प्रेमको सौन्दर्य

खासमा म प्रेम गर्न नजान्ने प्रेमी हुँ। तर, प्रेम त सबैले गर्छन्, जानेरै गर्छन् र? मैले पनि गरेँ। तर, त्यो प्रेम नै थियो भन्न म सक्दिनँ। तर, यो पनि जान्दछु, प्रेम बुझेर गरिने कुरा होइन।
काफ्काले रिल्केलाई लेखेको प्रेमपत्रमा भनेका छन्, 'मान्छेलाई प्रेम गर्नु छ भने उसका कमजोरीहरूसितै गर्नुपर्छ।'तर, कमजोरी पनि ज्ञानको अर्को अनुशासन हो। यसलाई बुझ्न कठिन छ। सबै कमजोरी बुझ्न सकिन्‍नँ। नसक्नु पनि कमजोरी होला। 
काफ्काको चिठी पढेपछि लाग्यो, यो त अन्तरबाट जन्मिएको एउटा अनुशासन हो, जुन अन्तरमा असीम पीडा सधैं साँपजस्तो बस्नसक्छ, लुक्नसक्छ। त्यो पीडाभित्र प्रेमको जुन फूल हुन्छ, त्यो सबैले देख्ने कुरा होइन।
त्यो साँपले काफ्कालाई सधैं डसिरह्यो होला। तरै पनि मरेन प्रेम। काफ्काले भयलाई आफूभित्र राखेनन्। यदि राखेको भए तिनलाई भयले खान्थ्यो। प्रियसी, तिनै भयहरूका साथी हुन्। 
काफ्काको निम्ति पनि मिलेना भयका साथी थिए। काफ्कालाई मात्र होइन, मिलेनाले काफ्काका भयहरूलाई पनि प्रेम गरेका थिए । रमाइलो लाग्थ्यो काफ्कालाई कि तिनीसित मिलेनाले प्रेम गर्ने लायक भय त छ।
मलाई थाहा छैन प्रेम गरिराख्नका निम्ति लायक मसित के छ?
काफ्काले रिल्केलाई (मिलेना) पाएनन्। त्यसकारण रिल्केले काफ्काको पत्रको जवाफमा त्यही सर्पजस्तो बसेको पीडाबारे लेखिन्, ‘मौनताबीच पनि पीडाको एउटा खोल्सा बगिरहन्छ।'
काफ्का र मिलेनाको प्रेमपत्र पढ्दा म आफ्ना ती प्रियसीहरू सम्झिन्छु, जोसित धेरै भावुक सम्बन्ध राखियो। जतिखेर प्रेम बुझ्दिनथेँ, त्यतिखेर धेरै प्रियसी थिए। जतिखेर प्रेम बुझ्दैथिएँ, कोही थिएनन्।
यस्तोमा मेरी प्रियसी बन्न आइन् भक्ति जसले धेरै कठिन परिस्थितिमा मेरो प्रेम चिनिन्। हजारौं सपनालाई गाडेर, मेरो बगर विपनामा पाइला राखिन्। तर जतिखेर काफ्काको प्रेम सम्झिन्छु, एकफेरको जीवनमा यस्तो कठिन प्रेम गर्न नपाइएको बेस्वाद भने लागिबस्छ।
कवि राजा पुनियानीको प्रेमबारे पनि मलाई थाहा छ। कवि निमा शेर्पाको प्रेमबारे पनि। कवि लेखनाथ छेत्रीको प्रेमकथाले त म धेरैपल्ट भत्किएको हुँ।
म पनि मेरो प्रेमकथा साथीहरूलाई सुनाइबस्छु, आज पाठकलाई सुनाउँछु।
म किन आफ्नो प्रेमको गफ गरिरहेको छु, यसबारे यकिनसाथ म भन्न सक्तिनँ।सायद, काफ्काले भनेजस्तो कमजोरीसहितको प्रेम गर्न नसकेको पछुतो छ मसित। एउटा असीम पीडा मसित पनि छ।
त्यो यस्तो छ।


