संवाद गर्ने कविता र चेतनाको गन्ध


लाशमाथि बीऊ

‘कविता/भाषामें/आदमी होनेकी तमीज है’, धुमिल भन्थे, ‘यसको निम्ति  जोखिम उठाउनुपर्छ।’ कवितामा जोखिमको प्रश्न भनेको कविको निम्ति दुश्मन कमाउनु हो। जो विशिष्ट कविहरू चहान्नन्‌। हामीअगि अग्रजहरूलेे निर्माण गरेको जुन परम्परा थियो, त्यसमा विचारको दरिद्रताले डेरा हाल्यो। कवितामा आम मान्छे अनुपस्थित हुनु भनेको यस्तो निर्जन ठाउँ हो, जहॉंबाट जीवनको आवाज आउँदैन।  अग्रजहरूद्वारा स्थापित परम्परा निर्जन ठाउँ उभिएको मन्दिरजस्तो थियो। जसको दर्शन गर्न आस्थावानहरूले सङ्‌घर्ष गर्नुपर्थ्यो। कविताको इलाका डुल्न सहज थिएन। बर्जित थियो। आम नागरिक कवितासमाजमा निषेधित थिए। यो कविहरूको हैकम थियो। कविहरू समाजबाट भागेर आफ्नो निजि डेरा लगाउँथे। त्यहॉं केही नजिकका चिनाजाना आलोचक, समिक्षकहरूको निम्ति ढोका खुल्ला थियो। आम मानिसको निम्ति दुःस्वप्न थिए कविता।

    ढोकाबाट छिर्न पाउने आलोचकहरूको कॉंधलाई जिम्मा दिइएको थियो कि ‘पाठ’-सम्म पुग्ने फाटक खोलिदिउन्‌। कविता सुन्न, अनुभूत गर्न, बुझ्न र यसको अर्थक्षेत्र पर्यटनको निम्ति आलोचक हुन्थे गाइड। तर गाइड, जसले आफ्नो फाइदा पाउँदैन थिए पर्यटकहरूलाई बाहिरबाहिर नै घुमाउँथे। गाइड पाल्न सक्नु कविक्षमता हो। नसक्नेहरू गुनासो गर्थे। इन्द्रबहादुर राईले यस्ता गुनासोकर्ताहरूको लागि ‘कविता’ मासिकको अतिथि सम्पादकीयमा लेखिदिए-‘भेटेका सिद्धान्त सकभर केलाएर जिलाएर आफ्नो सन्तुष्टताको आफ्नै सिद्धान्त उभ्याउने उद्यममा अल्झेका समालोचकबाट वरिपरि कविहरू, उनीहरूका कविता चिन्ने काम अझ पर सारिँदै जान्छ।’ राई आलोचकको पक्षमा  बोलिदिए किन भने तिनी स्वंय आलोचक थिए तर कवि थिएनन्‌। तिनको विश्वासलाई तर कुनै पनि आलोचकले यथार्थमा अनुवाद गरेनन्‌। न त राई आफैले गरे। खोज्नुस्‌ तपाईँहरू, के राईले दिएको आश्वासन अनुसार यति वर्ष बितिसकेपछि पनि ‘आफ्नै समालोचना सिद्धान्त’ बनियो र?
    भर्खरै मात्र ति नै इन्द्रबहादुर राईले नविन पौड्याललाई भनिदिएछन्‌, ‘सिद्धान्तहरू पश्चिमबाट नै ल्याइए। हाम्रो आफ्नै सिद्धान्त हुनुपर्छ। आलोचकहरू बोक्रे भए। आफ्नो ंमौलिक सिद्धान्तको खोजी गरिनुपर्छ।’ कविता मासिकको सम्पादकीय र तिनको अहिलेको गुनासो यति विरोधाभाष पूर्ण हुने हो भने अग्रजबाट पाइने संस्कारलाई कसरी आद्यविम्बकोरुपमा स्वीकार गर्नु?

    •

    हुन त केही कविताहरूको आलोचना भए होलान्‌ तर समग्र भारतीय नेपाली कविताले उचालेकोे मुद्दा कसैले केलाएनन्‌। यसेे हुनुमा दुईवटा कुरा मलाई दायी लाग्छ, कि त कविहरूले आलोच्य हुनेगरी कविता लेखेनन्‌( किन भने उनीहरूसित कुनै जातिक, सांस्कृतिक, भाषिक, सामाजिक मुद्दा नै थिएन, उनीहरू कोरा कुरा गर्न व्यस्त थिए) कि त आलोचकहरू सिद्धान्त आयातमा व्यस्त रहे अनि भूगोल र इतिहास बाहिरबाट आयतित सिद्दान्तको आँखामा यताका कविता पुड्‌का थिए। कमसेकम जातियबोध दिइरहने गिरीकालीन समयले आम मानिससम्म पूल हाल्न सकेको भए र कविताले मानिसहरूसित संवाद गर्न पाइरहेको भए नेपाली कविताको फड्‌को पुस्तापुस्तासरेर जान्थ्यो र उनीहरूले आफ्नो समयलाई प्रतिनिधित्व गरेको हुन्थ्यो। तर समयलाई प्रतिनिधित्व गर्न अघि नै समयले यस्तो बौद्धिकतालाई प्रतिनिधित्व गर्नु पर्‍यो, जो हामी बसेको ठाउँ र समाजको निम्ति फिट थिएन।

