बिपि बढ़ाउने बिपि

सन्तजर्ज स्कूलमा ‘बिपि’ चलिरहेको थियो।  हेर्दाहेर्दै मुख्य अतिथि फुत्त बाहिर हानिए।  त्यसपछि बजारमा हल्ला चल्यो; मुख्य अतिथिले भनेछन्‌, ‘‘सन्तजर्जका फादरले हामीलाई होच्याउन बोलाएका हुन्‌?’’
मुख्य अतिथि थिए गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता दावा पाखरिन्‌।

...

कालेबुङको रामकृष्ण रङ्गमञ्चमा कार्यक्रम थियो। पाला थिए उद्घोषक। तिनले मुख्यअतिथिलाई मञ्चमा बोलाए। मुख्यअतिथिले उद्घोषकको हातको माइक ताने र भने, ‘‘यिनी हाम्रा दुश्मन हुन्‌।’’
मुख्य अतिथि थिए गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता सीके प्रधान।

...

त्यो नाटकको नाम थियो ‘भानु र पाला’, छोटोमा ‘बिपि’। वास्तवमा यो नाम ठिक थियो। किन भने यही नामले तत्कालीन नेताहरूको बिपि बढ़ाउँथ्यो। अर्थात व्लडप्रेसर।

...

ललित गोले। धेरैले तिनको यो नाम जान्दैनन्‌। उनीहरू उनलाई देखेपछि ‘पाला पो रहेछन्‌’ भन्छन्‌। संसारमा यस्ता लेखक वा कलाकार कमै छन्‌, जसलाई आफ्ना पात्रको नामले चिनुन्‌। ‘‘म ललित गोले भन्दा धेरै चर्चित पाला नामले नै चिनिन्छु,’ भन्छन्‌ भानु र पालाका निर्देशक, लेखक अनि कलाकार ललित गोले, ‘‘जीवनभरिको लागि कमाएको सम्पति यत्ति हो मेरो।’’ धेरै नाटक खेलेका छन्‌, लेखेका छन्‌, निर्देशन गरेका छन्‌ तर प्रशिद्धि एउटै नाटकले दिलायो उनलाई, त्यो पनि बिपि अर्थात व्लडप्रेसर बढ़ाउने नाटकले। अर्थात भानु र पालाले। अर्थात बिपिले।

...

एकदिन यसै बसिरहँदा उनको मनमा यस्तो प्रश्न उठेछ,- ‘हाम्रो जमानामा भानुभक्त जन्मिएको भए के बन्थे होलान्‌?’ वास्तवमा तिनलाई आजका मानिसमा राजनीतिले पारेको प्रभावलाई अभिव्यक्त गर्नु थियो। त्यो प्रश्नको उत्तर पनि तिनलाई तिनकै मनले दियो, ‘भानुभक्त जन्मिएको भए के हुन्थे र, पार्टीको कन्भेनर हुन्थे नी।’
त्यसपछि उनले हिसाब निकाले-
दुई सयवर्ष अघि भानुभक्तले घॉंसी भेटे, प्रेरणा पाए अनि कवि बने।
दुइसयवर्ष पछि भानुभक्तले घॉंसी भेटे, रिसाए र पालाकोमा रक्सी पिए।
बस बनियो नाटकको खाका। खासमा वैचारिक सङ्‌कट देखाउन भानुभक्तलाई आजको समयमा जन्माउन अनिवार्य थियो। कवि र रक्सीबीच नाटकले आफ्नो अर्थ बोक्छ। राजकुमार हिरानीलाई संसारमा व्याप्त धार्मिक, सामाजिक र सांस्कृतिक विसङ्‌गति खोतल्न पृथ्वीमा एलियन झिकाउन परेको थियो पीके फिल्ममा। ललित गोलेलाई दार्जीलिङको राजनैतिक विसङ्‌गति खोतल्न नेपालका भानुभक्त दार्जीलिङ झिकाउन परेको थियो बिपि नाटकमा।

...

घरि कसैको घर सल्किन्थ्यो। घरि कसैको गाड़ी भत्किन्थ्यो। सरकारी सम्पतिहरू जलेर खाक। जङ्‌गलतिर धेरैको छः इञ्च घटिरहेको थियो। किन भने समय 86 को थियो। अर्थात समय सुवास घिसिङको थियो। अर्थात गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको। जनता राजनैतिक बुटमुनि थिए। मानिसका संवेदना कैद थियो। आवाज थुनिएको थियो। विवेक थुनिएको थियो। विचार थुनिएको थियो। जीवन थुनिएको थियो। समाजमा श्मशानको शान्ति थियो। मानिसहरू बोल्थे तर साउतीमा। छेवैमा कुटपिट हुन्थ्यो, मानिसले हेर्थे तर देख्दैन थिए। अत्याचार चर्को थियो। दमन पिरो थियो। सत्ताले हेप्थ्यो मानिसलाई। संविधानमा नै चेप्टिएर मरिसकेको थियो अभिव्यक्तिको अधिकार। 1947 मा नै मरिसकेको थियो स्वाधिनता।
यस्तोमा बोल्नु, हतियारको धारमा टेक्नुथियो। यस्तोमा आवाज उठाउनु आत्महत्या गर्नु थियो। मानिसको चेतनामा आवाजको ठाउँमा भय खॉंदिएको थियो। विद्रोहको ठाउँमा लाश राखिएको थियो।
ललित गोलेलाई लाग्यो, सधैँभरि बोलिराखेर जिउनुपर्ने मान्छे नबोलेरै मरिरहेका छन्‌। आम मानिस त मुर्दा थिए नै कलाकारहरूपनि आफैभित्र कैद थिए। गोलेले निष्कर्ष निकाले, ‘‘हेपिएर, होचिएर बस्नु मान्छेको गुण होइन, मौन समाज लाशजस्तो हो। मौनता तोड्‌न केही त गर्नैपर्छ।’’
1993। भानु र पाला पहिले ललित गोलेको दिमागमा आयो। त्यसपछि मञ्चमा। समाजको मौनतासे खासमा ललित गोलेको व्लडप्रेसर बढ़ायो। त्यो बिपिलाई मञ्चमा भानु र पाला बनाएर उतारे। त्यसपछि सत्तासिन नेताहरूको बिपि बढ्‌न थाल्यो।

...

आध्यात्मिक र साहित्यिक दुवै एकसाथ रहेका कृष्णसिंह मोक्तानले रामकृष्ण रङ्‌गमञ्चबाट बाहिएपछि भनेछन्‌, ‘जनताको मौनता तोड्‌ने नाटक पनि बनिँदोरहेछ त।’ तत्कालीन कठिन समयको लागि मोक्तानको यो वाक्य नितान्तै दुर्लभ वाक्य थियो। नाटक हेरेपछि दार्जीलिङका मानिसहरूले नाटकको क्यासेट लगे। च्यानलतिर देखाउन। तर कहिल्यै देखाएन। एउटा कम्पनीले भानु र पाला-2, भटाभट बजारमा निकाल्योे, चोरेर। गाह्रो समयमा मानिसहरू लुकिलुकि हेर्न थालिसकेका थिए। कस्तो थियो भने, सीडी जसको हात लाग्थ्यो, उ सङ्‌केतमा बोल्थ्यो। टिभीसेटमा बसेर नाटक हेर्नको लागि भनिन्थ्यो,..‘भरे ...9 बजी रमेशको घरमा...’ सुन्नेले बुझ्थे कि भानु र पाला हेर्नको निम्ति हो यो सङ्‌केत। मानौँ पट्ठो जवानहरू लुकीलुकी निलो चक्का हेरिरहेका छन्‌।
यसरी लुकेर हेर्ने नाटक हो-भानु र पाला।
कालेबुङ, सिलगढ़ीतिर नाटक भाइरल हुँदा पनि दार्जीलिङ लगिएका सिडी टिभीतिर देखाइएन।
‘‘अहिलेे सम्झिँदा दार्जीलिङ कालेबुङभन्दा धेरै डराउँथेछजस्तो लाग्छ,’’ गोलेलाई लागेको रहेछ, ‘‘सत्ताकेन्द्र थियो जो।’’

...

