लीलाको लीला



टिप्पणी
कोहीबेला म च्यापुमा हात राखेर सोच्छु, आखिर किन चाहिँ इन्द्रबहादुर राईको 'विचार' यताका युवा सर्जकहरूको निम्ति आकर्षण बनेन ? 'तेस्रो आयाम' र 'लीलालेखन'मा लाग्ने भारतीय नेपाली सर्जकहरू को को हुन्? नेपालतिर केही लेखकहरूले लीलाको बाटो हिँडेर कहीँ पुग्ने सक्ने स्पेस देखे। जो जो लीला समातेर केन्द्रमा आएका छन्, उनीहरूले आफ्नो बाटो आफैं खनेका होइनन्, उनीहरू इबराले खनेको सहज बाटोमा छन्।
 
तेस्रो आयामले 'सम्पूर्णता' लेख्न नसकेको इबरा आफैंले घोषणा गरेको दिन नै 'तेस्रो आयाम' मरिसकेको हो, यद्यपि इबराका फलोवरहरू तेस्रो आयाम अहिलेसम्म बाँचेको भ्रम पोखिबस्छन्। दुई एउटा लेखकले 'लीला'मा मनपरी गरेको भरमा लीलालेखन बाँचेको भ्रम पनि उनीहरूसित छँदैछ। पश्चिमबाट आइडिया टिपेर लीलालाई पूर्वीय फ्लेवर दिने इबराको निम्ति लीला सन्दर्भ बारम्बार तन्किरहनु नै सफलता हो।
 
इन्द्रबहादुर राई भारतको कांग्रेस आईलाई विश्वास गर्ने लेखक पनि थिए। कांग्रेस आईले नै देशलाई अंग्रेजहरूबाट मुक्त गर्ने संग्राममा लाग्ने गोर्खा योद्धाहरूको मूल्यांकन नगरेपछि जातीय कवि अगमसिंह गिरीले 'युद्ध र योद्धा' लेखे। अगमसिंह गिरी जो भारतका गोर्खाहरूलाई 'तिमी त यहाँ नचिनिने भइसक्यौ' भनेर कविता लेखेर देशमा गोर्खाझैं अल्पसंख्यकहरूको पहिचान खोज्ने चेतना बाँड्ने कवि हुन् । यस्ता कविहरूको लेखनलाई इबराहरू 'च्याप्टो लेखन' देख्थे ।
...
नेपालका कृष्ण धरावासीहरू राईलाई ईश्वर नै मान्छन् । उनीहरूभन्दा फरक विचारका विश्वासीहरू ईश्वरलाई पनि भक्तलाई दास बनाउने सामन्ती र उनीहरूमाथि शासन गर्ने सत्ता देख्छन् । त्यतिखेर पश्चिम बंगालमा कम्युनिस्ट पार्टीको सत्ता थियो। 
 
बंगालमा ३० वर्ष टिक्ने सरकार पनि यही थियो। राज्यमा कम्युनिस्ट सरकार भएपछि कम्युनिस्ट वा माक्र्सवादी लेखकहरूको सिजन लाग्नु स्वाभाविक हो। उतिखेर हिरोइज्मको खुब विरोधी थिए प्रगतिवादी लेखक। इन्द्रबहादुर राईलाई उनीहरू 'बुर्जुवा लेखक' मान्थे। त्यसो भनेको इबरालाई मन परेन। उनले 'साहित्यको अपहरण' भन्ने किताब नै लेखे।
 
काठमाडौं जाँदा मलाई साथीहरू हपाछन्, 'इन्द्रबहादुर राई झैं शिखरलाई गाली गर्ने ? ' मलाई लाग्छ दार्जिलिङको भूमि (वा भारतका गोर्खाहरूको सामाजिकताको सन्दर्भमा) मा आयाम र लीलाले दिएको विचारले त्यहाँको समाजलाई दिएको बाटो खोज्नुलाई 'गाली' मान्ने हो भने त 'साहित्यको अपहरण'लाई के मान्नु? 
 
