उदय थुलुङको नेपथ्य




  • हस्ताक्षरको प्रश्न

दार्जीलिङको मङ्‌पूमा औले ज्वरो निको पार्न बनाइने औषधी कुनाइन (कुलैन) उम्रिन्छ, जो असाध्यै तितो हुन्छ। मङ्‌पूमा साहित्यकार पनि उम्रन्छन्‌ जो साह्रै मिठा हुन्छन्‌। कुलैनको बोक्रा कुट्‌दा निस्कने आवाजमा जीवन जति जोडले बज्छ, मङ्‌पूका कविहरूले कविता र कथा लेख्दा जीवन उतिनै जोडले पस्छ। मङ्‌पू भनेको श्रमिकहरूको गाउँ हो। जहॉं सपना पनि कुलैनको बोक्राभित्र लुकेर बस्छ। बोक्रा फुटाउनको निम्ति ठेला फुटाउनै पर्छ। जब ठेला फुट्‌छ तब सपना बाहिर निस्कन्छ। बाहिर निस्किएको सपनाले कि त कवि मोहन ठकुरीलाई पछ्‌याउँछ कि त कवि उदय थुलुङलाई। कि त कथाकार सञ्जय विष्टलाई पछ्‌याउँछ कि त कवि सुरेन्द्र थिङलाई। उनीहरूलाई पनि पछ्‌याएनन्‌ भने कवि रेमिका थापालाई त पछ्‌याउँछ नै।
एउटा सानो मङ्पूमा दार्जीलिङका चर्चित यी कविहरू बस्छन्। जुन दिन सपनासित यी कविहरूको भेट हुन्छ त्यहीदिनदेखि मङ्‌पू उचालिन्छ। किन भने सुन्दर हस्ताक्षरले उनीहरू ती सपनालाई सजाउँछन्‌। त्यसपछि सपनालाई पछ्‌याउन पाठकहरूको लामलश्कर लाग्छ। यति सुन्दर साहित्य लेखिन्छ मङ्‌पूमा, जसलाई नपढ्‌नु भारतीय नेपाली साहित्यको आधापाटो नै छेलिनु हुन्छ।
..........
कवि सुधीर छेत्रीले भने- ‘यति सुन्दर हस्ताक्षर हुने हो भने प्रिन्टिङ मिशिन किन चाहियो?’ कथाकार उमेश उपमा भन्छन्‌- ‘सुन्दर हस्ताक्षरहरूको गाउँ हो मङ्‌पू। यस्तो गाउँका पिता हुन्‌ मोहन ठकुरी।’ तिनले यसो भन्दा हामी कवि मोहन ठकुरीको सुन्दर हस्ताक्षर हेरिरहेका थियौं। मङ्‌पूका कोही लेखन्ते यस्ता भेटेका छैनौं जसको हस्ताक्षर असुन्दर होस्‌। यसकारण हामीले सधैं मङ्‌पूका साहित्यकारहरूको हस्ताक्षरलाई सलाम मारेका छौं। कवि गाउँ मात्र होइन सुन्दर हस्ताक्षरको गाउँ पनि भनेका छौँ। शालिन कवि मोहन कठुरीको मात्र होइन, जम्मै साहित्यकारका हस्ताक्षर यति सुन्दर छन्‌, जति उनीहरूको कविता सुन्दर छन्‌।
 एकदिन बान्की परेको हस्ताक्षरमा तिनै शालिन कवि मोहन ठकुरीले मलाई चिट्ठी लेखे। चिट्ठीले अचम्मको प्रश्न गरेको छ मलाई-
‘उदय थुलुङको नेपथ्य के हो?’
अकादमी पुरस्कार प्रापक उदय थुलुङको कथा संग्रह ‘एकान्तबास’ को प्रत्येक कथा अघिल्तिर तिनले कथाको नेपथ्य लेखेका छन्। रचनागर्भजस्तो। अहिले म उदय थलुङकै नेपथ्य खोज्दैछु।
 ...


