विचारविहिन शब्दहरूको थाकमा सुत्ने लासलाई मेरो सलाम छ

देश मुर्खहरूको भए अरुन्धती पनि मुर्ख भइगए

ds Count: 246  |   
कवि मनोज बोगटी
कवि मनोज बोगटी
मनोज बोगटी नेपालीभाषी भारतीय कवि हुन् । भारतको दार्जलिङमा बसेर काव्य क्षेत्रमा हस्तक्षेप आन्दोलन चलाइरहेका बोगटी आम मानिसले बुझिने भाषामा तिख्तर कविता लेख्न सिपालु छन् । उनको पछिल्लो कविता सङ्ग्रह ‘काफरे अमेरिका’ धेरै पाठकले रुचाएको कृति हो । विचारसहितको कविता नै साँचो कविता हो भन्छन् उनी । पछिल्लो समय स्वर्णभूमि दैनिकको सोमबारे परिशिष्ट ’शब्द’मा अल्झिएको बताउने बोगटी हालसालै नेपाल आउने योजना नभएको बताउँछन् ।
प्रस्तृत छ, साहित्य एकेडेमी पुरस्कारबाट समेत पुरस्कृत भईसकेका उनै कवि मनोज बोगटीसँग खबरडबलीका लागि राजु स्याङ्तानले गरेको सम्वाद ।

साहित्यमा तपाईँ हस्तक्षेप आन्दोलन चलाइरहनु भएको छ, के हो हस्तक्षेप आन्दोलन भनेको ?
हस्तक्षेप, समाजमा मनोवैज्ञानिकरूपले स्थापित गरिएको सत्ताआदर्श, जो मानिसले बाँच्नु पाउने परिवेशको ठीक विपरीत छ, त्यसलाई तोड्ने किसिमको अनि निश्चल मानिसको आफ्नै आदर्श निर्माणको निम्ति गरिनुपर्ने साहित्यिक संवाद हो । सत्ता चलखेलले जीवनलाई जीवन हुनबाट कहाँ कहाँ कसरी कसरी रोकेको छ ? त्यो देखाउने औंली हो, हस्तक्षेप । हामी दार्जिलिङमा नेपालीभाषी जो छौँ, उनीहरूलाई राज्य सत्ताले भाषिक, प्रशासनिक, सांस्कृतिक, अर्थ नैतिकरूपले सधैँ पाखामा पार्ने जुन जुक्ति गर्छ, त्यो कठोर समयले आग्रह गरेको एउटा साहित्यिक बाटो हो, जहाँबाट हिंड़ेर समाजले जम्मै किसिमको हेपाइबाट मुक्त हुने स्पेस भेटुन् भन्ने हाम्रो सपना हो ।

सत्ता चलखेलले जीवनलाई जीवन हुनबाट कहाँ कहाँ कसरी कसरी रोकेको छ ? त्यो देखाउने औंली हो, हस्तक्षेप ।
तपाईकै भाषामा सत्ताआर्दशहरु भत्काउन के साहित्यिक आन्दोलनले मात्रै सक्छ ? यसका लागि गतिलो राजनैतिक दर्शनको आवश्यकता कत्तिको देख्नु हुन्छ ?
म एकजना सर्जक हुँ । सिर्जनाको माध्यमबाट गर्नुपर्ने काम यही हो । राजनीतिकर्मी, सांस्कृतिकर्मी, सामाजिक कार्यकर्र्ताहरूले पनि आफ्नो ढङ्गले यसरी नै काम गर्नुपर्छ । राजनीतिक थोक, जो समाज सरोकृत छन्, यसलाई बोकेर समाजमा लैजाने काम सिर्जनाले नै बलियोसित गर्छ । राजनीति भन्नाले जुन संस्थाको विम्ब आउँछ वा राखिन्छ, त्यसमाथि विश्वास गरेरै मानिसले उसको आदर्शलाई स्वीकार्छ, तर उनीहरूलाई त्यो सत्तादर्शको नियत, त्यसको उपादेयता, त्यसको चलखेल, स्वार्थलाई कसरी चिन्ने ? त्यसको लागि कुनै माध्यम त चाहिन्छ, त्यो हो साहित्य ।
यसकारण साहित्यिक आन्दोलनले राजनैतिक काम गरिरहेको हुन्छ, त्यो काम कुनै संस्थानिकृत राजनीतिभन्दा धेरै हद प्रभावकारी हुन्छ । मानिसलाई साहित्यले राजनीतिकरूपमा नै बलियो बनाउने काम गर्छ ।
हस्तक्षेपलाई लागेको विश्वास हो, यसले दिने चेतना रगतजस्तो मानिसमा सञ्चार हुनेछ, जसले जीवनलाई जोगाएर राख्न मानिस सक्षम बन्नेछन् ।