दार्जीलिङमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको दबदबामा आएको थियो भानु र पाला-1। गोर्खा जनमुक्ति मोर्चा आइसक्दा भानु  र पाला-2 पनि आइसकेको थियो। यो नाटकले देखेको सपना थियो-अभिव्यक्तिको अधिकारलाई मानिसले प्रयोग गरुन्‌। क्रुर सत्ताको हालिमुहालिविरुद्ध मानिस बोलुन्‌। राजनैतिक दमनको विरुद्ध मुट्ठी उठाउन्‌। संयोग कस्तो थियो भने सुवास घिसिङको विरुद्ध विमल गुरूङ आइसकेका थिए। यता समाजको मौनताको विरुद्ध आइसकेको थियो भानु र पाला। उता राजनीतिले समाजको मौनता तोड्‌दै थियो, यता नाटकले मानिसको मौनता।

उता विमल गुरूङ सफल बने यता ललित गोले। वास्तवमा भानु र पाला समयसितै हिँड्‌ने विचार थियो। यसकारण यसौ महिनादेखि ‘भानु र पाला-3’ आइरहेको छ। उता सुबास घिसिङको ठाउँमा फेरि बिमल गुरूङ आएका छन्‌। फेरि समय उस्तै छ। मानिसको सपना कैद छन्‌। जनताको अधिकार थुनामा परेको छ।
‘‘भानु र पाला-2 ले गोरामुमोका नेताहरूको बिपि बढ़ाएको थियो,’’ मैले ललित गोले उर्फ पालालाई सोधेँ, ‘‘भानु र पाला-3 ले गोजमुमो नेताहरूको बिपि बढ़ाउँछ?’’
उनी खिस्स हॉंसे। एकछिन सोचे। भने, ‘‘त्यो थाहा पाउन त नाटक नै हेर्नुहोस्‌ न।’
...
भानु  र पाला-2-ले 21 वर्षको मौनता तोड्‌ने कलात्मक भूमिका निभाएको थियो। अहिलेको सत्ताको उमेर त कलिलै छ। घिसिङको बेला मानिसले बोल्न नपाउने स्थिति थियो। विमलको पालामा मानिसले बोल्न पाउने स्थिति छ। भानु र पाला-3-को मत्थुले भन्छ, ‘‘पाला पनि भोटमा उठ्‌नू...माटोको लागि।’’
पालाले जवाब दिन्छ, ‘‘तिम्रो लागि पाला बोल्नु सधैँभरि? पाला मरेपछि को बोलिदिन्छ?’’
मत्थुले उत्तर दिन्छ, ‘‘पहिला बोल्नु पाउँदैनथियो। अहिले सप्पैले बोल्नु पाउँछ, तर पाला भन त, बोल्नु पाउने ठाउँमा को चॉंहि बोलेको छ?’’
‘‘भानु र पाला-3, बोल्नु पाउने ठाउँमा नबोल्ने मानिसको जीवन हो,’’ गोलेको निष्कर्ष छ।

...

भानुभक्तले घॉंसी भेटेको थिए। यहॉं पाला भेट्‌छन्‌। नाटकमा ‘पाला’-को चरित्रसित धेरै ‘नाखुश’ भएछन्‌। पालालाई गलतरूपले देखाइएको आरोप पनि आएछ। तर गोलेलाई नाटकमा मामुली मानिस देखाउनुथियो। मामुली मानिसभित्रको विद्रोह देखाउनु थियो। नाटकले दिने सौन्दर्य पालाको चरित्रले नै बोक्थ्यो।
 ‘‘गोर्खालाई वीर भनिन्छ,’’ गोलेले पालाबारेमा सुनाए, ‘‘21 वर्ष मौन बस्ने, अन्याय सहने कसरी वीर हुन सक्छ?’’
उनलाई लागेको छ, पाला त मामुली मानिस हुन्‌। यस्ता मामुली मानिसभित्र पनि बिद्रोह थियो। उसले पनि अन्याय सहेको थियो। उभित्र पनि आक्रोस थियो।
‘‘जब वीर गोर्खा बोल्दैन थियो, तब पाला बोल्यो। जब पाला बोल्यो, उ वीर गोर्खाभन्दा कता हो कता वीर भयो नी,’’ बिट मारे गोलेले ‘‘पाला अल्पसंख्यकहरूको आवाज हो। आवाजको विम्ब हो। मेटाफर हो। नबोल्ने बहुसंख्यक गोर्खा वीरको सामु बोल्ने अल्पसंख्यक पाला बोल्नु, जति नै ठूलो र बलियो सत्ता भए पनि आफ्नो अधिकारको निम्ति त्यसविरुद्ध बोल्नुपर्छ भन्ने सङ्‌केत दिनु हो।’’
गोलेले स्वीकारे भानु र पाला-2-ले त नेताहरूको व्लडप्रेसर धेरै बढ़ाएकै हो। हेर्नु यो छ कि ‘बिपि-3’ ले कसको कति ‘बिपि’ बढ़ॉंदोरहेछ। नाटकको सफलता आखिर अर्थात ‘व्लडप्रेसर’-मा नै त  छ।

कवितामा आजका पुस्ता

समकालीन लेखनका दुई धार

कवि राजा पुनियानीले फेसबुकमा एक स्टाटस टॉंसे, सोधिएको थियो ‘भारतीय नेपाली कविताको मूल स्वर के हो?’
 राजाले पछिबाट एउटा निबन्ध नै लेखेर भारतीय नेपाली कविताको मूल स्वर स्पष्ट नभइहालेको  र कविताको मूल स्वर ‘ल्याब’-मा नै रहेको खतरनाक निष्कर्ष दिए। त्यतिभन्दा भन्दै पनि राजाको सर्वेक्षणले युवा कविहरूको एउटा ठूलो समूह भारतीय नेपाली समाजलाई केन्द्रमा राखेर सामुहिक प्रतिबद्धतासित लेखनमा आइसकेको अनि उनीहरूको राजनैतिक आग्रह चर्को बन्दै गइरहेको पनि खुलाएको थियो। कवि टीका भाइको ‘जातीय मुक्ति सङ्‌घर्षको सयवर्ष’-(इतिहासको पुस्तक)ले जनसङ्‌घर्ष र आत्मनिर्णयको प्रसवबारे धेरै कुरा भनिसक्दा पनि साहित्य भने विविध प्रयोग, शिल्प र मध्यममार्गी खेलहरूसित एकप्रकारको अनुत्पादक र बेकार वस्तुकोरूपमा समाजमा पुगिरहेको देख्ने चेतना कमै छ। लाग्छ, भारतीय नेपाली कविता दुई बाटोमा छ। एउटा बाटोबाट जानेहरू भन्छन्‌, ‘कविता शुद्ध कलात्मक कुरा हो, यसलाई यसरी नै अघि लैजानुपर्छ।’ अर्को बाटो जानेहरू भन्छन्‌, काव्यिक कला समाजको पक्षमा बोल्ने स्वरको माध्यम बन्नुपर्छ।’ उत्तराधुनिकतावादी विचारलाई लेखनको आदर्श बनाइरहेका कविहरूको निम्ति काव्यकर्म कलाखेल मात्र छ।

सिक्किमको एक कार्यक्रममा बोल्दै आलोचक जय क्याक्टसले चलिरहेका लेखनहरूलाई ‘परिचय सङ्‌कट’-को उपज बताए। यद्धपि यसबारे खुलेर कतै बहस भइरहेको छैन। तिनी भन्छन्‌, कवितालाई कवितै रहनुदिनुपर्छ, यसलाई विचार र सिद्धान्तको भारी बोकाउनु हुँदैन। यद्धपि तिनी विचलन लेखनका सदस्य हुन्‌। विचलनले साहित्यमा उत्तराधुनिकतावादी एप्रोजकै वकालत गर्‍यो। संरचना, शैली, विम्वलाई प्रमुखता दिने अनि विचारलाई ‘विश्वचेतना’ मा जोड्‌ने आग्रहको विचलन पत्रिका अहिले निरन्तर छैन। गिरीकालीन जातिवोधी र दुःखवादी चेतना नितान्तै क्षेत्रीय(भारतीय नेपाली) थियो। आयामेलीहरूले नितान्तै ‘लोकल’ वस्तु माने। लोकलथोक लेखेर विश्व साहित्यमा नेपालीको उपस्थिति दह्रो हुँदैन भन्ठान्थे आयामेलीहरू। धर्णिधर कोइराला, सुर्यविक्रम ज्ञवालीहरूले पुकार्ने आमा (नेपाल) आफ्नो होइन भनेर चिन्न समय लागे पनि गिरीकालमा भारतमा आफ्नो अवस्थान खोज्ने चेतमार्का पुस्ता हुर्किरहेको थियो। भारत स्वाधिन भएपछि पनि भारतीय नेपालीहरूको पहिचानको सङ्‌कट सम्बोधनमा नआउनु, स्वतन्त्रता सङ्‌ग्राममा भने होमिनु अनि विभिन्न राज्यहरूमा सांस्कृतिक, आर्थिक, राजनैतिक दमनमा पर्नु गिरीकालीन दुःखवाद थियो। वास्वतमा गिरीकालीन पुस्ताले केवल दुःखमनाउ, लेघ्रो तनाइ, रूवावासी मात्र गरेका थिएनन्‌, ‘तिमी त यहॉं नचिनिने भएछौ,’ भन्दै पहिचानको निम्ति लड्‌ने आग्रह पनि अन्तर्यमा राख्दै थिए। दार्जीलिङको सन्दर्भमा यी कुरा नितान्तै नीजि र स्थानिक मानियो अनि वैचारिक लेखन भन्दै आए आयामीहरू। तर तेस्रो आयाम ‘लेख्ने तरिका’-को निम्ति गरिएको आन्दोलन थियो अनि विचार र सिद्धान्त चॉंहि विश्वचिन्तने थियो। विश्वचिन्तनलाई शैलीमार्का लेखनले उचालेपछि स्थानिक र जातिक विमर्श र विचार छोपियो।