  •  सिर्कुनाको माया


सूर्यबहादुर राईको मनमा सॉंझ छिप्पिएपछि अचानक डर पस्यो। त्यतिबेला डरको बीऊ सानो थियो। ‘हन कता गए यी मोराहरू हँ?’ -तिनले स्वास्नी विष्णातिर फर्किएर सोधे। यही प्रश्नको उत्तर पर्खिरहेकी विष्णाले के उत्तर दिन सक्थिन्‌ र? रात छिप्पिएपछि पुल्ठो बालेर हानिए सूर्यबहादुर राई एक्लै स्कूलतिर। तिनी स्कूल पुग्दा सुनसान मात्र एक्लै आँगनमा गजधम्म बसेको थियो। डरले अलिक ठूलो झ्याङ हाल्यो तिनको मनमा यतिबेला। स्कूल गएका केटाहरू रात छिप्पिसक्दा पनि घर फर्किएनन्‌। गाउँभरि पुल्ठो बालेर खोजे। कतै भेटेनन्‌। लखतरान भएर तिनी घर आउँदा दुइभाइ सास पनि नफेरि सुतिरहेका थिए। सूर्यबहादुरको मनको डरले रिसको रुप लियो। त्यो रिस्‌ एकैछिनमा कोठाभरि चुरिफुरि गर्न थाल्यो। तिनले सुतेका केटाहरूको पाखुरा समाए। रिस्ले रातो पिताको अनुहार अघि कॉंपिरहेका दुइभाइका फिलाभरि बज्न थाल्यो सिर्कुना।
‘अबदेखि यसो गर्छस्‌?’-तिनी गर्जिरहेका थिए।
 दुइभाइ आँखाबाट झरेको आँशु नपुछि जवाब फर्काइरहेका थिए- ‘गर्दिन पापा, गर्दिन। आबोदेखि गर्दिन।’
उनीहरू रोएको आवाज छिप्पट रातभित्र कतै जॉंदै हराउँदै थियो।
.....
त्यो रात खाएको साप्फी धुलाई सुन्दर प्रेम थियो। अहिले सम्झँदा तर त्यसबेला दुइभाइको निम्ति थियो असाध्यै ठूलो घृणा। धुलाई खानेहरूमा एक उदय थुलुङ  थिए।
 ‘यस्तो थियो पिताको सिर्कुनाको माया’- उदय थुलुङ भन्छन्‌।
...