हस्तक्षेप अभियानका अभियन्ता राजा पुनीयानी प्रगतिशील स्वर मुखरित साहित्य नै हस्तक्षेत्र अभियानको साहित्यको मुल आधार भन्छन्, हस्तक्षेप अभियान प्रगतिशील श्रष्टाहरुको साहित्यिक अभियान हो भनेर बुझ्न सकिन्छ ?
पक्कै बुझ्न सकिन्छ, प्रगतिशील विचारबिना हस्तक्षेप नै गर्न सक्दैनन् । इतिहास र वर्तमानको समयप्रवाहमा सामन्ती सङ्कीर्णता, औपनिवेशिक दबदबा र  सांस्कृतिक साम्राज्यवादको मातहतमा थोपिएको ‘हेजेमोनी’ चिन्तनको प्रतिचिन्तन गर्दै प्रतिवादी लेखनीसित अघि बढिरहेको हो हस्तक्षेप लेखन । जनपक्षीय विचार मूलमा राखेर शिक्षा, मिडिया र बजारको माध्यमद्वारा व्यवस्थाले कार्यक्रम गरिने गरिएको पाठकको सोच्ने व्यवस्थाभित्र एउटा सिर्जनात्मक हस्तक्षेप गर्ने समूह हो यो। राजा पुनियानीको कुराको आशय पनि यही हो ।

भारतीय समाज असहिष्णु बन्दै गएको छ । भारत मुर्खहरुको देश बन्दैछ भनेर अरुन्धती रोयले भनेको पनि सुन्यौं । तपाई नेपाली भाषी सर्जकहरु बिशाल भारतको एउटा कुनामा बसेर गर्नु भएको आन्दोलनले के परिर्वतनमा टेवा पुग्ला त ?
1920098_349478131859083_1634012671_n
हिन्दुवादी कट्टरपन्थीहरूको नियतलाई प्रोत्साहित गर्ने खेल सत्ताले गरिरहेको कारण नै समाज असहिष्णु बन्दै गइरहेको आजको सन्दर्भ हो। अरुन्धती रोयको लक्ष्य पनि ती नै कट्टरपन्थीहरूसित हो। देश नै मुर्खहरूको हो भन्ने कुरा मान्न सकिन्न, यदि यसै भनिएको हो भने रोय पनि मुर्ख भइगए । हामीले मानेको परिवर्तन संस्थानिकृत राजनीतिक परिवर्तन होइन, असहिष्णु समाज निर्माणका कारण, कारक र कर्तालाई बुझ्ने समाजको स्थापनाको निम्ति साहित्यको बुझाइमा सहयोग गर्छ । साहित्यिक आन्दोलनले चेतनाको स्तरमा परिवर्तन ल्याउनमा सहयोग गर्छ । भारतको सानो कुनामा भइरहेको यो आन्दोलनले त्यो कुनालाई नै असहिष्णु समाज निर्माणका कारण, कारक र कर्ताबारे भनिदिनुसक्यो भने त्यो ठूलो काम हुनेछ ।

मेची नदीले हामीलाई वारीपारी बनाइदियो । हाम्रो पीडा, व्यथा करिव करिव समान छन् । समान उद्देश्य बोक्नेहरुबीच दक्षिण एसिया स्तरको प्रगतिशील साहित्यिक मञ्च बन्न सक्ला ?
पक्कै सकिन्छ। त्यसको निम्ति दक्षिण एसियाभरका समानविचार र उद्देश्यका सर्जकहरूलाई एउटा मञ्चमा ल्याएर विमर्श हुनुपर्ने हो, त्यसो भइरहन सकेको छैन।

त्यो पहल दुबै तर्फबाट किन भईरहको छैन ?
दुवै देशमा आन्तरिक समस्याहरू तीब्र छन्, दुई देशबीचका कतिपय राजनैतिक कारणले पनि यसो हुन पाइरहेको देखिन्न। नेपाल र भारतमा धेरै ठूलो समूहले काम गरिरहेको जस्तो लाग्छ, सिर्जनात्मक भेटघाट भइरहेतापनि मञ्चीय संयोजनले एउटा बिन्दु भेटिरहेको छैन।

