कवितामा आजका पुस्ता

समकालीन लेखनका दुई धार

कवि राजा पुनियानीले फेसबुकमा एक स्टाटस टॉंसे, सोधिएको थियो ‘भारतीय नेपाली कविताको मूल स्वर के हो?’
 राजाले पछिबाट एउटा निबन्ध नै लेखेर भारतीय नेपाली कविताको मूल स्वर स्पष्ट नभइहालेको  र कविताको मूल स्वर ‘ल्याब’-मा नै रहेको खतरनाक निष्कर्ष दिए। त्यतिभन्दा भन्दै पनि राजाको सर्वेक्षणले युवा कविहरूको एउटा ठूलो समूह भारतीय नेपाली समाजलाई केन्द्रमा राखेर सामुहिक प्रतिबद्धतासित लेखनमा आइसकेको अनि उनीहरूको राजनैतिक आग्रह चर्को बन्दै गइरहेको पनि खुलाएको थियो। कवि टीका भाइको ‘जातीय मुक्ति सङ्‌घर्षको सयवर्ष’-(इतिहासको पुस्तक)ले जनसङ्‌घर्ष र आत्मनिर्णयको प्रसवबारे धेरै कुरा भनिसक्दा पनि साहित्य भने विविध प्रयोग, शिल्प र मध्यममार्गी खेलहरूसित एकप्रकारको अनुत्पादक र बेकार वस्तुकोरूपमा समाजमा पुगिरहेको देख्ने चेतना कमै छ। लाग्छ, भारतीय नेपाली कविता दुई बाटोमा छ। एउटा बाटोबाट जानेहरू भन्छन्‌, ‘कविता शुद्ध कलात्मक कुरा हो, यसलाई यसरी नै अघि लैजानुपर्छ।’ अर्को बाटो जानेहरू भन्छन्‌, काव्यिक कला समाजको पक्षमा बोल्ने स्वरको माध्यम बन्नुपर्छ।’ उत्तराधुनिकतावादी विचारलाई लेखनको आदर्श बनाइरहेका कविहरूको निम्ति काव्यकर्म कलाखेल मात्र छ।

सिक्किमको एक कार्यक्रममा बोल्दै आलोचक जय क्याक्टसले चलिरहेका लेखनहरूलाई ‘परिचय सङ्‌कट’-को उपज बताए। यद्धपि यसबारे खुलेर कतै बहस भइरहेको छैन। तिनी भन्छन्‌, कवितालाई कवितै रहनुदिनुपर्छ, यसलाई विचार र सिद्धान्तको भारी बोकाउनु हुँदैन। यद्धपि तिनी विचलन लेखनका सदस्य हुन्‌। विचलनले साहित्यमा उत्तराधुनिकतावादी एप्रोजकै वकालत गर्‍यो। संरचना, शैली, विम्वलाई प्रमुखता दिने अनि विचारलाई ‘विश्वचेतना’ मा जोड्‌ने आग्रहको विचलन पत्रिका अहिले निरन्तर छैन। गिरीकालीन जातिवोधी र दुःखवादी चेतना नितान्तै क्षेत्रीय(भारतीय नेपाली) थियो। आयामेलीहरूले नितान्तै ‘लोकल’ वस्तु माने। लोकलथोक लेखेर विश्व साहित्यमा नेपालीको उपस्थिति दह्रो हुँदैन भन्ठान्थे आयामेलीहरू। धर्णिधर कोइराला, सुर्यविक्रम ज्ञवालीहरूले पुकार्ने आमा (नेपाल) आफ्नो होइन भनेर चिन्न समय लागे पनि गिरीकालमा भारतमा आफ्नो अवस्थान खोज्ने चेतमार्का पुस्ता हुर्किरहेको थियो। भारत स्वाधिन भएपछि पनि भारतीय नेपालीहरूको पहिचानको सङ्‌कट सम्बोधनमा नआउनु, स्वतन्त्रता सङ्‌ग्राममा भने होमिनु अनि विभिन्न राज्यहरूमा सांस्कृतिक, आर्थिक, राजनैतिक दमनमा पर्नु गिरीकालीन दुःखवाद थियो। वास्वतमा गिरीकालीन पुस्ताले केवल दुःखमनाउ, लेघ्रो तनाइ, रूवावासी मात्र गरेका थिएनन्‌, ‘तिमी त यहॉं नचिनिने भएछौ,’ भन्दै पहिचानको निम्ति लड्‌ने आग्रह पनि अन्तर्यमा राख्दै थिए। दार्जीलिङको सन्दर्भमा यी कुरा नितान्तै नीजि र स्थानिक मानियो अनि वैचारिक लेखन भन्दै आए आयामीहरू। तर तेस्रो आयाम ‘लेख्ने तरिका’-को निम्ति गरिएको आन्दोलन थियो अनि विचार र सिद्धान्त चॉंहि विश्वचिन्तने थियो। विश्वचिन्तनलाई शैलीमार्का लेखनले उचालेपछि स्थानिक र जातिक विमर्श र विचार छोपियो।

