तनाव माने कविता



हिँड्नु अघि
हैदराबाद युनिभर्सिटीका दलित विद्यार्थी रोहित वेमुलाको आत्महत्याले देशलाई नक्कली राष्ट्रवादको अजिंगरले निलिसकेको प्रमाण दिइसकेको थियो।
 
धर्मलाई लिएर हुने राजनीतिको बीउ बोकेको भाजपा अल्पसंख्यकहरूको सांस्कृतिक शक्तिदेखि डराउँछ। देशभरिका अधिकांश विद्यार्थीमा बढ्दो माक्र्सवादी चेतनाको विकाससित नडराउने त कुरै आएन। दलित, आदिवासी, अल्पसंख्यकहरूको प्रश्नको हत्या गर्ने र उनीहरूको आवाजलाई राष्ट्रद्रोही बनाउने कारखाना नै मिडिया भइदिएपछि देशमा ‘असहिष्णुता' माथि बौद्धिकहरू खुलेर आउनु स्वाभाविक थियो।
 
वेमुलाहरूले धार्मिक राजनीतिको नियत बुझाउन फिल्ममेकर नकुल साउनेको 'मुजफ्फर नगर बाँकी है' डोकुमेन्ट्री देखाउन खोजेका थिए। तर, देशले 'प्रश्नको हत्या' हेर्न पर्‍यो। यहीँबाट सरेको तनाव जेएनयूसम्म पुगिसकेको थियो।'कल्चरल इभेन्ट' भनेर लेफ्ट विद्यार्थीले अफजल अनि मकबुल भट्टको स्मृतिमा कार्यक्रम गर्ने तयारी गरिरहेको थियो। 
 
एवीबीपीले रोक्यो। नाराबाजी चल्यो। यसैबीच जी न्युजले एउटा समाचार देखायो, त्यसपछि देशमा बबाल सुरु भयो। पुलिसले कन्हैया, उमर खालिद, आशुतोष कुमार, रामा नागा, अनिर्वान भट्टाचार्य, अनन्त प्रकाश नारायणविरुद्ध मुद्दा दर्ता गर्‍यो तर पक्राउ पर्यो कन्हैया।
‘पाकिस्तान जिन्दावाद' भनेको अनि उनीहरू देशद्रोही रहेको आरोप उनीहरूमाथि थियो।
 
म मिडियाकृत भाजपीय कूटनीतिले उदांगो पारेको संकटबीच पनि दार्जिलिङको राजनीतिमाथि गम्भीर बनिरहेको थिएँ। देश जतातिर हिँडिरहेको छ, मेरै उमेरका ती विद्यार्थीलाई त्यो ठीक लागिरहेको थिएन। मानिसमा मानिसलाई फर्काइल्याउने चेतनाकर्मीहरूसित मौन संवाद चलिरहेको बेला म दार्जिलिङको राजनीतिले गिजोलेको समयलाई पत्रिकामा समेट्ने प्रयासमा थिएँ। 
 
'समकालीन एजेन्डा' राजनैतिक पत्रिका सुरु गरिरहेको थिएँ अनि सम्पादनमा जुटिरहेको थिएँ। यस्तैमा नेपालको सिमरा पुगेर कविता सुनाउनुपर्ने कार्यक्रम आइपुग्यो।
 
विचार, आवाज र प्रश्नहरूलाई मार्न जेएनयूमा फासिष्टहरूले खेलिरहेको भूमिकालाई मिडियाले कसरी आगो थपिरहेको छ अनि नक्कली राष्ट्रवादको डढेलो सल्काइरहेको छ, त्यसलाई मनमा खेलाइरहेको बेलासम्म मलाई कुनै कविताको याद आइरहेको थिएन। 
 
उता मिडियाले साम्यवादी चेतनामाथि विष खन्याइरहेको बेला यता म समकालीन एजेन्डामा भारतीय नेपालीहरूको अनुहार कसरी देखाउन सकिन्छ भन्ने चिन्तामा थिएँ। कविताबारे त कोसौं दूरसम्म कुनै विचारको झिल्का उठेको थिएन। सिमरालाई के सुनाउँछु होला, मलाई साँच्चै केही थाहा थिएन।
 