नेपालमा एकाथरि कविहरु कविता सरल बोधगम्य हुनु पर्छ भनिरहेका छन् । अर्काथरि कविता सरल सोझो सपाट बर्णन गरिने वस्तु होइन भनिरहका छन्, यस बारेमा हस्तक्षेप आन्दोलनले के भन्छ ?
सरल कविता लेख्नु कविको कलात्मक क्षमतामा भर पर्ने कुरा हो। सरल लेख्न सक्नु कलासम्पन्न कविले सक्ने हो। कविता सपाट वर्णन हुँदै हुँदैन, यदि हुन्छ भनियो भने त्यो कविता नै हुँदैन। हस्तक्षेप भन्छ, कविताले दिने विचारले जुन शैली र कला माग्छ, त्यो मात्र दिइने हो, कला र विचारको विछट्टै सुन्दर संयुक्तिले निर्मित होस् कविता। जुन कविता आम मानिसले पनि बुझ्न पाउन्।
कलाका नाममा अत्याधिक सिंगारिएका कविता, जसको अन्तर्य खोक्रो छ र त्यसको पठनपछि कसैलाई उद्वेलित पार्न सक्दैन, त्यो पनि कविता हुन सक्दैन। कुरा बटारेर केही हुँदैन, सोझो, सरल र स्पष्ट ढाँचाले आमदेखि बौद्धिकसम्मको दिमाग रन्थनाउने कविता नै शक्तिशाली कविता हो। कविताको रूपबारे झगड़ा गर्नु अनावश्यक हो। कविता भनेकै कला हो, यहीँ धेरै चुक्छन्। र, कविताको नाममा तथानाम पनि आउनु भएन। कविता सचेत कारिगरी हो।

कुरा बटारेर केही हुँदैन, सोझो, सरल र स्पष्ट ढाँचाले आमदेखि बौद्धिकसम्मको दिमाग रन्थनाउने कविता नै शक्तिशाली कविता हो। कविताको रूपबारे झगड़ा गर्नु अनावश्यक हो।

आम मानिसले बुझ्ने त लोक गीतहरु हुन् । कवितामा त छुट्टै श्रृङ्गार, माधुर्यता, बिम्ब–प्रतिक, अलंकारयुक्त हुनुपर्छ भन्ने होइन र ?
लोकगीत चाहीँ श्रङ्गार, माधुर्यता, बिम्ब–प्रतिक अलंकारयुक्त हुन्नन् र ? त्यो उनीहरूका बेकारका कुरा हुन् । उनीहरूको बुझाई खराब नियतबाट आएको हुनसक्छ। के उनीहरूले सहज, सरल कविता श्रृङ्गार, माधुर्यता, बिम्ब प्रतिक अलंकारयुक्त हुँदैन भनेर देखाउन सक्छन् ? जसले यस्तो कुरा सोच्ने गर्छन्, उनीहरू धेरै भ्रमले सिकिस्त छन्।

अबको साहित्य कस्तो लेखिनु पर्छ त त्यसो भए ?
यस्तो लेख त म भन्दिन। तर मेरो समाज अहिले भारतीय केन्द्रले किनारमा पारेको समाज हो, त्यहीमाथि वैश्विक बजारवादले पनि निलिरहेको छ। भित्री बाहिरी कर्पोरेट्सहरूले हाम्रा संवेदनालाई मारेको छ, जसको कारण मानिस कुनै कम्पनीको उपभोक्ता, कुनै राजनैतिक दलको ‘भोट’, कुनै शक्तिकेन्द्रको दास मात्र बनिरहेको छ । यदि त्यो समाजमा ती थोकहरू जस्ले उसका जम्मै अधिकारहरूको विरुद्ध चुपचाप बस्ने मनोविज्ञान तयार पार्छ, त्यसबारे बोलिदिने साहित्य लेखियोस्, जम्मै जडताको विरुद्ध बोल्न सक्ने चेतनाको पक्षमा साहित्य लेखियोस्, मानिस र प्रकृतिको रक्षार्थ जम्मै मू्ल्यबारे बाटो देखाइदिने साहित्य लेखियोस्, मानिसलाई सामाजिक, राजनैतिक, सांस्कृतिक अन्तविरोधहरूबारे हेर्न सिकाउने ज्ञानानुशासनको निर्माण गर्न सक्ने साहित्य लेखियोस् भन्ने लाग्छ।