    अघिल्लो लेखन ‘च्याप्टो साहित्य’ र पछिल्लो लेखन ‘केही बौद्धिक पाठकको निम्ति’ भन्न अघि ‘तेस्रो आयाम’को पहिलो सम्पादकीयमा भनिएको थियो -‘एउटा मान्छेले पाएको दुःखमा मात्र लेखन सिमित नहोस्‌। त्योभन्दा माथि उठेको लेखनको एक टुक्रा कुराकोपछि विशाल विचार बसेको होस्‌, दर्शन, राजनीति र समाजको भाषा होस (सम्पादकीय लेखकको घुमाउरो कुरालाई सोझो लेखिएको)।’ तर विचार, राजनीति र समाजको भाषाबाट भागेर उनीहरू नै यस्तो दर्शनको पछि लागे जसलाई उनीहरू बसेको समाजले बुझ्न पाएनन्‌। नबुझिने हुन्छौं होला भन्ने सुर्ता गर्दै ‘नबुझिने लोकप्रियता’ र गहिराई लेख्ने टेक्निकको पछि लाग्नेहरूबाट छोडियो आफ्नै समाज। छोडियो तिनीहरूलेे दिनहू फेर्ने हावा, गाउँ, समाज, जाति, माटो र त्यसको गन्ध। दार्जिलिङको यो साहित्य सिद्धान्तले भारतमा बस्ने उसको जातिलाई विश्वमा कहॉं राख्यो? अरूले गरुन्‌ नगरुन्‌, कमसेकम म यो प्रश्न गरिबस्छु। उनीहरूको ‘दर्शन’ आफ्नै थिएन, उनीहरूको ‘विचार’ आफ्नै थिएन, उनीहरूको ‘सिद्धान्त’ आफ्नै थिएन। जब कि हुनसक्थ्यो। डेरिडाको विनिर्माण लीलामा अनुवाद भइसक्दा उनीहरूको लेखनीबाट उसको समाज, त्यो समाजले बोल्ने भाषा, उनीहरूले पाएको दुःख, उनीहरूमाथि हुने ज्यादती र त्योबाटको मुक्तिको सवाल लेखनबाटै अपहरण भयो। संगैमा तिलविक्रम नेम्बाङले ‘नश्ल’ को सवाल लेखनीमा ल्याए अनि अहिले संघियताको निम्ति नेपालमा कविहरू मोर्चाबन्दी छन्‌।

    •
    पर्याप्त सम्भवनाहरूको बाटो थुनेर पनि तेस्रो आयाम र लिला लेखनलाई यसकारण हामी सम्मान गर्छौं कि यसभित्र केही नयॉं परम्पराहरूकोे बिज लुकेको थियोे। त्यही बिजबाट अहिलेको लेखनले फाटक खोजिरहेको छ। पर्खाल छ भने मात्र, त्यसलाई तोड्‌ने विचार जन्मिन्छ। कोही अग्लो छ भने मात्र कोहीले होचोंको अर्थ चाल पाउँछन्‌।
     अग्रजहरूद्वारा स्थापित परम्परामा लागेको धुलो टक्टकाएर नै नयॉं कविहरूले आफ्नो यात्रा तय गर्छन्‌। इतिहासलाई पूर्णरूपमा निषेध गर्न सकिन्न। तर इतिहास लेखनको झुटबारे बोल्न सकिन्छ। बोल्नको निम्ति इतिहास झुटो हुनु अनिवार्य हुन्छ। नितान्तै सरलता र हार्दिकतासित यति भन्न सकिन्छ। लाश बनिसकेको इतिहासबाट निस्किएको बीऊ नै आजको लेखन हो।


    •
    निषेधित पाठक र विचारयात्रा

    समयलाई कविले प्रतिनिधित्व गर्दैन। उसले हातमा लिएको मुद्दा, उसले बोल्ने शब्दले, भाषाले, विचारले गर्छ। इन्द्रबहादुर राईहरूले निर्माण गरेको हाइरार्कीले फेदमा पुर्‍याएका कविहरूले वैचारिक निकास यसकारण प्राप्त गर्न सकेनन्‌ किन भने उनीहरूले समयको धार र समाजशास्त्रलाई बाहिर राखे।  समाज छोडेर अलग टापूको निर्माण गरे। त्यही कविताको सौन्दर्य खोजे, कविको सत्ता निर्माण गरे। कविता नै बद्लिनुको साटो शिल्प बद्ले। लेखनमा नयॉं नयॉं टेक्निक त अप्नाए त विचारक्षेत्र उ बसेको समाज अप्नाएनन्‌। विचारको कुरा त गरे तर त्यो विचार ायतित विचार थियो। घुरेनमा उम्रिएको विचार थिएन।  समाज चेप्टिएको थियो तर लेखन गहिरोतिर गइरहेको थियो। जसको फेदमा बारीको माटो थिएन। सोझो नभेनर कुरा घुमाइबसे, मानौं उनीहरूलाई सोझोभन्दा कुनै राजनैतिक दलले समाज बहिष्कार गर्छ। समाजको केश राजनीतिक विसङ्गतिले उखेल्दै लग्यो कि उसको जातिलाई पुस्तौ पुस्तौं अपाङ्ग बनाइयो, कविहरूले सरोकार राखेनन्‌। उनीहरू बोले तर समाजले नसुन्ने आवाजमा बोले, नबुझ्ने भाषामा बोले। प्रयोगको नाममा आफ्नो विशिष्टताको रक्षामा जुटे। आसन निर्माण गरे। आउने पुस्तालाई त्यही परम्परा सुम्पे। मानिसलाई कविताबाट निषेध गरे।
   