प्रश्नको यात्रा
मलाई पछिल्लो समय कहिले कविता लेखेँ, थाहा छैन । राजा पुनियानी शृंखला कविता निरन्तर लेखिरहेका थिए। लेखनाथ छेत्री लेखिएको उपन्यासको सम्पादनमा जुटिरहेका थिए। टीका भाइ सांगठानिक काम लिएर गाउँगाउँ घुमिरहेका थिए। 
 
भूपेन्द्र सुब्बा अफिसका फाइलहरू पल्टाइरहेका थिए। प्रदीप लोहागुणहरू चलिरहेको राजनैतिक चिन्ता लिएर डम्बरचौकतिर बराल्लिरहेका थिए। म कोठामा चुपचापसित लेखिरहेको थिएँ। 
 
'आवरण कथा'को लागि तयार पार्दै गरेको लेख यति मात्र लेखिसकेको थिएँ' 'डा. हर्कबहादुर छेत्रीहरूले अब्दुल कलामको एउटा भनाइलाई आचारसंहिता बनाउनुपर्ने हो, किनभने कलामले भनेका छन्' सफलताको रहस्य के हो? सही निर्णय, सही निर्णय कसरी? अनुभवबाट, अनुभव कसरी? गलत निर्णयहरूबाट। डा. छेत्रीले गोर्खा जनमुक्ति मोर्चामा बसेर धेरै गल्ती गरेका छन्, धेरै गलत निर्णयहरू गरेका छन्। 
 
जनताले उनको बुद्धिमाथि भरोसा गरेका हुन्, त्यो भरोसा यथार्थमा रूपान्तर भएन। डा. छेत्रीले जुन भ्रष्टाचारहरूको कुरा गरिरहेका छन्, त्यसले पाएको स्पेसको कारण उनीझैं पार्टीका इन्टेलिजेन्सियाहरूको अयोग्यता हो। 
 
विमल गुरुङलाई केन्द्रमा राखेर तयार पारिएको इन्टेलिजेन्सियाहरूको जमात स्टडी फोरमले गुरुङको काँचो दिमागमा पाकेको कुरा हाल्न नसक्नु वास्तवमा नै अकल्पनीय अयोग्यता थियो। वास्तवमा यी इन्टेलिजेन्सिया जमातको चुक के थियो भने उनीहरूले इन्टिलेक्चुअल जमातको कुरा सुनेनन्। 
 
त्यतिखेर दलबाहिरका आलोचक वा बौद्धिकहरू भनिरहेका थिए, 'राजनीतिज्ञ र ब्युरोक्र्याट फरक हन्, मोर्चाका नेताहरूले होइन, जीटीए योग्य शिक्षितहरूले सञ्चालन गर्नुपर्छ।' जीटीए तर नेताले चलाए...।'
 
सुबास घिसिङलाई चुनौती दिएर स्थापित भइसकेका विमल गुरुङलाई चुनौती दिएर डा. हर्कबहादुर छेत्रीहरू 'जन आन्दोलन पार्टी' लिएर आएदेखि दार्जिलिङको राजनीति सञ्चो छैन।
 
यसरी चारैतिर राजनीतिले गिजोलेको बेला गिरिजा अधिकारी अनि वेद भट्टले कविता सुनाउन सिमरा बोलाएर मलाई न्याय गरे कि अन्याय ? हिँड्नुअघि मसित यति प्रश्न थियो। त्यही प्रश्न बोकेर म यात्रामा निस्किएँ ।
 
मर्दै गइरहेको सेन्सिटिभिटी
कवि लेखनाथ छेत्रीसित भने, 'सिमरा जानुपर्ने भो जान्छौ मसित?' लेखनाथले मलाई ‘नाई' भनेको कुनै घटना छैन । सिलगढी झर्ने भएँ । ‘समकालीन एजेन्डा'का प्रकाशक शिशिर शर्मालाई भने, ‘लौ नेपाल जानुपर्ने भो।' उनी पनि तयार।
 
समर्पण रेडियो सिमराले आयोजन गरेको कार्यक्रमको नाम थियो' मनोज बोगटीको प्रतिनिधि कवितावाचन। काँकडभित्ताबाट नाइटबस पक्रिएर हिँडेको हामी तीनमध्ये शिशिर शर्मालाई कवितासित खासै चासो छैन। मलाई चाहिँ असाध्य छटपटि थियो। 
 
