![]() |
एमएम कलबुर्गी |
‘जो जड़ छन् , त्यो नष्ट हुनेछन्,’ कन्नड लेखक कलबुर्गी भन्थे, ‘जो गतिमान छन् त्यो नष्ट हुनेछैन।’ बॉंचिन्जेल उनको जीवन दर्शन यही थियो। तिनको एउटा नाटक छ, कल्याणको पतन। जसको टुक्रा यस्तो छ,- आफ्नो समयको समाजको बारेमा बसवेश्वर अफ्नो बहिनी नागलम्बिकासित भन्छ, ‘बहिनी, यस्तो लाग्छ कि नराम्रा मानिसको समाजमा जो निकृष्टतम हुन्छ, उ नै नेता हुन्छ। उसलाई लाग्छ कि धर्मको नाममा केही गर्न सकिन्छ, यदि उसित केही पैसा होस्, अनि केही दुष्ट अनुयायी होस्। तर त्यो दिन टाड़ो छैन जब यो पैसा, ती पूजारी, अनुयायी नै उसको मृत्युको कारण बन्नेछ।’ नाटकको यो संवादले धार्मिक कट्टरपन्थीहरूको मनोविज्ञान र समाजको छाला काढ़ेको छ। वास्तवमा कलबुर्गीको वैचारिक दर्शनको निचोड़ यही संवादमा छ। यही प्रतिबद्ध विचारसित डराउने धार्मिक कट्टरपन्थीहरूले नै विवादित लेखक एमएम कलबुर्गीको हत्या गरिदियो।
...
एउटा कार्यक्रममा नाटककार सीके श्रेष्ठले भनेका थिए, ‘जब ग्यालिलियोले पृथ्वी गोलो छ’ मात्र भनेका थिए। चर्चले तिनलाई नर्कमा जाने श्राप दियो। तिनकोे विरुद्धमा जड़वादीहरू उत्रिए। बजार, कम्पनी, कट्टरपन्थीहरू एकभएर विरोध गर्यो। तर अहिले सबैलाई थाहा छ, पृथ्वी गोलो नै छ। वास्तवमा सत्य कुरा तीतो हुन्छ। तत्काल नै त्यसलाई पचाउन सकिँदैन। जड़ता फुटेपछि त्यो सत्य आफै स्थापित हुन्छ।’ निरन्तर सङ्घर्षमा उत्रिएकाहरूसित यही अदम्य विश्वास बॉंकी रहन्छ।
...
वास्तवमा कुनै पनि क्रान्तिकारीको हत्या गर्न सकिन्छ तर उसको विचार मार्न सकिन्न। अन्तनियो ग्राम्चीलाई पक्राउ गरेपछि सरकारी अधिवक्ताको मुखबाट मुसोलिनीले भने, ‘यसको सोच्ने दिमागमा लगाम लगाउनपर्छ।’ त्यही ग्राम्चीको कल्चरल हेजिमोनी एउटा दह्रो ज्ञान अनुशासन छ। वास्तवमा कसैलाई सोच्नबाट रोक्न सकिन्न तर यसउपर रोक्ने प्रयासहरू चलिरहन्छन्। समाजको जरा विचारभित्र हुन्छ। जरा मक्कियो भने समाज ढल्छ। प्यालेस्टाइनी कवि रफिफ जियादालाई इज्रायली सेनाले भन्यो, ‘आतङ्कवादी नानी जन्माउनुअघि तँ बलात्कृत हुनु तेरो हक हो।’ इज्रायली दमनको विरुद्ध रफिफले लेखिन्, ‘सेड्स अफ् एङ्गर’। कविताले प्यालेस्टाइनी जीवनको उत्स छेक्ने हजारौँ पर्खालको विरुद्ध, इज्रायली अतिक्रमणले निलेको संवेदनाको सुरक्षा र सत्ताखेलले मानिसलाई खुवाउने स्लो पोइजन बारे बोल्नु आफ्नो काम मान्छ। इज्रायली अतिक्रमणले डामेका कवि रफिफ जियादा उपनिवेश बनाउनअघि ‘मलाई मेरो मातृभाषामा बोल्न दे’ भनिरहन्छिन्। कविताभन्दा पनि शक्तिशाली लाग्ने यो वाक्यले पाठकमा त्यतिखेर सौन्दर्य छर्छ जतिखेर फ्यालेस्टाइनी सङ्कटलाई उसले पढ्न सक्छ। आतङ्कवादी जन्माउनेलाई बलात्कार गर्नुपर्छ भन्ने भाषाकै विरुद्ध रफिफहरू भन्छिन्, ‘हामी मृत्यु होइन जीवन सिकाउँछौँ।’
...