    आम नागरिकलाई लाग्यो कविता भनेको कविहरूको कुरा हो, त्यहॉं उनीहरूको आफ्नो संसार छ। कविताले उनीहरूको कुरा गर्दैनन्‌। विश्वचिन्तामा छन्‌ कविहरू, जुन विश्वमा कविको छिमेक पर्दैन, गाउँ पर्दैन, समुदाय पर्दैन। कविहरू त्यो समाजको चिन्तामा बसे्‌, जुन आम नागरिकको समाजमा पर्दैन। कविताले विस्तारै समाजसित, आम मानिससित उनीहरूको भाषामा संवाद गर्न छोडेदेखि कविता र पाठकबिच पर्खाल उभियो।
    केको लोभले कविहरूले यस्तो दुस्साहस गरे?

    कविहरूले चाल पाएका काव्यशास्त्र अनि कविताको नाममा निस्किएका स्कूलहरूले दिएको भ्रम के थियो भने कविता भनेको अलि अफ्ठ्यारो कुरा गर्नु हो। कविता भनेको केवल कला मात्र हो। त्यो कला कला बुझ्नेहरूको निम्ति मात्र हो। अघिबाटै कला जानिसकेकालाई कला देखाउनु र यसको निम्ति प्रतिस्पर्धा गर्नु कविले वरिष्ट हुनु पाउनु, स्तरीय कविता लेख्न गरेको सङ्‌घर्ष थियोे। इतिहासबाट आजका कविहरूले टिपेको ज्ञान र अग्रजहरूले छोडिराखेको बगर यही हो।
    उनीहरूलाई वास्तवमा कसले कवि बनाउँछ भन्ने प्रश्नको उत्तर दिन आउँदैन। कला सपाट जादू देखाउनु होइन। कलाको काम सम्पूर्ण मानिसहरूलाई प्रभावित पार्नु हो, त्यो चाहे किसान होस्‌, श्रमिक होस्‌, गरिब होस्‌ वा धनी। ‘म’ बाट निस्किएर ‘हामी’ सम्मको समावेशीकरणमा कलाको औचित्य रहन्छ। मानिसलाई प्रबुद्ध बनाउनु, यसको निम्ति कार्य प्रेरणा दिनु कलाको काम हो। संसार बुझ्ने साधनकोरूपमा रहेको कलाबाट नै आम मानिसलाई बाहिर पारिए, त्यो कलाको के अर्थ?
    तर अब कलालाई आफ्नो विशिष्टिकरणको निम्ति, आफ्नो निजि सत्ता निर्माणको निम्ति दुरूपयोग गर्दै ‘एकमुट्ठी पाठक’-को आङमा टेकेर उभिने अघिल्लो परम्परा विरुद्ध नयॉं कविहरूले आफ्नो प्रवृत्ति निर्माण गरिसकेका छन्‌। कवितामा निषेध पाठकलाई कवितामा फर्काएर ल्याउने अभियान सुरु भइसकेको छ। यस्तो जोखिम आलोचनाको मृत्युपछि नै सम्भव भइरहेको छ।

   
    •
    परम्परा निषेध र राजनीति

    अधिकांशले असचेत अवस्थामा कवितालाई मनोरञ्जन बनाए। कतिले आत्मरति बनाए। समाज र जीवनदेखि पर परको कुरा गरे, जहॉं आफ्नो समयको ‘नचिनिने छाप’ हुनसक्थ्यो, ‘नदेखिने अनुहार’ हुनसक्थ्यो, त्यहीसम्म पनि जान्न पाएनन्‌ आम पाठकले। कमसेकम अगमसिंह गिरीहरूले आम मानिसलाई भन्दैथिए, ‘तिमी त यहॉं नचिनिने भएछौ।’ यति भनिदिएपछि आम मानिसबाटै आफूलाई चिन्ने सम्भवना निर्माण हुनसक्थ्यो। समयले उनीहरूलाई आफूलाई चिन्ने आग्रह गर्नसक्थ्यो। चिनेपछि आफ्नो, आफ्नो जमिनको, अस्तित्व र अर्थको, समाजको निम्ति विकास र सुरक्षाको प्रश्न उठाउन सक्थे। तर साहित्यिक समाजको ‘हिरोइज्म’ र ‘भ्रमखेल’ दुवैले मानिसको बोध गर्ने अधिकार लुट्यो। साहित्यले आम नागरिकलाई दिने दिशाको बाटो थुन्यो। साहित्य त त्यही समाजमा लेखिन्थ्यो तर त्यो साहित्यमा समाज हुँदैनथियो। त्यो अर्को विश्वको कुरा हुन्थ्यो जहॉं आम नागरिकको उपस्थिति हुन्नथियो। ज्ञानखेल समाज सरोकारको निम्ति हुनुपर्थ्यो तर भयो व्यक्तिविम्ब निर्माणकोे निम्ति। यस्तोमा पनि दार्जिलिङमा भएको राजनीतिले कविको मुखमा कॉंटी ठोकिदियो। त्यो कॉंटी राज्य र केन्द्रसत्ताबाट ‘हायर’ गरिएको थिइएन र?