 नेपाली साहित्यको ऐतिहासिक दुर्भाग्य यही थियो। आयामका पछिल्ला सानासाना संस्करणहरूमा सङ्‌क्रमण र विचलनलाई लिन सकिन्छ। यसले पनि ‘कला’ लाई प्रमुखता दिने उत्तराधुनिकतावादी चेतको वकालत गर्‍यो। यस लेखनमा रहेकाहरूले वस्तुताको खोज गर्दै सम्पूर्ण लेखनको जुक्ति चलाए। वास्तवमा ‘सम्पूर्णता’ लेखनमा सम्भव नरहेको मान्दै विचारलाई ‘लीला’-मा ल्याइयो। ‘वस्तु त आफू जस्तो छ त्यस्तै पो देखिँदो रहेछ,’ इन्द्रबहादुर राई आफैले पछिबाट भने, ‘अलइलि छेउकुनामात्र देखिँदो रहेछ सम्पूर्ण देखिँदो रहेनछ।’ लीला लेखनले त्यही दृष्टिकोणको चरित्रलाई केलाएर कुनै पनि कुरा एकक्षण प्रभावकारी हुने अनि पछिबाट त्यही कुरा ‘युज टु’ हुने चेतलाई बुझ्ने ‘ज्ञान’ को पक्षमा बोल्यो। ती जम्मै लेखन राजनैतिक, सामाजिक, मनोवैज्ञानिक, आर्थिक, सांस्कृतिक आदि कुराहरूले समाजलाई पार्ने ‘प्रभाव’ लाई लेख्नुसित सम्बन्धित थियो। प्रभावका कारण खोज्नु र रिस्क लिनु थिएन। समाजलाई डोहोर्‍याउनु होइन, यथास्थिति देखाउनुमात्र थियो। मनप्रसाद सुब्बाहरूको किनारीकरणको लेखनले उनीहरूको समयमा नै विश्वमा चल्ती डिस्कोर्ष ‘सवाल्टर्न’ बाट नेपाली लेखनको निम्ति ठूलो स्पेस पायो। यसैकारण शुरूमा भारतीय नेपालीहरूलाई मूलस्रोतबाट बाहिर पारिएको राजनैतिक चेतलाई उनीहरूले काव्यिक स्वर बनाए। फरक के थियो भने गायत्री स्पीभाकहरूको सवाल्टर्नहरू बोल्न सक्दैन थिए मनप्रसाद सुब्बाका किनारीकृतहरू बोल्न सक्थे। त्यही बोलीलाई लेखनको मूल स्वर बनाउन यो लेखनको नितान्तै स्थानिक आग्रह पछिबाट वैस्थानिक बन्यो।

 प्रादेशिक चेतना र विश्व चेतना दुवैलाई सँगसँगै लैजाने उनीहरूको अडान बन्यो। छुट्टै राज्यको दोस्रो चरणको आन्दोलनको प्रभाव सर्जकहरूमा बढी रहेको समय थियो यो। यसकारण जातीय मुक्ति, आत्मनिर्णय र पहिचानको सङ्‌कट कवितामा दह्रो बनिरहेको थियो। एक्लो एक्लो सर्जकभित्र रहेको यही चेतनालाई सङ्‌गठित गनर्र् सकिने स्पेस बोकेर आएको किनारीरणको लेखनबाट नै लगभग समकालीन कविताले समाजका ‘प्रभाव का कारणहरू’ समेत खोतलेर हेर्ने दिशा पायो। ‘सङ्‌क्रमण लेखन’-ले आयामकालीन बट्टारिएको भाषाबाट कवितालाई मुक्त गर्ने घोषणा नै गरेपनि कवितामा त्यो दुरूहता विधमान नै रह्यो। यो लेखनले नयॉंपुस्तालाई खास विचार दिन सकेन। यो लेखनको मूल स्वर पनि संरचना, रूप, कला, शैलीलाई ‘साहित्य’ मान्ने नै थियो। सुबास घिसिङले गरेको 1986 को छुट्टै राज्यको आन्दोलनको असफलताले समाजलाई पारेको निराशा, आक्रोश, विसङ्‌गतिलाई पोलिटिकल्ली र ओइडियोलजीकल्ली लेख्ने, मुख्यगरी राजनीतिक, अर्थनैतिक, सांस्कृतिक र मनोवैज्ञानिकरूपमा समाजलाई परेकोे विविध प्रभाव र प्रभाव कारखाना उत्खनन्‌ गरेर लेख्ने चेत निर्माण नहुनुमा ‘कलावादी’ विचारको ठूलो रोल छ। विचलनसम्म आइपुग्दासम्म साहित्यमा प्रतिबद्ध राजनीति वर्जित नै थियो। पत्रपत्रिकामा एउटा आग्रह छापिन्थ्यो, ‘राजनैतिक, धार्मिक, सामाजिक आक्षेप र आग्रह रहेका रचनाहरू प्रकाशित हुने छैन।’

सम्पादकहरूमा यो मानसिकता रोप्ने खेल अघिल्ला कलावादी लेखनहरूमा रहेको विचारहीनताले खेलेको हो भन्न सकिन्छ। यसमा अझ बहस पुगेको छैन।
तेस्रो आयाम, लीला लेखनहरूले दिएको स्पेसबाट सङ्‌क्रमण, विचलन अनि अहिले समावेशी समूह अघि आएको अनि गिरीय जातीवोध र तेस्रो आयामकालदेखि यता प्रभावकारी बन्न नसकेको प्रगतिवादी चेतनाको स्पेसबाट किनारीकरण अनि हस्तक्षेप लेखनले वैचारिक तार जोडिरहेको हो कि भन्ने लाग्छ। यद्धपि यी लेखनहरूका चारित्रिक विशेषताका अरू पाटोहरू पनि छन्‌, जसले एकले अर्काबाट केही फरक मूल्यमा आफूलाई स्थापित गर्न सक्छन्‌।

यहॉंबाट के सङ्‌केत मिल्छ भने एकधार कला कलाको लागि र अर्को धार कला जीवनको लागि भन्ने चेतले समकालीन लेखन निर्मित छ।

...

लेखनमा युवा पुस्ता

सङ्‌घीय भारतमा नेपाली भाषीहरूले गरेको सॉंस्कृतिक र राजनैतिक सङ्‌घर्षले जीवनमा ठूलो प्रभाव छोडेको छ। अल्पसङ्‌ख्यकहरूमाथि बहुसङ्‌ख्यकहरूको वर्चस्व सधैँ छ। जाति विविध सङ्‌कटबीच रहँदा उनीहरूको भाषा र साहित्य अछुत हुँदैन। यो थिचोमिचोको विरुद्ध राजनैतिक समाजले लड्‌दै आइरहेको छ। त्यही लडाईँको असफलता, केन्द्रको चलखेल, बजार र सत्ताले समाजलाई खोक्रो पारिरहेको छ। समाजमा विसङ्‌गति हुर्किरहेको छ। नेपाली समाजको राजनैतिक चेतना बोधो पारिँदैछ। सत्ताको पाइलामुनि परेको समाजको आवाज कस्तो हुन्छ? आजका एक लश्कर पुस्ताको काव्यिक स्वर त्यही बन्दै गइरहेको छ। अर्को लश्कर पुस्ता ‘यी त राजनीतिक कुरा भए, राजनीतिलाई राजनीतिमा नै राखौँ, साहित्यमा नल्याऔँ, भन्दै लेखनका नयॉं नयॉं शिल्पखोजमा छन्‌। दुइपुस्ता नै एकार्काको विचारमा जोखिम देख्छन्‌। एक पुस्तालाई लाग्छ, ‘समाजलाई राजनीतिले खोक्रो पारिरहेको समय, काव्यकलाले यसको विरुद्ध अनि समाजको पक्षमा राजनैतिक चेतनाको वकालत गर्नैपर्छ।’

अर्को पुस्तालाई लाग्छ, ‘यो काम राजनीतिले नै गर्छ, साहित्यजस्तो कलालाई भारी नबोकाऊँ।’
यही दुई विरपित विचारमा आजका पुस्ता विभाजित छन्‌। विश्वभरि नै यी दुइथरिका विचार पुस्ता छन्‌। आ-आफ्नो जोखिम मोलिरहेका छन्‌।

के भन्छन्‌ अघिल्लो पुस्ता?

