बिपि बढ़ाउने बिपि

सन्तजर्ज स्कूलमा ‘बिपि’ चलिरहेको थियो।  हेर्दाहेर्दै मुख्य अतिथि फुत्त बाहिर हानिए।  त्यसपछि बजारमा हल्ला चल्यो; मुख्य अतिथिले भनेछन्‌, ‘‘सन्तजर्जका फादरले हामीलाई होच्याउन बोलाएका हुन्‌?’’
मुख्य अतिथि थिए गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता दावा पाखरिन्‌।

...

कालेबुङको रामकृष्ण रङ्गमञ्चमा कार्यक्रम थियो। पाला थिए उद्घोषक। तिनले मुख्यअतिथिलाई मञ्चमा बोलाए। मुख्यअतिथिले उद्घोषकको हातको माइक ताने र भने, ‘‘यिनी हाम्रा दुश्मन हुन्‌।’’
मुख्य अतिथि थिए गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता सीके प्रधान।

...

त्यो नाटकको नाम थियो ‘भानु र पाला’, छोटोमा ‘बिपि’। वास्तवमा यो नाम ठिक थियो। किन भने यही नामले तत्कालीन नेताहरूको बिपि बढ़ाउँथ्यो। अर्थात व्लडप्रेसर।

...

ललित गोले। धेरैले तिनको यो नाम जान्दैनन्‌। उनीहरू उनलाई देखेपछि ‘पाला पो रहेछन्‌’ भन्छन्‌। संसारमा यस्ता लेखक वा कलाकार कमै छन्‌, जसलाई आफ्ना पात्रको नामले चिनुन्‌। ‘‘म ललित गोले भन्दा धेरै चर्चित पाला नामले नै चिनिन्छु,’ भन्छन्‌ भानु र पालाका निर्देशक, लेखक अनि कलाकार ललित गोले, ‘‘जीवनभरिको लागि कमाएको सम्पति यत्ति हो मेरो।’’ धेरै नाटक खेलेका छन्‌, लेखेका छन्‌, निर्देशन गरेका छन्‌ तर प्रशिद्धि एउटै नाटकले दिलायो उनलाई, त्यो पनि बिपि अर्थात व्लडप्रेसर बढ़ाउने नाटकले। अर्थात भानु र पालाले। अर्थात बिपिले।

...

एकदिन यसै बसिरहँदा उनको मनमा यस्तो प्रश्न उठेछ,- ‘हाम्रो जमानामा भानुभक्त जन्मिएको भए के बन्थे होलान्‌?’ वास्तवमा तिनलाई आजका मानिसमा राजनीतिले पारेको प्रभावलाई अभिव्यक्त गर्नु थियो। त्यो प्रश्नको उत्तर पनि तिनलाई तिनकै मनले दियो, ‘भानुभक्त जन्मिएको भए के हुन्थे र, पार्टीको कन्भेनर हुन्थे नी।’
त्यसपछि उनले हिसाब निकाले-
दुई सयवर्ष अघि भानुभक्तले घॉंसी भेटे, प्रेरणा पाए अनि कवि बने।
दुइसयवर्ष पछि भानुभक्तले घॉंसी भेटे, रिसाए र पालाकोमा रक्सी पिए।
बस बनियो नाटकको खाका। खासमा वैचारिक सङ्‌कट देखाउन भानुभक्तलाई आजको समयमा जन्माउन अनिवार्य थियो। कवि र रक्सीबीच नाटकले आफ्नो अर्थ बोक्छ। राजकुमार हिरानीलाई संसारमा व्याप्त धार्मिक, सामाजिक र सांस्कृतिक विसङ्‌गति खोतल्न पृथ्वीमा एलियन झिकाउन परेको थियो पीके फिल्ममा। ललित गोलेलाई दार्जीलिङको राजनैतिक विसङ्‌गति खोतल्न नेपालका भानुभक्त दार्जीलिङ झिकाउन परेको थियो बिपि नाटकमा।

...