 नेपाली साहित्यको ऐतिहासिक दुर्भाग्य यही थियो। आयामका पछिल्ला सानासाना संस्करणहरूमा सङ्‌क्रमण र विचलनलाई लिन सकिन्छ। यसले पनि ‘कला’ लाई प्रमुखता दिने उत्तराधुनिकतावादी चेतको वकालत गर्‍यो। यस लेखनमा रहेकाहरूले वस्तुताको खोज गर्दै सम्पूर्ण लेखनको जुक्ति चलाए। वास्तवमा ‘सम्पूर्णता’ लेखनमा सम्भव नरहेको मान्दै विचारलाई ‘लीला’-मा ल्याइयो। ‘वस्तु त आफू जस्तो छ त्यस्तै पो देखिँदो रहेछ,’ इन्द्रबहादुर राई आफैले पछिबाट भने, ‘अलइलि छेउकुनामात्र देखिँदो रहेछ सम्पूर्ण देखिँदो रहेनछ।’ लीला लेखनले त्यही दृष्टिकोणको चरित्रलाई केलाएर कुनै पनि कुरा एकक्षण प्रभावकारी हुने अनि पछिबाट त्यही कुरा ‘युज टु’ हुने चेतलाई बुझ्ने ‘ज्ञान’ को पक्षमा बोल्यो। ती जम्मै लेखन राजनैतिक, सामाजिक, मनोवैज्ञानिक, आर्थिक, सांस्कृतिक आदि कुराहरूले समाजलाई पार्ने ‘प्रभाव’ लाई लेख्नुसित सम्बन्धित थियो। प्रभावका कारण खोज्नु र रिस्क लिनु थिएन। समाजलाई डोहोर्‍याउनु होइन, यथास्थिति देखाउनुमात्र थियो। मनप्रसाद सुब्बाहरूको किनारीकरणको लेखनले उनीहरूको समयमा नै विश्वमा चल्ती डिस्कोर्ष ‘सवाल्टर्न’ बाट नेपाली लेखनको निम्ति ठूलो स्पेस पायो। यसैकारण शुरूमा भारतीय नेपालीहरूलाई मूलस्रोतबाट बाहिर पारिएको राजनैतिक चेतलाई उनीहरूले काव्यिक स्वर बनाए। फरक के थियो भने गायत्री स्पीभाकहरूको सवाल्टर्नहरू बोल्न सक्दैन थिए मनप्रसाद सुब्बाका किनारीकृतहरू बोल्न सक्थे। त्यही बोलीलाई लेखनको मूल स्वर बनाउन यो लेखनको नितान्तै स्थानिक आग्रह पछिबाट वैस्थानिक बन्यो।

 प्रादेशिक चेतना र विश्व चेतना दुवैलाई सँगसँगै लैजाने उनीहरूको अडान बन्यो। छुट्टै राज्यको दोस्रो चरणको आन्दोलनको प्रभाव सर्जकहरूमा बढी रहेको समय थियो यो। यसकारण जातीय मुक्ति, आत्मनिर्णय र पहिचानको सङ्‌कट कवितामा दह्रो बनिरहेको थियो। एक्लो एक्लो सर्जकभित्र रहेको यही चेतनालाई सङ्‌गठित गनर्र् सकिने स्पेस बोकेर आएको किनारीरणको लेखनबाट नै लगभग समकालीन कविताले समाजका ‘प्रभाव का कारणहरू’ समेत खोतलेर हेर्ने दिशा पायो। ‘सङ्‌क्रमण लेखन’-ले आयामकालीन बट्टारिएको भाषाबाट कवितालाई मुक्त गर्ने घोषणा नै गरेपनि कवितामा त्यो दुरूहता विधमान नै रह्यो। यो लेखनले नयॉंपुस्तालाई खास विचार दिन सकेन। यो लेखनको मूल स्वर पनि संरचना, रूप, कला, शैलीलाई ‘साहित्य’ मान्ने नै थियो। सुबास घिसिङले गरेको 1986 को छुट्टै राज्यको आन्दोलनको असफलताले समाजलाई पारेको निराशा, आक्रोश, विसङ्‌गतिलाई पोलिटिकल्ली र ओइडियोलजीकल्ली लेख्ने, मुख्यगरी राजनीतिक, अर्थनैतिक, सांस्कृतिक र मनोवैज्ञानिकरूपमा समाजलाई परेकोे विविध प्रभाव र प्रभाव कारखाना उत्खनन्‌ गरेर लेख्ने चेत निर्माण नहुनुमा ‘कलावादी’ विचारको ठूलो रोल छ। विचलनसम्म आइपुग्दासम्म साहित्यमा प्रतिबद्ध राजनीति वर्जित नै थियो। पत्रपत्रिकामा एउटा आग्रह छापिन्थ्यो, ‘राजनैतिक, धार्मिक, सामाजिक आक्षेप र आग्रह रहेका रचनाहरू प्रकाशित हुने छैन।’