    कविहरू निर्धक्क बोल्न नसक्ने भएपछि उनीहरूको कविताले बोल्ने भाषा पनि पाल्छी कुरा हुनथाल्यो। सङ्‌कटकालमा पाठकसित सोझो संवाद गर्न नसक्ने सर्जकहरू नयॉं कवइघि  परम्पराकोरूपमा छ अहिले। मनप्रसाद सुब्बा लगायतका केही कविहरूले आन्दोलनलाई ‘युद्धजस्तो मात्र छ, युद्ध चॉंही होइन’ भन्दै ‘जोडले बात गरौँ’ त भन्दै थिए अस्सीको दशकमा तर त्यो स्वरलाई सर्वसमावेशी दायित्व मान्नेवाला कोही थिएनन्‌।
    यतिखेर विकास गोतामेको यत्न भुलिदिनु हुँदैन। जसले आफ्नो समय मानिससित संवाद गर्ने संस्कार निर्माणमा खर्च गरे। तिनी पनि विशेष मठबाट आएको र भ्रमहरूसितै आएको भए पनि तिनले गरेको ‘काम’ धेरै हो।
   
    मुक्तिबोधले अभिव्यक्तिको जोखिम उठाउने, मठ र गढ तोड्‌ने जुन परम्परा उठाए त्यतिखेर यता कविहरू कि ‘रोइकराई’-मा थिए कि त ‘एक्लै हराई’-मा थिए।।
    ‘समय’ लेख्न नसक्ने कवि र तिनका कविताको प्रयोजन कति रहन्छ? यही प्रश्नसमेत आलोचकहरूद्वारा गरिएन। बरू कवि नोर्जाङ स्याङ्‌देनले ‘राग रन्थरुमा’-मा ‘लिजेण्ड’ लेखेपछि कविहरूबिच निक्कै गोप्य बहस चल्यो। धेरै ‘लिजेण्ड’ कविहरूले आश्चर्य माने नोेर्जाङको ‘लिजेण्ड’-सित। अहिले हामी मान्दैनौँ। जसजसले लिजेण्डको कुरा गरे उनीहरूले स्याङदेनका अन्य कविता मारे। वास्तवमा स्याङदेनलाई सबैले बचाउनुपर्थ्यो। यसो भएन। यसको ठूलो कारण थियो राजनीति।
    ‘लिजेण्ड’ वास्तवमा त्यो समयको कविता थियो जतिबेला जम्मै कविहरू राजनीति बाहिर थिए। समाज राजनैतिक विचलन र विसङ्गतिले ग्रस्त थियो। संवेदना, अस्तित्व र चिह्नारी नै सङ्‌कटमा थियो। राज्यसत्ताले यस्तो ढुङ्‌गा ल्याएको थियो, जो सबैको चेतनाको बिर्को बनेको थियो। बुद्धि, सिद्धान्त, दर्शन, कविता, कला, विचार यी जम्मै स्तुतिविम्ब निर्माणमा रहेको बेला नोर्जाङले लेखेको ‘लिजेण्ड’ कुनै आश्चर्य थिएन। तर यसको ‘व्याकवाइट’ भयो नै। यहीँबाट प्रवुद्ध भनिएका, बुद्धिजीवी भनिएका, वाद, दर्शन, सिद्धान्तकर्ता भनिएकाहरूकोे ‘हिप्पोक्रेसी’-नाप्न सकिन्थ्यो। इलिटहरूको  साम्राज्य आँक्न सकिन्थ्यो। कुरौटेहरूलाई स्याङदेनले अक्षम्य अपराध गरेको देखे तर उनीहरूले निर्वाह गर्नुपर्ने दायित्व देखेनन्‌।
    स्याङदेन आँट गरेर राजनीतिभित्र पसे। स्याङदेनको दोष यत्ति थियो। स्याङदेनका ‘लिजेण्ड’ अहिले जतै पुगुन्‌, त्यो उसको नियति हो तर राजनीतिभित्र पस्ने परम्पराको थलनी भने त्यो थियो। कविताले ‘राजनीति’- लाई सम्बोधन गर्नुपर्छ भन्ने चेतनाको बीऊ भने थियो त्यो। फरक यत्ति थियो कि त्यो राजनीति कुनै पनि संस्थाले गरेको संस्थागत मानसिकता थियो। त्यो मानसिकता कविको थिएन। अरूको मानसिकतामाथि चढेर हिँड्‌दा पुगिने ठाउँ कति टाडो हो, कति छेउ हो त्यो कविको चेतनामा निर्भर हुने कुरा हो।
    अघिल्लो समयका कविहरूले (सबै होइनन्‌) लेखेका कवितामा यही अन्योलता थियो। कि त उनीहरू राजनीतिसित डराएर भागे कि त डराएरै राजनीतिमा पसे। तर दुइटैभित्र कवितीय दायित्व न्यून थियो। दुइटैको परिणामको केन्द्रमा ‘समाज र विकास’ थिएन। थियो भने ‘सर्वाइभ’को युक्ति। समाज जतासुकै पुगुन्‌, कविले आफ्नो विशिष्टता र वरियताको संरक्षण गर्नुपर्‍यो। समाज थियो, समाजमाथि घोडा चढेको राजनीति थियो, कवि थिए, कविता थियो र थियो यथास्थितिवादी समयको हुरी। कवितामा समाजको अनुपस्थिति, दायित्व र हेतुको अनुपस्थितिबिच हुर्कियो वरियताको यस्तो क्रम, जसलाई जोगाएर राख्नु कविकर्म बन्यो।
    तर नयॉं कविहरू यो परम्परालाई निषेध गर्छन्‌।
   