पछिल्लोपल्ट कहाँ कसलाई कविता सुनाएँ त्यो पनि थाहा थिएन। मञ्चमा चढेर कविता सुनाउने बानी लगभग हराइसकेको थियो। वास्तवमा नयाँ कविता नभएकोले पुरानो कविताको ब्याज कति खानु? को पिरले म मञ्चतिर जान छोडिसकेको थिएँ। 
 
म असाध्य डराइरहेको थिएँ। मलाई लागेको थियो, प्रतिनिधि कविताको कार्यक्रम हो, स्टेजस्ट्रेस खप्न सकिनँ भने म सकिन्छु। मलाई नेपालका श्रोताहरूसित असाध्य डर लाग्छ, किनभने उनीहरूले कवितामाथि सवाल उठाउँछन्। कमजोर चेतनाका कवि एकैजना दह्रो श्रोताको प्रश्नले मर्न सक्छन्। 
 
वास्तवमा म मभित्र मर्दै गइरहेको सेन्सिटीभिटीसित डराइरहेको थिएँ। कविता छुटिसकेको थियो। साहित्यिक लेखन छुटिसकेको थियो । नेपालका राम्रा पत्रिकाका पृष्ठ संयोजकले मागिराखेको रचना दिन सकिरहेको थिइनँ । विनोदविक्रम केसीले दुइपल्ट कोसिस गरे।
 
मबाट लेखिएन। अमृत ढकालजस्ता जाँगरिला धेरै भाइहरू बोल्नै छोडिसकेका छन् । मचाहिँ राजनीतितिर चासो राख्ने भइसकेको थिएँ । दीपक सापकोटा, राजा पुनियानी, लेखनाथ छेत्रीहरूले हपारेका शब्दहरू इन्बक्समा त्यत्तिकै छन्। म लेख्न नसक्ने भइसकेको थिएँ। 
 
वास्तवमा म आफ्नै खोजीमा लागिसकेको थिएँ । यो लोकतान्त्रिक देशमा म कहाँ छु? आखिर के छ त्यो राजनीतिमा जसले मजस्ता लाखौंको धारिला चेतनालाई बोधो पार्ने रेती घोट्छ। मानिस किन राजनीतिको पुच्छर बन्छ? किन नेताको भाषणले जनताको पुच्छर हल्लिन्छ? 
 
किन राजनीतिले हाम्रा सपनाको व्यापार गर्छ ? किन मार्छ राजनीतिले मान्छे ? वास्तवमा म निरन्तर कविताको खोजीमा छु। जतिखेर म कविता सुनाउन सिमरातिर गइरहेको थिएँ, मेरो हातमा थियो अरुन्धति रोयको 'लिसनिङ टु ग्रासहोप्पर।'
 
भारतमा लोकतन्त्र कुन चराको नाम हो, रोय बताउने कोसिसमा थिइन्। त्यही लोकतन्त्र दार्जिलिङमा कुन ठोकेकोदारको नाम हो, म जोड्दै थिएँ। राजनैतिक ठेकेदारहरूले हाम्रा सपनाको कारोबार फैलाउन थालेदेखि यहाँ कोही पनि युवा सद्दे छैनन्। बिरामी छन्। तीमध्ये एक मै पनि त ह।
 
रात्रिबसको अँध्यारोमा लेखनाथ भन्दैछन्, 'जेएनयू तनावको बीय रोहित बेमुलामात्र होइन। कट्टर हिन्दुवादी एवं फासिष्ट सरकार यो देशमा अल्पसंख्यक, आदिवासी अनि लेफ्ट एक्टिभिजम सक्ने कूटनीतिमा छ। अलिगढ अनि जामियाइस्लामिया युनिभर्सिटीबाट अल्पसंख्यकहरूले पाउने अधिकार नष्ट गरेदेखि विद्यार्थी आक्रोशित छन्।'
 
म हाम्रा विद्यार्थीको आन्दोलन सम्झिँदैछु। विमल गुरुङको नेतृत्वमा विद्यार्थीले एउटा आन्दोलन गरे' परीक्षामा चिट सार्न नपाएकोमा। साहित्यिक पुस्तक त परैको कुरा सिलेबससमेत पढ्ने कल्चर मास्ने राजनीतिले निर्माण गरेको समाजमा कविताको काम के हो?
 