manoj1
तपाईको समग्र कुरामा विचार सहितको साहित्य हुनुपर्छ भन्ने आयो । नेपालका केही साहित्यकारहरुमा त  बिचार र राजनितिले भरिएको साहित्य साहित्य नै होइन भन्ने मत पनि छ नि ?
कुनै पनि सर्जकले यसो भन्न सक्दैनन्। जसले भनिरहेका छन् उनीहरू सर्जक होइनन। विचार र  राजनीति नभएको साहित्य के साहित्य। विचार र राजनीति नभएको शब्दहरूको थाकमा सुत्ने ती महान लाशलाई मेरो सलाम छ। कुनै पनि कविताले कसरी के भनिरहेको छ ? त्यो सुन्नु पर्छ। कविताबाट कुनै आवाज आयो भने मात्र सुनिन्छ। आवाज चाँही आउने तर कुरा चैं नबुझिने भयो भने त्यो लाटो कविता भयो। त्यसको सेरोकार समाजलाई छैन, ती लेख्ने कविलाई बाहेक । आवाज आयो तर काम लाग्ने भएन भने पनि त्यसको प्रयोजन समाजमा रहेन। समाजलाई काम लाग्ने कुरा विचार नै हो। र जसले विचार गर्छ उसले राजनीति पनि गर्छ। राजनीतिको अर्थ धेरैले ’दल’ बुझ्लान्, राजनीति भनेको मानिसका मूल्यहरूबारेका ज्ञानुशासन हो। समाजलाई कुनै विचार दिन नसक्ने साहित्य कहीँ हुन्छ र ?

विचार र  राजनीति नभएको साहित्य के साहित्य। विचार र राजनीति नभएको शब्दहरूको थाकमा सुत्ने ती महान लाशलाई मेरो सलाम छ।
अन्तमा, हस्तक्षेप अभियानको आगामी योजना  ?
हस्तक्षेप पत्रिकालाई निरन्तर गर्ने, एउटा पोएट्रिक व्यान्ड बनाएर मानिसहरूमा पुग्ने, छलफल र अन्तरक्रियात्मक काम गर्ने योजनाहरू छन्। यसो त कतिले सडकमा, कतिले ग्रामीण क्षेत्रमा, कतिले शहरी क्षेत्रमा कवितामार्फत मानिसहरूसित संवाद गर्ने काम जारी नै छ। यसलाई अझ प्रभावकारी र व्यवस्थित गर्ने योजना पनि छ।

प्रेमको सौन्दर्य

खासमा म प्रेम गर्न नजान्ने प्रेमी हुँ। तर, प्रेम त सबैले गर्छन्, जानेरै गर्छन् र? मैले पनि गरेँ। तर, त्यो प्रेम नै थियो भन्न म सक्दिनँ। तर, यो पनि जान्दछु, प्रेम बुझेर गरिने कुरा होइन।
काफ्काले रिल्केलाई लेखेको प्रेमपत्रमा भनेका छन्, 'मान्छेलाई प्रेम गर्नु छ भने उसका कमजोरीहरूसितै गर्नुपर्छ।'तर, कमजोरी पनि ज्ञानको अर्को अनुशासन हो। यसलाई बुझ्न कठिन छ। सबै कमजोरी बुझ्न सकिन्‍नँ। नसक्नु पनि कमजोरी होला। 
काफ्काको चिठी पढेपछि लाग्यो, यो त अन्तरबाट जन्मिएको एउटा अनुशासन हो, जुन अन्तरमा असीम पीडा सधैं साँपजस्तो बस्नसक्छ, लुक्नसक्छ। त्यो पीडाभित्र प्रेमको जुन फूल हुन्छ, त्यो सबैले देख्ने कुरा होइन।
त्यो साँपले काफ्कालाई सधैं डसिरह्यो होला। तरै पनि मरेन प्रेम। काफ्काले भयलाई आफूभित्र राखेनन्। यदि राखेको भए तिनलाई भयले खान्थ्यो। प्रियसी, तिनै भयहरूका साथी हुन्। 
काफ्काको निम्ति पनि मिलेना भयका साथी थिए। काफ्कालाई मात्र होइन, मिलेनाले काफ्काका भयहरूलाई पनि प्रेम गरेका थिए । रमाइलो लाग्थ्यो काफ्कालाई कि तिनीसित मिलेनाले प्रेम गर्ने लायक भय त छ।
मलाई थाहा छैन प्रेम गरिराख्नका निम्ति लायक मसित के छ?
काफ्काले रिल्केलाई (मिलेना) पाएनन्। त्यसकारण रिल्केले काफ्काको पत्रको जवाफमा त्यही सर्पजस्तो बसेको पीडाबारे लेखिन्, ‘मौनताबीच पनि पीडाको एउटा खोल्सा बगिरहन्छ।'
काफ्का र मिलेनाको प्रेमपत्र पढ्दा म आफ्ना ती प्रियसीहरू सम्झिन्छु, जोसित धेरै भावुक सम्बन्ध राखियो। जतिखेर प्रेम बुझ्दिनथेँ, त्यतिखेर धेरै प्रियसी थिए। जतिखेर प्रेम बुझ्दैथिएँ, कोही थिएनन्।
यस्तोमा मेरी प्रियसी बन्न आइन् भक्ति जसले धेरै कठिन परिस्थितिमा मेरो प्रेम चिनिन्। हजारौं सपनालाई गाडेर, मेरो बगर विपनामा पाइला राखिन्। तर जतिखेर काफ्काको प्रेम सम्झिन्छु, एकफेरको जीवनमा यस्तो कठिन प्रेम गर्न नपाइएको बेस्वाद भने लागिबस्छ।
कवि राजा पुनियानीको प्रेमबारे पनि मलाई थाहा छ। कवि निमा शेर्पाको प्रेमबारे पनि। कवि लेखनाथ छेत्रीको प्रेमकथाले त म धेरैपल्ट भत्किएको हुँ।
म पनि मेरो प्रेमकथा साथीहरूलाई सुनाइबस्छु, आज पाठकलाई सुनाउँछु।
म किन आफ्नो प्रेमको गफ गरिरहेको छु, यसबारे यकिनसाथ म भन्न सक्तिनँ।सायद, काफ्काले भनेजस्तो कमजोरीसहितको प्रेम गर्न नसकेको पछुतो छ मसित। एउटा असीम पीडा मसित पनि छ।
त्यो यस्तो छ।