सोसल मिडियामा बेलाबेला कविहरूको धम्साधम्सी चल्छ, विवादको केन्द्र हुन्छ-कविता। उत्तराधुनिकतावादी भ्रमले ग्रस्त कविहरूलाई जनपक्षीय कविता नपच्ने अनि जनपक्षीय कविहरूलाई रतिलेखन नरुच्ने पुरानै रोग निरन्तर छ। विचार गर्नुपर्ने कुरा के छ भने भारतीय नेपाली समाजको सन्दर्भमा दार्जीलिङले आजका पुस्ताबाट पढ्‌न लायक कविताहरू प्राप्त गरेको छ। आजका पुस्ता अध्ययनशील र वैचारिकरूपले विश्वासिलो र प्रतिबद्ध देखिन्छन्‌। सोसल मिडियातिर देखिएका बहस, सार्वजनिक कार्यक्रमतिर हुने तर्कातर्कीहरूले आजका पुस्ता लेखनमा गम्भीर रहेको अघिल्लो पुस्ताका कवि ज्ञानेन्द्र खतिवडा स्वीकार्छन्‌। ‘कविताको गरिमामा आँच आउन दिने कार्य अहिलेका युवा जमातबाट हुनसक्दैन भन्ने विश्वास लिएको छु,’ उनी भन्छन्‌, ‘कविता-कलालाई मर्यादित बनाउने जमातहरू सीमान्तकृत वर्गसम्म पनि देख्नसक्ने दृष्टि लिएर सिर्जनामा लागेका छन्‌ भन्ने विश्वास छ।’ आजका पुस्तामा जुन पढ्‌ने र बहस गर्ने संस्कृति निर्माण भएको छ उनीहरूको समयमा यस्तो थिएन। ‘कविता लेख्ने विषय हो ,पढ्ने विषय त कथा र उपन्यास मात्र हो भन्ने समय थियो हाम्रो।

कविहरू अर्काका कविताहरू पढ्दैनन्‌ थिए,’ खतिवड़ा भन्छन्‌,  ‘अहिले वैचारिकरूपमा युवा कविहरू सॉंच्चै तिक्खर छन्‌।’ उनीहरूकोे युवा अवस्थामा एकातिर मोहन कोइरालाको फर्सीको जरामा जेलिएको अवस्था थियो भने अर्कातिर आयमेली कविताहरूले बेह्रिरहेको अवस्था थियो। उनीहरूले भूपि र हरिभक्तहरू अलिक ढिलो पाए। ‘आज युवा कविहरूसित हाम्रो युवाकालको तुलना हुनैसक्दैन। विचार भाव शैली भाषा र उन्मुक्त लेखनको अवस्था नै हालका युवा कविहरूको परिचय हो,’ उनी भन्छन्‌, ‘वर्तमान युवा कविहरूले देख्नसक्ने छिद्र र लेख्नसक्ने आँट पनि अर्को तुलना हुननसक्ने पाटो हो।’ कवि मनप्रसाद सुब्बाले पनि युवा पुस्ताले कवितालाई लिएर चलाउने बहसलाई सराहना गर्छन्‌। कविताका राम्रो पाठक रहेेका कथाकार मिङ लिवाङलाई युवा पुस्तामा चलिबस्ने विवाद, बहस सकारात्मक हुनुपर्छ भन्ने लाग्छ। ‘नकारात्मक पूर्वाग्रह वैयक्तिक बहस र चर्चाले कसैलाई फायदा पुर्‍याउँदैन,’ भन्छन्‌, ‘यद्धपि के र कसरी लेख्ने सम्बन्धमा दिशानिर्देश गर्नु विचार थोप्नु हो।’

के भन्छन्‌ आजका पुस्ता?

युवा कविहरू बहस पनि गर्दै कविता पनि लेखिरहेका छन्‌। सैद्धान्तिक आधारजेजस्तो होस्‌, उनीहरूको मुल्याङ्‌कन भने कविताको कारण नै हुन्छ। कवितालाई समाजउपयोगी विचार दिन कवितालाई कलात्मक बनाउनेहरूको भीड़ ठूलै छ। बजारमा धेरै कुरा सुनिन्छ, ‘युवा पुस्ताका कवितामा विचारको प्राधान्य बढी भयो, कलात्मक छैन्‌ उनीहरू।’ पछिल्लो समय राम्रा कविता लेखिरहेका कवि रवि रोदनलाई तर विचारले समाज तोड्‌ने होइन बरू जोड्‌ने काम गर्ने बताउँछन्‌। ‘समयचेती युवा पुस्ता समाजको अचेत अवस्थाहरूमाथि उज्यालो पार्न कविकर्म गरिरहेका हुन्‌,’ तिनी भन्छन्‌, ‘समयलाई सम्बोधन गर्नु युवा पुस्ताको दायित्व हो।’ तिनी आफै पनि समाजको अनुहारमा देखिएको असमानताका कुरूप पेन्टिङ विरूद्ध सहास बटुलेर काव्यकलाले बोल्नु, समयको मुद्दा बोकेर त्यसमाथि बहस गर्नु, हित र अधिकारको निम्ति वैचारिकरूपले लड्‌नु, समाजको जटिलतालाई देखाउनु र त्यसको उत्थानको निम्ति केही गर्नु, विगतका भूलहरूबाट केही चेत्दै सिक्दै प्रगतिशील चेतनाको विस्तारणमा लाग्नु काव्यकर्ममा लागेको स्वीकार्छन्‌।

कवि बस्ने जुन समाज छ, त्यो समाजमा पुग्दा धेरैवटा कविता पज्जलखेल बन्ने दुर्भाग्य अझ पनि छँदैछ। आजको पुस्ता यस्तो जोखिमबाट बाहिर निस्किने प्रयासमा छन्‌। रवि रोदनको पुस्ता समकालीन कवितामाथि बहस अनिवार्य ठान्छन्‌। कविताको गरीमालाई पनि बचाउँदै कवितालाई जनमुखी बनाउँदै लैजाने चेतना आजको चेतना बनेको छ। कविता चाम्रो भएको निबन्धकार अजय खड्‌कालाई मनपर्दैन। समाज जुनरूपमा छ, कवितालाई त्यही अनुकूलको भाषामा कलात्मक र वैचारिक बाटो प्रदान गर्नु युवापुस्ताको जिम्मेवारी हो भन्ने तिनको मत छ। शक्तिशाली कविताको नापो विषयवस्तु र सम्प्रेषणशिल्पमार्फत गर्न सकिने र कला र विचारको सही समायोजनमा खास कविता आउनसक्ने पनि तिनको धारणा छ। युवापुस्ता दुई वैचारिक ध्रुवमा रहेपनि  कवितामा आफू र आफ्नो समाज आउनुपर्ने कुरामा तिनलाई विश्वास लाग्छ। ‘यद्यपि कविताको स्वर सशक्त र सङ्‌गठित तवरमा आउनसके राम्रो हो,’ भन्छन्‌, ‘तह मिलेर प्रभावकारी रूपमा कविता आए, कविताले आफ्नो वास्तविक शक्ति प्राप्त गर्नसक्छ।’

समकालीन अनुहार

दार्जीलिङ, सिक्किम तथा भारतका अन्य ठाउँमा रहेका नेपाली भाषीहरूबाट नै भारतीय नेपाली साहित्य लेखिने हो। भोगौलिक, प्रशासनिक, राजनैतिक अनि सांस्कृतिक प्रभावहरू उनीहरूले लेखिएको साहित्यमा आएन भने त्यो लेखनको खास प्रयोजन कति हो भन्ने कुरा कठघरामा पर्छ। पश्चिम बङ्‌गालमा रहेको दार्जीलिङ राजनैतिक, अर्थनैतिक अनि सॉंस्कृतिक बुटमुनि छ। राजनैतिकरूपले यी प्रभावका कारणहरू खुट्याउँदै प्रतिरोधी चेतना बोक्ने कविहरूले दबेको समाजमा कवितालाई ‘डिस्कोर्स’ बनाउँदै आइरहेका छन्‌। यसो हुँदा कति कवितामा आक्रोसले सौन्दर्यकोरूप लिएको छ। ‘आक्रोसित समाजमा बस्ने कवि सधैँ शालिन भइराख्न सक्दैनन्‌,’ कविहरू भन्छन्‌, ‘अबको कवितामा शोषक र शोषितले एकै ठाउँ पाउँदैन।’ उनीहरू भन्छन्‌, ‘वैचारिकरूपले समाजलाई उठाउने चेत राख्नेहरूले हस्तक्षेपी विचार बोक्नु आजको समयसित हिँड्‌नु हो।’
अर्को समूह राजनीतिदेखि पर छन्‌। उनीहरूको निम्ति कविता ‘आर्टवर्क’ मात्र हो। ‘विचार र समाज रुपान्तरणमा कविताको कुनै भूमिका हुँदैन,’ ठान्छन्‌ उनीहरू, ‘कवितालाई कविता मात्र बनाइराख्न विविध प्रयोगहरू चाहिन्छ, विचार र चेतना यही लगानी गर्नुपर्छ।’ उनीहरू भन्छन्‌, ‘समाज एकै विचारले बनिँदैन, सबै विचारहरूको समावेशिकरण आजको माग हो।’

