कवि सरस्वती
प्रतीक्षाले पोखरा काव्यिक महोत्सवमा बोलाइन्। 5 जुनको दिन एघाह्रबजी म काँकरभित्तामा थिएँ। राजेन्द्र
भण्डारी, मनप्रसाद सुब्बा, रेमिका थापा, उदय थुलुङ पनि आइपुगे। गाडीमा चढ्यौं। ‘गाडीचाँही राम्रो होस है,’ मनप्रसाद सुब्बाले भनेका थिए मलाई, ‘खटेरा गाडीमा परियो भने त यात्रा झुर हुन्छ।’
गाडी त खटेरा नै
परेछ। एजेन्सीले ठग्यो तर यात्रा झुर भएन। हामी केवल बसको यात्रा गरिरहेका थिएनौं।
भारतीय नेपाली कविताको यात्रा गरिरहेका थियौं। बस खटेरा थियो तर यात्रा खटेरा
थिएन। बस झुर थियो तर यात्रा झुर थिएन। तीन पुस्ताका हामी पाँच कविलाई पोखरेली
युवा सांस्कृतिक परिवारले त्यसै नेपालका 26
जना कविहरूबिच उभ्याएको थिएन। 26 अघि 5 को शक्ति कायम राख्नु थियो। यसकारण हामी खटेरा
बसमा दह्रो यात्रा गरिरहेका थियौं।
...
7 बजी बिहान पोखरा बस स्ट्याण्ड पुग्दा खदामाला
बोकेर उभिएकी थिइन् सरस्वतीअनि कवि तीर्थ श्रेष्ठ। झील, पहाड, हरियालीबिच
बसेको पोखरामा मकैबारीमा रहेछ हामी बस्ने होटल, लेकसाइडमा।
होटलमा सरुभक्त, तुलसी दिवस, बिक्रम
सुब्बा, त्यसपछि अरुहरू। अनि भलाकुसारी।
‘काठमाडौं राजनैतिक र के के राजधानी होला,’ गफैगफमा तुलसी दिवसले भने, ‘तर पोखरा सांस्कृतिक राजधानी हो भन्ने पक्षमा म
छु।’ बिक्रम सुब्बा हाम्रो गाइड। फेवातालमा पोखिएको
पानीको थाकमाथि राखिएको नौकामा कविहरू थिए। टिस्टा नदी भन्दा पनि ठूलो ताल। ‘हाम्रो मिरिक झील त चिङ्ना रहेछ नी,’ राजेन्द्र भण्डारीले भने, ‘तर पोखरा चुनामाथि छ।’ तालमाथि उभेर वरिपरि हेर्दा मलाई लाग्यो, वाफरे, चुनामाथि
उभिएको पोखरा अनि भीरमुनि उभेको मेरो घर त एउटै रहेछ। दुइटै खतरामा।
...