प्रेमको सही जवाफ

कसरी मन पराएँ, मलाई थाहा छैन।
डाई गरेको कालो जिन्सको प्यान्ट। छिङ्छिङ् बज्ने डिंगो बुट। सानासाना टुक्रा जोडेर सिलाएको थोत्रो लेदरको ज्याकेट। 'फूल और काँटे' फिल्मको अजय देवगनमारको हेयर स्टाइल।
डेटिङमा जाँदा मेरो गेटअप यस्तो थियो।आइतबार साँझ सधैं हुन्थ्यो डेटिङ। उसकै घरमाथिको बोटनिस गोलाइमुनिको लेमनगुराँसको घारीभित्र ।
कतिऔं डेटिङ थियो त्यो ? त्यो पनि मलाई थाहा छैन।
शनिबार स्कुलछेउको झ्याम्म परेको भोगटेको फेदमा साथी राजुलाई एउटा सानो चिर्कटो दिइछे। लेखेकी रहिछे, ‘छबेको मन्दिर जुम ल? आइतबार १ बजी म तपैँको घरमुनि आउँछु।'
ऊ गैरीबासकी, म दलगाउँको । छबेको मन्दिर मेरै गाउँमा । तर, एक घन्टा हिँड्नुपर्ने।
म बिहानैदेखि घरमुनिको सडक हेरिरहेको थिएँ । स्कुलमा जस्तै दुइटा केश बाटेकी। आई। म झरेँ।
मन्दिरमा सोधी, ‘के माग्यौ? '
मैले भनेँ, ‘तिमीलाई।'
उसले के मागी मलाई कसैगरे पनि बताइन। मैले झगडा गरेँ। पटक्कै बताइन। हामीले साँझ परिन्जेल जीवनको सपना देख्यौं। हज्जारौं बाचा गर्‍यौं । जीवनभर माया गर्ने संकल्प गर्‍यौं।
झमक्क साँझमा हामी त्यही बोटनिस गोलाइमुनिको लेमन गुराँसको घारीभित्र थियौं।
उसले ज्यानमारा प्रश्न गरी, ‘मलाई पाएनौ भने के गर्छौ?'
'किन धोका दिने मलाई?' उसलाई उल्टै सोधेँ।
'होइन लाटा, म धोका दिन सक्छु?' उल्टै सोधी ।
'सक्दिनौ', भनेँ, ‘अनि किन यसरी सोधेको त?'
उसले मलाई अँगालो मारी। मैले भुइँमा सिन्काले माटो कोट्याइबसेँ।
'बाइचान्स हौ बाइचान्स, म कसैको भएँ रे, त्यतिखेर तिमी के गर्छौ?' सानो स्वरमा सोधी।
मैले भनेँ, ‘खोसेर ल्याउँछु।'
त्यसपछि हामी हाँस्यौं।
हामी एकअर्कासित प्रेम गर्थ्‍यौ। हामीबीच कहिल्यै शारीरिक सम्बन्ध भएन।

...