संवादका हत्यारा




डा. बासीले भने-चोट नै नलागी दुख्नेहरूको संसार हो यो। दुख्नु त्यो संसारको सबैभन्दा ठूलो दुःख हो। दुःखसित लड्‌न बनिएको जीवनमा हामी सुखहरूको खोज गरिबस्छौं। सुख भनेको दुःखहरूको कॉंड़ाघारीमा नै पाइने कुरा हो। तपाईँको आँखा दुखेको कारण खोज्न मैले आँखाको इतिहास जान्नुपर्छ। त्यो इतिहास पनि तपाईँले भन्ने हो। कोहीबेला आफ्नै दुःख व्यक्त गर्न सकिँदैन। इतिहास भन्न सकिँदैन। हामी सुनेर उपचार गर्ने कोशिष गर्छौं। तपाईँ र मबिचको सम्बन्ध भनेको दुइवटा आँखाबिचको जस्तो हुनुपर्छ।

                आँखाको उपचार गर्न गएँको म कविता सुनेर फर्किएको थिएँ। तिनी कवि त होइनन्‌ तर तिनी बोल्दा मलाई कुनै सुन्दर कविता सुनिरहेछु जस्तो लागिबस्यो। तिनी बोलिरहँदा म कविता सुनिरहेको हुन्थेँ। किन मलाई तिनका कुराहरू कविता लागेे? हिन्दीका कवि धुमिलको कुनै सुन्दर कविता पढ्‌दैगर्दा आँखा मधुरो भयो। फुलापरेजस्तो मोती ढाकेको। त्यसपछि तुरन्तै डा. बासीकहॉं पुगेँ अनि कविता सुेर फर्किएँ। पढ़िराखेर गएको र घइसकेपछि सुनेको दुवैको कुरा सुन्दर थियो।
धुमिलले लेखेका छन्‌-
फलामको स्वाद

शब्द कसरी कविता बन्छ हेर
अक्षरहरूको बीचमा खसेको मान्छेलाई पढ़।
के सुन्यौ?
फलामको आवाज
अथवा माटोमा खसेको रगतको रङ?

फलामको स्वाद
लोहारेलाई नसोध
घोडालाई सोध
जसको मुखमा लगाम छ।

डा. बासी र धुमिल मसित जोडियो। हामीलाई जोड्‌ने पुल थियो संवाद।
शब्दहरूको बीचमा खसेको मान्छेको संघर्षले कविताको स्वरुप माग्दोरहेछ। जुन परिस्थितिमा म छु, मेरो वर्तमान छ र यसले मलाई मेरो चिह्नारी सधैँ माग्छ। तर हाम्रो उपस्थितिलाई लिएर जुन राजनैतिक चलखेल छ त्यो लोहारेको विम्वमा उज्यालो बन्छ। म त घोडा हुँ। मलाई फलामको स्वाद कसले सोध्छ?
...

                दुःखको बेलोे खोज्न कसले सक्छ? त्यो बलवानसित अन्तर्वार्ता लिन चहान्छु म। सोध्न चहान्छु दुखको रङ कतिवटा हुन्छ? यसको जरा कतिवटा हुन्छ? कवि साथी निमा शेर्पा भन्छन्‌, ‘देश भनेका े छोरोले बनाएको शीर अलिक बाङ्‌गो भएको मानचित्र त होइन।
म आफै पनि लेख्छु, ‘रतन्धो देश गाउँ देख्दैन।
 कवि मनप्रसाद सुब्बाले सवाल्टर्नको शीर लेखे। किनारीकृतहरूको स्वरमा देखिने पातलो निकासको रापले आखिर कसलाई पोल्छ? लेखनाथ छेत्रीको केटाकेटी कवितामा भनिएको हामीलाई जहिल्यै केटाकेटी नै ठानिबस्ने केन्द्रिय मनोभाव छिचोल्ने केटाकेटी पनि बन्न सक्दैनौहामी? हामीलाई दार्जीलिङ पनि देश लाग्छ तर  देशमा बसेर देश देख्न नपाइनु, देश भोग्न नपाइनुको दुःखले फैलाइरहेको जङ्‌गलभित्र हराइरहेको मानिसको कथाले पोल्छ।
दार्जीलिङबाट भइसकेको दुइवटा उद्देश्यहीन आन्दोलन पनि आखिर किनारा परेकाहरूको सार्वजनिन्‌ पीढा नै त हो। केन्द्रसितको लडाईँमा हिँडिएको किनाराको बाटो पनि केन्द्रतिर नै फर्किएको हुन्छ। अहिलेलाई भारतीय नेपालीहरूको सार्वजनिन पीड़ा भनेको जातीय उन्मुक्ति’- मात्र होइन। किन भने कुनै पनि जातिको उन्मुक्ति सम्भव छैन। जातीय मुक्तिको अवधारणाले हामीलाई तान्छ किन भने यो सार्वजनिन पीड़ा हो। त्यो सार्वजनिन पीड़ालाई कहीँ लगेर मिल्काउन मिल्छ? अथवा त्यो सामुहिक दुःखलाई त्यतिकै छोड़ेर कुनै पनि कवि भाग्न मिल्छ? किन नेपालका कविहरूको झुण्ड सडकमा ओर्लिएका? किन दार्जीलिङमा मनप्रसाद सुब्बाहरू किनारामा पारिएको गाथा गाइरहेका हुन्‌? किन प्यालेस्टानी रफिफ जियादाहरू सेड्‌स अफ एङ्गर लेखिरहेका? किन कर्नाटकमा कलबुर्गीहरू गोली खाइरहेका?
इतिहास केलाएर बस्नेहरूको दुःखको बेलो कहॉं छ? किन बिहारका अरूणाभ सौरभहरू साला बिहारी’ -ले मुख खोल्यो कि गाली खाइरहेका कथा सुनाइरहेका? किन निर्मता पुतुलहरू सङ्घीय भारतमा आदिवासीहरूको सांस्कृतिक दोहनको कविता लेखिरहेका छन्‌किन नेपालमा रावतहरू अर्कै राजधानीको कुरा गरिरहेका हुन्‌? किन आहुतीहरूले नेपालमै गहुँगोरो अफ्रिका भेटिरहेका हुन्‌? यो दुःखको जरा चिन्ने कविहरू के अपराधी हुन्‌बहिरा, लङ्‌गडो र लाटा हुन्‌?
                धेरैवटा कविता पढ़ेको छु, जो फूलझै सुन्दर हुन्छन्‌। उनीहरू मिठो भाषामा बोल्छन्‌, दुःखका सुखका, मायाका, मानिसका कथाहरू सुनाउँछन्‌। तर के सुनाएको हुन्‌ यी कविले? सोध्दै जॉंदा लाग्छ, तिनी केवल कविता मात्र सुनाइरहेका हुँदारहेछन्‌। नितान्तै हल्ला गरेर सुनाइरहेका कविताको स्वर चॉंहि ठ्याम्मै नसुनिने। कविताको भाषा चॉंहि मिठो, गुदी चॉंहि काम नै नलाग्ने। मानो उसको कविता हल्ला गरिबस्ने लाटो हो। नेपालको आजको सङ्‌कट, भारतका आदिवासीहरूको सङ्‌कट, भारतीय नेपालीहरूलाई सङ्‌घीय सत्ताले किनारामा पारेका नेपालीहरूको सङ्‌कटलाई लात हानेर सुत्ने कोही माइकलाल कवि हुन सक्छन्‌?
...
  शङ्‌कर लामिछानेको संवाद थियो, ‘मेरो सेन्सिटीभीटीमा ठेला पर्‍यो।सेन्सिटीभिटीमा ठेला परिरहेको जमातले यदि सौन्दर्यको कुरा गर्‍यो भने के हुन्छ? विचारको कुरा गर्‍यो भने के हुन्छ? कलाको कुरा गर्‍यो भने के हुन्छ? निश्चितरूपमा नै समाज दुर्घटनामा पर्छ। सामाजिक अन्तरविरोधहरू ठिम्याउन नसक्ने एन्टेना बोकेकाहरू आँखै सामु लड़िरहेका लाश देखेर रमाउँछन्‌ र लेख्छन्‌ कविता-
यी लाशै लाशका फूलहरूबाट आएको सङ्‌गीतमा
नाचिरहेको छु म।
आकासको त्यो छातीमा निदाइरहेको बालक
नब्युझियोस्‌, यसकारण
गोठाला बसिरहेका छन्‌
शब्दहरू।
कोहीबेला फल्स सन्सियसनेसएकदमै मिठोरूपमा अघि आउँछ। त्यसको मुखौटाभित्र लुकेको अनुहार कुनै बिद्रोही झैँ लाग्छन्‌। कुनै कवि झैं, सन्त झैँ, विचारक झैँ, दार्शनिक झैँ लाग्छन्‌। वास्तवमा यस्ता झैँहरूबेहद खतरनाक हुन्छन्‌। तर उसले शङ्‌कर झै कहिल्यै घोषणा गर्दैनन्‌- मेरो सेन्सिटीभीटीमा ठेला पर्‍यो।
...

