अम्बर चासो

अम्बर चासो



 
संगीत
'भाइ, हामेरकोबाट पनि भूल भएको छ।' एउटा गहिरो विषयमा कुरा गरिरहेका छौं। म छु गगण गुरुङको कोठामा। गगण गुरुङ अनेकौं छटपट्टिहरूको हाँगा फैलिएका रूख हुन्, जसको हाँगामा अनेकौं फूलहरू त फुल्छन् तर त्यसलाई सिउरिने शिर छैन। त्यसको महकलाई इन्जोय गर्ने पुस्ता छैन। त्यसपछि त्यत्तिकै ती फूलहरू मुर्झाइदिन्छन्। फेरि पनि विशाल अम्बरमा हराउने नाम त गगण गुरुङ कै हो।
 
'हाम्रा ठालुहरू भनेका को हन् ? कविमा अगमसिंह गिरी, आख्यानकार र लेखनमा आन्दोलन गर्ने इन्द्रबहादुर राई, संगीतमा अम्बर गुरुङ, नाटकमा मनबहादुर मुखिया', गगण गुरुङलाई त्यति ध्यानले अरू कसैले सुनेका छन्, छैनन्, म जान्दिनँ।
 
मलाई भने यसरी तानिरहेको छ, मानौं म कतै हराइरहेको छु। वास्तवमा इतिहासको त्यो गहिरोमा जहाँ पस्ने सौभाग्य धेरैसित छैन, गगण गफ जारी छ, 'यी महारथीहरूबाट नै भूल भएको छ अरूको के कुरा गर्ने ? '
...
इन्द्रबहादुर राईको 'आज रमिता छ'मा दार्जिजिङ घर भएको जनक ससुराली नेपालबाट फर्किंदा एक ठाउँ भन्छन्, 'हामी त पस्यौं पस्यौं स्वदेश छोडेर, त्यो मुजुर पनि हामीसितै मुग्लान पस्न लागेको...खेदेरै पनि फेरि नेपालभित्रै हालिराखेको...हामी मान्छे त प्रवास पस्यौं पस्यौं, बनको पशुपक्षीले पनि यसरी स्वदेश छोड्न थाले कतिदिन रहन्छ नेपाल ? '
 
इतिहासकारले के पढायो भने इस्ट इन्डिया कम्पनीले ३१ दिसेम्बर १६०० देखि भारत देशको माटोमा प्रथम पाइला टेक्यो रे। इतिहासकार पनि यति गहिरोरूपले अल्झिदिएपछि त्यही इतिहास पढेर हुर्किएको संघीय भारतले (केन्द्र) बोक्ने मानसिकता के हुन्छ? वास्तवमा इतिहासकारले ब्रिटिसहरू आएको भारतीय उपमहाद्वीपमा भन्दिनुपर्ने। 
 
किनभने भारतीय उपमहाद्वीप देश होइन, क्षेत्र हो। भारत देश त २६ जनवरी १९५० देखि बनिएको हो। ब्रिटिस भारतमा जहाँ-जहाँ जो-जो थिए, अहिलेको संघीय भारत निर्माणपछि मानचित्रले बाँधेका जति उनीहरू स्वतः भारतीय बने। त्यस अर्थमा भारतीय नेपाली नागरिकहरू अनुप्रवेशकारी होइनन्।
 
इन्द्रबहादुर राईको जनक पनि भारतीय नागरिक नै हुन्। यो त पक्का हो, संघीय भारतअघि र पछि पनि नेपालबाट भारत छिर्ने बाटो खुला थियो। १९५० को सन्धिको धारा ७ र ८ एउटा गतिलो नमुना हो। 
 
जनकको मानसिक मानिस द्विचरित्रको छ, एउटाले आफ्नो देश 'नेपाल' बुझ्छ र इतिहासको नोस्टाल्जियामा अल्झिन्छ, अर्कोले नेपालबाटै मुग्लान पसे नी संघीय भारतको निर्माणपछि अब हाम्रो देश भनेको 'भारत' नै हो भन्छ। किनभने यो उपन्यास आउँदा संघीय भारतको उमेर १० वर्षको थियो। 
 