   
    बिचमा, किनारीकरणको लेखन निक्कै सम्भावनासित अघि आएको थियो, जसले जाति, चिन्हारी, माटो तथा आफ्नो ‘कथा’-लाई सम्बोधन गरिरहेको थियो। नितान्तै निजि माटोबाट निस्किएको सुबासजस्तो लाग्नेे यो लेखन पनि ‘युनिभर्सल’ हुँदैगएपछि, कविहरू बॉंचेको ‘समाज र त्यहॉंका मानिसहरू’ निक्कै पर पछाडिने भयो। समयले ‘स्थानिक’-को आग्रह गरिरहेको थियो तर उनीहरू भए ‘वैस्थानिक।’ वैस्थानिक नै यस्तो भ्रम थियो जसलाई तोडेर अघि आउनु निक्कै जोखिम उठाउनु थियो। वास्तवमा हरेक ‘स्थानिक’ नै   ‘वैश्विक’ थियो। उनीहरू ‘वैस्थानिक’ अन्योलमा पसे। धेरैवटा संशयवादी विचारहरूबाट उठेको किनारीकरणले ताकेको ‘केन्द्र’ भुक्क उठेपछि नयॉं कविहरूले ‘संवाद’ को निम्ति हस्तक्षेपी बाटोमा छन्‌।
    अघिल्ला ‘लेखन आचरण’-को विमर्षपछि निस्किएको सोझो आचार संहिता यस्तो बनिएको छ(यतिमात्रै चॉंही होइन।)।

    • अब युवा कविहरूको अभिव्यक्तिले जोखिम उठाउँछ
    • अब युवा कविताले आम नागरिकसित सोझो संवाद गर्छ
    • अब युवा कविहरू राजनैतिक हैकमदेखि त्रसित छैनन्‌
    • अब युवा कविहरू हस्तक्षेप समयमा प्रवेश गरिसकेका छन्‌।

    कवितामा आक्रोसित कला, वैचारिक प्रत्यक्षता र सम्प्रेषण, पाठकमैत्री संरचना, निषेधित ‘कन्टेन्ट’को उत्खनन्‌, सपनाको सुरक्षा र ‘परिवर्तन’, लेखनका आग्रहहरू हुनेछन्‌। लेखनमा भाषा ‘नेपाली’ को गन्धको खोजी र त्यो भाषाका ‘भाषी’ र उनीहरू उभिने ‘माटो’-को गन्धको खोजी अहिलेको लेखनले ताकेको बाटो हो। हाम्रो ‘समकालीन’ भनेको यो बाटो हिड्‌नु हो। विश्वले हाम्रो ‘लेखन’ पढ्‌दा त्यहॉं हाम्रो ‘कथा’ र ‘उपस्थिति’ चाल पाउन्‌। विश्वले पढ्‌दा विश्वभिरका लेखक र लेखनलाई ‘सालाखाला’ पाउने लेखनआचरणबाटको मुक्ति आजको लेखन हो।

    •
    नयॉं यात्रा र स्पेस

‘अहिलेकोे लेखन बौद्धिक र आम नागरिकको बिचमा छ,’ ‘कविता र विचार’- नामक कार्यक्रममा हामीले भनेका थियौँ, ‘अबको कवितायात्रा कुनै वादको निम्ति होइन संवादको निम्ति हुनेछ।’ त्यो संवादको अर्थ कविताले पाठकसित गर्ने संवाद थियोे, जो हराएको छ। कवि एक्लै बोलिरहने समयलाई भॉंचेर युवा कविहरू सर्वसमावेशी एप्रोजसित अघि आएका हुन्‌। यसो गर्न उनीहरूलाई अग्रजहरूको परम्पराले ‘स्पेस’ दिएको हो। ‘कविता र विचार’-ले स्थापित गर्न अघि ‘बौद्धिक र आम’-बिच भएर लेखिने अचेलको लेखनबारे नेपालका नयनराज पाण्डेको ‘लू’को टिप्पणीमा पनि मैले उठान गरेकोे थिएँ। वरिष्ट कवि मनप्रसाद सुब्बाले पनि ‘भुइँफुट्टा शब्दहरू’-हरूमा यो लेखनको जिकिर गरेका छन्‌। यो प्रवृतिलाई अहिले सबैले चाल पाएका छन्‌। चाल पाएर यसलाई समकालीन प्रवृत्तिकोरूपमा स्थापित गरिरहेका छन्‌।
    यी काम तर सर्जकहरूबाट नै भएको हो।
    आलोचकहरूबाट होइन।