गिरिजाहरूको नारा
रातिको १ बजे पथलैयामा उत्रिँदा शिशिर र मैले बसमा गरेको बदमासी जाडोले खाइसकेको थियो । मिनरलवाटरको बोतलमा वाटर थिएन, ओल्ड दरबार थियो। तर, त्यसको शक्ति धेरैबेर टिकेन। जाडोले कापिँसकेका थियौं। 
 
गिरिजा, वेद अनि विकास पाण्डे बाइक लिएर आइपुग्दा पीडितले राहत पाएको अनुभव भयो । त्यति राति पनि पसल्नी बज्यैले तातो चिया पिलाइदिएपछि बल्ल काँप्न बन्द भयो। रातभरिको बसयात्रा। हामी तीनको फुस्रा अनुहार र निद्रा हराएको आँखा । उनेरू तीनको बलेको अनुहार र चम्किएको आँखा।
 
गिरिजाले भने, 'दाइ, यहाँ यसखाले कार्यक्रम अघिबाट भएको छैन । कविता कन्सर्ट लेख्नुपर्ने थिएछ टिकटमा, काम बिग्रियो ।' फन्नी लाग्ने गिरिजाको वाक्यमा पीडा थियो। उनीहरू चाहन्थे, यो बाँझो भूमिमा साहित्य उमार्ने बिज होस् कार्यक्रम।
 
पाँच सयको टिकट बोकेर जाँदा उनेरलाई सोधिएछ, ‘कविता कन्सर्ट हो?' त्यहाँ पनि दार्जिलिङमा झैं कुनै सांगीतिक कन्सर्टकै माने नै ठूलो हुदो रहेछ।
राजनैतिक ठेकेदारहरूले हाम्रा सपनाको कारोबार फैलाउन थालेदेखि यहाँ कोही पनि युुवा सद्दे छैनन्, बिरामी छन् । तीमध्ये एक म पनि त हुँ।
'त्यसो भए त गाह्रो भएछ', मैले भनेँ।'होइन दाइ, हामीले गर्न खोजेको गाह्रो काम नै हो,' उसले भन्यो, ‘यति जोखिम नउठाई त केही हुदैन।' गिरिजाहरूले उठाएको जोखिम मेरो पनि त हो। सोचेँ, भर्जिन ठाउँमा प्रतिनिधि कविता कसरी सुनाउने होला, केटाहरू आफू त गाह्रोमा परे परे, मलाई पनि भुपारे।
 
काफरे अमेरिका र केही खरा कविता बोकेको थिएँ। लागेको थियो, प्रतिनिधि कविता सुन्ने श्रोता पनि उस्तै मार्काका होलान्। गम्भीर आग्रहका कविता सुनाउने र वैचारिक संवादको सपना तुहुने स्थितिमा थियो। सिमरामा धेरै लेखकहरू छन्, तर उनीहरूबीच संवादको सेतु छैन। 
 
कार्यक्रमका संयोजनहरू छैनन्। वैचारिक तरङ फैलाउने गरी लेखन शक्ति देखाउने संस्कारको बीउ त झरेकै छैन। छलफलको आग्रह र परिस्थिति छैन। त्यो मौसम छैन। जो छन्, जति छन्, आफ्नै प्रयासले जति हुनुपर्ने त्यतिमात्र छन्। देशमा साहित्यलाई बजारले कानमा समातेर कुदाइरहेको बेला सिमरा केही समयदेखि सुस्ताउनु गिरिजाहरूको निम्ति चिन्ताको विषय थियो नै। 
 
मिडियाले नाम चलेकालाई टिपेर हल्ला गरेको भरमा साहित्यको संवद्र्धन हुने कुरा सिमरा पुगेर पंगु बन्दो हो। यसै पनि दुई देशको सिमाना रहेछ सिमरा। 
 
विदेशी कम्पनी र विचार शीघ्र हाबी हुने र जीविकाको आगोले सुकेको पत्कर भेट्ने ठाउँमा साहित्यिक समाजको निर्माणको सपना पाल्नु पनि ठूलो उपलब्धि हुदोरहेछ । केही गरिरहने मानिसको लागि जति जोखिम उति ऊर्जा। यसकारण गिरिजाहरूले एउटा नारा नै बनाएका रहेछन्, ‘तनाव माने कविता।'
 