  • सेलिब्रिटी र रोपिएको बीऊ


संवेदना टिप्न जान्नेलाई धुलाई पनि सुन्दर लाग्छ। त्यसबेला तिनलार्ई घर जाउँ पटक्क लागेन। 1981 को कुनै एक दिन सरस्वति उच्च विद्यालयमा स्कूल छुट्टिपछि अचानक रौनक छाएको थियो। सॉंझको कार्यक्रम, बगाने स्टाइल। साङ्गीतिक सॉंझ सबैतिर हुन्छ, कतै ‘साहित्यिक सॉंझ’ भएको छ?
मङ्‌पूमा त्यसबेला नै भएको थियो।
 कवि मोहन ठकुरीहरूलाई लागेको थियो-साहित्य अकादमी प्रापक साहित्यकारहरूलाई सम्मान गर्नुपर्छ। त्यो ‘सम्मान सॉंझ’ मा सेलिब्रिटी थिए इन्द्रबहादुर राई, एमएम गुरूङ, असित राई, गुमानसिहं चाम्लिङहरू। सप्पै भारतको सर्वोच्च पुरस्कार अकादमी प्रापकहरू।  पाठ्‌‌‌य पुस्तकमा पढेका यी कतिपय साहित्यकारहरू स्कूलमा आउँदा तिनलार्ई नदेखि बस्न मन लागेन। आठौं श्रेणीका विद्यार्थी तिनी स्टेज अघि पलेंटी मारेर बसेका थिए। छक्क परेर के हेरे तिनले? साहित्यकारहरूलाई टोपी लगाएका। माला लगाएका। उपहार थापेका। बोलेका साहित्यका मिहिन कुरा। के बुझे होलान्‌ तिनले? कुन्नि किन साहित्यकारहरू बोलेको तिनलाई खुब मन पर्थ्यो। किन भने यही श्रेणीमा आइपुग्दा मोहन ठकुरीलाई ‘कवि’ चिनेका थिए तिनले। सुनिसकेका थिए कविका सुन्दर कविता । ती सुन्दर कविताहरू तिनको मनको गह्रामा बीऊजस्तो रोपिएको थियो। त्यही बीउलाई अलिकति पानी थियो-सम्मान सॉंझ।
कार्यक्रम सकिँदा रात बाक्लो थियो। भाइलाई अघि लगाएर तिनी चोर बाटो हान्निए। तिनी चोरबाटैबाटो घर पुग्दा पिता थिएनन्‌। निदाउन लागेको बेला तिनको फिलामा बजेको थियो पिताको सिर्कुना। मध्यराती तिनी ‘अबदेखि ढिलो गर्दिन पापा’ भन्दै रोइरहेका थिए। तिनै आठौं श्रेणीका फुच्चे केटोले 2012 को साहित्य अकादमी पुरस्कार पाए। तिनी हुन्‌ उदय थलुङ। पुरस्कार पाएपछि कालेबुङको जुबिली उच्चतर माध्यमिक विद्यालयले बोलाएको सम्मान कार्यक्रममा उदय थुलुङले विद्यार्थीहरूलाई भनिरहेका थिए- ‘त्यसरी धुलाई खाने विद्यार्थी थिएँ म।’
...


  • राती घॉंस काट्‌ने मान्छे


कवि भूपेन्द्र सुब्बा, निमा शेर्पा र म उदय थुलुङको नयॉं घरमा थियौं र उदय थुलुङलाई नै कोट्याइरहेका थियौं- ‘त्यसरी कुट्‌थे र तपाईँका पापाले?’
...
 अचार खाने प्लेटको माइक बनाएर सुता डोरीको तार सिकुवामा जोडेर झुण्डाएपछि तिनलाई नेता भएँ भन्ने लाग्थ्यो। तर खान्थे माटोको भात। वास्तवमा खाएको नाटक गर्थे। यो नाटकमा तिनी भाइको पार्टमा थिए। दिदी देवकी (बढाबाबुकी छोरी) ले ढुङ्गाको जॉंतो बनाएर माटो पिस्थिन्‌। फाटेको हापेन्ट लगाउने तिनी दिदीलाई सघाएको नाटक गर्थे। केटाहरू थुप्रिएपछि भॉंडाकुटी बिर्सिएर पानीकागजको गोलीलाई तारले कसिरहेका हुन्थे। एकछिनमा तिनी सेकेन्ड सर हुन्थे। सेकेन्ड सर मङ्‌पूका फेमस फुटबलर। यतिबेला तिनी तिनै फुटबलरको नाटक गर्न भ्याउँथे। ढुङ्गेघारी आँगनको मैदानमा पानीकागजको फुटबल ढुङ्गाको पोष्टबाट छिराउँदा निधार र गालामा मैलो पसिनाको दाग बस्थ्यो। देब्रे पाखुराले सिङ्गान पुछ्‌दा पुछ्‌दै खुस्काइ पठाउँथे बुढी औंलाको नङ।
‘एइ बजिया, हन खेलिबस्छस्‌, घॉंस काट्‌दैनस्‌?’ पिता सूर्यबहादुर राई कराएपछि डोको-नाम्लो टिपेर हान्निन्थे रियाङ खोलातिर घॉंस काट्‌न। एकदिन रियाङ खोलाको छङछङ पानीले अनुहार धोए। गएको घॉंस काट्‌न, खेले खोला। स्यानु खोलामा पौड़िन जान्नु परेन। पानी भए भइगो। कतिबेला रात पर्‍यो कुनै केटाहरूले पत्तो पाएनन्‌। झमक्क सॉंझपर्दा गाईले नखाने सिन्दुरेको रुखको टुप्पोमा थिए तिनी। सिन्दुरेको स्याउलाको भारी बोकेर घर पस्दा गाई कराएर हैरान पारिसकेको थियो गाउँलाई। तिनले त्यही सिन्दुरेको घॉंस हालिदिए। तर गाई कराउन छोडेन। हत्तुहैरान परेर भर्खर घर पसेको सूर्यबहादुर राईको कन्सिरी तात्तियो। सूर्यबहादुरले गाईको टाट्‌नोको गॉंस निकाले र निकाले हँसिया, डोको र नाम्लो र कराए- ‘घॉंस काट्‌छस्‌ कि गॉंस खाएर घर बास गर्छस्‌?’
राती हुँदो अहिलेका चर्चित कवि-कथाकार उदय थुलुङ घॉंस काटिरहेका थिए।
...
‘कुट्‌नै परेन नी, म रुनको निम्ति यही दण्ड काफ्फी थियो’-उदय थुलुङले भूपेन्द्र, निमा र मलाई भने जवाबमा।
...