दुइदिने
कार्यक्रमभित्र जत्ति रमाइलो थियो त्योभन्दा धेर रमाइलो कार्यक्रमबाहिर थियो। निम्तारुहरू
आइपुगे। लजाइरहेजस्तो
स्वप्नील स्मृति, डेनीजस्तो हेमन यात्री, कालेबुङमा अमिताभको उपनाम पाएका भूपिन, अबोलाजस्तो अविनाश श्रेष्ठ, झाँक्रीजस्तो उपेन्द्र सुब्बा, बिन्दास विमला तुम्खेवा, स्मार्ट ज्योति जङ्गल, अल्मस्त बाबा चन्द्रबीर तुम्बापो, नबोली बोल्ने सुदीप पाखरिन, शालीन राबत, दार्शनिक
श्रवन मुकारुङ, चङ्खो विप्लव ढकाल, गम्भीर विमल निभा, दाजुलाग्ने
श्यामल, शौम्यजस्तो सुलोचना मानन्धर, जिज्ञासु लाग्ने बसन्त बस्नेत, अध्ययनशील लाग्ने महेश पौड्याल। वास्तवमा मलाई
लागे जस्तो चाँही अधिकांश थिएनन्। झुरुपझुरुप कोठाभरि कविहरू। नेपालका
शक्तिशालीजति प्राय नै उनीहरू, हामी एक हातका
औंलीहरू।
सरस्वती र सरिता
तिवारीलाई सिलगढीको ‘भारत-नेपाल काव्य साँधु’-मा भेटेपछि उनीहरूको व्यक्तित्व देखेर ‘दिदी’ भनेको
थिएँ। पोखराको ‘नेपाल-भारत काव्य महोत्सव-2071 पछि ‘मित्र’ भनिरहेको थिएँ।
वास्तवमा
उपेन्द्र सुब्बाको ‘मुलाङ कवि’ थिएँ
म।
काव्य
महोत्सव-का आयोजक पोखरेली युवा सांस्कृतिक परिवारले केवल मञ्चमा उभ्याएर काव्य
उत्सव मात्र गरेन होटल-होटल, बाटो, ताल, बस, मन्दिर मन्दिरमा पनि काव्यिक विमर्ष चलायो।
कविहरू जहींपुगे पनि गर्ने कुरा त कविता कै हो। हामी सामु आइपुग्थे कवि श्रवन
मुकारुङ र भन्थे, ‘मेरो कविताको पङ्ती टिसर्टमा लेखिन्थ्यो।
मानिसलाई परेको सङ्कटको बेला कविता सडक निस्किन्थ्यो। एउटै कविता कतिपल्ट वाचन
गरियो हिसाब छैन।’ कवि विप्लव ढकाल आइपुग्थे र भन्थे, ‘एउटै प्रोफेसर शर्मा कविताको पनि पात्र
हुन्थ्यो, आख्यानको पनि। अझै पनि प्रोफेसर शर्माहरू
जताततै छन, उस्तै छन्।’ कवि
श्यामल आइपुग्थे र भन्थे,
‘जुन कविताको
केन्द्रमा मानिस हुँदैन त्यो कविता लाशजस्तो हुन्छ।’
कवि उदय
थुलुङलाई लाग्छ, ‘नेपालका कविहरूबिचको विमर्षको केन्द्रमा भने
कविता नै हुन्छ। अनि त्यो कवितामा नेपालका मानिस हुन्छ। सबै कविलाई लाग्छ, आफ्नो समय कवितामा आएन भने इतिहासलाई आफ्नो
उपस्थिति कसरी दिनु?’
कविहरू धेर
चिन्तित भएको कवि स्वप्नीललाई राम्रो लाग्दैन। ‘कहाँ
के लेखियो, कसरी लेखियो, किन
लेखियो भन्ने कुरा जान्नु अनिवार्य होला,’ स्वप्नील भन्छन्, ‘तर
सबैभन्दा पहिले त हामी के लेख्दैछौं, कसरी
लेख्दैछौं, किन लेखेदैछौं भन्ने कुरा जान्नु पहिलो
अनिवार्य शर्त हो।’ कवि राबत कविताबारे उति बोल्दैनन्। सोधियो भने
भन्छन्, ‘कविता नै बोल्ने हो, कविले त लेख्ने हो नी।’
कवि भूपिनलाई
लाग्छ, युवा कविहरूलाई धेरै चुनौति छ। उसित कविताको
अघिल्लो परम्परा छ, त्यो परम्पराको संक्रमणकालीन बोध छ। शिल्प, शैली, बाग्धारा, विषय, विम्ब
अथवा अघिल्ला कविताको सम्पूर्ण सौन्दर्य चिनेर त्यहाँबाट आफ्नो बाटो तय गर्नु
गाह्रो हो तर असम्भव होइन।
‘भारतका नेपाली सर्जकहरू किन कविता नै बढी
लेख्छन्?,’ सोध्छन् भूपिन, ‘आख्यानमा
किन नआएको?’