अँध्यारोको फोटो
‘बजारमा बस्नुहुन्छ, सधैं व्यस्त रहनुहुन्छ आज जंगल जाऊँ है,' वेद भट्टले बिहान सुनाए। प्रस्ताव नराम्रो थिएन। वेद अनि गिरिजाहरूको सपनामा मलजल गर्नेहरूको सूचीमा दुर्गादल गुल्मका मेजर अच्युत घिमिरेलाई पाउँदा निक्कै अचम्म लाग्यो। 
 
सैनिक, पत्रकार, कवि, गायक अनि मजदुर युनियनका कार्यकर्ताहरू सबै जुटेका रहेछन्। पर्सा वन्यजन्तु आरक्षभित्रको भाटातिर लाग्दा हामी चढेको गाडीले धुलो उडाइरहेको थियो। 'काठमाडौंको प्रदूषणभन्दा स्वस्थ्यकर त यो धुलो हो', नाक थुन्दै मेजर घिमिरेले भने। 
 
गिरिजाले भाटाका वन्यजन्तु, गुल्मले निर्वाह गरिरहेको संरक्षणको दायित्व, जंगलबारे बताए। ‘बनेल त लुप्तप्राय जन्तुु होइन, यसको सिकार गर्दा उस्तो हानी त नहोला नि सर,' गिरिजाले घिमिरेलाई सोधे। घिमिरेले पुलुक्क गिरिजालाई हेरे, मुस्काए अनि भने, ‘बनेल हामीले खाए, लुप्तप्राय बाघले के खान्छ त? '
 
त्यसपछि हामी सबै हाँस्यौं। जगदम्बा स्टिल मजदुर युनियनका अध्यक्ष, दीपक बिके, सचिव दीपक कार्की अनि सहसचिव विनोद अधिकारी त साथै थिए, 'हुन सक्छ' गीति एल्बमका गायक विकास पाण्डे पनि साथै थिए। लगभग ६० किलोमिटर पर भाटाको मैदान पुगेपछि साथीहरूले झोला खोतले। 
 
निस्कियो, सिक्किमको हनिबी, कुखुराको सितन, ओल्ड दरबार, रुस्लान र भुजा। त्यसैलाई घेरेर वरिपरि बसेको हामीले एकअर्कालाई खुब जिस्कायौं, खुब रमाइलो गर्‍यौं अनि अन्त्यमा विकासको गीतमा रमायौं। 
 
जम्मै तनावको हत्या गर्न यति घटना पर्याप्त थियो। झमक्क साँझमा हामी फर्कंदा बाटामा अचानक हरियो बत्ती झिलिक्क हुने। मैले गिरिजालाई सोधेँ, ‘के बलेको यो? '
 
'फोटो खिचेको हो,' भन्यो उसले।
'फोटो, यति राती? '
'जंगलमा कति पशु कति छ भनेर जान्न एक प्रकारको मोसन ग्रहण गर्ने क्यामेरा राखिएको हो, जहाँजहाँ क्यामेरा छ, हाम्रो बाइकको आवाज सुनेपछि त्यसले फोटो खिच्छ।'
गिरिजाको बाइक पछिल्तिर रुस्लानले भिजेको मेरो फोटो कस्तो निस्कियो होला?
 
घाइते कवि
काठमाडौंबाट अहिले चर्चामा आइरहेकी कवि सुनिता खनाल पनि आइपुगिन्। दार्जिलिङबाट गएर काठमाडौंमा सांगीतिक संघर्ष गरिरहेकी गायिका बानिका प्रधान पनि आइपुगिन्। कार्यक्रमका मुख्य अतिथि कुलपति गंगाप्रसाद उप्रेती आइसकेका थिए। 
 