जीवन सिकाउनु लरतरो कुरा होइन। ‘हस्तक्षेप’-को विमोचनमा युवा कवि राजा पुनियानीले भने, ‘हामी थुनुवा छौँ। एउटाबाट उम्किने वित्तिकै अर्कोले थुन्छ। सत्ताले, बजारले, विचारले, चेतनाले जहिल्यै थुनुवामा पारेपछि हाम्रो जीवन खुम्चिँदै जान्छ। हामीलाई थाहा हुन्न कि जुन जीवन हामीसित छ, त्यो हाम्रै हो कि कसैले बनाइदिएको हो। यतिखेर थुनुवामा परेको जीवनलाई मुक्त गर्न लेखनले मानिसलाई सघाउनुपर्छ।’
वास्तवमा तिनी पनि रफिफले झैं जीवन सिकाउने कुरा नै गरिरहेका थिए। कुरा गर्नु, बोल्नु धेरै गाह्रो कुरा हो। जतिखेर खास बोल्नुपर्ने कुराहरू बोलिन्छ, त्यो कुरालाई थुनुवामा पार्ने जुक्ति चल्छ।
...
जतिखेर मानिसहरू बोल्न सकिरहेका थिएनन्, ललित गोलेलाई लाग्यो, ‘नाटकले बोल्न सिकाउने भार कॉंधमा लिनैपर्छ।’ भानु र पाला 1986-को सङ्कटमा बोल्न सिकाउन आएको कलात्मक कर्म थियो। भर्खरै कालेबुङमा यही भानु र पाला-3 मञ्चन भयो। यसमा एउटा पात्रले भनेको छ, ‘पहिले बोल्ने परिस्थिति थिएन, अहिले बोल्ने परिस्थिति छ, तर कोही बोलेका छैनन्।’
नाटक सकिने वित्तिकै हल्ला सुनियो, ‘नाटककारहरूलाई बुढ़ोले दार्जीलिङ बोलायो रे त हौ।’ कलाले आम मानिसको भाषा बोलेपछि सत्ता यसरी डराउँछ। बोल्नै नसकिने बेला अर्थात गोरामुमोकालमा ललित गोलेहरूलाई सुबास घिसिङले यसरी बोलाएनन्। अहिले बोल्न सकिने बेला चाहिँ?
कुनै पनि कलाकारको घॉंटी रेट्न सकिन्छ, आवाज थुन्न सकिन्न। कुनै पनि मानिसको टाउको छिनाउन सकिन्छ, विचार छिनाउन सकिन्न। तर आवाज थुन्ने र विचार छिनाउने प्रयास चलिरहन्छ, जब यस्तो प्रयास चल्छ, त्यो सत्ता त्यहीदिनदेखि धर्मराउन शुरु हुन्छ।
के यो भनाई विस्तारै स्टेरियोटाइप्ड बनिरहेको त छैन?
...
सत्तालाई सबैभन्दा धेर डर कतिबेला लाग्छ?
जब मानिस बोल्छन थाल्छन्। सत्ताको आदर्शलाई दुत्कारेर आफ्नो आदर्शको निर्माणमा जुट्छन्। जब राजनैतिक, धार्मिक, सांस्कृतिक, सामाजिक विसङ्गतिविरुद्ध बोलेर कसैले पनि जीवन सिकाउन जीवनलाई जोखिममा राख्छन्। त्यतिखेर सत्तासित, जड़वादीहरूसित, कट्टरपन्थीहरूसित रहने अन्तिम विकल्प भनेको हत्या नै हो। किन भने मोदी सरकारले मानिसलाई प्रदान गरेको लोकतान्त्रिक सत्ताकोे भुइँ कति बलियो हो त्यो प्रोफेसर कलबुर्गीको छाती र टाउको छेँडेर निस्किएको बन्दुकको गोलीले भर्खरै बताइदिएको छ।
...
हम्पी विश्वविद्यालयका पूर्व भीसी डा. कलबुर्गीको धरवाड़ स्थित घरमा बिहान 8 बजेर 40 मिनट हुँदा डोरबेल बज्यो। जस्तो तिनले दैलो खोले दुइवटा गोली आएर एउटा छातीमा एउटा टाउकोमा लाग्यो। त्यसपछि लेखक-पाठक संसारमा आगो लाग्यो। त्यो ‘आगो’ले अहिले देशभरि प्रतिरोधको भाषा बोलिरहेको छ।
कलबुर्गीको दोष के थियो भने तिनले विचारलाई जनतासामु ल्याए। त्यही विचार दबाउन जुन गोली हानियो, त्यसले के सावित गर्छ भने यो देशमा बोल्नु अब खतरनाक काम भइसक्यो। यो मोदी सरकारको लोकतन्त्र हो। जुन काम लेखकहरूको धर्म हो, त्यही धर्म नष्ट गर्ने विचारको विरुद्ध देेशभरि लेखकहरूले असुरक्षित अनुभव गरिरहेका छन्।
किन?