१९९६ मा मैले माध्यमिक परीक्षा दिएँ । स्कुल जानु परेन। रिजल्ट पर्खिनु पर्‍यो। बेकारी थिएँ। ऊ आठमा पढ्थी। अग्ली थिई। म उसलाई तब्बुजस्तै देख्थेँ। भन्थेँ पनि तब्बु नै। बस्नेतकी छोरी। बाबु पुलिस। आमा बगानमा जाने।
स्कुल पढ्दा उसैको घरमा खाजा खान जाने। उसको घरमा हामी साथीसाथी थियौं। ऊ मेरो घर कहिल्यै आइन।
मेरो सानो घर थियो। दुई कोठाको। बेकारी परिवार। बाबा आरा काट्नु जानुहुन्थ्यो। आमा रक्सी पार्नुहुन्थ्यो। स्कुल जाने म मुनिका तीन बहिनी। म माध्यमिक दिएर घर बसेको।
जंगलमा 'फ्याँक्रे' भन्ने गुवा सुपारीकै प्रजातिको पोथ्रा पाइने। फ्याँक्रे काँचोमै र सुकाएर पनि सुपारीजस्तो टोक्न मिल्ने।त्यो दिन बिहानै दुई भारी फ्याँक्रेको पात काटेर ल्याएँ। अघिल्लो दिन मात्र हामी छबेको मन्दिर गएका थियौं। अनि भगवान्सँग मागेको थिएँ उसलाई।भनेको थिएँ, ‘उसलाई मेरो जीवनसाथी बनाउनु है भगवान्।'
आमाले मलाई मान्‍न थालिसकेकी थिइन्। पत्रपत्रिकामा कविता छापिन थालेका थियो। 'आजभोली' दैनिकमा मेरो कतिवटा कविता छापिन्थ्‍यो, त्‍यो बोकेर आउँथी ऊ।
फ्या“क्रेको पात निक्कै खप्छ। गाई पालिएको थियो। त्यसको गोठ छाउन पात ल्याएको हुँ। चोया काटेँ, भाटा काटेँ। बोलो लगाएर म पातले छाना लगाइरहेको थिएँ। झन्डै सकिन लागेको थियो। ३ बजेतिर राजु आयो। राजु उसैको क्लासमेट।
'इ उसलाई त माग्नुआको छ अरे, आजु लान्छ अरे, मो त छक्क परेँ, अन्त तोलाई भन्नु कुदेर आको।'
'रेला नगर न ओइ', मैले पत्याइनँ।
अघिल्लो दिन त हामीले नछुट्टिने कसम खाको। सँगै जिउने÷मर्ने कसम खाको।
'साँच्चि हो ओइ। रातो भ्यान आको छ लिनु।'
त्यसपछि मेरो सातो गयो। छानाबाट हामफालेँ।
हतारमा हातखुट्टा धोएँ।
डिंगो बुट लगाएँ। डाई गरेको त्यही जिन्सको कालो प्यान्ट लगाएँ। अजय देवगने केश कोरेँ र कुदेँ।गैरीबास हाइस्कुल छेउमा उसको घर छ। म त्यसको आधा घन्टाको उकालोमा थिएँ। डिंगो बुट छिङ्छिङ् बज्थ्यो। 
ओह्रालै कुदिरहेको थिएँ म, त्यही बजाउँदै। के थियो मनमा त्यतिबेला, मलाई थाहा छैन। आँखामा आँसुचाहिँ थियो। मनमा ढुकढुकी तेज थियो। कुनै आवाज थिएन ओठमा।
स्कुलमाथिको बोटनिस गोलाइ पुगेँ। त्यहाँबाट उँधो हेरेँ। केही देखिनँ। त्यसपछि कुदेँ, फेरि ओह्रालै। खासमा म उसलाई रोक्न हिँडेको थिएँ । त्यसरी ‘बाचा गरेर धोका नदेऊ' भन्न कुदेको थिएँ। के भनेर कुदेको थिएँ, खासखास भन्न अहिले पनि सक्दिनँ।
म स्कुल मैदान पुग्नै लागेको थिएँ। मैदानबाट रातो भ्यान हिँड्यो।एकछिन त्यहीँबाट चिच्याउन मन लागेको थियो मलाई। मैदानमा मानिसहरू सल्याङबल्याङ गरिरहेका थिए। मनमा डरजस्तो केही थियो।
मलाई अचानक नक्सल पुग्ने चोरबाटो याद आयो। त्यो गाडी घुम्दै त्यही नक्सल निस्किएर चाल्सा, मालबजार पुग्थ्यो। भ्यान घुमाउरो सडक हुँदै त्यहाँ आइपुग्दा म बाँसघारीको चोरबाटो नक्सल पुग्छु भन्ने लाग्यो। 
स्कुलमाथिको डिलडिल हुँदै म ५२ ब्लग गाउँको बाटो छड्किएँ। त्यही बाटो नक्सलमाथिको बाँसघारीको चोरबाटो थियो। छोटो बाटो। केही हिँडे किनभने त्यहाँ बाक्लो गाउँ थियो। 
गाउँमा कुद्‌न भएन। नकुदी हिँडे। जब बाँसघारी सुरु भयो, हातमा पञ्जाभरिको ढुंगा बोकेँ अनि तुफान कुदेँ। त्यति साह्रो स्पिड कहिल्यै कुदेको थिइनँ म। त्यति धेरै अग्ला कान्लाहरू कहिल्यै हामफालेको थिइनँ म।
म ओह्रालै डिंगो बुट छिङ्छिङ् बजाउँदै कुदिरहेँ।
खासमा म कुनै फिल्मको हिरो थिएँ, जसको प्रेमिकालाई कुनै खलनायकले लगिदिएको छ। म प्रेमिकालाई बचाउन कुदिरहेको छु।
भक्कानो फुट्न लागिसकेको थियो। आँखामा उसैको नक्सा थियो।
लागेको थियो, भ्यानभन्दा अघि नै म नक्सल पुग्छु र सडकमा हातमा ढुंगा लिएर उभिन्छु। ढुंगा हान्छु। गाडी रोकिन्छ अनि उसलाई लिएर म घर आउँछु। म नक्सल पुगेकै थिइनँ। माथिबाट तल नक्सलको घुमेको गोलाई देख्दै थिएँ। त्यतिखेरै रातो भ्यानले गोलाई काट्यो।
म त्यहीँ ठिंग उभिएँ। हातमा बोकेको ढुंगा हानेँ। मेरो बलले पुगेन। भ्यानसम्म ढुंगा पुगेन। भुइँमा भेटेको जति ढुंगा सोहोरेँ, हानेँ। जति ढुंगा हान्थेँ भ्यान उति टाढा जान्थ्यो।
हेर्दाहेर्दै भ्यान हरायो। म थचक्क बसेँ। अनि भुइँमा लडिबुडी गर्दै कराएँ। सकेजति आवाज निकालेर रोएँ।
बाँसघारी-घारी म रुँदै घर फर्किएँ।