कोठामा चुपचाप
सुनिरहेका कथाकार उदय थुलुङसित पनि यसको उत्तर थिएन। भूपिनको यो प्रश्नको उत्तर
कसले दिने होला? किन भने तिनी कविलाई नै यो प्रश्न गरिरहेका
छन्। तिनको यो प्रश्न सुनेर यस्तो पनि लाग्छ कि अब कविहरूले नै आख्यानमा पनि हात
लगाउनुपर्ने हो त?
...
तेस्रो आयाम र
लीलाको गढ मानिने दार्जीलिङका पाँच कविहरू भने कोही पनि यसको फलोवर्स थिएनन्। नेपाली साहित्यको यति ठूलो दर्शन, लेखन, वैचारिक
आन्दोलन, राज्यको भाषा बङ्गलासम्ममा पुगेको भए भारतीय
नागरिक नेपालीहरूको साँस्कृतिक, राजनैतिक, सामाजिक, अर्थनैतिक
हरेक क्षेत्रमा बहसको केन्द्र स्थापित हुनसक्दैनथ्यो र? नयॉं पुस्तासित एउटा प्रश्न छ अहिले
आजको पुस्तालाई
लाग्छ, आफ्नो समाज, त्यो
समाजको मानिस, नश्ल, संस्कृति, माटोसहितको लेखन भएन भने त्यो लेखनको औचित्य
कति हो, आक्नु अनिवार्य हुन्छ। विश्वलाई नै पश्चिमी
विचारले दास बनाएको स्थितिमा पश्चिम बङ्गालको उपनिवेश खपिरहेका हामीले अघिल्ला लेखनहरूमा
आएका विचारहरू कुन कुन र कस्ता विचारहरूको दासी थिए त भन्ने कुरा खोज्नु परेन त?’
‘मर्न लागेका बुढाहरूको विरुद्ध बोलेर मात्र
कविता अघि बढ्छ?’ कवि हेमन यात्रीले थर्काउँछन्, ‘चुपचाप कविता लेख।’
हामी हाँस्छौं।
कवि भूपिनलाई भने लाग्छ,
‘भारतका नेपाली
युवा कविहरूमा देखापर्ने यो हस्तक्षेपी चरित्र त्यहाँको समकालीन चरित्र हो।’
...
कवि सरस्वती
प्रतीक्षाहरू अति व्यस्तताबिच पनि घरिघरि देखापर्छन्। सात जुनको दिन उनीहरूले
कविहरूलाई जुन हलमा लान्छन्, त्यो देखेर
हैरान हुन्छु म। कुनै पपुलर गायकको निम्ति बनाइएको डिस्कोथेक लाइटहरू चम्किरहेको
स्टेज वास्तवमा कविहरूको निम्ति थियो।
चम्किरहेका
लाइटहरूबिच उभेर कविहरू आफ्ना प्रतिनिधि कविता सुनाइरहेका थिए। अघिल्लो र पछिल्लो
पुस्ताबिच कवितान्तर देख्नेहरूले सहजै ठम्याउन सक्थे कि पछिल्लोपुस्ता कवितामा
केही हस्तक्षेपी छन्। आफ्नो समयलाई कवितामा लेख्नको निम्ति युवा कविहरूसित जुन
चेतनाको विकास देखिन्छ, यसलाई हेर्दा लाग्छ युवा पुस्ताले यो समयको
कवितालाई धान्न सकेकै हुन्। जीवनमा पहिलोपल्ट अविनाश श्रेष्ठ,
विमल निभा, रमेश श्रेष्ठ, तीर्थ
श्रेष्ठ, श्यामल अनि सरुभक्तलाई सुनिरहेको थिएँ म। बाँकीलाई
सुनिसकेको थिएँ।
विमल निभाले ‘कविता लेख्न स्थागित गर्छु अनि लुगा धुन थाल्छु’ भन्नसाथ कविताले बोकेको विचारले रन्थनिएको
थिएँ। तिनी भन्छन्, ‘कविताको काम फोहोर विरुद्ध बोल्नु हो।’ मलाई ठ्याक्कै कवि राजा पुनियानीको याद आएको
थियो यसबेला। पुनियानी भन्छन्, ‘हस्तक्षेप
फोहोरको विरुद्ध हो।’
आयोजकले
कविहरूलाई केवल एउटा कविता सुनाउने आग्रह गरेका थिए। युवा कविहरूले खुरु खुरु पालन
गरे। तर दुइवटा कविता सुनाउने चतुर्याइँ विप्लव ढकालबाट भयो। तिनले भूमिका
बाँध्ने निहूमा दुइवटा कविता सुनाइ दिए। कवि मनप्रसाद सुब्बाले भूमिका नबाँधी
दुइवटा कविता सुनाए।
‘कवि विमल निभाले पनि दुइवटा कविता सुनाए,’ मैले राबतलाई भने।
‘होइन एउटा सुनाए हौ,’ राबत मानेनन्।
‘एक एक लाइन दुइपल्ट दोहोर्याएपछि दुइवटा कविता
भएन त?’
