्ष्य दिइएका थिए सोझैमा उपान्तकृत समुदाय र
लेखनको अध्ययन पर्दैनथ्यो। एउटा कुरा तर हेर्नुछ। कृतिचेतनाले मात्र लेखिँदैन, सँगैमा हाम्रा अवचेतना र अचेतनाले पनि लेखिन्छ। कृतिका
ज्ञातपक्षहरू मात्र हुँदैनन्, अज्ञातपक्षहरू पनि हुन्छन्, स्थान र समयका अथाह प्रभावहरू लेखिएका। समग्रमा ती उज्यालिन
सक्छन्।
8. नेपाली
साहित्यमा (मेन स्ट्रीम राइटिङ)बाक्लै चर्चा बटुल्ने, बहस बटुल्ने, आलोच्य हुने, पठनीय हुने तेस्रो आयाम र लीला लेख्न बंगालको बङ्गला, भारतको हिन्दी (अरु देश र भाषाको त कुरै छोडौं) साहित्यमा कहिल्यै आलोच्य देखिएन। बहस, चर्चा, पठन भएको देखिएन। किन?
9. अरुभाषामा
अनुवाद हुनुपर्छ यी विचारहरू(विचारसम्मत कथा, कविताहरू) भन्ने कुरा सोचिएन कि अनुवाद अनिवार्य छैन भनेर मानियो त? तपाईँहरू अनुवाद गर्नै सक्नुहुन्थ्यो, अथवा गराउन सक्नुहुन्थ्यो। अकादमीमा पनि संलग्न
हुनुहुन्थ्यो।
10. पश्चिमी ‘विचार’ ले विश्वलाई नै विचार क्षेत्रलाई उपनिवेश बनाइरहेको समय
पूर्वले पनि त्यो गर्न सक्थ्यो, लीला लेखनमा पूर्वीय दर्शनबाट झिकिएका र लेखनको लागि तयार
पारिएका ‘विचार’ हरू थियो होइन र?
11. विश्वभरिका
राम्रा लेखहरूलाई नेपाली पाठकले पढ्छन्। त्यसरी नै विश्वले नेपाली साहित्य पनि
पढ्नुसक्थ्यो, तपाईँहरू त अझ भावावेग लेख्नेहरूको विरुद्ध, लेखनमा विचार, अनुभूति जोडेर जीवनलाई सम्पूर्ण लेख्ने अभियानमा
हुनुहुन्थ्यो। त्यो नयाँ कुरा उनीहरूले पाउन सक्थे, पहलै पो गर्नुभएन हगी? कि त्यो नयाँ कुरा नभएर विभिन्न दर्शन, विचार, कलाको आँटाको डल्लाबाट अलिअलि चुडेँर फेरि अर्को डल्ला
बनाउने र रोटी सेक्ने अभियान थियो?
इबराः (8, 9,
10, 11 को एउटै उत्तर) नेपाली उत्कृष्ट कृति र नेपाली श्रेष्ठ कृतिकारहरू अन्य
साहित्यमा समेत चर्चित भएका देख्न चहाने यहाँको सदाशयताको गुणग्रहण गर्छु। अलिकति
चूक हाम्रो भएको हो।
12.(म अहिले
चिनुवा अचिबीको ‘थिङ्क फल अपार्ट ’ पढ्दैछु। त्यसको रिभ्युमा द गार्डियनले पश्चिमी विचार (जो गोरा उपनिवेशवादमाथि आधारित थियो)लाई भत्काइदिएको भनेको पनि पढें। तपाईँको ‘आज रमिता छ’ अफ्रिकाको मजस्तै साधरण पाठकले पढ्दा नेपाली समाज, रहन सहन, सांस्कृतिक, सामाजिक कथा पढ्न पाएर त्यसबेलाको नेपाल-भारतका नेपालीहरूलाई बुझ्न सक्नेथियो कि भन्ने लाग्यो।)?
नेपाली साहित्यमा नै
तपाईँहरूको ‘वैचारिकता’ थुनियो हगी? तपाईँहरूको बेलामा(क्षेत्रीय सन्दर्भ समय) साहित्यमा सपाट भावावेगमात्र भएकोजस्तो तपाईँहरूको लेखन पनि
नेपाली साहित्यसम्मको विचारावेग मात्र भएन?
इबराः थिङ्क फल अपार्टमा युरोपीय उपनिवेशवादीहरू आउन अघिको
अफ्रीकी समाज स्वतन्त्र, आत्मनिर्भर, स्वनिमायक र संयुक्त थियो; युरोपीय व्यापार स्वार्थ, धर्म स्वार्थ र तथाकथित उच्च संस्कृति र सभ्यता प्रचार
स्वार्थका प्रहारले त्यो भत्किएको, टुक्रिएको छ।
‘आज रमिता छ’ मा बृटिश साम्राज्यवादले भारत र दार्जीलिङदेखि विदा
लिइसकेको तर देशी उपनिवेशवादले त्यो स्थान लिएको समय छ। नेपाली समाजलाई टुक्राउन
सकेको छैन, बरू संघर्षमा नेपाली जाति अझ बलियो बनेको छ।
उपन्यासको यसरी उत्तरउपनिवेशवादी अर्थ्याई हुनसक्ने
देखिनुमा अघि हामीले चर्चा गरेको समयले कृतिको अज्ञात अर्थ उज्याल्ने सम्भावना
बोल्न खोजेको सुनिन्छ।
13. साहित्यमा
समयसम्मत लेखन (समय लेखन) तिर तपाईँहरूको विचार योजनाबद्ध र प्रतिबद्ध थिएन?