प्रेमको सही जवाफ

कसरी मन पराएँ, मलाई थाहा छैन।
डाई गरेको कालो जिन्सको प्यान्ट। छिङ्छिङ् बज्ने डिंगो बुट। सानासाना टुक्रा जोडेर सिलाएको थोत्रो लेदरको ज्याकेट। 'फूल और काँटे' फिल्मको अजय देवगनमारको हेयर स्टाइल।
डेटिङमा जाँदा मेरो गेटअप यस्तो थियो।आइतबार साँझ सधैं हुन्थ्यो डेटिङ। उसकै घरमाथिको बोटनिस गोलाइमुनिको लेमनगुराँसको घारीभित्र ।
कतिऔं डेटिङ थियो त्यो ? त्यो पनि मलाई थाहा छैन।
शनिबार स्कुलछेउको झ्याम्म परेको भोगटेको फेदमा साथी राजुलाई एउटा सानो चिर्कटो दिइछे। लेखेकी रहिछे, ‘छबेको मन्दिर जुम ल? आइतबार १ बजी म तपैँको घरमुनि आउँछु।'
ऊ गैरीबासकी, म दलगाउँको । छबेको मन्दिर मेरै गाउँमा । तर, एक घन्टा हिँड्नुपर्ने।
म बिहानैदेखि घरमुनिको सडक हेरिरहेको थिएँ । स्कुलमा जस्तै दुइटा केश बाटेकी। आई। म झरेँ।
मन्दिरमा सोधी, ‘के माग्यौ? '
मैले भनेँ, ‘तिमीलाई।'
उसले के मागी मलाई कसैगरे पनि बताइन। मैले झगडा गरेँ। पटक्कै बताइन। हामीले साँझ परिन्जेल जीवनको सपना देख्यौं। हज्जारौं बाचा गर्‍यौं । जीवनभर माया गर्ने संकल्प गर्‍यौं।
झमक्क साँझमा हामी त्यही बोटनिस गोलाइमुनिको लेमन गुराँसको घारीभित्र थियौं।
उसले ज्यानमारा प्रश्न गरी, ‘मलाई पाएनौ भने के गर्छौ?'
'किन धोका दिने मलाई?' उसलाई उल्टै सोधेँ।
'होइन लाटा, म धोका दिन सक्छु?' उल्टै सोधी ।
'सक्दिनौ', भनेँ, ‘अनि किन यसरी सोधेको त?'
उसले मलाई अँगालो मारी। मैले भुइँमा सिन्काले माटो कोट्याइबसेँ।
'बाइचान्स हौ बाइचान्स, म कसैको भएँ रे, त्यतिखेर तिमी के गर्छौ?' सानो स्वरमा सोधी।
मैले भनेँ, ‘खोसेर ल्याउँछु।'
त्यसपछि हामी हाँस्यौं।
हामी एकअर्कासित प्रेम गर्थ्‍यौ। हामीबीच कहिल्यै शारीरिक सम्बन्ध भएन।

...