मलाई त्यो किताब पढ्दा ठूलो मान्छेले शिष्ट भाषामा लेखेको संसारको सबैभन्दा भद्दा 'टेस्क्ट' लाग्छ । संसारका महान् गालीहरूमा सबैभन्दा उत्कृष्ट लाग्छ ।
नेपालका कति साथीहरूले हामीलाई इबरामाथिको हाम्रो धारणा सुनेर 'युनिभर्सिटीलाई च्यालेन्ज गर्ने फुचुना' मान्छन् । हामी भने युनिभर्सिटीमा पढाइने 'सिलेबस'को कुरा गरिरहेका छौं। इन्द्रबहादुर राई यसैलाई 'लीला' भन्छन्।
 
'साहित्यको अपहरण' बंगालको भारतीय कम्युनिस्ट पार्टीका सदस्यसमेत रहेका प्रगतिवादी लेखकहरूले कांग्रस आईका हिमायती इन्द्रबहादुर राईलाई भन्ने गरेको 'बुर्जुवा लेखक'को जवाफ थियो।त्यसको प्रतिवाद प्रगतिवादी लेखकहरूले गर्नु परेन किनभने इबरा आफंैलै लीलामा 'माक्र्सवाद' हुलेर साहित्यको अपहरण गर्ने 'आइडियोलजी' ग्रहण गरे। वास्तवमा यो पनि 'लीला' नै थियो।
 
नेपालका लीलावादी एक लेखकलाई इबराले एक भेटमा भनेछन्, 'त्यो 'साहित्यको अपहरण' भन्ने किताब छापेर हतार गरेछु । मृत्युपछि छाप्ने किताब थिएछ त्यो।'इबराको जीवनमा ज्ञान चिप्लाइको यो सबैभन्दा ठूलो नमुना थियो।
...
मैले जीवनमा इबरालाई तीनपल्ट भेटेको छु। पहिलोपल्ट भेट्दा इबरा मृत्युचिन्तामा थिए। यसो त अहिलेको उनको उमेर सन्त हुने नै हो । 'मरेपछि मानिसले आफूसित ज्ञानसमेत लाँदैन', भन्थे, 'सोच्दै जाँदा म त सन्त हुँदोरहेछु।' 
 
आयाम र लीलापछि उनले अहिले विचार गरिरहेको विचार हो-बहुल्यवादी प्रतिबद्धता। साहित्यमा समावेशी एप्रोच। 'जुत्ताको लेस सिद्धान्त' अर्थात् ज्योफ्री चिउको बुटस्ट्राप थ्योरी। 'हाम्रो नेपाली साहित्यलाई हामीले अझै नयाँ समयसँग मिल्ने गरेर ल्याउन सकेका छैनौं,' इबरा भन्छन्,' जसरी राजतन्त्रवादी देशहरूमा प्रजातन्त्र आएको छ, त्यसरी नै नेपाली साहित्यमा प्रजातन्त्रवादी विचारधारा ल्याउनुपर्छ।' 
 
लीलापछि आएको उनको यो विचारलाई उनी आफैंले ज्योफ्री चिउको कुरा नगरी बुटस्ट्राप थ्योरीसित दाँजेका छन्। 'अहिलेसम्मका समालोचना सिद्धान्तले एकजनालाई ठूलो पार्ने काम गरेको छ। सबैलाई एक समान हेर्नुपर्छ भन्ने समालोचना सिद्धान्त आएको छैन,' राईले यतातिर भनिरहेका छन्, 'त्यो एक समानले हेर्ने सिद्धान्त हो बुटस्ट्राप थ्योरी, जो नेपालीमा आएको छैन। विश्वमा ३०÷३५ वर्षअघि आइसकेको छ।'
 