हेटौंडाबाट कवि यश लामा, प्रमोद अधिकारीहरू पनि आइसकेका थिए। आइसकेको थिएन त केवल मभित्र आँट। श्रोताहरू कति नेता थिए, कति सरकारी अधिकारी, कति कम्पनीका मालिक, विद्यार्थी, साहित्यकार, मजदुर, अनि पत्रकारहरू। अनि म सुनाइरहेको थिएँ, ‘मालिक तिर्खालाई कोकोकोला बनाउँछ÷रहरलाई मल्टिकम्प्लेक्स बनाउँछ÷भोकलाई पिज्जा बनाउँछ÷मलाई मार्न बिख बनाउँछ।'
 
मलाई कविता सुनाउने आँट ४० जना विद्यार्थीले दिए। मेरा तनावबाट मलाई उनीहरूले नै मुक्त गरिदिए। ती विद्यार्थीहरू जसले कविता प्रतियोगितामा उभिएर जुनजुन कविता सुनाइरहेका थिए, मलाई कविता होइन देशका तमाम संकटहरू सुनाइरहेको झैं लाग्यो। 
 
यति साना विद्यार्थीमा कहीँ पनि अल्लारे प्रेमको आवेग थिएन। स्कुलको सिलेबस छिचोलेर अंक पहुचको भरमा श्रेणी उक्लिएर बा'आमाको ओठमा खुसी फुलाउने बालबालिकालाई यतिधेरै पीडा कसले दिएका हुन्?
 
देशमा चलिरहेको भ्रष्टाचार, नेतृत्व असफलताको कारण समाजमा आएको आक्रोश, देशको शान्ति चपाउनेहरूको दाह्रा चिन्न उनीहरूको कविता पर्याप्त थियो। कमसेकम कविता उनीहरू देशलाई हेर्ने, राजनीति, समाज, संस्कृतिको प्रवृत्तिलाई हेर्ने अनि मानिस अनुकूलको सत्ता निर्माण हुन नसकेकोमा रोष प्रकट गर्ने आधार थियो। 
 
त्यसपछि निर्धक्कसित कविता सुनाउने वातावरण बन्यो अनि म तनावबाट मुक्त बनें।
 
कार्यक्रम सकिएपछि विद्यार्थीले घेरे। अटोग्राफ मागे।
मैले सोधें, ‘किन चाहियो अटोग्राफ? '
 
एक फुुच्चीले जवाफ फर्काई, 'म पनि भविष्यमा तपाईं झैं बलियो कवि बन्न चाहन्छु, त्यसको प्रेरणा यो अटोग्राफले दिन्छ नि।'
आह, त्यो क्षण वास्तवमा नै मेरो निम्ति कठिन थियो। 
 
एकैचोटी मनबाट अनेक प्रश्नहरू निस्किएका थिए। ती जम्मै प्रश्नहरूको केही प्रतिनिधि प्रश्न थियो' ‘देशलाई तनावमुक्त गर्ने माध्यम कविता बन्न सक्ला? यी फुच्चीले कवितामा देखेको शक्ति के हो? किन उसले नेता, सिपाही, डाक्टर, इन्जिनियर, शिक्षक, सामाजिक कार्यकर्ताहरू बन्ने आम सपनाको विपरीत उभेर कवि बन्ने सपना बुनेकी हुन्? 
 
मेरो देशमा समानता र उपयुक्त समाजका कुरा गर्ने विद्यार्थीलाई एक कट्टरपन्थी राजनैतिक शक्तिको स्वार्थमा देशद्रोही बनाउने चलखेल चलिरहेको बेला यी विद्यार्थीको सपनाको भविष्य कस्तो होला भन्ने चिन्ताले यसै पनि गाँज्यो । फेरि म तनावतिर फर्किएँ, यतिखेर म प्रश्नहरूको युद्धमा घाइते कवि थिएँ।
 
चितवनमा अप्राणीहरू
शिशिरलाई आफन्त भेट्न चितवन जानैपर्ने आमाको आदेशले पिरोलेको रहेछ। चितवन सम्झँदा आउने नाम भूपिन, सरिता तिवारी, अजिता अधिकारी, सुनमराज श्रेष्ठहरूकै हो। भूपिन हामीलाई पर्खिरहेका थिए। सुमन, अजिता र सरितासित फोनमा कुरा भइसकेको थियो। 
 