सम्पादकहरूमा यो मानसिकता रोप्ने खेल अघिल्ला कलावादी लेखनहरूमा रहेको विचारहीनताले खेलेको हो भन्न सकिन्छ। यसमा अझ बहस पुगेको छैन।
तेस्रो आयाम, लीला लेखनहरूले दिएको स्पेसबाट सङ्‌क्रमण, विचलन अनि अहिले समावेशी समूह अघि आएको अनि गिरीय जातीवोध र तेस्रो आयामकालदेखि यता प्रभावकारी बन्न नसकेको प्रगतिवादी चेतनाको स्पेसबाट किनारीकरण अनि हस्तक्षेप लेखनले वैचारिक तार जोडिरहेको हो कि भन्ने लाग्छ। यद्धपि यी लेखनहरूका चारित्रिक विशेषताका अरू पाटोहरू पनि छन्‌, जसले एकले अर्काबाट केही फरक मूल्यमा आफूलाई स्थापित गर्न सक्छन्‌।

यहॉंबाट के सङ्‌केत मिल्छ भने एकधार कला कलाको लागि र अर्को धार कला जीवनको लागि भन्ने चेतले समकालीन लेखन निर्मित छ।

...

लेखनमा युवा पुस्ता

सङ्‌घीय भारतमा नेपाली भाषीहरूले गरेको सॉंस्कृतिक र राजनैतिक सङ्‌घर्षले जीवनमा ठूलो प्रभाव छोडेको छ। अल्पसङ्‌ख्यकहरूमाथि बहुसङ्‌ख्यकहरूको वर्चस्व सधैँ छ। जाति विविध सङ्‌कटबीच रहँदा उनीहरूको भाषा र साहित्य अछुत हुँदैन। यो थिचोमिचोको विरुद्ध राजनैतिक समाजले लड्‌दै आइरहेको छ। त्यही लडाईँको असफलता, केन्द्रको चलखेल, बजार र सत्ताले समाजलाई खोक्रो पारिरहेको छ। समाजमा विसङ्‌गति हुर्किरहेको छ। नेपाली समाजको राजनैतिक चेतना बोधो पारिँदैछ। सत्ताको पाइलामुनि परेको समाजको आवाज कस्तो हुन्छ? आजका एक लश्कर पुस्ताको काव्यिक स्वर त्यही बन्दै गइरहेको छ। अर्को लश्कर पुस्ता ‘यी त राजनीतिक कुरा भए, राजनीतिलाई राजनीतिमा नै राखौँ, साहित्यमा नल्याऔँ, भन्दै लेखनका नयॉं नयॉं शिल्पखोजमा छन्‌। दुइपुस्ता नै एकार्काको विचारमा जोखिम देख्छन्‌। एक पुस्तालाई लाग्छ, ‘समाजलाई राजनीतिले खोक्रो पारिरहेको समय, काव्यकलाले यसको विरुद्ध अनि समाजको पक्षमा राजनैतिक चेतनाको वकालत गर्नैपर्छ।’

अर्को पुस्तालाई लाग्छ, ‘यो काम राजनीतिले नै गर्छ, साहित्यजस्तो कलालाई भारी नबोकाऊँ।’
यही दुई विरपित विचारमा आजका पुस्ता विभाजित छन्‌। विश्वभरि नै यी दुइथरिका विचार पुस्ता छन्‌। आ-आफ्नो जोखिम मोलिरहेका छन्‌।

के भन्छन्‌ अघिल्लो पुस्ता?