आखिर किन संवेदनशीलताले मानिसलाई भुँइमा झार्छ? अहिले म भारतको यस्तो नागरिक हुँ जसलाई स्यानो संवेदनशीलताले भ्यागुता बनाउँछ। उन्मुक्तिको निम्ति जुलुस गइरहेका मेरा आफन्तहरूको निधारमा जब सरकारी पुलिसको गोली पस्छ, अल्पसंख्यक भएकै नातामा मेरो बोली थुनिन्छ?
खासमा बोली थुनिन्छ? हामीलाई लाग्छ, बोल्नु नितान्तै असुरक्षित लगानी हो। त्यसको जोखिम कविले किन उठाउने? यहीँनेर अन्तरविरोधलाई अध्ययन गर्ने संस्कृतिमा आदिकालदेखि रहेको परम्पराचिन्ने ठाउँ हुन्छ।
                अल्वेयर कामुले भनेछन्‌, ‘मुक्ति सम्भव छ तर अगम्य रहस्यमकताको माध्यमबाट होइन तर व्यक्तिको सम्पर्कमा आएर नै हुन्छ।त्यो व्यक्तिको सम्पर्कमा कस्ता कविहरू आउन सक्छन्‌? यहीँनेर सायद विचारका कित्ता बॉंड़िन्छन्‌। कामुले नै भनेका छन्‌, ‘मान्छे हुनु सबैभन्दा कठिन काम हो, तर यो भन्दा पनि कठिन काम हो एकार्काबिच संवाद स्थापित गर्नु।समाजमा छाइरहेको मौनता (चुप्पी), असंवेदनशीलता, मूल्यहरूको विनाशको शैल्यक्रिया लाटा कविले गर्छ कि संवाद गरिरहेका कविले?
राम्रा कवि मनु मन्जिललाई सोधु म?
...

                डा. बासीले कोट्याएको समस्यालाई रोगी र डाक्टरबीचमात्र राख्न मलाई मन लागेन। आँखाको स्यानो समस्या बुझ्न डा. बासीले आँखाको इतिहास सोध्छन्‌ भने समाजको समस्या बुझ्न समाजको इतिहास समाजलाई सोध्न पर्दैन? जुन समाजले  इतिहास भन्न सक्दैन, त्यो समाजले सपनाको हत्या गर्छ। हाम्रो इतियास कसले खड़ा गरेको हो? के हाम्रो पनि इतिहास छ? समाजसित संवाद गरिरहेका कुनै कवि भेटिए मलाई लाग्छ उसित यही प्रश्न छन्‌। यसैकारण उ आफैभित्रका अन्तरविरोधहरूसित लड़िरहेका छन्‌। किन? शायद केही सोचिरहेका मानिसभित्र नै प्रश्नहरू उठ्‌छन्‌। जोभित्र प्रश्न नै उठ्‌दैन उ संवादका हत्यारा हुन्‌।
                हामी भारतीय नेपाली केही युवा कविहरू संवाद’-को समाजशास्त्रलाई फेरि उल्टाएर हेरौँ कि भनिरहेका छौँ। किन भने हामी प्रश्न गरिरहेका छौँ, हामीले इतिहाससित गरेको संवादमा कहॉंकहॉं सत्य छुट्यो त? भारतीय नेपालीहरूको इतिहासमा संवादहीनता किन जमेर बस्यो? त्यो साहित्यमा किन छ्‌याङ्‌गै देखियो? मलाई लाग्छ, चोट नै नलागी दुख्नेहरूको इतिहासले सार्वजनिनदर्द-को टुप्पो भेट्‌न सक्दैन। कवि अलग्गै कलारतिमा मात्र बसिदिने हो भने समाजसित कसले संवाद गर्ने? के भन्ने पाठकलाई? के दिने? कसरी दिने? हाम्रा दैनन्दिनीको आकासमा विज्ञापन, मल्टिकम्पनी र उत्पादन केन्द्रहरू जूनतारा भएर बस्छ। घामपानी भएर बस्छ। जतै फर्किए पनि मलाई चाहिएको वस्तु ठीक्क मैले सोंचे झैं नै पाइन्छ। तर जुन यहॉं औपनिवेशिक हैकम छ, सत्ताको चलखेल छ, कम्पनीहरूको मनोपोली छ, त्यसले गरेको जुन सँस्कृति र मूल्यमाथिको दोहन छ, यो अन्तरविरोध, द्वन्द्वबारे कसले संवाद गर्ने? हो, बेलाबेला हर्बर्ट रिडले भनेजस्तो मान्छेसित गल्ती र अपूर्णता सधैँ जोडिएको हुन्छभन्ने विचलनलाई पनि स्वाकीरेर बसिदिनै सकिन्छ। तर सधैभर चुपचाप बस्ने समय हुँदैन। त्यो गल्ती र अपूर्णताको खोज नै प्रकृति हो। यो जीवित यथार्थ हो। यो गतिमान छ। यसलाई पन्साएर कोही बस्न सक्छन्‌?
...

 यतिखेर राजनीति जो पोखरीभर जमेर बसेको हिलोपानी छ र त्यहॉंभित्र छौं हामी केही भुराभुरी माछा। जहॉं आम संवादले राजनैतिक स्वार्थले लिपिएको भित्ता चर्काउन सक्दैन। यस्तोमा जुन कविता लेखिरहेका छौं, यसले गर्ने संवाद कसको निम्ति हो त? म अहिले डा. बासीले औंल्याएको दुःखतिर फर्किएको छु। अथवा म एउटा सुखलाई सम्बोधन गर्न खोजिरहेको छु। एउटा सपनालाई पछ्‌याउन खोेजिरहेको छु। यो मेरो कुनै अपराध होइन। यस्तोमा जुन संसारभरि आआफ्नै अस्तित्वको दाबीमा आम स्वैरकल्पना छ, यसलाई घर लिप्दै बस्ने बढ़ी आमाभित्र कसरी खोतल्नु? जो कवितादेखि हज्जारवर्ष पर छन्‌। आमा र कविताबिच हुने संवाद कसले मारिरहेको छ? फेड्रिक नित्सेले ईश्वरलाई मारेर जुन मनुष्यकृत संसार व्यवस्थाको कुरा गरे, रोला बार्थको लेखकीय सत्ता सिर्जना बाहिर पर्ने र सिर्जनादेखि टाड़ा कुनै जङ्गलमा पुगेर सिर्जनपछि आखिरमा लेखकले आत्महत्या गर्ने द्वीअर्थि इल्युजनले मेरो घॉंटी निमोठिरहेको छ। शङ्‌कर लामिछानेले जस्तो म आजको समयको मान्छे होइनभनेर म आजकै समाजबाट कतिदिन टाड़ा बस्नुसक्छु? किन भने मैले सास फेरिरहेको हावा आजकै छ। मैले टेकिहेको भुइँ आजकै छ। मैले भोगिरहेको समस्या आज कै छ। म कुनै प्राचीन हावालाई मिथक बनाएर सास फेरिरहन सक्दिन। यतिखेर म धेरै कुरा भन्न खोजिरहेको छु,तर मेरो कुरा तपाईँसम्म पुग्दैपुग्दैन। भन्नुहोस्‌ त, कसले गर्‍यो संवादको हत्या? को हुन संवादका हत्यारा?

लोकतन्त्र, कलबुर्गी र आगो

एमएम कलबुर्गी

जो जड़ छन्‌ त्यो नष्ट हुनेछन्‌,’ कन्नड लेखक कलबुर्गी भन्थे, ‘जो गतिमान छन्‌ त्यो नष्ट हुनेछैन।’ बॉंचिन्जेल उनको जीवन दर्शन यही थियो।  तिनको एउटा नाटक छकल्याणको पतन। जसको टुक्रा यस्तो छ,- आफ्नो समयको समाजको बारेमा बसवेश्वर अफ्नो बहिनी नागलम्बिकासित भन्छ, ‘बहिनीयस्तो लाग्छ कि नराम्रा मानिसको समाजमा जो निकृष्टतम हुन्छउ नै नेता हुन्छ। उसलाई लाग्छ कि धर्मको नाममा केही गर्न सकिन्छयदि उसित केही पैसा होस्‌अनि केही दुष्ट अनुयायी होस्‌।  तर त्यो दिन टाड़ो छैन जब यो पैसाती पूजारीअनुयायी नै उसको मृत्युको कारण बन्नेछ।’ नाटकको यो संवादले  धार्मिक कट्टरपन्थीहरूको मनोविज्ञान र समाजको छाला काढ़ेको छ। वास्तवमा कलबुर्गीको वैचारिक दर्शनको निचोड़ यही संवादमा छ। यही प्रतिबद्ध विचारसित डराउने धार्मिक कट्टरपन्थीहरूले नै विवादित लेखक एमएम कलबुर्गीको हत्या गरिदियो।

...