वास्तवमा यो जनक इन्द्रबहादुर राई आफैं हुन्। जोसित १० वर्षको अवधिसम्म पनि इतिहासको नोस्टालजिया उत्तिकै थियो। संघीय भारतमा दार्जिलिङका नेपालीहरू पसिसकेको बुझ्ने बुद्धि उतिसारो विकसित नै भइसकेको थिएन। ऊ भारतीय भइसकेको थियो तर उसलाई आफ्नो देश 'नेपाल'नै लाग्थ्यो।
 
कवि मनप्रसाद सुब्बा लेखकको यो इतिहासबोधी भ्रमको स्रोत स्वच्छन्दवादी धाराको प्रभावमा देख्छन्। नाटककार सीके श्रेष्ठ चाहिँ राजनैतिकरूपले असचेत ज्ञानीहरूलाई पढाइएको गलत इतिहास भन्छन्। 
अगमसिंह गिरीको गीत कम्पोज भइसकेको थियो। अम्बर गुरुङले कपिलराज सुब्बाको सुझावमा गीत तयार पारिसकेका थिए। पहिलोपल्ट यो गीत गाइँदै थियो। गायक थिए-गगण गुरुङ। कला मन्दिरका एकजना बंगाली थिए आलोक घोष, उनी सधैं भनिरहन्थे, द किङ इज कन्फ्युज विटविन अम्बर गुरुङ एन्ड गगण गुरुङ।
नत्र मनबहादुर मुखियाले 'अनि देउराली रुन्छ'मा नेपालको माटो बोकेर भारत आएको देखाउँदैनथिए। आखिर किन यी कलाकारहरूलाई नेपाल मोह थियो ? किन घरको माया बिर्सेर नेपालीहरू भारत पसेका हुन् अनि भारत आएर नेपालको मायाले तड्पेका हुन्?
 
घरको माया बिर्सनेहरू फर्किए फर्किएनन्, अम्बर गुरुङ भने फर्किए।
...
इतिहासकार कुमार प्रधानलाई लाग्थ्यो, 'कवि अगमसिंह गिरीको दुःखवादको जरा भेटिँदैन।'मलाई के भनेको होला, लाग्थ्यो। पढ्दैजाँदा गिरीमा पनि इन्द्रबहादुरीय भ्रम उस्तै देखियो। किनभने गिरी पनि कोहीबेला नेपाललाई 'आमा' भन्दिन्थे, 'मेरो देश' भन्दिन्थे र भारतलाई प्रवास। हरिभक्त कटुवालले त प्रवासी नै झुन्डाएका थिए।
 
नेपाल मोह र भारतबासबीच खजमजिएको चेतना भारतीय नेपाली साहित्य र संगीतमा पनि उस्तै दह्रो गरी आयो। अगमसिंह गिरीको 'नौ लाख तारा'को 'सुनको सपना आँसुमा किन पो बाँधिल्यायौ नीर घरको माया बिर्सेर किन पो यहाँ आयौ नि'को 'घरको माया' यतिखेर हो भने धेरै विवादित कुरा हो।
 
अम्बर गुरुङको निम्ति यही गीत नेपाल पस्ने बाटो थियो। अम्बर गुरुङबारे खोतल्न पुगेको म हाम्रा अग्रजहरूको नेपाल मोह, इतिहास र भारतीय नेपालीहरूको चिनारीको सवालबीच अल्मलिरहेँ। 
 
गगण गुरुङलाई सुनेपछि थाहा भयो, त्यतिखेर दार्जिलिङ आइबस्ने नेपाली राजा महेन्द्र वीरविक्रम शाहले पनि दार्जिजिङका नेपालीहरूलाई आफ्नै प्रजा मान्थे। गगण गुरुङसित यसको ऐतिहासिक कथा रहेछ।
 
गगण गुरुङहरूलाई माउन्ट एभरेस्ट होटेलमा बोलाइयो। राजा महेन्द्रलाई मनोरञ्जन दिइनुपर्ने। अगमसिंह गिरीको गीत कम्पोज भइसकेको थियो। तामाङ सेलो बिटमा। भीमपलासी रागमा। 
 
अम्बर गुरुङले कपिलराज सुब्बाको सुझावमा गीत तयार पारिसकेका थिए। पहिलोपल्ट यो गीत गाइँदै थियो। त्यो पनि उद्घाटनी गीतको रूपमा। गायक थिए- गगण गुरुङ। राजा यति मक्ख परे कि, फर्माइस नै भयो। त्यसपछि अम्बरलाई नेपाल बोलाइयो।
 