सोसल मिडियामा बेलाबेला कविहरूको धम्साधम्सी चल्छ, विवादको केन्द्र हुन्छ-कविता। उत्तराधुनिकतावादी भ्रमले ग्रस्त कविहरूलाई जनपक्षीय कविता नपच्ने अनि जनपक्षीय कविहरूलाई रतिलेखन नरुच्ने पुरानै रोग निरन्तर छ। विचार गर्नुपर्ने कुरा के छ भने भारतीय नेपाली समाजको सन्दर्भमा दार्जीलिङले आजका पुस्ताबाट पढ्‌न लायक कविताहरू प्राप्त गरेको छ। आजका पुस्ता अध्ययनशील र वैचारिकरूपले विश्वासिलो र प्रतिबद्ध देखिन्छन्‌। सोसल मिडियातिर देखिएका बहस, सार्वजनिक कार्यक्रमतिर हुने तर्कातर्कीहरूले आजका पुस्ता लेखनमा गम्भीर रहेको अघिल्लो पुस्ताका कवि ज्ञानेन्द्र खतिवडा स्वीकार्छन्‌। ‘कविताको गरिमामा आँच आउन दिने कार्य अहिलेका युवा जमातबाट हुनसक्दैन भन्ने विश्वास लिएको छु,’ उनी भन्छन्‌, ‘कविता-कलालाई मर्यादित बनाउने जमातहरू सीमान्तकृत वर्गसम्म पनि देख्नसक्ने दृष्टि लिएर सिर्जनामा लागेका छन्‌ भन्ने विश्वास छ।’ आजका पुस्तामा जुन पढ्‌ने र बहस गर्ने संस्कृति निर्माण भएको छ उनीहरूको समयमा यस्तो थिएन। ‘कविता लेख्ने विषय हो ,पढ्ने विषय त कथा र उपन्यास मात्र हो भन्ने समय थियो हाम्रो।

कविहरू अर्काका कविताहरू पढ्दैनन्‌ थिए,’ खतिवड़ा भन्छन्‌,  ‘अहिले वैचारिकरूपमा युवा कविहरू सॉंच्चै तिक्खर छन्‌।’ उनीहरूकोे युवा अवस्थामा एकातिर मोहन कोइरालाको फर्सीको जरामा जेलिएको अवस्था थियो भने अर्कातिर आयमेली कविताहरूले बेह्रिरहेको अवस्था थियो। उनीहरूले भूपि र हरिभक्तहरू अलिक ढिलो पाए। ‘आज युवा कविहरूसित हाम्रो युवाकालको तुलना हुनैसक्दैन। विचार भाव शैली भाषा र उन्मुक्त लेखनको अवस्था नै हालका युवा कविहरूको परिचय हो,’ उनी भन्छन्‌, ‘वर्तमान युवा कविहरूले देख्नसक्ने छिद्र र लेख्नसक्ने आँट पनि अर्को तुलना हुननसक्ने पाटो हो।’ कवि मनप्रसाद सुब्बाले पनि युवा पुस्ताले कवितालाई लिएर चलाउने बहसलाई सराहना गर्छन्‌। कविताका राम्रो पाठक रहेेका कथाकार मिङ लिवाङलाई युवा पुस्तामा चलिबस्ने विवाद, बहस सकारात्मक हुनुपर्छ भन्ने लाग्छ। ‘नकारात्मक पूर्वाग्रह वैयक्तिक बहस र चर्चाले कसैलाई फायदा पुर्‍याउँदैन,’ भन्छन्‌, ‘यद्धपि के र कसरी लेख्ने सम्बन्धमा दिशानिर्देश गर्नु विचार थोप्नु हो।’

के भन्छन्‌ आजका पुस्ता?

युवा कविहरू बहस पनि गर्दै कविता पनि लेखिरहेका छन्‌। सैद्धान्तिक आधारजेजस्तो होस्‌, उनीहरूको मुल्याङ्‌कन भने कविताको कारण नै हुन्छ। कवितालाई समाजउपयोगी विचार दिन कवितालाई कलात्मक बनाउनेहरूको भीड़ ठूलै छ। बजारमा धेरै कुरा सुनिन्छ, ‘युवा पुस्ताका कवितामा विचारको प्राधान्य बढी भयो, कलात्मक छैन्‌ उनीहरू।’ पछिल्लो समय राम्रा कविता लेखिरहेका कवि रवि रोदनलाई तर विचारले समाज तोड्‌ने होइन बरू जोड्‌ने काम गर्ने बताउँछन्‌। ‘समयचेती युवा पुस्ता समाजको अचेत अवस्थाहरूमाथि उज्यालो पार्न कविकर्म गरिरहेका हुन्‌,’ तिनी भन्छन्‌, ‘समयलाई सम्बोधन गर्नु युवा पुस्ताको दायित्व हो।’ तिनी आफै पनि समाजको अनुहारमा देखिएको असमानताका कुरूप पेन्टिङ विरूद्ध सहास बटुलेर काव्यकलाले बोल्नु, समयको मुद्दा बोकेर त्यसमाथि बहस गर्नु, हित र अधिकारको निम्ति वैचारिकरूपले लड्‌नु, समाजको जटिलतालाई देखाउनु र त्यसको उत्थानको निम्ति केही गर्नु, विगतका भूलहरूबाट केही चेत्दै सिक्दै प्रगतिशील चेतनाको विस्तारणमा लाग्नु काव्यकर्ममा लागेको स्वीकार्छन्‌।