  • नबिर्सने प्रेम र छट्‌पटि


हामीलाई सोध्न मन लाग्यो- ‘प्रेम गर्नु भो केटीहरूसित?’ थुलुङको ओंठमा मुस्कान उदायो। अहिले प्रेम गरिरहेका भूपेन्द्र र निमाको चाखको विषय त थियो नै। तर प्रेम भन्नसाथ उदय थुलुङभित्र एउटा छट्‌पट्टि तिखो भएछ।
 ‘तिखोले घोंच्दा पनि मज्ज आउने कुरा त प्रेममा नै त हुन्छ नी, -तिनले भने।
...
आठौं श्रेणीमा हुँदा एउटी केटी मनमा बस्यो। पटक्कै मनबाट निस्किए पो। स्कूलको झरापको दुलोबाट उदय थुलुङ उसलाई चिहाउँथे। थाहा छ तपाईँहरूलाई? आठौंदेखि दशौं श्रेणीसम्म उदय थुलुङ हत्तपत्त नागा बसेनन्‌। कारण थियो उही केटी।
 ‘तर उसलाई थाहा नै भएन मैले उसलाई प्रेम गरेको।’-तिनले हामीलाई खल्लो बनाए। केटीले थाहा पाइनन्‌ त के भो गाउँको एउटा केटोले थाहा पाएछन्‌। जो ती केटीलाई मन पराउँथे। त्यो केटोले उदय थुलुङलाई पिट्‌न चहान्थे र भन्न चहान्थे-‘त्यो केटी मेरो हो बुझिस्‌, आँखा मात्र लगा त फोरिदिन्छु।’
 उदय थुलुङ तिनको सामुन्ने कहित्यै परेनन्‌। लुकेरै बॉंचे। एक दिन तर केटी हराइन्‌ जतिबेला तिनी दशौं श्रेणीमा थिए। जीवन यति अँध्यारो पनि हुँदोरहेछ भन्ने कुरा पहिलोपल्ट त्यतिबेला उदय थुलुङले थाहा पाएछन्‌।
 ...
 सुनाम र बदमान एकैसाथ कमाएका नेता सुबास घिसिङ मङ्पूको नालीडॉंडामा भाषण गर्न आएका थिए। सुन्न मन लाग्यो उदय थुलुङलाई पनि। तिनी हेर्दैथिए सुबास घिसिङलाई। माला लगाउने लहरमा उही केटी उभिएकी थिइन्‌। लुङ्गी र पानी जुत्ता लगाएकी बगाने कॉंटकी ती केटी देखेर उदय थुलुङ दिनभरि उदास बनिबसे।
...
सर्कसमा एउटी केटीले खेला देखाउँथिन्‌। सर्कस तीनपल्ट हेर्दा आफू झुक्किएको तिनले थाहा पाए। ‘त्यही केटी होला भनेर धाएको त होइन रहेछ’-उदय थुलुङले भने। ‘अहिले कहॉं छिन्‌ त तिनी’-मैले सोधेँ।
‘खै कुन्नी त हौ कहॉं छिन्‌’-ढॉंटेकै जस्तो भान हुने तिनको उत्तर थियो। तर भने-‘के गर्दै होली, लागिबस्छ नी अहिलेसम्म।’ तिनको पहिलो प्रेमको छटपट्टि देखेर हामीलाई पो मज्ज लाग्यो।
 ...