'घरको माया बिर्सेर...भाइ, यो गीत छ नि, यसको गहिराइ सबैलाई थाहा छैन। राजाले 'घरको माया बिर्सेर' आएका अम्बरलाई 'घर' फर्काएका हुन्। यो गीत भारतीय नेपालीहरूलाई विदेशी बनाउन पर्याप्त पुग्ने गीत भएपनि अम्बरलाई देश फर्काउने गीत बन्यो। यतिखेर खुसी हुनु कि दुखी ? ' (गगण गुरुङको यो वाक्यले को रन्थनिँदैनन् र ? )
...
अम्बर गुरुङ सिकिस्त हुँदा फेसबुकमा खैलाबैला मच्चियो। नेपालतिरबाट अनेकौं 'धारणा'का स्टाटसहरू देखिए। स्टाटसहरू पढ्दा लाग्थ्यो, उता नेपालको राष्ट्रिय गीतको धुन भर्ने राष्ट्रिय संगीतकारलाई नेपाल सरकारले दुत्कारिरहेको छ। यता भारतीय नेपालीहरूलाई चिलाई न कनाई।
 
यो बेला आखिर अम्बर कसका हुन् ? भारत कि नेपाल ? यो प्रश्न गर्नु जति मुर्खता हुन्छ, उत्तर दिनु त्योभन्दा बढ्ता मुर्खता हुन्छ। कलालाई राजनीतिक सिमानाले छेक्दैन। भूगोलले छेक्दैन। इतिहासले छेक्दैन। साँच्ची नै हो कि ?
 
अम्बर आफ्नो सांगीतिक चेतना अँट्ने स्पेसको खोजीमा थिए। उनलाई त्यो स्पेस 'नेपालमा छ' लाग्थ्यो। त्यो स्पेस नेपालका राजाले उपलब्ध गराइदिए। यसोभन्दा पनि हुन्छ- राजाले होइन, अगमसिंह गिरीले उपलब्ध गरिदिए। 
 
अगमसिंह गिरीले होइन 'घरको माया बिर्सेर' भारतमा दुःख गरिरहेका नेपालीहरूको सामाजिकताले उपलब्ध गरिदियो। कि भारतीय नेपालीहरूको नेपालमुखी मनोविज्ञानले ? भाषा उतैबाट बोकिल्याएका, संस्कृति, मनोविज्ञान, चेतना सबै उतैबाट बोकिल्याएका तत्कालीन भारतीय नेपाली सामाजिकतालाई केलाइदिने हो भने यी कुराहरू नितान्तै स्वाभाविक लाग्छ। 
 
जब राजनीतिक सवाल उठ्छ, यही कुरा खतरनाक बनिदिन्छ। भाषिक, सांस्कृतिक, राजनीतिक, ऐतिहासिक र भौगोलिक अन्तरविरोधहरूले तयार पारेको समाजमा स्वच्छन्दवादी लेखकहरूको हालिमुहाली रहेको बेला अम्बर र अगम अल्मलिनु ठूलो कुरै भएन।के थियो, यता नौलाख तारामा मिसा (कानुन) लाग्यो, उता अम्बरलाई नेपाल पस्ने भिसा लाग्यो।
...
अम्बर गुरुङको सवालमा, एकादेशका राजाले दार्जिजिङका संगीतकारलाई गरेको प्रेमभित्र अनेकौं अरू सत्यहरू लुकेका छन् जसको खोजी आजसम्म भइरहेको छैन। जुन सत्य उदांगो हुँदा भारतीय नेपालीहरूको चिनारीको प्रश्नलाई संकटमा पारिदिन्छ। 
 
यसकारण अम्बरबारे बोल्दा निक्कै जोगिएर बोल्नुपर्ने 'बाध्यता' भारतीय नागरिक नेपालीहरूलाई छ। त्यो बाध्यताको एब्ट्रयाक्ट सौन्दर्य गिरीले अम्बर गुरुङलाई लेखेको चिठीभित्र पनि छ, गीतहरूमा पनि ठम्याउनुपर्ने, मिहिन रूपले अनुभूत गर्नुपर्ने रूपमा।
 
अम्बरलाई पनि नेपाल पस्न यस्तो के 'बाध्यता' थियो, जसबारे ठीकठीक किटान गरेर भन्न सकिन्न। यसलाई मौन बसेर, केवल अनुभूत गरेर बुझ्न सकिन्छ। शब्दमा व्यक्त गर्न सकिन्न। शब्दले त्यो बाध्यता र पीडालाई ठीक-ठीकसित भन्दिन सक्दैन। 
 