एउटा कार्यक्रममा नाटककार सीके श्रेष्ठले भनेका थिए, ‘जब ग्यालिलियोले पृथ्वी गोलो छ’ मात्र भनेका थिए। चर्चले तिनलाई नर्कमा जाने श्राप दियो। तिनकोे विरुद्धमा जड़वादीहरू उत्रिए। बजारकम्पनीकट्टरपन्थीहरू एकभएर विरोध गर्‍यो। तर अहिले सबैलाई थाहा छपृथ्वी गोलो नै छ। वास्तवमा सत्य कुरा तीतो हुन्छ। तत्काल नै त्यसलाई पचाउन सकिँदैन। जड़ता फुटेपछि त्यो सत्य आफै स्थापित हुन्छ।’ निरन्तर सङ्‌घर्षमा उत्रिएकाहरूसित यही अदम्य विश्वास बॉंकी रहन्छ।

...

वास्तवमा कुनै पनि क्रान्तिकारीको हत्या गर्न सकिन्छ तर उसको विचार मार्न सकिन्न। अन्तनियो ग्राम्चीलाई पक्राउ गरेपछि सरकारी अधिवक्ताको मुखबाट मुसोलिनीले भने, ‘यसको सोच्ने दिमागमा लगाम लगाउनपर्छ।’ त्यही ग्राम्चीको कल्चरल हेजिमोनी एउटा दह्रो ज्ञान अनुशासन छ। वास्तवमा कसैलाई सोच्नबाट रोक्न सकिन्न तर यसउपर रोक्ने प्रयासहरू चलिरहन्छन्‌। समाजको जरा विचारभित्र हुन्छ। जरा मक्कियो भने समाज ढल्छ। प्यालेस्टाइनी कवि रफिफ जियादालाई इज्रायली सेनाले भन्यो, ‘आतङ्‌कवादी नानी जन्माउनुअघि तँ बलात्कृत हुनु तेरो हक हो।’ इज्रायली दमनको विरुद्ध रफिफले लेखिन्‌, ‘सेड्‌स अफ्‌ एङ्‌गर। कविताले प्यालेस्टाइनी जीवनको उत्स छेक्ने हजारौँ पर्खालको विरुद्धइज्रायली अतिक्रमणले निलेको संवेदनाको सुरक्षा र सत्ताखेलले मानिसलाई खुवाउने स्लो पोइजन बारे बोल्नु आफ्नो काम मान्छ। इज्रायली अतिक्रमणले डामेका कवि रफिफ जियादा उपनिवेश बनाउनअघि मलाई मेरो मातृभाषामा बोल्न दे’ भनिरहन्छिन्‌। कविताभन्दा पनि शक्तिशाली लाग्ने यो वाक्यले पाठकमा त्यतिखेर सौन्दर्य छर्छ जतिखेर फ्यालेस्टाइनी सङ्‌कटलाई उसले पढ्‌न सक्छ। आतङ्‌कवादी जन्माउनेलाई बलात्कार गर्नुपर्छ भन्ने भाषाकै विरुद्ध रफिफहरू भन्छिन्‌, ‘हामी मृत्यु होइन जीवन सिकाउँछौँ।

...

जीवन सिकाउनु लरतरो कुरा होइन। हस्तक्षेप’-को विमोचनमा युवा कवि राजा पुनियानीले भने, ‘हामी थुनुवा छौँ। एउटाबाट उम्किने वित्तिकै अर्कोले थुन्छ। सत्तालेबजारलेविचारलेचेतनाले जहिल्यै थुनुवामा पारेपछि हाम्रो जीवन खुम्चिँदै जान्छ। हामीलाई थाहा हुन्न कि जुन जीवन हामीसित छत्यो हाम्रै हो कि कसैले बनाइदिएको हो। यतिखेर थुनुवामा परेको जीवनलाई मुक्त गर्न लेखनले मानिसलाई सघाउनुपर्छ।
वास्तवमा तिनी पनि रफिफले झैं जीवन सिकाउने कुरा नै गरिरहेका थिए। कुरा गर्नुबोल्नु धेरै गाह्रो कुरा हो। जतिखेर खास बोल्नुपर्ने कुराहरू बोलिन्छत्यो कुरालाई थुनुवामा पार्ने जुक्ति चल्छ।

...

जतिखेर मानिसहरू बोल्न सकिरहेका थिएनन्‌ललित गोलेलाई लाग्यो, ‘नाटकले बोल्न सिकाउने भार कॉंधमा लिनैपर्छ।’ भानु र पाला 1986-को सङ्‌कटमा बोल्न सिकाउन आएको कलात्मक कर्म थियो। भर्खरै कालेबुङमा यही भानु र पाला-3 मञ्चन भयो। यसमा एउटा पात्रले भनेको छ, ‘पहिले बोल्ने परिस्थिति थिएनअहिले बोल्ने परिस्थिति छतर कोही बोलेका छैनन्‌।
नाटक सकिने वित्तिकै हल्ला सुनियो, ‘नाटककारहरूलाई बुढ़ोले दार्जीलिङ बोलायो रे त हौ।’ कलाले आम मानिसको भाषा बोलेपछि सत्ता यसरी डराउँछ। बोल्नै नसकिने बेला अर्थात गोरामुमोकालमा ललित गोलेहरूलाई सुबास घिसिङले यसरी बोलाएनन्‌। अहिले बोल्न सकिने बेला चाहिँ?
कुनै पनि कलाकारको घॉंटी रेट्‌न सकिन्छआवाज थुन्न सकिन्न। कुनै पनि मानिसको टाउको छिनाउन सकिन्छविचार छिनाउन सकिन्न। तर आवाज थुन्ने र विचार छिनाउने प्रयास चलिरहन्छजब यस्तो प्रयास चल्छत्यो सत्ता त्यहीदिनदेखि धर्मराउन शुरु हुन्छ।
के यो भनाई विस्तारै स्टेरियोटाइप्ड बनिरहेको त छैन?

...

सत्तालाई सबैभन्दा धेर डर कतिबेला लाग्छ?
जब मानिस बोल्छन थाल्छन्‌। सत्ताको आदर्शलाई दुत्कारेर आफ्नो आदर्शको निर्माणमा जुट्‌छन्‌। जब राजनैतिकधार्मिकसांस्कृतिकसामाजिक विसङ्‌गतिविरुद्ध बोलेर कसैले पनि जीवन सिकाउन जीवनलाई जोखिममा राख्छन्‌। त्यतिखेर सत्तासितजड़वादीहरूसितकट्टरपन्थीहरूसित रहने अन्तिम विकल्प भनेको हत्या नै हो। किन भने  मोदी सरकारले मानिसलाई प्रदान गरेको लोकतान्त्रिक सत्ताकोे भुइँ कति बलियो हो त्यो प्रोफेसर कलबुर्गीको छाती र टाउको छेँडेर निस्किएको बन्दुकको गोलीले भर्खरै बताइदिएको छ।

...

हम्पी विश्वविद्यालयका पूर्व भीसी डा. कलबुर्गीको धरवाड़ स्थित घरमा बिहान 8 बजेर 40 मिनट हुँदा डोरबेल बज्यो। जस्तो तिनले दैलो खोले दुइवटा गोली आएर एउटा छातीमा एउटा टाउकोमा लाग्यो। त्यसपछि लेखक-पाठक संसारमा आगो लाग्यो। त्यो आगोले अहिले देशभरि प्रतिरोधको भाषा बोलिरहेको छ।
कलबुर्गीको दोष के थियो भने तिनले विचारलाई जनतासामु ल्याए। त्यही विचार दबाउन जुन गोली हानियोत्यसले के सावित गर्छ भने यो देशमा बोल्नु अब खतरनाक काम भइसक्यो। यो मोदी सरकारको लोकतन्त्र हो। जुन काम लेखकहरूको धर्म होत्यही धर्म नष्ट गर्ने विचारको विरुद्ध देेशभरि लेखकहरूले असुरक्षित अनुभव गरिरहेका छन्‌।
किन?

...