घरि कसैको घर सल्किन्थ्यो। घरि कसैको गाड़ी भत्किन्थ्यो। सरकारी सम्पतिहरू जलेर खाक। जङ्‌गलतिर धेरैको छः इञ्च घटिरहेको थियो। किन भने समय 86 को थियो। अर्थात समय सुवास घिसिङको थियो। अर्थात गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको। जनता राजनैतिक बुटमुनि थिए। मानिसका संवेदना कैद थियो। आवाज थुनिएको थियो। विवेक थुनिएको थियो। विचार थुनिएको थियो। जीवन थुनिएको थियो। समाजमा श्मशानको शान्ति थियो। मानिसहरू बोल्थे तर साउतीमा। छेवैमा कुटपिट हुन्थ्यो, मानिसले हेर्थे तर देख्दैन थिए। अत्याचार चर्को थियो। दमन पिरो थियो। सत्ताले हेप्थ्यो मानिसलाई। संविधानमा नै चेप्टिएर मरिसकेको थियो अभिव्यक्तिको अधिकार। 1947 मा नै मरिसकेको थियो स्वाधिनता।
यस्तोमा बोल्नु, हतियारको धारमा टेक्नुथियो। यस्तोमा आवाज उठाउनु आत्महत्या गर्नु थियो। मानिसको चेतनामा आवाजको ठाउँमा भय खॉंदिएको थियो। विद्रोहको ठाउँमा लाश राखिएको थियो।
ललित गोलेलाई लाग्यो, सधैँभरि बोलिराखेर जिउनुपर्ने मान्छे नबोलेरै मरिरहेका छन्‌। आम मानिस त मुर्दा थिए नै कलाकारहरूपनि आफैभित्र कैद थिए। गोलेले निष्कर्ष निकाले, ‘‘हेपिएर, होचिएर बस्नु मान्छेको गुण होइन, मौन समाज लाशजस्तो हो। मौनता तोड्‌न केही त गर्नैपर्छ।’’
1993। भानु र पाला पहिले ललित गोलेको दिमागमा आयो। त्यसपछि मञ्चमा। समाजको मौनतासे खासमा ललित गोलेको व्लडप्रेसर बढ़ायो। त्यो बिपिलाई मञ्चमा भानु र पाला बनाएर उतारे। त्यसपछि सत्तासिन नेताहरूको बिपि बढ्‌न थाल्यो।

...

आध्यात्मिक र साहित्यिक दुवै एकसाथ रहेका कृष्णसिंह मोक्तानले रामकृष्ण रङ्‌गमञ्चबाट बाहिएपछि भनेछन्‌, ‘जनताको मौनता तोड्‌ने नाटक पनि बनिँदोरहेछ त।’ तत्कालीन कठिन समयको लागि मोक्तानको यो वाक्य नितान्तै दुर्लभ वाक्य थियो। नाटक हेरेपछि दार्जीलिङका मानिसहरूले नाटकको क्यासेट लगे। च्यानलतिर देखाउन। तर कहिल्यै देखाएन। एउटा कम्पनीले भानु र पाला-2, भटाभट बजारमा निकाल्योे, चोरेर। गाह्रो समयमा मानिसहरू लुकिलुकि हेर्न थालिसकेका थिए। कस्तो थियो भने, सीडी जसको हात लाग्थ्यो, उ सङ्‌केतमा बोल्थ्यो। टिभीसेटमा बसेर नाटक हेर्नको लागि भनिन्थ्यो,..‘भरे ...9 बजी रमेशको घरमा...’ सुन्नेले बुझ्थे कि भानु र पाला हेर्नको निम्ति हो यो सङ्‌केत। मानौँ पट्ठो जवानहरू लुकीलुकी निलो चक्का हेरिरहेका छन्‌।
यसरी लुकेर हेर्ने नाटक हो-भानु र पाला।
कालेबुङ, सिलगढ़ीतिर नाटक भाइरल हुँदा पनि दार्जीलिङ लगिएका सिडी टिभीतिर देखाइएन।
‘‘अहिलेे सम्झिँदा दार्जीलिङ कालेबुङभन्दा धेरै डराउँथेछजस्तो लाग्छ,’’ गोलेलाई लागेको रहेछ, ‘‘सत्ताकेन्द्र थियो जो।’’

...

दार्जीलिङमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको दबदबामा आएको थियो भानु र पाला-1। गोर्खा जनमुक्ति मोर्चा आइसक्दा भानु  र पाला-2 पनि आइसकेको थियो। यो नाटकले देखेको सपना थियो-अभिव्यक्तिको अधिकारलाई मानिसले प्रयोग गरुन्‌। क्रुर सत्ताको हालिमुहालिविरुद्ध मानिस बोलुन्‌। राजनैतिक दमनको विरुद्ध मुट्ठी उठाउन्‌। संयोग कस्तो थियो भने सुवास घिसिङको विरुद्ध विमल गुरूङ आइसकेका थिए। यता समाजको मौनताको विरुद्ध आइसकेको थियो भानु र पाला। उता राजनीतिले समाजको मौनता तोड्‌दै थियो, यता नाटकले मानिसको मौनता।