१९९६ मा मैले माध्यमिक परीक्षा दिएँ । स्कुल जानु परेन। रिजल्ट पर्खिनु पर्‍यो। बेकारी थिएँ। ऊ आठमा पढ्थी। अग्ली थिई। म उसलाई तब्बुजस्तै देख्थेँ। भन्थेँ पनि तब्बु नै। बस्नेतकी छोरी। बाबु पुलिस। आमा बगानमा जाने।
स्कुल पढ्दा उसैको घरमा खाजा खान जाने। उसको घरमा हामी साथीसाथी थियौं। ऊ मेरो घर कहिल्यै आइन।
मेरो सानो घर थियो। दुई कोठाको। बेकारी परिवार। बाबा आरा काट्नु जानुहुन्थ्यो। आमा रक्सी पार्नुहुन्थ्यो। स्कुल जाने म मुनिका तीन बहिनी। म माध्यमिक दिएर घर बसेको।
जंगलमा 'फ्याँक्रे' भन्ने गुवा सुपारीकै प्रजातिको पोथ्रा पाइने। फ्याँक्रे काँचोमै र सुकाएर पनि सुपारीजस्तो टोक्न मिल्ने।त्यो दिन बिहानै दुई भारी फ्याँक्रेको पात काटेर ल्याएँ। अघिल्लो दिन मात्र हामी छबेको मन्दिर गएका थियौं। अनि भगवान्सँग मागेको थिएँ उसलाई।भनेको थिएँ, ‘उसलाई मेरो जीवनसाथी बनाउनु है भगवान्।'
आमाले मलाई मान्‍न थालिसकेकी थिइन्। पत्रपत्रिकामा कविता छापिन थालेका थियो। 'आजभोली' दैनिकमा मेरो कतिवटा कविता छापिन्थ्‍यो, त्‍यो बोकेर आउँथी ऊ।
फ्या“क्रेको पात निक्कै खप्छ। गाई पालिएको थियो। त्यसको गोठ छाउन पात ल्याएको हुँ। चोया काटेँ, भाटा काटेँ। बोलो लगाएर म पातले छाना लगाइरहेको थिएँ। झन्डै सकिन लागेको थियो। ३ बजेतिर राजु आयो। राजु उसैको क्लासमेट।
'इ उसलाई त माग्नुआको छ अरे, आजु लान्छ अरे, मो त छक्क परेँ, अन्त तोलाई भन्नु कुदेर आको।'
'रेला नगर न ओइ', मैले पत्याइनँ।
अघिल्लो दिन त हामीले नछुट्टिने कसम खाको। सँगै जिउने÷मर्ने कसम खाको।
'साँच्चि हो ओइ। रातो भ्यान आको छ लिनु।'
त्यसपछि मेरो सातो गयो। छानाबाट हामफालेँ।
हतारमा हातखुट्टा धोएँ।
डिंगो बुट लगाएँ। डाई गरेको त्यही जिन्सको कालो प्यान्ट लगाएँ। अजय देवगने केश कोरेँ र कुदेँ।गैरीबास हाइस्कुल छेउमा उसको घर छ। म त्यसको आधा घन्टाको उकालोमा थिएँ। डिंगो बुट छिङ्छिङ् बज्थ्यो। 
ओह्रालै कुदिरहेको थिएँ म, त्यही बजाउँदै। के थियो मनमा त्यतिबेला, मलाई थाहा छैन। आँखामा आँसुचाहिँ थियो। मनमा ढुकढुकी तेज थियो। कुनै आवाज थिएन ओठमा।
स्कुलमाथिको बोटनिस गोलाइ पुगेँ। त्यहाँबाट उँधो हेरेँ। केही देखिनँ। त्यसपछि कुदेँ, फेरि ओह्रालै। खासमा म उसलाई रोक्न हिँडेको थिएँ । त्यसरी ‘बाचा गरेर धोका नदेऊ' भन्न कुदेको थिएँ। के भनेर कुदेको थिएँ, खासखास भन्न अहिले पनि सक्दिनँ।
म स्कुल मैदान पुग्नै लागेको थिएँ। मैदानबाट रातो भ्यान हिँड्यो।एकछिन त्यहीँबाट चिच्याउन मन लागेको थियो मलाई। मैदानमा मानिसहरू सल्याङबल्याङ गरिरहेका थिए। मनमा डरजस्तो केही थियो।
मलाई अचानक नक्सल पुग्ने चोरबाटो याद आयो। त्यो गाडी घुम्दै त्यही नक्सल निस्किएर चाल्सा, मालबजार पुग्थ्यो। भ्यान घुमाउरो सडक हुँदै त्यहाँ आइपुग्दा म बाँसघारीको चोरबाटो नक्सल पुग्छु भन्ने लाग्यो। 
स्कुलमाथिको डिलडिल हुँदै म ५२ ब्लग गाउँको बाटो छड्किएँ। त्यही बाटो नक्सलमाथिको बाँसघारीको चोरबाटो थियो। छोटो बाटो। केही हिँडे किनभने त्यहाँ बाक्लो गाउँ थियो। 
गाउँमा कुद्‌न भएन। नकुदी हिँडे। जब बाँसघारी सुरु भयो, हातमा पञ्जाभरिको ढुंगा बोकेँ अनि तुफान कुदेँ। त्यति साह्रो स्पिड कहिल्यै कुदेको थिइनँ म। त्यति धेरै अग्ला कान्लाहरू कहिल्यै हामफालेको थिइनँ म।
म ओह्रालै डिंगो बुट छिङ्छिङ् बजाउँदै कुदिरहेँ।
खासमा म कुनै फिल्मको हिरो थिएँ, जसको प्रेमिकालाई कुनै खलनायकले लगिदिएको छ। म प्रेमिकालाई बचाउन कुदिरहेको छु।
भक्कानो फुट्न लागिसकेको थियो। आँखामा उसैको नक्सा थियो।
लागेको थियो, भ्यानभन्दा अघि नै म नक्सल पुग्छु र सडकमा हातमा ढुंगा लिएर उभिन्छु। ढुंगा हान्छु। गाडी रोकिन्छ अनि उसलाई लिएर म घर आउँछु। म नक्सल पुगेकै थिइनँ। माथिबाट तल नक्सलको घुमेको गोलाई देख्दै थिएँ। त्यतिखेरै रातो भ्यानले गोलाई काट्यो।
म त्यहीँ ठिंग उभिएँ। हातमा बोकेको ढुंगा हानेँ। मेरो बलले पुगेन। भ्यानसम्म ढुंगा पुगेन। भुइँमा भेटेको जति ढुंगा सोहोरेँ, हानेँ। जति ढुंगा हान्थेँ भ्यान उति टाढा जान्थ्यो।
हेर्दाहेर्दै भ्यान हरायो। म थचक्क बसेँ। अनि भुइँमा लडिबुडी गर्दै कराएँ। सकेजति आवाज निकालेर रोएँ।
बाँसघारी-घारी म रुँदै घर फर्किएँ।