-मैले जिस्किएर भने।
‘निभा राम्रो कविता लेख्छन्,’ कवि श्यामलले यसको जवाबमा भने,
‘तर बाचनमा
समस्या छ, आज नै हो
सबैभन्दा राम्रोसित कविता वाचन गरेका। मैले त यत्ति पनि आशा गरेको थिइनँ।’ स्वीकारे निभाले।
तीसजना कविको
कविता सुन्ने धैर्य कसैलाई हुन्छ? तर पोखरा उद्योग
वाणिज्य संघको त्यो कार्यक्रम भवनबाट कविताको कार्यक्रम सकेर पनि दर्शकहरू उठेनन्।
नहल्ली, नबोली, यति
धैर्यसित कविता सुन्ने पोखरेली देखेर एउटा कुरा त स्पष्ट भयो, अब कविताको जमाना आइसकेको हो।
...
कवि सरस्वती आफै
शक्तिशाली कवि हुन्। हामीले सूचीमा तिनको नाम देखेनौं। ‘कविहरू कति छन् कति सबैलाई मञ्च दिन साध्य छैन,’ तपाईँको पनि कविता सुन्नुपर्छ है-को जवाबमा
तिनले भनिन्, ‘यस कारण म आफैले सुनाएको छैन भन्दा सबैलाई राहत
हुने र सहज पनि हुने भएकोले म चाँही नसुनाउने।’
राजा पुनियानीले
फेसबुकमा एउटा स्टाटस लेखे,-‘जसले पायो त्यसले कविता लेख्दा कविताको गरिमा
मर्दैन?’
राजाको यो प्रश्नको
विरुद्ध देखिएको जसले पायो उसैले, जस्तो पायो
त्यस्तै कविता लेख्नेहरूको आक्रमण हेर्दा
नै थाहा पाइन्छ, सरस्वतीहरूलाई पोखरामा कविता जोगाउनु कति
गाह्रो छ।
‘कविहरूबाट धम्की पनि खाइयो,’ तीर्थ श्रेष्ठले ठट्ठा गरे, ‘यसलाई पनि काव्य महोत्सवको एउटा
प्राप्तीकोरुपमा लिएका छौं।’
यसै पनि लाखौं
कविहरूबाट केही प्रतिनिधि छान्नु गाह्रो काम हो तर आयोजकले कमसेकम नेपाली कवितालाई
उचाईँमा पुर्याउनेहरूलाई पोखरा निम्ताएर पोखरा र पोखरेली काव्यचेतनाको उचाईँ पनि
देखाइरहेको थियो।
सरस्वतीलाई
लागेको छ, ‘कवितामा पनि रोग लागेको हुनसक्छ, यसको शैल्यक्रिया हुन अनिवार्य छ।’ यसकारण दोस्रो दिन ‘कविता हिजो र आज’ अनि
‘कविताको रचना प्रक्रिया’-माथि कविहरूको चर्काचर्की पर्यो। महेश
पौड्यालले कविताहरूलाई खोतलेपछि पक्का भयो, अब
नेपाली कविताको भारी युवा कविहरूको काँधमा सरेको छ। तर युवा कविहरू बढी अध्ययनशील, समयपठित हुन त अनिवार्य छ नै नयाँ कथ्यको
खोजीसमेतमा सचेततापूर्वक लागेर अघि बढ्नु आवश्यक रहेको पनि खुलियो।