मैले गरेको अनुभूति चाहिँ 'कहाँ गए ती दिनहरू' अम्बरका आधा अनुहार हो। दार्जिजिङको संगीत, साहित्यिक र राजनैतिक संघर्षबीच उभिएको अम्बर कस्ता थिए होलान्, मभित्र यस्तो विचार आउँछ। 
 
अम्बरले दार्जिजिङमा हिँडेका अप्ठ्यारा बाटो, सजिलो बाटो, जुन बाटो भएर उनी बिदेसिए, त्यसबारे जान्ने रहरको तिर्खा हरहर छ। जब पनि 'कहाँ गए ती दिनहरू' पल्टाउँछु, त्यहाँ 'नौ लाख तारा'भन्दा चहकिलो 'सुनको तारा' चम्किन्छ। हल्ला के छ भने अम्बर सुनको तारा झारेकोले होइन नौ लाख तारा गनेकोले नेपाल पसेका हुन् रे।
...
त्यतिखेर भारतीय नेपालीहरू नौ लाख नै थिए थिएनन्, मैले अनुसन्धान गरेको छैन। तर 'सुनको तारा' झार्ने सपना बाँड्ने रोमान्सेहरूको संख्या धेरै थियो। तर अहिले सुनको तारा झार्ने केटोलाई तरुनीहरूले पत्याउँदैनन्। 
 
फेरि पनि अम्बर यही गीतले अजम्बरी हुनु क्या मीठो सपना हो। क्या मीठो विपना हो। क्या मीठो भ्रम हो। क्या मीठो यथार्थ हो। समर्थ कलाकारले मात्र समयलाई आफ्नो अधिनमा राख्न सक्छन्। अम्बर त्यही कलाकार हुन्। नेपालका कलाकार। होइन, विश्वका कलाकार। जसलाई भूगोलले छेक्दैन। राजनीतिले छेक्दैन। इतिहासले छेक्दैन।
 
अहो, तर मानौं, अम्बर कुनै पनि देश पुगे रे, तर फर्किने ठाउँ कुन हुन्छ ? उनले प्रतिनिधित्व गरिरहेको देश कुन हुन्छ ? त्यसको उत्तर अगमसिंह गिरीसित रहेछ। भन्छन् गिरी, '...त्यसबेला ऊ हाम्रो दार्जिजिङे अम्बर नभएर नेपालको अम्बर भएको हुनेछ।'
 
दार्जिजिङबाट नेपाल जाँदा सिनामाले, इतिहासले, भूगोलले नछेक्ने अम्बरलाई नेपालबाट अरू देश जाँदा छेक्छ कि छेक्दैन हँ ? - हैट, किन मलाई यस्तो ज्यानमारा प्रश्नले यसरी टोक्छ ?
...
मैले सहज रूपमा हेर्ने र भन्ने हो भने, अम्बर त गिरीले 'नजाऊ फर्की नेपाल उठेर भन्छ देउराली' र 'फर्केर हेर मुङ्लानको मायालु पाखा चियाबारी' भन्दा पनि नटेर्ने कलाकार हुन्। वास्तवमा आफ्नो देश छोडेर भाग्ने संगीतकार हुन् अम्बर। 
 
भारतमा नै अन्य भाषीहरूसित बसेर भारतीय नेपाली संगीतको उचाइ निर्माण गर्ने स्पेस यहीँ थियो जसको खोज गर्न सक्ने पुस्तामात्र थिएनन्। पश्चिम बंगालमा बसेर रवीन्द्रनाथ ठाकुरले बंगलादेशको राष्ट्रिय गीत लेख्न सक्थे। अफसोस् अम्बरको हकमा त्यो परिस्थिति बनेन। 
 
वास्तवमा त्यो परिस्थिति आज पनि छैन। आज पनि कैयन मनोज बोगटी, बानिका प्रधान, पुष्पण प्रधानहरू त्यतै फर्किरहेका छन्। उनीहरूको छातीको ट्याग भने भारतीय नै छन् तर।
 