काठमाडौंको स्ल्याम पोयट्री समूह पनि पुगेको रहेछ। उनीहरूको परफर्मेन्स हामीलाई उस्तो फरक लागेन। यताका कवि राजा पुुनियानी, टीका भाइ, निमा शेर्पाहरूको लाउड एप्रोच र मनोएक्ट लाग्ने कविता सुन्ने बानी छँदैथियो। एउटा कुरा राम्रो के लाग्यो भने जतै गए पनि कवितासित जम्काभेट भयो।
 
थोरै शब्दले धेरैबेर सोच्न बाध्य पार्ने यश लामाको कविताको मात चितवन पुगेर पनि उत्रिएको थिएन । सिमराको होटेलमा यश लामा, सुनिता खनाल, प्रमोद अधिकारी, म अनि लेखनाथको कविता गोष्ठी भइसकेको थियो। सुनिताको 'ओ नायक' अनि यशको ‘ट्याग' कविता मैले पछिल्लो समयमा सुनेको बलियो कविता थियो। 
 
मैले यशलाई भनेँ, 'पत्रिकाका शनिबारीय परिशिष्टांकमा छाप्नु नि। यति बलियो कविता लुकाएर हुन्न ।' यसको उत्तर सहज थियो, ‘छापिँदैन दाइ, सेलेब्रेटीको सिफारिस चाहिन्छ।' यतिखेर परिशिष्टांकका सम्पादकहरूको अनुहार मेरो अघि थियो, तर यशजस्तो कविदेखि धेरै टाढा।
 
भूपिनहरूले बनाएको आमा मैले पर्खालमा भेटें। रंगीचंगी दुनियाँबीच ब्ल्याक एन्ड वाइट आमाको चित्र मेरै देशका आमाका विम्ब पनि हो। आमासित फोटो खिच्यौं। बेलुकीको दारुमहलका टपिक अनेक थिए।
 
'कुमार नगरकोटीलाई घरको याद आयो भने घाट जान्छ रे, पत्याइनसक्नुको झूट कुरा लाग्यो यार,' मैले भनेँ, 'सम्भव नहुने कुरा गरे बूढाले।' भूपिनलाई चाहिँ खुब पत्यार लाग्दोरहेछ। ‘नगरकोटी हामीझैं प्राणी होइनन्', भूपिनलाई लाग्दोरहेछ, 'भाषाको कारिगर भएकैले टिकेका हुन्।'
 
धेरै लेखक, कविबारे हल्ला गर्ने हामी पनि हामीले भनेजस्तै प्राणी कहाँ थियौं र भूपिन?
...
सरिता तिवारी अहिले विवादित कवि। एकजना लेखकले जब आफू हिँड्ने बाटो आफैं रोज्छ, खोज्छ र बनाउँछ त्यतिखेरको जीवन जोखिमको हुन्छ। उस्तै लाग्यो, तिवारी पनि। जोखिमको बाटो सहज हदैन, सरितालाई त्यो थाहा छ। हामी जब कविताको राजनीतिबारे बोल्छौं, विचारका विपक्षी आलोचनात्मक बन्नु स्वाभाविक हो। यो लेखको शीर्षक र सरिता तिवारी एकै लाग्यो मलाई।
 
झारखण्डकी कवि निर्मला पुतुल र चितवनकी सरिता तिवारी एकैएकै लाग्यो जो तमाम प्रश्नहरूको कारखाना शिनाख्त गर्ने मुहिममा जुटेकी छन्। आफैं रेटिने धारमा हरहमेसा टेकेर उभिने यी सरिता तिवारीहरू पनि चालू समाजका प्राणीहरूभन्दा फरक छैनन् र?
 
भूपिनलाई सोध्न बिर्सेछु, 'सुप्लाको हवाईजहाज चढ्ने प्राणीहरू पनि साँच्चिकै हवाईजहाज चढ्ने प्राणीहरूभन्दा फरक छन्?' नयाँ किताबको नामले नै भूपिन कुन समाजको प्राणी हो भन्ने कुरा बताइरहेको छ।यसपालिको यात्राबाट फर्किँदा हाम्रो पुस्तामा संवादको संस्कार धेरै तीव्र बनिरहेको नेपालबाट फर्किरहेको थिएँ म।
- See more at: http://www.annapurnapost.com/News.aspx/story/42530#sthash.SFZ5Eafz.dpuf

No comments:

Post a Comment