...

त्यसरी छुट्यो पहिलो प्रेमिका।
यसरी बस्यो पहिलो प्रेमकथा मनमा।
खासमा म साँच्चि नै प्रेम गर्थें उसलाई। मलाई उसले छोडेर गएकोमा विश्वास नै लागेको थिएन। धेरै दिन स्कुलमाथि बसेँ, ऊ स्कुलछेउको भोगटेको रूखमुनि देखिन्छे भन्ने भ्रममा। 
धेरै दिन बोटनिस गोलाइमुनिको लेमन गुराँसको घारीमा बसेँ। धेरै दिन राजुलाई उसबारे सोधेँ। ऊ त साँच्चि नै गइसकेकी थिई।
मैले ऊसँग गरेको बाचा पूरा गर्न सकिनँ।
मैले भनेको थिएँ, ‘तिमीलाई कसैले लग्यो भने म खोसेर ल्याउँछु।'
मैले सकिनँ। मलाई थाहा छैन, उसले मलाई धोका दिई कि मैले उसलाई?
म फर्काउन आउनेछु भनेर के उसले पर्खिहोली?
कि उसले मलाई धोका नै दिएकी हो?
मसित यस्तो प्रश्नको सही जवाफ थिएन।
बेरोजगार परिवारमा थिएँ। आफू पनि बेकारी। बेकारीपन अजिंगरजस्तो थियो आफैंलाई। त्यो दिन मैले गाडी रोकेको भए के हुन्थ्यो होला?
पछि सुनेँ, आर्मीसित गइछे। उसलाई रहेछ घरको दबाब।
सायद यत्ति थियो मेरो प्रेमको सही जवाफ।