...
लोकतन्त्रमा आदर्शनामको केही कुरा बॉंच्न अनिवार्य छ। विचारको प्रतिरोध विचारद्वारा नै भएमात्र त्यो आदर्श बॉंच्छ, लोकतन्त्रको अर्थ रहन्छ। तर विचारको प्रतिरोध गोलीद्वारा गरियो भने? त्यो लोकतन्त्र कस्तो हुन्छ? कलबुर्गीको हत्याले धेरै प्रश्न उठाउँछ। देशभरिका लेखकहरूले ‘लेखकको हत्या गरिए पनि उनको विचारलाई मार्न सक्दैन’ त भनिरहेका छन् तर यो हत्याको प्रतिरोधमा उठेको आवाज होइन। यो एकप्रकारको गिडगिड़ाइ हो, जसको अन्तर्यमा प्रतिरोधी चेतना मरेको छ। अब लेखकले ‘लेख्ने कि मर्ने?’ भन्ने प्रश्नको उत्तर यो देशमा नै खोज्न निस्किएन भने लेखन सङ्कटमा पर्ने निश्चित छ। छैन त?
...
लोकतन्त्रको नाममा फासीवादी विचार तिखार्ने खेलमा गर्व गर्ने सरकार, कानून र विचारले दिने दुरगामी प्रभावहरूको खासखास कारणको खोज गर्ने पुस्ता मागिरहेको छ यो समयले।
75 पार गरेका बुढ़ो लेखक कलबुर्गीको दोष यति नै थियो जसले असहमतिको लोकतन्त्र स्वीकार गरिरहेका थिएनन्। तिनी निरन्तररूपमा धार्मिक कट्टरताविरुद्ध बोलिरहेका थिए, छुवाछुत, ब्राह्मण्डवाद, उचनिच, राजनैतिक, सामाजिक, सांस्कृतिक धार्मिक बराबरीको पक्षमा बोलिरहेका थिए। उनको बोल्नु कसलाई खतरा भयो? जसलाई खतरा भयो, उसले बन्दुक उठायो। कर्नाटक कानूनले हतियार उठाउनेलाई कार्वाही गर्छ कि धर्मलाई आधार गरेर राजनीति खेल्छ? लेखकहरूको लेखनस्वतन्त्रता सुरक्षित गर्छ कि फरक मत राख्नेहरूलाई नष्ट गर्छ?
अब कानून कसको पक्षमा? अब राजनीति कसको पक्षमा? अब साहित्य कसको पक्षमा? अब कलम कसको पक्षमा? सत्ता कि जनता? जड़ता कि गति? अब संवेदना कसको पक्षमा? धार्मिक कट्टरपन्थीहरूको पक्षमा कि बराबरीको धार्मिकस्तरको पक्षमा? देशभरिका मानिसले हेरिरहेका छन्।
...
कलबुर्गीले 1 सयभन्दा धेर किताब लेखेका छन्। साहित्य एकादमी पुरस्कार प्राप्त गरिसकेका हुन्। विशेष गरीे 12 औँ शताब्दीका कन्नड़ सन्त कवि बस्वनाको विचारलाई तिनले फेरि जनतासामु ल्याएका थिए। तिनी भन्थे, ‘लिङ्गायत जो बस्वनाका अनुयायी हुन्, यसलाई धार्मिक अल्पसंख्यकको मान्यता प्रदान गरिनुपर्छ, किन भने यो वैदिक परम्पराको हिस्सा होइन।’ तिनले बस्वना परम्परामाथि विशद अध्ययन गरेका थिए। बस्वनासहित कन्नड़ लोक परम्परामा आधारित पुस्तक ‘मार्ग’ सार्वजनिक भएपछि तिनलाई धार्मिक कट्टरपन्थीहरूबाट अनेकौँ धम्की आयो। मुर्तिपूजा बन्द गर्नुपर्ने मुद्दामा युआर अनन्थमुर्तिको समर्थन गरेपछि अझ उनी खतरामा परेका थिए। कलबुर्गीको हत्यापछि एउटा ट्वीट चर्चामा आयो। कर्नाटकको बजरङ्ग दलको एक कार्यकर्ता भुविथ शेेट्टीको त्यो ट्वीट यस्तो थियो- ‘अघि अनन्थमुर्ति अनि अब कलबुर्गी। हिन्दू धर्मको खिल्ली उड़ाऊ अनि कुकुरजस्तो मर। प्रिय केएस भगवान अब तिम्रो पालो हो।’( केएस भगवान प्रोफेसर हुन्, तिनी मैसुरमा बस्छन्, तिनलाई सरकारी सुरक्षा दिइएको छ।) यसबाट स्पष्ट हुन्छ, धार्मिक अन्धता र जड़ताविरुद्ध कलबुर्गीको विचारसित धेेरै सहमत थिएनन्। कलबुर्गीलाई अर्को आरोप थियो, तिनले हिन्दू देवी देवताहरूको अपमान गरेका छन्। कर्नाटक सरकारले अन्धविश्वास विरोधी विधेयकलाई समर्थन गरेपछि कलबुर्गीको पुतलासमेत जलाइयो। तिनलाई पुलिसी सुरक्षा प्रदान गरिएको थियो तर हत्याको केहीदिन अघि तिनले यो सुरक्षा पनि फिर्ता गरेका थिए। किटान गरेर भन्न सकिँदैन कि वास्तवमा कलबुर्गीको दुश्मन को थिए? विश्लेषकहरूलाई लाग्छ, दक्षिणपन्थी स्थानीय समूह कलबुर्गीको मूर्तिपूजा र अन्धविश्वास सम्बन्धित विचारसित खुशी थिएनन्। किन भने एउटा सेमिनारपछि कर्नाटकको बजरङ्ग दल, श्रीराम सेना, विश्व हिन्दू परिषद रिसाएको थियो।
...