  •  अस्पतालमा निरोगी माया


दार्जीलिङ सदर अस्पतालमा अर्चना रोगी स्याहर्न आएकी थिइन्‌। थुलुङ पनि रोगी हेर्न पुगेका। तर देखे अर्चनालाई। ‘दुख्दो त यहॉं जिन्दगी नै छ’ (तिनको पहिलो कविता संग्रह) भनिबस्ने थुलुङको दुःख सदर अस्पतालमा नै निको भयो। एकैपल्ट अस्पतालमा भेटिएको अर्चनाले पनि थुलुङको आँखा पढिछन्‌। कवि परे प्रेममा। त्यसपछि लामालामा प्रेमपत्र बिना थुलुङ जिउँदो बस्न सकेनन्‌। किन भने यसपल्ट अर्चनाले चिनेकी थिइन्‌ कवि प्रेमको उज्यालो अनुहार। ढुक्क थिए थुलुङ। अघिको केटीले पो थाहा नै पाइनन्‌ त!
एकदिन युनिक बस पक्रेर हानिए सिक्किम। नाम्चीबाट हिँडेको स्टेट बसबाट सालघारीमा ओर्लेपछि पैदलै हिँडिरहे एक्लै मनमा अर्चना बोकेर। घर पुग्न सकेनन्‌। राजु होटलमा बसे बास। फेरि बिहानै हिँड्‌न शुरु गरेर भेट्टाए बोजुको घर। बोजुले ज्वाईँनारायण चिन्न अबेर गरिनछन्‌। फर्किँदा तिनको साथमा अर्चना थियो। ‘त्यसपछि अझ साथै छिन्‌। 2014 अप्रेलमा त बिहेको सिल्बर जुब्ली मनायौँ-थुलुङले लामो सास तानेर भने।
...


  •  रक्सीको गिलासमा कविता


त्यसबेला बाजेको हापेन्ट र रक्सीको गिलास एउटै हुन्थ्यो-धर्के। जीसी कलेज धाउन एक्लै कोठा लिएर बसेको थुलुङको टेबलमा त्यही धर्के गिलास हुन्थ्यो। सिंहमारीको मासिक दुइसयको त्यो कोठामा पसेर जति गिलास रक्सी सोड्‌क्याए त्यति नै थान कविता पनि लेखे। कलेजमा पहिलोवर्षको छात्र विज्ञानका। तर रक्सी कलेजमा तेस्रोवर्ष पुगिसकेका। खिर्की र दैलो थुनियो कि थुलुङको हातमा धर्के गिलास। एक पावा लोकल डडुवा स्वाट्ट पारेपछि भावना फुट्‌थ्यो। ढॉंट्‌नै नजान्ने थुलुङ पावा लाएपछि मस्त। ‘सुन्नु भो, ‘दुख्दो त यहॉं जिन्दगी नै छ’ त एक एक पावाले नै पो लेखियो त’-भनेर मरिमरि हॉंस्छन्‌ थुलुङ। निमा भूपेन्द्र र म हेराहेर गर्छौं।
‘हामी बोतलै रित्याउँछौं र पनि खै त कविता?’ भन्नु खोजिरहेको हामी तर उदय थुलुङलाई केही भन्दैनौं।
...


  • यो सडक हाम्रो होइन?