उता विमल गुरूङ सफल बने यता ललित गोले। वास्तवमा भानु र पाला समयसितै हिँड्‌ने विचार थियो। यसकारण यसौ महिनादेखि ‘भानु र पाला-3’ आइरहेको छ। उता सुबास घिसिङको ठाउँमा फेरि बिमल गुरूङ आएका छन्‌। फेरि समय उस्तै छ। मानिसको सपना कैद छन्‌। जनताको अधिकार थुनामा परेको छ।
‘‘भानु र पाला-2 ले गोरामुमोका नेताहरूको बिपि बढ़ाएको थियो,’’ मैले ललित गोले उर्फ पालालाई सोधेँ, ‘‘भानु र पाला-3 ले गोजमुमो नेताहरूको बिपि बढ़ाउँछ?’’
उनी खिस्स हॉंसे। एकछिन सोचे। भने, ‘‘त्यो थाहा पाउन त नाटक नै हेर्नुहोस्‌ न।’
...
भानु  र पाला-2-ले 21 वर्षको मौनता तोड्‌ने कलात्मक भूमिका निभाएको थियो। अहिलेको सत्ताको उमेर त कलिलै छ। घिसिङको बेला मानिसले बोल्न नपाउने स्थिति थियो। विमलको पालामा मानिसले बोल्न पाउने स्थिति छ। भानु र पाला-3-को मत्थुले भन्छ, ‘‘पाला पनि भोटमा उठ्‌नू...माटोको लागि।’’
पालाले जवाब दिन्छ, ‘‘तिम्रो लागि पाला बोल्नु सधैँभरि? पाला मरेपछि को बोलिदिन्छ?’’
मत्थुले उत्तर दिन्छ, ‘‘पहिला बोल्नु पाउँदैनथियो। अहिले सप्पैले बोल्नु पाउँछ, तर पाला भन त, बोल्नु पाउने ठाउँमा को चॉंहि बोलेको छ?’’
‘‘भानु र पाला-3, बोल्नु पाउने ठाउँमा नबोल्ने मानिसको जीवन हो,’’ गोलेको निष्कर्ष छ।

...

भानुभक्तले घॉंसी भेटेको थिए। यहॉं पाला भेट्‌छन्‌। नाटकमा ‘पाला’-को चरित्रसित धेरै ‘नाखुश’ भएछन्‌। पालालाई गलतरूपले देखाइएको आरोप पनि आएछ। तर गोलेलाई नाटकमा मामुली मानिस देखाउनुथियो। मामुली मानिसभित्रको विद्रोह देखाउनु थियो। नाटकले दिने सौन्दर्य पालाको चरित्रले नै बोक्थ्यो।
 ‘‘गोर्खालाई वीर भनिन्छ,’’ गोलेले पालाबारेमा सुनाए, ‘‘21 वर्ष मौन बस्ने, अन्याय सहने कसरी वीर हुन सक्छ?’’
उनलाई लागेको छ, पाला त मामुली मानिस हुन्‌। यस्ता मामुली मानिसभित्र पनि बिद्रोह थियो। उसले पनि अन्याय सहेको थियो। उभित्र पनि आक्रोस थियो।
‘‘जब वीर गोर्खा बोल्दैन थियो, तब पाला बोल्यो। जब पाला बोल्यो, उ वीर गोर्खाभन्दा कता हो कता वीर भयो नी,’’ बिट मारे गोलेले ‘‘पाला अल्पसंख्यकहरूको आवाज हो। आवाजको विम्ब हो। मेटाफर हो। नबोल्ने बहुसंख्यक गोर्खा वीरको सामु बोल्ने अल्पसंख्यक पाला बोल्नु, जति नै ठूलो र बलियो सत्ता भए पनि आफ्नो अधिकारको निम्ति त्यसविरुद्ध बोल्नुपर्छ भन्ने सङ्‌केत दिनु हो।’’
गोलेले स्वीकारे भानु र पाला-2-ले त नेताहरूको व्लडप्रेसर धेरै बढ़ाएकै हो। हेर्नु यो छ कि ‘बिपि-3’ ले कसको कति ‘बिपि’ बढ़ॉंदोरहेछ। नाटकको सफलता आखिर अर्थात ‘व्लडप्रेसर’-मा नै त  छ।

No comments:

Post a Comment