लोकतन्त्रमा आदर्शनामको केही कुरा बॉंच्न अनिवार्य छ। विचारको प्रतिरोध विचारद्वारा नै भएमात्र त्यो आदर्श बॉंच्छलोकतन्त्रको अर्थ रहन्छ। तर विचारको प्रतिरोध गोलीद्वारा गरियो भनेत्यो लोकतन्त्र कस्तो हुन्छकलबुर्गीको हत्याले धेरै प्रश्न उठाउँछ। देशभरिका लेखकहरूले लेखकको हत्या गरिए पनि उनको विचारलाई मार्न सक्दैन’ त भनिरहेका छन्‌ तर यो हत्याको प्रतिरोधमा उठेको आवाज होइन। यो एकप्रकारको गिडगिड़ाइ होजसको अन्तर्यमा प्रतिरोधी चेतना मरेको छ। अब लेखकले लेख्ने कि मर्ने?’ भन्ने प्रश्नको उत्तर यो देशमा नै खोज्न निस्किएन भने लेखन सङ्‌कटमा पर्ने निश्चित छ। छैन त?

...

लोकतन्त्रको नाममा फासीवादी विचार तिखार्ने खेलमा गर्व गर्ने सरकारकानून र विचारले दिने दुरगामी प्रभावहरूको खासखास कारणको खोज गर्ने पुस्ता मागिरहेको छ यो समयले।
75 पार गरेका बुढ़ो लेखक कलबुर्गीको दोष यति नै थियो जसले असहमतिको लोकतन्त्र स्वीकार गरिरहेका थिएनन्‌। तिनी निरन्तररूपमा धार्मिक कट्टरताविरुद्ध बोलिरहेका थिएछुवाछुतब्राह्मण्डवादउचनिचराजनैतिकसामाजिकसांस्कृतिक धार्मिक बराबरीको पक्षमा बोलिरहेका थिए। उनको बोल्नु कसलाई खतरा भयोजसलाई खतरा भयोउसले बन्दुक उठायो। कर्नाटक कानूनले हतियार उठाउनेलाई कार्वाही गर्छ कि धर्मलाई आधार गरेर राजनीति खेल्छलेखकहरूको लेखनस्वतन्त्रता सुरक्षित गर्छ कि फरक मत राख्नेहरूलाई नष्ट गर्छ?
अब कानून कसको पक्षमाअब राजनीति कसको पक्षमाअब साहित्य कसको पक्षमाअब कलम कसको पक्षमासत्ता कि जनताजड़ता कि गतिअब संवेदना कसको पक्षमाधार्मिक कट्टरपन्थीहरूको पक्षमा कि बराबरीको धार्मिकस्तरको पक्षमादेशभरिका मानिसले हेरिरहेका छन्‌।
...

कलबुर्गीले 1 सयभन्दा धेर किताब लेखेका छन्‌।  साहित्य एकादमी पुरस्कार प्राप्त गरिसकेका हुन्‌। विशेष गरीे 12 औँ शताब्दीका कन्नड़ सन्त कवि बस्वनाको विचारलाई तिनले फेरि जनतासामु ल्याएका थिए। तिनी भन्थे, ‘लिङ्‌गायत जो बस्वनाका अनुयायी हुन्‌यसलाई धार्मिक अल्पसंख्यकको मान्यता प्रदान गरिनुपर्छकिन भने यो वैदिक परम्पराको हिस्सा होइन।’ तिनले बस्वना परम्परामाथि विशद अध्ययन गरेका थिए। बस्वनासहित कन्नड़ लोक परम्परामा आधारित पुस्तक मार्ग’ सार्वजनिक भएपछि तिनलाई धार्मिक कट्टरपन्थीहरूबाट अनेकौँ धम्की आयो। मुर्तिपूजा बन्द गर्नुपर्ने मुद्दामा युआर अनन्थमुर्तिको समर्थन गरेपछि अझ उनी खतरामा परेका थिए। कलबुर्गीको हत्यापछि एउटा ट्वीट चर्चामा आयो। कर्नाटकको बजरङ्‌ग दलको एक कार्यकर्ता भुविथ शेेट्टीको त्यो ट्वीट यस्तो थियो- अघि अनन्थमुर्ति अनि अब कलबुर्गी। हिन्दू धर्मको खिल्ली उड़ाऊ अनि कुकुरजस्तो मर। प्रिय केएस भगवान अब तिम्रो पालो हो।’( केएस भगवान प्रोफेसर हुन्‌तिनी मैसुरमा बस्छन्‌तिनलाई सरकारी सुरक्षा दिइएको छ।)  यसबाट स्पष्ट हुन्छधार्मिक अन्धता र जड़ताविरुद्ध कलबुर्गीको विचारसित धेेरै सहमत थिएनन्‌। कलबुर्गीलाई अर्को आरोप थियोतिनले हिन्दू देवी देवताहरूको अपमान गरेका छन्‌। कर्नाटक सरकारले अन्धविश्वास विरोधी विधेयकलाई समर्थन गरेपछि कलबुर्गीको पुतलासमेत जलाइयो। तिनलाई पुलिसी सुरक्षा प्रदान गरिएको थियो तर हत्याको केहीदिन अघि तिनले यो सुरक्षा पनि फिर्ता गरेका थिए।  किटान गरेर भन्न सकिँदैन कि वास्तवमा कलबुर्गीको दुश्मन को थिएविश्लेषकहरूलाई लाग्छदक्षिणपन्थी स्थानीय समूह कलबुर्गीको मूर्तिपूजा र अन्धविश्वास सम्बन्धित विचारसित खुशी थिएनन्‌। किन भने एउटा सेमिनारपछि कर्नाटकको बजरङ्‌ग दलश्रीराम सेनाविश्व हिन्दू परिषद रिसाएको थियो।

...

समाजलाई डोहोर्‍याउने अनि असल विचारका पैरवी गर्नेहरू जहिल्यै खतरामा छन्‌। धर्मको रक्षा गर्ने बहानामा हत्या गर्नु जायज मान्ने धार्मिक कट्टरपन्थीको अपराधलाई कसले पश्रय दिइरहेको छयो खोजको विषय हो तर यसखाले घटना यो नयॉं होइन। केही समय अघि बङ्‌गलादेशमा तीनजना युवा व्लगर्सको हत्या गरियो। सिरियामा इस्लामिक स्टेटका कट्टरवादिहरूलेे खालिद अल.असद नामक अध्येतालाई मार्‍यो। महाराष्ट्रमा दुईवर्ष अघि तार्किक डा. नरेन्द्र दाभोलकरको हत्या भयो।  त्यहीँ गोविन्द पन्सारेले शिवाजीमाथि पुस्तक लेखेका थिएजहॉं शिवाजीलाई कृषकहरूको हितैषी देखाएका थिएत्यो हिन्दू कट्टरपन्थीहरूलाई ठिक लागेन। नेपालमा पनि अमर न्यौपानेको किताब जलाइएको थियो। सलमान रूस्दीले यस्तै सङ्‌कट भोेगिसकेका छन्‌। चित्रकार एमएफ हुसैनले पनि धम्की खाइसकेका हुन्‌। तस्लिमा नसरिन निर्वासित बनिन्‌। पाकिस्तानी सलमान तासीरको हत्या इसाही महिलाको सुरक्षा गरेको आरोपमा गरियो। जबदेखि धर्मलाई लिएर राजनीति हुनथाल्यो तबदेखि नै  विचार सङ्‌कटमा परेको हो। सङ्‌कटमा परेका विचारको सुरक्षा लेखकले नै गर्छन्‌। कलबुर्गी जातिप्रथामुर्तिपूजाको विरोध गरिरहेका थिए। यसको अर्थ बराबरीको समाजको वकालत पनि गरिरहेका थिए। यस्तोमा हिरो’ बनेर बसेको निश्चित धार्मिकराजनैतिकसामाजिकसांस्कृतिक विचार अनि त्यसको पूजालाई नै धर्म मानेर बसेको समाजले समान मान्यताको सोचलाई स्वीकार गर्न त्यति सहज हुँदैन। कलबुर्गीको हत्या त्यही सत्य स्वीकार गर्न नसक्ने समाजले गरेको हो तब्राह्मणवादी हिन्दू धर्मजसले जातिगत पदक्रमलाई धार्मिक संहिता मान्छयसै जड़ताको विरुद्ध त कलबुर्गीहरू बोलिरहेका थिए। तिनको बोली थुन्ने हतियार के गोली हो?

...

कलबुर्गीको हत्याले लोकतन्त्रको अर्थ अर्कै बताइरहेको समय छ। एकजना लेखकको हत्या हुँदा जसरी देशमा आगो फैलियोके त्यो आगोले कसैलाई पोल्छकि आगोले पनि आगोको रङ मात्र प्रदर्शन गररहेको छनेपाली सर्जकहरूभित्र पनि कुनै आगो बॉंकी छ कि?