‘मातिन्छ अचेल पनि?’ कविता किताबै मातेर लेख्ने कविलाई यति सोध्नु सकिन्थ्यो। भने-‘कोइकोइ बेला।’-भाउजु अर्चनाले सुनेकी भए आँखा तर्थिन्‌ कि यतिबेला। राईको छोरा, जानेकै छिन्‌ भाउजुले पनि तिनलाई। तिनी ‘ब्रान्डेड मत्थु’ होइनन्‌। पुजापाठैमा चल्ने कुरा अलिअलि मुखतिर पनि त चल्छैचल्छ नी। रक्सीको गिलास हातमा उठ्‌छ भने त्यो कुनै विशेष ‘ओकेजन’ नै हुन्छ। ओकेजन सधैँ राम्रै थेग्छन्‌ थुलुङ। एक दिनको ओकेजन भने चिप्लिएछ। घरैमाथिको मूल सडकबीचमा ‘ओकेजन’ थेग्न नसकेर हल्लिरहेका थिए थुलुङ एकदिन। साथीहरूले तानेर किनारा पार्थे फेरि बीचैमा पुग्थे। एउटा सानो वाहन आयो र हर्न नै बजायो। बीचबाट निस्किए पो थुलुङ त। वाहन भित्ता सेपेर भाग्यो। एकछिनमा ट्रक आयो। साथीहरूको निम्ति भने आपत आयो। जत्ति नै ताने पनि छोडे पो बाटो। हल्लाखल्ला भइसकेको थियो।
तब थुलुङ कराए- ‘किन छोड्‌नु म बाटो? के यो बाटो गाडीको मात्र हो? मान्छे हिँड्‌ने बाटो होइन? गाडीलाई कति बाटो छोड्‌नु? कोइकोइ बेला त मान्छेलाई पनि गाडीले बाटो छोड्‌ न। हँ? गाडीको मात्र बाटो हो यो?’
...


  •  गर्लफ्रेन्ड?


सूर्यबहादुर राई खुबै शालिन्‌। तर दुइओटी स्वास्नी। आमा विष्णा झन यति शालिन कि कान्छी स्वीकारिन्‌। उदय थुलुङ पनि खुवै शालिन्‌। ‘कसैको मन दुखोस्‌’-सम्झेर उल्टै तिनको मन दुख्नेगर्छ। नबिझाउने मान्छे। तरै पनि भन्छन्‌-‘बाबा र आमाको शालिनता हन्ड्रेड पर्सेन्ट चॉंही ममा आएन। त्यो शालिनता आएको भए गाडीलाई कहॉं गाली गर्थेँ र म?’ पापासित जति मित्रता हुनुपर्ने त्यो भएन। अर्चना भाउजु भन्छिन्‌-‘बाबु कोठामा हुँदा छोरा भन्साघरमा नहोस्‌। धन्न हाम्रो त्यस्तो छैन।’ जवान छोरा विश्वदीप दोस्रोवर्षमा पढिरहेछन्‌। थुलुङ बाबुको छेउ पर्थेनन्‌ विश्वदीप बाबाबिना सक्दैनन्‌। ‘हामी त साथी साथी छौं नी’-भने थुलुङले। हामीले औंला गन्यौं। आठौं श्रेणीमा हुँदा थुलुङ प्रेम गर्थे। विश्वदीप दोस्रोबर्षमा कलेज पढिरहेका छन्‌। मैले भने-‘गर्लफ्रेन्ड रैछ विश्वको?’ तिनी झस्किए र उल्टै सोधे-‘गर्लफ्रेन्ड? ‘ला....त्यो त थाहा छैन हौं। छैन कि! सोध्नु पनि अप्ठ्यारो...’
थुलुङको बाबापन देखेर हामी मरिमरि हॉंस्यौं। हॉंस्दा हॉंस्दै समय निक्कै गयो। खै ‘एकान्तवास ’का प्रत्येक कथाको नेपथ्य लेख्ने उदय थुलुङको नेपथ्य कति हो कति छन्‌। मैले त यति नै खुस्काउन सकेँ। यो पढेपछि अरुले नी कसो नखुस्काउँलान्‌ त उदय थुलुङको नेपथ्य?

bogati1979@gmail.com

No comments:

Post a Comment