कविता अघि जहाँसम्म आयो, त्यहाँबाट अघि बढ्न कविताले युवाहरूको
इमान्दारिता, सिर्जनक्षमता र सचेततामाथि भर परेको छ। केवल
नेपाली वृत्तमा मात्र होइन नेपाली कवितालाई विश्वका अरु भाषामा लैजान अनि विश्वलाई
नेपाली कविताको उचाईँ चिनाउनतिरसमेत नयाँ
पुस्ताको जिम्मेवारी बनेको पनि खुलियो। ‘कविता
लेख्छु’ मात्र भनेर अब पुगेन। ‘के लेख्छु, किन
लेख्छु, कसरी लेख्छु र कस्तो लेख्छु’ समेतमा समकालीन सचेतता आएन भने कविको मृत्यु
निश्चित हुने पनि खुलियो।
बसन्त बस्नेतले
खोतलेको ‘रचना प्रक्रिया’ ले
भने निक्कै जिम्मेवार प्रश्नहरू खडा गरिदियो।
अब कविहरु भावुक
बनेर मनमा आएको भावना खेलाउँदै, त्यसलाई कसरी
सजाऊँ भन्ने चिन्तामा डुब्नु झुर कुरा हुने भयो। विचार, विषय र कला भन्दा धेर सौन्दर्यको खोज (फर्म) मा समय नष्ट गर्नेहरूको लागि काव्यिक
अन्तरसंवाद संजीवनी बुटी थियो। जेसुकै र जुनसुकै कुरालाई शैली प्रदान गर्न मात्र
कविको जिम्मेवारी रहेन। समाज र मान्छेबाहिरका ‘वर्णन’हरू र ‘आत्मालाप’हरू कविता बन्न छोडिसकेको छ। कविता योजनावद्ध हुन्छ हुँदैन, कविता विशेष मुद्दाको उठान र विचार सम्प्रेषणको
निम्ति लेखिन्छ लेखिन्न, विचारलाई कलात्मकरूपमा अभिव्यक्ति दिएर समाजलाई
‘प्रबुद्ध’ बनाउने
काम कविताले गर्छ कि आत्मरति र मनोरञ्जनको निम्ति कविता लेखिन्छ, यी परापूर्वकालदेखि देखिँदै आएका समस्याहरूको
समाधान पोखराको दुइवटा कार्यक्रमले गर्नेवाला छैन तर कमसेकम कविहरूलाई कविता र
यसको शक्ति चिनाउन आयोजक सफल थिए।
मनप्रसाद
सुब्बाको गफ ‘नियो कोलोनियल’ बाट
शुरु हुन्थ्यो भने श्यामलको गफ ‘थरुनीको रगत
लागेको लेहङ्गा’ बाट। यहीँबाट अब युवा कविहरूले आफ्नो बाटो
चिन्नुपर्ने ज्ञान पनि अन्तरसंवादले दिइरहेको थियो। पोखराले कवितामाथि सुर्ता
गरिरहेको थियो।
युवा कविहरूलाई
दायित्व सुम्पिने यो पोखरा फेवातालजस्तो शालिन र गम्भीर लाग्यो। जुन फेवातालमा ‘माछापुछरेको छाया’ भन्ने गीत त सुनेको थिएँ तर मैले भने फेवातालमा
कविताको छाया देखेँ। माछापुछरेजस्तै अग्लो, सौम्य
र गम्भीर।
·
bogati1979@gmail.com
No comments:
Post a Comment