    •
    युवा कविहरू कवितालाई समाजमा फर्काउन चहान्छन्‌। उनीहरू चहान्छन्‌ कि कवितामा त्यो समाजको उपस्थिति होस्‌ जसलाई पुर्वजले, इतिहासले र परम्पराले निषेध गरेका थिए। उनीहरू चहान्छन्‌ कविताको भाषा यस्तो होस्‌, जो उसको समाजले बोल्छ। उनीहरू यस्तो भाषा निर्माण गर्न चहान्न, जुन भाषा केवल चटुकारिता देखाउन निर्माण गरिएको होस्‌। शास्त्रले भन्ने विभिन्न काव्य औजारहरूबाट ती औजारहरू कविताले टिप्नेछ, जुन सबैले नाङ्गो आँखाले देख्न पाउन्‌। अनुभूत गर्न पाउन्‌। उनीहरू यस्तो बाग्धारा, शिल्प र संरचना तयार पार्न चहान्छन्‌ जहॉं ‘भनिने बौद्धिक’ र ‘निषेधित आम पाठक’ दुवैले उस्तै अर्थमा आफ्नो सहभागिता चाल पाउन्‌। कविताको विषय, शिल्प, रुप, भाषा, भाव तथा यस्ता सम्पूर्ण औजारहरूले खनेको बाटो भनेको त्यो काव्यिक सरलता हो जसको घोषणा त धेरै लेखनले गरे र व्यवहारिकतामा देखाएनन्‌। अभिधाभित्रै लक्षणा, व्यञ्जना तथा काव्यअवयवहरूको संयुक्ति हुनेछ, जसको निचोड ‘आमसंवाद’ नै हुनेछ। यो नयॉं यात्राको निम्ति स्पेस तयार पार्ने काम अघिल्ला लेखन र राजनीतिले गरेका हुन्‌, जसमा तेस्रो आयाम, लीला लेखन, आन्दोलन-1, संक्रमण लेखन, विचलन लेखन, किरानीकरणको लेखन, आन्दोलन-2 प्रमुख ठानिएको छ।
   
    नयॉं पुराना लेखन र कविताका साक्षी रहेका पाठकसम्म अब आजको लेखनले पुर्‍याउनेछ-‘कुरूप फूलको गन्ध।’

    •
    हाइरार्की र निमा शेर्पा

    युवा होस्‌ वा बुढा यदि तिनी ‘एकाडेमिक क्रिटिक’ हुन्‌ भने तिनी आजका युवा कविहरूलाई ‘कवि’ मान्न अस्वीकार गर्छन्‌। युवा कविहरूको नाममा इरेजर लाउन सक्छन्‌।  किन भने उनीहरूको मत अनुसार 50 वर्ष पुगेपछि मात्र उसको निरन्तरतालाई हेरेर ‘कवि’ भनिनुपर्छ। उमेरले निर्धारण गर्छ कसलाई कतिबेला कवि भन्नु। ठिकै पनि हो कविको उमेर हुन्छ, कविताको होइन। कवि मर्छ, कविता होइन। अघइघि 40 वर्षसम्म साहित्यको सेवा गर्नेलाई साहित्यकार मान्ने सिन्डिकेट थियो। त्यो बढेर अहिले 50 पुगेको छ। यो बढोत्तरी हाम्रा लागि निक्कै चाखलाग्दो छ। 50 को लेबल लेखिदिएपछि 49 सम्मकाले बोल्ने ठाउँ रहेन। ‘स्पेस हरण’-को यो खेल हाइरार्कीको यस्तो कुटनीति हो, जसको अर्थको केन्द्रमा ढुङ्गा भइसकेको स्वार्थ लुकेको हुन्छ।  त्यो स्वार्थ आफ्नो आसन जोगाउने खेलको निम्ति बनाइएको कुनियत बाहेक अर्को केही होइन।
    साहित्य अकादमीले 35 सम्म पुगेका युवा सर्जकलार्ई ‘युवा पुरस्कार’ किन दिएका हुन्‌, यो निक्कै अचम्मको कुरा हो यस अर्थमा। को सर्जक हुन्‌ को होइनन्‌, यसलाई नाप्ने यन्त्र ‘उमेर’ भएकोले मैले निमा शेर्पाको कुरा गर्नु उनीहरूको सिद्धान्त, मत र उनीहरूले निर्माण गरेको सिन्डिकेटको विपक्षमा उत्रनु हुन्छ। अभिव्यक्तिको जोखिम उठाउने हस्तक्षेप कविताको पक्षबाट हेर्दा मेरो कर्तव्य हुन्छ, यस्ता बगमफुस्से विचार र मठको विरोध गर्नु। त्यो हाइरार्की तोड्‌नु, जसको सुरक्षामा उनीहरू डटेका छन्‌।
     उनीहरूलाई नै भनिदिनुछ मैले कि निमा शेर्पा, जो 20 महिनामा कवि भए। तिनी खॉंट्टी कवि भए, यो घोषणा मेरो हो।
    निमाको यो उपस्थिति त्यही हाइरार्की तोड्‌ने परम्पराको थालनी हो। जीवनभर निमाले 20 वटै कविता मात्र लेखुन्‌, तिनी सधैँ कवि हुन्‌। यो सङ्‌ग्रह त्यसको साक्षी छ।
 •
    बिजनबारीमा भएको मेरो पहिलो एकल कविता वाचन ‘बिजनबारी, बोगटी र बिम्ब’ सुन्न टिनटिन कम्प्लेक्स पुगेका निमाको अनुहार गम्भीर थियो। त्यही कार्यक्रमपछि निमाको साक्षात्कार कवितासित भयो। त्यसअघि पनि तिनी कविता त लेख्थे, तर कवितै चॉंही होइन। मैले चाल पाएको कुरा यत्ति हो कि निमाले कविता लेखेको 20 महिना मात्र पुग्यो। ती प्रत्येक महिना लेखिएका 20 वटा कविता हो ‘कुरूप फूलको गन्ध’।