हुन त अम्बरको समयमा नेपाललाई 'विदेश' देख्ने चेतना नै थिएन। न गिरीमा थियो, न अम्बरमा, न इन्द्रबहादुर, न मनबहादुर मुखियामा। किनभने उतिखेर भारतीय नेपालीहरूको चिनारीको सवाललाई राजनैतिकरूपले सम्बोधन गर्ने वातावरण नै साहित्यले निर्माण गरेन। राजनैतिक संगठनहरूले भर्खरभर्खर संघीय भारतको चरित्र खेप्दै थियो।
 
दार्जिजिङका अम्बर नेपाली नागरिक हुन्। यो क्या मज्जाको कुरा हो। किनभने अम्बर गुरुङ यस्तो चेतनाका टिपिकल उदाहरण हुन्, जुन चेतनाले 'नेपाललाई आफ्नो देश ठान्ने समय दार्जिजिङमा थियो' भन्ने कुरा बुझ्न पर्याप्त हुन्छ। यो भयानक कटु यथार्थ थियो। 
 
यस्तो चेतना यतामात्र होइन उताका सित पनि रहेछन्।नेपालका कविहरू कालेबुङ आएका थिए। फर्किएर गएपछि कवि सीमा आभासले एउटा संस्मरण लेखिन्। भनिन्, 'टिष्टा देखेपछि धेरै भावुक भएँ।' मैले सोधेको थिएँ, 'किन हौ, त्यति सारो त...? '
 
भन्थिन्, 'राष्ट्रिय गीतमा बारम्बार गाएको हाम्रो 'टिष्टा' आफ्नै आँखाले देखेँ नि त।'अन्त, अम्बरलाई नेपाल आफ्नो देश लाग्नु कुन ठूलो कुरा भयो र ?
फेसबुकमा अम्बर गुरुङबारे अनेकौं कुरा आएपछि मलाई उनीबारे जान्न मन लाग्यो। मलाई भने उनीबारे केही थाहा छैन। 
 
केही चर्चित गीत सुनेको छु, जस्तो- नौलाख तारा, सुनको तारा। साथी झुमा लिम्बूले दिएको अम्बर संगीत चाहिँ सुनेको छु। साथीहरूलाई सोधेँ। उनीबारे जान्नु हो भने गायिका शान्ति ठटाललाई भेट्दा हुन्छ भन्ने थाहा पाएँ। म दार्जिजिङ पुगेँ। 
 
शान्ति गुरुमा आँखाको जाँच गराउन नेपाल छिरेकी थिइन्, मणिकमल छेत्रीसित। साथीहरूसित बेलुकी दारु महल पसेको बेला मनको कुरा झिकेँ। एकजनाले गगण गुरुङको नाम लिए। अम्बर गुरुङसितै धेरै काम गरेका वरिष्ठ संगीतकार गगण गुरुङ। अम्बर कथाका राम्रो न्यारेटर पनि हुन् गगण, नेपाली संगीत कथाका पनि।
 
१९५२ मा आर्ट एकाडेमीमा अम्बर अध्यक्ष हुँदा गगण महासचिव थिए। दलसिंह गहतराज, शिव सिंहहरूपछिको पुस्तामा अम्बर, गगण, शेखर दीक्षित, रहरकुमारी राई, पासाङ वाङ्बलहरू थिए। उतिखेर अम्बरका गायकहरूमा गगण पनि एक।
 
'हो भाइ, इन्द्रबबहादुर राईको उपन्यास, गिरीको नौ लाख तारा, जो अम्बरले गाए, यी कुरा अहिले हामीलाई विदेशी बनाउन पर्याप्त हुन्छ। धन्न ठालुहरूका यी डोकुमेन्ट्सलाई हाम्रो विरुद्ध उभ्याउने चेतना हाम्रा विरोधीहरूसित छैन र पो...,' उनी भनिरहेका थिए। म चिउँव भइरहेको थिएँ।
...
मैले गगण गुरुङलाई जिज्ञासा राखेँ, 'राजालाई गीत सुनाउने तपाईं, बोलावट चैं अम्बरलाई पो भएछ त है ? 'गगण गुरुङ हाँसे। उनले आफैंले केही भनेनन्। अरूकै कुराबाट उत्तर दिए।
 
'कला मन्दिरका एकजना बंगाली थिए आलोक घोष, उनले सधैं भनिरहन्थे, द किङ इज कन्फ्युज विटविन अम्बर गुरुङ एन्ड गगण गुरुङ।' भनिसकेर उनी जोडले हाँसे। त्यसपछि पो अम्बर चासो ह्वात्तै बढ्यो मभित्र।

No comments:

Post a Comment