कवि बस्ने जुन समाज छ, त्यो समाजमा पुग्दा धेरैवटा कविता पज्जलखेल बन्ने दुर्भाग्य अझ पनि छँदैछ। आजको पुस्ता यस्तो जोखिमबाट बाहिर निस्किने प्रयासमा छन्‌। रवि रोदनको पुस्ता समकालीन कवितामाथि बहस अनिवार्य ठान्छन्‌। कविताको गरीमालाई पनि बचाउँदै कवितालाई जनमुखी बनाउँदै लैजाने चेतना आजको चेतना बनेको छ। कविता चाम्रो भएको निबन्धकार अजय खड्‌कालाई मनपर्दैन। समाज जुनरूपमा छ, कवितालाई त्यही अनुकूलको भाषामा कलात्मक र वैचारिक बाटो प्रदान गर्नु युवापुस्ताको जिम्मेवारी हो भन्ने तिनको मत छ। शक्तिशाली कविताको नापो विषयवस्तु र सम्प्रेषणशिल्पमार्फत गर्न सकिने र कला र विचारको सही समायोजनमा खास कविता आउनसक्ने पनि तिनको धारणा छ। युवापुस्ता दुई वैचारिक ध्रुवमा रहेपनि  कवितामा आफू र आफ्नो समाज आउनुपर्ने कुरामा तिनलाई विश्वास लाग्छ। ‘यद्यपि कविताको स्वर सशक्त र सङ्‌गठित तवरमा आउनसके राम्रो हो,’ भन्छन्‌, ‘तह मिलेर प्रभावकारी रूपमा कविता आए, कविताले आफ्नो वास्तविक शक्ति प्राप्त गर्नसक्छ।’

समकालीन अनुहार

दार्जीलिङ, सिक्किम तथा भारतका अन्य ठाउँमा रहेका नेपाली भाषीहरूबाट नै भारतीय नेपाली साहित्य लेखिने हो। भोगौलिक, प्रशासनिक, राजनैतिक अनि सांस्कृतिक प्रभावहरू उनीहरूले लेखिएको साहित्यमा आएन भने त्यो लेखनको खास प्रयोजन कति हो भन्ने कुरा कठघरामा पर्छ। पश्चिम बङ्‌गालमा रहेको दार्जीलिङ राजनैतिक, अर्थनैतिक अनि सॉंस्कृतिक बुटमुनि छ। राजनैतिकरूपले यी प्रभावका कारणहरू खुट्याउँदै प्रतिरोधी चेतना बोक्ने कविहरूले दबेको समाजमा कवितालाई ‘डिस्कोर्स’ बनाउँदै आइरहेका छन्‌। यसो हुँदा कति कवितामा आक्रोसले सौन्दर्यकोरूप लिएको छ। ‘आक्रोसित समाजमा बस्ने कवि सधैँ शालिन भइराख्न सक्दैनन्‌,’ कविहरू भन्छन्‌, ‘अबको कवितामा शोषक र शोषितले एकै ठाउँ पाउँदैन।’ उनीहरू भन्छन्‌, ‘वैचारिकरूपले समाजलाई उठाउने चेत राख्नेहरूले हस्तक्षेपी विचार बोक्नु आजको समयसित हिँड्‌नु हो।’
अर्को समूह राजनीतिदेखि पर छन्‌। उनीहरूको निम्ति कविता ‘आर्टवर्क’ मात्र हो। ‘विचार र समाज रुपान्तरणमा कविताको कुनै भूमिका हुँदैन,’ ठान्छन्‌ उनीहरू, ‘कवितालाई कविता मात्र बनाइराख्न विविध प्रयोगहरू चाहिन्छ, विचार र चेतना यही लगानी गर्नुपर्छ।’ उनीहरू भन्छन्‌, ‘समाज एकै विचारले बनिँदैन, सबै विचारहरूको समावेशिकरण आजको माग हो।’

No comments:

Post a Comment