    •
    कुरुप फूलको गन्ध

    निमा शेर्पाको कविता भनेको कुरुप फूलको गन्ध नै हो वास्तवमा। कुरूप भनेर फालिएका फूलहरूबाट आउने वास्नालाई निषेध गर्ने समाजमा बसेर कविता लेख्नु सहज त छैन तर यो बेला पनि कविता लेख्नु निमाको इमान्दारिता हो। कुन फूल सुन्दर हो, यसलाई आँक्ने हक त्यो मानिसलाई छैन जुन मानिस ‘आम’ हुन्‌। ‘आम’-हरू बोल्दा ‘अशिक्षित दादागिरी’ मानिने समाजमा बसेर निमाले त्यही दादागिरी गरिरहेका छन्‌, जुन उसले उठाएको जोखिम हो।
    कसैले सुन्दर भनिदिएको फूललाई फूल मानेर, कसैले सुगन्धित भनिदिएको फूललाई मात्र फूल मानेर बस्नेहरूले फूल चिन्न पनि अरूको विचार र दर्शन सापटी माग्ने समाजमा बसेर निमाले त्यो फूलको कुरा गरिरहेका छन्‌, जसलाई कुरूप मानिन्छ। कुरूप फूलको पक्षमा कविता लेख्नु निमाको शक्ति हो।
    फूललाई हेर्ने जबसम्म उसको निजि विचार र चेतनाको विकास हुँदैन,  जबसम्म निजि संवेदना र अनुभूतिको विकास हुँदैन, जबसम्म बुद्धि र धर्मको बिकास हुँदैन तबसम्म निमा शेर्पा भन्ने कवि कुरुप फूलको गन्धको पक्षमा बोल्नेछन्‌।
    जस्तो कि हारुकी मुराकामी अण्डाको पक्षमा बोल्छन्‌। किन भने तिनलाई जनता भनेको ‘अण्डा’ लाग्छ, जसले पनि फुटाउन सक्छन्‌। अण्डाको सुरक्षामा डट्‌ने यो लेखकीय जोखिम निमाले पनि यदि उठाउँछन्‌ भने, त्यो सॉंचा कविको ‘क्यारेक्टर’ हो। वास्तवमा निमा मानिसमा मानिसलाई फर्काइल्याउने अभियानमा छन्‌। निमा गाउँले हराइपठाएको सिम्फोनीको खोजमा निस्किँदा यस्तो भाषा बोकेर निस्कन्छन्‌, जुन भाषाले पाठकसित सोझो संवाद गर्न सक्छ। निमाको शक्ति भनेको तिनले निर्माण गरेको भाषा हो, जसलाई तिनले अनिकालको बेला जाोगाएका हुन्‌। फर्सीले फुलेको बेला भमराले गीत बिर्सिएको बेला मानिसमा संवेदना फर्काएर ल्याउनु निमालाई कवितीय दायित्व लाग्छ। निमाको कवितामा कविता सुन्न धैर्य र त्यही संवेदना चाहिन्छ जो मानिसले हराइपठाएका छन्‌। पाठकीय अज्ञानताको शोषण गर्नेहरूबीच उभेर बोल्नु जस्तो सालिन जोखिम उठाउने निमा एक पिताले छोराछोरीहरूको निम्ति छोडिराख्नुपर्ने ज्ञानानुशाषणबारे बोलिदिन्छन्‌। एउटा राजाले आत्महत्या गर्ने अनि अर्को राजा भोकभोकै मर्ने देशमा बसेर निमाले झण्डा आफै हल्लिएको दिन हावाले दिशा परिवर्तन गर्ने सपना देख्छन्‌। यो सपना चानचुने सपना होइन। मान्छेलाई आफ्नो साइज नाप्ने यस्तो यन्त्रको अविष्करणमा निमाको यात्रा तय हुन्छ, जुन अविष्कारले मान्छेको ओँठओँठबाट हराएको मुक्सान फर्काउन सहयोग गर्छ।  जीवनको तिर्खा लागेको बेला पातमा पानी खान पाउनुको आनन्द मानिसमा फेरि आरोपित गर्नु भनेको मानिसलाई जोगाउनु हो।
    सङ्‌कटमा परेको मानिसलाई बॉंधेको साङ्ली तिनी आफै फुकाल्दैनन्‌, फुकाल्ने नयॉं सिप सिकाउँछन्‌। राजनीतिक विसङ्‌गतिको हिलोबाट मानिसको सर्वोत्तम सत्ता टिप्न सक्नु निमाको लेखकीय सफलता हो। मानिसलाई उनीहरूको जीवन फिर्ता गराउनु, जीवनतिर पुग्ने बाटो बनाइदिनु, धुलोबाट नयॉं पाइला निकाल्नु र भन्नु,
    ‘उभिनोस्‌ ठिङ्ग
    हल्लिँदै गरेको जमीन पनि
    एकछिन थामिन सक्छ
    खुट्टाको आँट देखेर’