कमसेकम अहिले आएर नयाँ पुस्ताले 'सबैलाई एक समानले हेर्ने' समालोचना सिद्धान्त ल्याउने काम गरोस् भन्ने राईको यो 'विचार' आजको समयमा चल्दै गरेको विचारको 'सम्मान' त हो नै।मैले एउटा प्रश्न गरेको थिएँ, 'साहित्यमा समयसम्मत लेखनतिर तपाईंहरूको विचार योजनाबद्ध र प्रतिबद्ध थिएन? ' 
 
त्यतिखेर मलाई लागेको थियो, साहित्यमा 'कमिटमेन्ट' भन्ने कुरा नै नहुने विचारका राईहरूको वैचारिक प्रतिबद्धता के हो त ? लेखनलाई समयले निर्देशित गर्ने 'उत्तर' राईको थियो । अहिले आएर बुटसस्ट्राप थ्योरीलाई 'हिरोइज्म'को विरुद्ध खडा गर्नुपर्ने खाँचोबोध आजको समयलाई गरिएको अध्ययन नै त हो। 
तेस्रो आयामले 'सम्पूर्णता' लेख्न नसकेको इबरा आफैंले घोषणा गरेको दिन नै 'तेस्रो आयाम' मरिसकेको हो, यद्यपि इबराका फलोवरहरू तेस्रो आयाम अहिलेसम्म बाँचेको भ्रम पोखिबस्छन्।
जतिखेर दार्जिलिङका प्रगतिवादीहरूले उनलाई बुर्जुवा भनिरहेका थिए, त्यतिखेरको समयबोध थियो- साहित्यको अपहरण । त्यतिखेर त्यो पुस्तिका प्रकाशित भएपछि केवल दार्जिलिङका मात्र होइन, नेपालकै माक्र्सवादीहरूको विशाल समूहले तिनको आलोचना गर् यो। 
 
त्यो आलोचनालाई इबराका फ्यानहरूले राईलाई 'खुइल्याइरहेको' (राजन मुकारुङको शब्द) ठान्छन्। त्यतिखेर चर्चाको चुलीमा पुगेका राईहरूले त्यतिखेरको समयलाई पक्रेका होलान् । तर त्यतिखेरको समयमा आयामबोध र लीलाबोध नै चाहिँ 'एब्सोल्युट ट्रुर्थ' थिएन। यस अर्थमा आयाम र लीलाले पनि आफ्नो सत्यलाई मात्र सत्य मानेर आए । उनका विचार ग्राहकलाई त्यही कुरा दिए। 
 
सत्यकै सन्दर्भमा पनि राईले 'आफूले देखेको सत्य नै लेख्छु' भनेका हुन्। वास्तवमा उनले अरू सत्यहरूको अस्तित्वलाई पनि स्वीकारेका हुन् अनि देखिएका जम्मै सत्य नहुने विश्वासले जीवन र जगत्लाई 'लीला' बुझ्ने कोसिस गरेका हुन्। त्यही कोसिसको निरन्तरता नै सबैलाई समान दृष्टिले हेर्ने सिद्धान्तको खोज हो। जो ज्योफ्री चिउको बुटस्ट्राप थ्योरीमा उनले पाएका छन्।
 
 
यो पनि लीला नै हो, जतिखेर समान दृष्टिले समाज र वर्गलाई हेर्नुपर्छ भन्ने प्रगतिवादीहरूको आवाज थियो, त्यसलाई मिचेर आयाम आयो। आयाममा सैद्धान्तिक कमजोरी देखेपछि लीला आयो। लीलाले विशेष मत त विचारलाई हिरो बनाएको देखेपछि अहिले सबैलाई समानले हेर्ने सिद्धान्तको खोजी गरिरहेका छन्। यो लीलाको लीला पनि बढो लीलामय छ।
 