...

त्यसरी छुट्यो पहिलो प्रेमिका।
यसरी बस्यो पहिलो प्रेमकथा मनमा।
खासमा म साँच्चि नै प्रेम गर्थें उसलाई। मलाई उसले छोडेर गएकोमा विश्वास नै लागेको थिएन। धेरै दिन स्कुलमाथि बसेँ, ऊ स्कुलछेउको भोगटेको रूखमुनि देखिन्छे भन्ने भ्रममा। 
धेरै दिन बोटनिस गोलाइमुनिको लेमन गुराँसको घारीमा बसेँ। धेरै दिन राजुलाई उसबारे सोधेँ। ऊ त साँच्चि नै गइसकेकी थिई।
मैले ऊसँग गरेको बाचा पूरा गर्न सकिनँ।
मैले भनेको थिएँ, ‘तिमीलाई कसैले लग्यो भने म खोसेर ल्याउँछु।'
मैले सकिनँ। मलाई थाहा छैन, उसले मलाई धोका दिई कि मैले उसलाई?
म फर्काउन आउनेछु भनेर के उसले पर्खिहोली?
कि उसले मलाई धोका नै दिएकी हो?
मसित यस्तो प्रश्नको सही जवाफ थिएन।
बेरोजगार परिवारमा थिएँ। आफू पनि बेकारी। बेकारीपन अजिंगरजस्तो थियो आफैंलाई। त्यो दिन मैले गाडी रोकेको भए के हुन्थ्यो होला?
पछि सुनेँ, आर्मीसित गइछे। उसलाई रहेछ घरको दबाब।
सायद यत्ति थियो मेरो प्रेमको सही जवाफ।