    -यस्तो जीवनमुखी सपना देख्न मानिसलाई आग्रह गर्नु, हल्लाहरूको साइकोलोजी पढाउनु र कागको वास्तविक रङ चिनाउनु, ओँठैमा झुण्डिमरेको गीतमा जीवन भर्नु निमाको कवितीय आग्रह छ।
    कविताको केन्द्रमा आम मानिसको सपनालाई राखेर, त्यो सपनाको सुरक्षामा लाग्ने कवि निमाका कविताहरूमा टॉंसिएको गाउँको धुलो टक्टकाएर यदि कसैले पनि पढेछन्‌ भने मलाई लाग्छ त्यो जीवन पढ्‌न उच्चारण गरिएको पहिलो पङ्‌क्ति हुनेछ।

    •
    निमाको 20 महिने कविता यात्रा यसकारण पनि महत्त्वपूर्ण छ किन भने यो यात्रा धेरै वर्षको मन्थनपछि तय गरिएको, धुलो फुकेर एकएक पाइला सारिएको, कॉंडाहरूबाट जोगाएर, झाडीहरू केलाएर, ढुङ्गाहरू फुटाएर, माटो आफ्नै नङले खनेर बनाइएको बाटो भएर हिँडिरहेको योद्धाको यात्रा हो।
    यति इमान्दारिता त कविताहरू पढेरै अलग्गै ठिम्याउन सकिन्छ नी होइन र?
    यसै पनि कुरूप फूलको गन्धको निम्ति नाक छोप्ने मठ र गढ तोड्‌न निस्किएका निमाका कविता भनेको आजको कविताको अगुवा हुन्‌। यिनका कविता हिँडेको गोहो भएर आजको समयले हिँड्‌नुपर्ने नै छ।


    •
    ...र फेदको आवाज

    निमाको यो पुस्तकको भूमिका लेख्नु थियो। मैले लेखिन। किन भने युवा कविताहरू कसैको भूमिकाको मेरुदण्डमाथि भर पर्दैन। मैले अघिल्लो परम्पराको ओढार देखाउनुथियो जहॉं ‘बौद्धिकसमाज’-को नाटक मञ्चन हुन्थ्यो। एउटा स्वाङले जहिल्यै लेखनलाई बाटो देखाइरहन्थ्यो, जुनबाटो हिँडनेे यात्रीहरूको ‘फोसिल’ देखाउनुथ्यो र त्यहीँबाट सुरु भएको अर्को यात्राको घोषणा गर्नु थियो। कविताबारे बोल्नु थिएन किन भने बोल्ने कविता आफैँ हो। यही विश्वासको भरमा त आजको यात्रा तय छ। कविताअघइघि हिँडेको देखेर आलोचनाको टाउको दुखेको खबर आइरहन्छ। कवितालाई लिएर आलोचना स्पष्ट हुनसक्दैन अचेल। बोक्रे हेराइको विरुद्ध उभिएको कवितालाई सधैँ लाग्छ सिर्जनाभन्दा परबाट बोल्नेहरूको हल्लामाथि टेक्नुछ।
    यसकारण निमाका कविताको आत्मविश्वासमाथि मलाई विश्वास लागेर आएको हो। पैह्रोमुनी बसेर निमाले निकालेको आवाज निसन्देह केही ढुङ्गाको चोट हो। पहाडको फेदमा बस्ने मानिसको सपना पहाडको टुप्पोतिर उक्लिने सामर्थ निमाकै कविताबाट प्राप्त हुन्छ। आममान्छेलाई माया गर्ने आम कवि निमा तिनको समयविम्ब हुन्‌।

    तिनको कुरूप फूलको गन्धबाट निस्किएको आवाज मान्छेसम्म पुगुन्‌, मैले गर्ने भरोसा यत्ति हो।

No comments:

Post a Comment