'हिजो हामीलाई जे लेख्न लायो, लेख्यौं। आजले जे लेख्न लाउँदैछ, लेख्दैछौं। भोलिले जे लेख्न लाउँला लेखौंला,' यसो त राईले मसितको एक भेटमा यसो भनेकै हन्, 'लेखनमा व्यर्थमा कोही बदल्दैन। कुनै विचारिक प्रक्रममा बद्लिन्छ।' तर राईको अहिलेको यो 'बद्लाई' निक्कै रोमाञ्चक छ। किनभने राई अहिले बाहुल्यवादी प्रतिबद्धताबारे चिन्तना गरिरहेका छन् । र, त्यसलाई व्यावहारिक बनाउने बाटो खोजिरहेका छन्।
...
इन्द्रबहादुर राईहरूको आयाम र लीलाको अस्तित्व दाबी गर्ने नयाँ पुस्ता छैन । इतिहास र परम्परालाई सम्मान गर्ने अनि आफ्नो बाटो आफैं बनाउने जुन पुस्ता आजको छ, उनीहरूले चलिरहेको लीलामा अर्को स्पेस भेट्दैन, जसले आजको समय, समाज र धारालाई अध्ययन गर्न सिकाओस्। 
 
नेपाली प्रजातन्त्र भोग्ने पुस्तालाई राजतन्त्रीय, सामन्ती चलखेलबारे बुझ्ने विचार 'लीला'ले कसरी दिन्छ ? त्यो बुझ्न कृष्ण धरावासीहरूका कृतिहरू पढ्नुपर्ला। तर, उनीहरूले लेखेका जेसुकै चाहिँ लीला होइनन्। त्यो लीला कृतिमा आउँदा पात्रहरूले भोगेका रंगीन जीवन, एउटै जीवनका अनेकौं रङ, अनेकौं संघर्ष, अनेकौं तिर्खा, अनेकौं भ्रमहरू आउला तर पढ्नेले ती भ्रम, रङ, संघर्षको केन्द्रमा जीवनको सही अर्थ पनि खोज्लान्। 
 
कुनै पनि एक पात्रको जीवन ऊ आफैंले बनाएको जीवन होइन। त्यो जीवन कुनै शक्तिले, त्यो शक्तिका प्रभावले, योजनाले, स्वार्थले, सिद्धान्तले पनि तयार हुन्छ। जीवन र जगतको निर्माणमा दर्शनहरूको लगानी कति, सत्ता, कानुन, नियम र परम्पराहरूको लगानी कति? जीवनमा जीवनकै लगानी कति, ज्ञानहरू, विचारहरू, सिद्धान्तहरूको लगानी कति ? यी जम्मै प्रश्न केवल लीलाधारणा होइनन्।
 
यता इन्द्रबहादुर राई आफंै चाहिँ लीलाबाट पनि उम्केर नेपाली साहित्यमा नै प्रजातन्त्रको कुरा गरिरहेका छन्। समानताको कुरा गरिरहेका छन् । के उनका फलोवर्सहरूले इन्द्रबहादुर राईसित उनका नयाँ बनिएको यी विचारबारे संवाद गरिरहेका होलान् त?
 
के आजको समय र जीवनलाई जुत्ताको लेसले बाँधेर एउटा गोलमेचमा ल्याउन सक्ला त? भारतमा भाजपाले चलाइरहेको 'हिन्दुराष्ट्रवाद'को नारालाई इबराको बहुल्यवादी प्रतिबद्धताले हेर्ने आँखा कस्तो हुन्छ? अल्पसंख्यकहरू, दलित, आदिवासीहरूलाई नष्ट गर्ने केन्द्रीय राजनीतिको नियतलाई हेर्ने बाटो कस्तो हुन्छ? अचम्म लाग्छ, मानिस जहिल्यै प्रश्नहरू बोकेर किन उभिन्छन्? के यो पनि लीला नै हो?
- See more at: http://www.annapurnapost.com/News.aspx/story/45302#sthash.eJbkThso.dpuf

No comments:

Post a Comment