क्रूर प्रेम

ठूलो बहिनीले कुमाई चियाबारीमा बिहे गरी। चार घन्टा फरेस्टको बाटो हिँडेपछि बहिनीज्वाइँको घर पुगिने। एक दिन बिहान म बहिनीको घरको बाहिरको कोठामा केही लेख्दै थिएँ। सायद कविता।
स्कुलेहरू त्यही घरको आँगन भएर हिँड्दा रहेछन्। स्कुल ड्रेस लगाएका तीनजना केटी घरमा पसे। बहिनीसित, बहिनीको सासूसित बात गर्दै छिल्लिइरहे उनीहरू । म लेखिरहेको थिएँ। उनीहरू हेर्न आए।
'के गर्नुभाको ? ' एउटीले सोधी ।
'लेखेको', मैले भनेँ, 'सुन्‍ने?'
उनीहरू सुन्‍ने भए। सबैले ताली बजाए र स्कुलतिर दौडिए।
टिफिनको छुट्टीमा एउटीले झ्यालबाट मुन्टो छिराएर भनी, 'कविता लेख्दिनु रे है उसलाई।'
भन्नेले देखाएकोतिर हेरेँ।
'ओइ के भाको हँ, ऐले... गाल नपार है' भन्दै भागी।
त्यसपछि फर्किहाल्ने भनेर गएको म केही दिन बस्ने भएँ। साथीहरू बनाइसकेको थिएँ मैले पनि। सबैभन्दा मिल्ने साथी थियो प्रवीण राई।
बिहानै धारामा पानी भर्न जानुपर्ने। धारामा बिहानै भीड। भीडमा 'पहुनालाई थाप्न देऊ है' भन्ने उही हुन्थी।
प्रवीणले जिस्क्याउँथ्यो।
मलाई पनि लाज लाग्थ्यो। मैले पहिलो प्रेम बिर्सिइसकेको थिएँ। प्रवीणले उक्सायो।
‘लेख् न लेख्', प्रवीणले भन्यो।
'थेत, काँ हौ अब्बुई, होस्', म भन्थेँ।
अठारको थिएँ म । प्रवीणको कुरा मन पर्न थालेको थियो । खासमा मलाई ऊ मन पर्न थालेको थियो । मैले लेखेँ ।
उसले पढी।
'ल हुन्छ रे भन्दिनू', खबर पठाई ।

...