इबराः हिजो हामीलाई जे लेख्नलायो लेख्यौं। आजले जे लेख्न लाउँदैछ
लेख्दैछौँ। भोलिले जे लेख्न लाउँला लेखौंला। तर व्यर्थमा कोही बद्लँदैन। कुनै
विचारिक पक्रममा बद्लन्छ।
मार्क्सीय ‘प्रतिबद्धता’ सम्झाउनु
भएछ। हामी बाहुल्यवादी प्रतिबद्धता पनि सोचौँ र व्यवहारगत बनाऔँ।
14. हरेक ठाउँको
लेखनमा हरेक स्थानिक नै वैश्विक हो भन्ने लाग्छ। पढ्दा त्यहाँ पाइएको समाज, भाषा, संस्कृति, समयबाट प्रभावित लेखन हो भन्ने चाल पाइन्छ। त्यो स्थानिक
विचारको पठन भने वैश्विक हुन्छ। तपाईँहरूको विचार(कला) स्थानिक नभएर वैश्विक थियो? तपाईँहरूको भने वैश्विक विचारलाई स्थानिक पठन भयो हगी?
इबराः स्थानिकमा वैश्विकको प्रतिविम्वितिकै चर्चा हो यो। धेरथोर
सबैको कृतिमा यसो हुन्छै हो।
यसो हुनुमा आधारिक कारक हुन्छ: मानिस सब आफ्ना अन्तरतम सार्विक (युनिभर्सल) हुन्छन्। प्रत्येक व्यक्ति सार्वित मानिस हुन्।
15. तेस्रो आयाम
र लीला लेखन, यस्तो हो उस्तो हो भनेर पाठकको स्पेस हनन गरिएको, लाग्छ कि लाग्दैन? टेक्स्टले नै त्यो तेस्रो आयाम र लीलाबोध दिइनुपर्थेन र?
इबराः मानिस/ पाठक सब समान र एक योग्यताका हुँदैनन्। पाठकवर्ग, लेखकवर्ग सबलाई मार्गदर्शक हुनसक्ने साहित्यालोचनलाई
स्वागत्य मानौँ। यस अन्तर्वार्तालाई पनि पाठकवर्गको अधिकार मिचाहा मान्नुहुन्न
होला।
16. बैरागी
काइँला आजको पुस्तासित पनि काव्यिक संवाद गरिरहेका भेटिए। तिनका कविताले नयाँ
पुस्तालाई विचारको बीऊ थमाएको सुनिन्छ। मदन पुरस्कार प्राप्त गर्ने आख्यानकार राजन
मुकारुङले त 50-60 को दशकमा नेपाली साहित्यको सौन्दर्य नै फेरिएको किटान
गर्छन्। आजको एकपुस्ता पहिचानको मुद्दामा प्रतिबद्ध भएर लेखिरहेका छन्, उनीहरू चर्चित पनि छन्। यता काइँलाले भने पनि ‘त्यसबेलाको र अहिलेको राजनैतिक, सामाजिक
परिस्थितिमा अन्तर छ। यो परिस्थितिले नै लेखनलाई उर्जा दिन्छ’। तपाईँ आजका पुस्तासित कत्तिको नजिक हुनुहुन्छ? कसले के काम गर्दैछ, के लेख्दैछ भन्ने कुरा थाहा छ कि छैन? नाम लिँदा अफ्ठ्यारो हुन्छ भन्ने कुरा नठानी तपाईँले लिने
नाम कुन कुन हो। के गरिरहेका छन् उनीहरू?
इबराः पाइएजति नयाँ प्रकाशन सबै पढ्छु। पारम्परिक र प्रयोगात्मक
दुवै थरी। अघिका कवि लेखक उत्तिकै पढ्छु। सिक्न ज्ञान पाउन सबतिरबाट सकिन्छ।
17. मौलिक आलोचना
सिद्धान्त छैन भनेर तपाईँद्वारा धेरैलाई भनिएको सुनिएको हो। साँच्ची नै छैन? अचेलका आलोचकहरू फोस्रा मात्र देखिन्छन्। नपढी लेख्ने।
तपाईँलाई कस्तो लाग्छ?
इबराः मूल कुरा सुन्नुभएछ। सही कुरा होः प्रौढ सचेत समालोचकले
आफ्नो समालोचना-पद्धति प्राप्त गर्छन् जसबाट विशेष प्रकाशकर
कृतिहरू हेर्छन्।
No comments:
Post a Comment