समाजलाई डोहोर्याउने अनि असल विचारका पैरवी गर्नेहरू जहिल्यै खतरामा छन्। धर्मको रक्षा गर्ने बहानामा हत्या गर्नु जायज मान्ने धार्मिक कट्टरपन्थीको अपराधलाई कसले पश्रय दिइरहेको छ, यो खोजको विषय हो तर यसखाले घटना यो नयॉं होइन। केही समय अघि बङ्गलादेशमा तीनजना युवा व्लगर्सको हत्या गरियो। सिरियामा इस्लामिक स्टेटका कट्टरवादिहरूलेे खालिद अल.असद नामक अध्येतालाई मार्यो। महाराष्ट्रमा दुईवर्ष अघि तार्किक डा. नरेन्द्र दाभोलकरको हत्या भयो। त्यहीँ गोविन्द पन्सारेले शिवाजीमाथि पुस्तक लेखेका थिए, जहॉं शिवाजीलाई कृषकहरूको हितैषी देखाएका थिए, त्यो हिन्दू कट्टरपन्थीहरूलाई ठिक लागेन। नेपालमा पनि अमर न्यौपानेको किताब जलाइएको थियो। सलमान रूस्दीले यस्तै सङ्कट भोेगिसकेका छन्। चित्रकार एमएफ हुसैनले पनि धम्की खाइसकेका हुन्। तस्लिमा नसरिन निर्वासित बनिन्। पाकिस्तानी सलमान तासीरको हत्या इसाही महिलाको सुरक्षा गरेको आरोपमा गरियो। जबदेखि धर्मलाई लिएर राजनीति हुनथाल्यो तबदेखि नै विचार सङ्कटमा परेको हो। सङ्कटमा परेका विचारको सुरक्षा लेखकले नै गर्छन्। कलबुर्गी जातिप्रथा, मुर्तिपूजाको विरोध गरिरहेका थिए। यसको अर्थ बराबरीको समाजको वकालत पनि गरिरहेका थिए। यस्तोमा ‘हिरो’ बनेर बसेको निश्चित धार्मिक, राजनैतिक, सामाजिक, सांस्कृतिक विचार अनि त्यसको पूजालाई नै धर्म मानेर बसेको समाजले समान मान्यताको सोचलाई स्वीकार गर्न त्यति सहज हुँदैन। कलबुर्गीको हत्या त्यही सत्य स्वीकार गर्न नसक्ने समाजले गरेको हो त? ब्राह्मणवादी हिन्दू धर्म, जसले जातिगत पदक्रमलाई धार्मिक संहिता मान्छ, यसै जड़ताको विरुद्ध त कलबुर्गीहरू बोलिरहेका थिए। तिनको बोली थुन्ने हतियार के गोली हो?
...
कलबुर्गीको हत्याले लोकतन्त्रको अर्थ अर्कै बताइरहेको समय छ। एकजना लेखकको हत्या हुँदा जसरी देशमा आगो फैलियो, के त्यो आगोले कसैलाई पोल्छ? कि आगोले पनि आगोको रङ मात्र प्रदर्शन गररहेको छ? नेपाली सर्जकहरूभित्र पनि कुनै आगो बॉंकी छ कि?
कलबुर्गीको हत्याले लोकतन्त्रको अर्थ अर्कै बताइरहेको समय छ। एकजना लेखकको हत्या हुँदा जसरी देशमा आगो फैलियो, के त्यो आगोले कसैलाई पोल्छ? कि आगोले पनि आगोको रङ मात्र प्रदर्शन गररहेको छ? नेपाली सर्जकहरूभित्र पनि कुनै आगो बॉंकी छ कि?
No comments:
Post a Comment