त्यसपछि मलाई कुमाईमात्र जान मन लाग्थ्यो। गइबस्थेँ। भेट्न गाह्रो। उसको दिदीले थाहा पाई। मलाई सोधी, ‘धोका त दिन्नौ होला नि ? ’
मैले टाउको मात्र हल्लाएँ। अनुहार रातो थियो त्यस बेला मेरो।
ऊ आठमा पढ्थी। नौमा पुग्न नपाई स्कुल छोडी ।
मैले कर गरेँ।
‘पढ न, बोरु मो पनि खर्च दिम्ला।'
स्कुल नजाने नै भई। स्कुल आउँदा मसित भेट हुन्थ्यो। नआउँदा म घरैमा जान थालेँ। वल्लो घर पल्लो घर सप्पैले जिस्क्याउने। सप्पैले, 'सोल्टी भन्दाभन्दै अब ज्वाइँ हुने भो केटो' भन्थे।
म घरमा जाँदा आमा सुटुक्क निस्किन्थिन्। आमाले मलाई ज्वाइँ मान्न थालिसकेकी थिइन्। बाबा भएको बेला म जान्नथेँ। पत्रपत्रिकामा कविता छापिन थालेको थियो। त्यहीँ हुँदाहुँदै 'आजभोलि' दैनिकमा मेरो कतिवटा कविता छापिन्थ्यो, त्यो बोकेर आउँथी ऊ।हामी साह्रै माया गथ्र्यौं एकार्कालाई।
खुल्लमखुला प्रेम गथ्र्यौं । हामीबीच कुनै नराम्रो किसिमको सम्बन्ध थिएन। खासमा म सोझो किसिमको केटो थिएँ। पहिलेपहिले म उसको घर जान्थेँ। पछिपछि ऊ मेरो घर आउन थाली। आएर बारीमा आमासित साग रोप्थी। आएर घरमा खाना बनाउँथी। आएर गाईलाई घाँस काट्थी।
अघोषित बुहारी थिई।
एक दिन ऊ आएको दिन घरमा छ्यामा आउनुभयो। सानैदेखि आन्टी भन्थेँ म। साह्रै छुच्ची। आमाले पोल हालिन्। पड्किइन् आन्टी।
आमालाई केटी राम्रो त लाग्थ्यो तर उसको ओठमा जुँगाजस्तो रौं थियो। 'जगेनी बिहे गर्छु भन्छ, मलाई चैं मन परेको छैन', आमाको गुनासो थियो। आन्टीले हपारिन्, ‘उम्रिँदै तीनपातेहरू, हान्छु म कचेटले।'
आन्टी आएको बेला हाम्रो प्रेम तीन वर्षको थियो। आमाको सारमा आन्टी, आन्टीको सारमा बहिनीहरू धुरिन थाले। ठूलो ज्वाइँका आफन्त गाउँमै थिए। ऊ त्यहीँ बसेकी थिई। भोलिपल्टै फर्किने भई। मैले पुर्‍याउने भएँ। ऊ पनि आन्टीसित डराएकी थिई, मजस्तै ।
त्यो रात मैले चिठी लेखेँ।
खासमा म क्रुर प्रेमी थिएँ। मैले कहिल्‍यै उसलाई नराम्ररी देखिँन। विचारमा, मनमा,व्‍यवहारमा सबै कुरा ठीक थियो। ठीक थिएन त उसको ओठका पहेँला रौँ जसलाई मेरो परिवारले 'जुँगा भाको केटी' भन्‍थे। 
भोलिपल्ट आई। झोलामा साग हालिदिएँ। आन्टी माथ्लो घर, आफन्तकहाँ थिइन् । मैले झोला बोकेँ। निस्कियौं फरेस्टको बाटो। खोलामा पुग्यौं। नुहायौं। बोकेको बिस्कुट खायौं। फेरि पनि बाचा गर्‍यौं। नछुट्टिने कसम खायौं। झोला मैले बोकेँ। उसको गाउँको छेउसम्म पुर्‍याएँ। फेरि भेट्ने बाचा गरेँ। झोला उसलाई दिएँ। फर्किएँ म।
म जति उसलाई छोडेर आइरहेको थिएँ, आङ उति नै फुलिरहेको थियो। भयले म छिट्छिटो हिँडिरहेको थिएँ। ऊ ओझेल भएपछि त हाम्फाल्दै कुदेँ। मानौं म कुनै अपराधी हुँ र आफूलाई बचाउन भागिरहेको छु।
एकैछिनमा खोला पुगेँ। घटघटी पानी पिएँ। उसको घर जाने बाटोतिर हेरेँ अनि फेरि उकालो कुदेँ।मलाई जतिसक्दो छिट्टो घर पुग्नु थियो। किनभने मैले त्यतिखेरसम्म उसलाई ब्रेक दिइसकेको थिएँ।
रायोको साग हालेको झोलाको फेदमा मैले चिठी घुसारेको थिएँ।जहाँ लेखेको थिएँ,'मलाई माफ गरिदेऊ। घरमा सप्पैले मलाई गाली गर्‍यो। तिमीलाई मन पराएनन्। म तिमीसित प्रेम गर्न सक्दिनँ। आजदेखि हाम्रो सम्बन्ध छैन।'

...

खासमा म क्रूर प्रेमी थिएँ। मैले कहिल्यै उसलाई नराम्री देखिनँ। विचारमा, मनमा, व्यवहारमा सबै कुरा ठीक थियो। ठक थिएन त उसको ओठका पहेंला रौं जसलाई मेरो परिवारले 'जुँगा भाको केटी' भन्थे। मलाई यसो भनेको पटक्कै मन पर्दैनथ्यो।
कुन्‍नि किन, अचानक म पनि जुँगा भाको केटीलाई बिहे गर्न नसक्ने भएँ।मैले धोका दिएँ। सारा कसम तोडेँ। म स्वार्थी थिएँ। तर त्यस बेला मलाई स्वार्थी भएँ, धोकेबाज भएँ भन्ने पटक्कै लागेन। 
मलाई लाग्यो, बिहे गरेर आउने घरले उसलाई मन पराएन भने उसका लागि पनि राम्रो होइन, मेरो लागि पनि।
अहिले सम्झिन्छु, म खतरनाक स्वार्थी र धोकेबाज थिएँ।
...
पछि सुनेँ, 'त्यो मान्छेलाई म जीवनभर माफ गर्दिनँ' भनी रे।
त्यसपछि कहिल्यै भेटिनँ मैले।


अन्नपूर्णपोष्टमा प्रकाशित

No comments:

Post a Comment