क्रूर प्रेम

ठूलो बहिनीले कुमाई चियाबारीमा बिहे गरी। चार घन्टा फरेस्टको बाटो हिँडेपछि बहिनीज्वाइँको घर पुगिने। एक दिन बिहान म बहिनीको घरको बाहिरको कोठामा केही लेख्दै थिएँ। सायद कविता।
स्कुलेहरू त्यही घरको आँगन भएर हिँड्दा रहेछन्। स्कुल ड्रेस लगाएका तीनजना केटी घरमा पसे। बहिनीसित, बहिनीको सासूसित बात गर्दै छिल्लिइरहे उनीहरू । म लेखिरहेको थिएँ। उनीहरू हेर्न आए।
'के गर्नुभाको ? ' एउटीले सोधी ।
'लेखेको', मैले भनेँ, 'सुन्‍ने?'
उनीहरू सुन्‍ने भए। सबैले ताली बजाए र स्कुलतिर दौडिए।
टिफिनको छुट्टीमा एउटीले झ्यालबाट मुन्टो छिराएर भनी, 'कविता लेख्दिनु रे है उसलाई।'
भन्नेले देखाएकोतिर हेरेँ।
'ओइ के भाको हँ, ऐले... गाल नपार है' भन्दै भागी।
त्यसपछि फर्किहाल्ने भनेर गएको म केही दिन बस्ने भएँ। साथीहरू बनाइसकेको थिएँ मैले पनि। सबैभन्दा मिल्ने साथी थियो प्रवीण राई।
बिहानै धारामा पानी भर्न जानुपर्ने। धारामा बिहानै भीड। भीडमा 'पहुनालाई थाप्न देऊ है' भन्ने उही हुन्थी।
प्रवीणले जिस्क्याउँथ्यो।
मलाई पनि लाज लाग्थ्यो। मैले पहिलो प्रेम बिर्सिइसकेको थिएँ। प्रवीणले उक्सायो।
‘लेख् न लेख्', प्रवीणले भन्यो।
'थेत, काँ हौ अब्बुई, होस्', म भन्थेँ।
अठारको थिएँ म । प्रवीणको कुरा मन पर्न थालेको थियो । खासमा मलाई ऊ मन पर्न थालेको थियो । मैले लेखेँ ।
उसले पढी।
'ल हुन्छ रे भन्दिनू', खबर पठाई ।

...

त्यसपछि मलाई कुमाईमात्र जान मन लाग्थ्यो। गइबस्थेँ। भेट्न गाह्रो। उसको दिदीले थाहा पाई। मलाई सोधी, ‘धोका त दिन्नौ होला नि ? ’
मैले टाउको मात्र हल्लाएँ। अनुहार रातो थियो त्यस बेला मेरो।
ऊ आठमा पढ्थी। नौमा पुग्न नपाई स्कुल छोडी ।
मैले कर गरेँ।
‘पढ न, बोरु मो पनि खर्च दिम्ला।'
स्कुल नजाने नै भई। स्कुल आउँदा मसित भेट हुन्थ्यो। नआउँदा म घरैमा जान थालेँ। वल्लो घर पल्लो घर सप्पैले जिस्क्याउने। सप्पैले, 'सोल्टी भन्दाभन्दै अब ज्वाइँ हुने भो केटो' भन्थे।
म घरमा जाँदा आमा सुटुक्क निस्किन्थिन्। आमाले मलाई ज्वाइँ मान्न थालिसकेकी थिइन्। बाबा भएको बेला म जान्नथेँ। पत्रपत्रिकामा कविता छापिन थालेको थियो। त्यहीँ हुँदाहुँदै 'आजभोलि' दैनिकमा मेरो कतिवटा कविता छापिन्थ्यो, त्यो बोकेर आउँथी ऊ।हामी साह्रै माया गथ्र्यौं एकार्कालाई।
खुल्लमखुला प्रेम गथ्र्यौं । हामीबीच कुनै नराम्रो किसिमको सम्बन्ध थिएन। खासमा म सोझो किसिमको केटो थिएँ। पहिलेपहिले म उसको घर जान्थेँ। पछिपछि ऊ मेरो घर आउन थाली। आएर बारीमा आमासित साग रोप्थी। आएर घरमा खाना बनाउँथी। आएर गाईलाई घाँस काट्थी।
अघोषित बुहारी थिई।
एक दिन ऊ आएको दिन घरमा छ्यामा आउनुभयो। सानैदेखि आन्टी भन्थेँ म। साह्रै छुच्ची। आमाले पोल हालिन्। पड्किइन् आन्टी।
आमालाई केटी राम्रो त लाग्थ्यो तर उसको ओठमा जुँगाजस्तो रौं थियो। 'जगेनी बिहे गर्छु भन्छ, मलाई चैं मन परेको छैन', आमाको गुनासो थियो। आन्टीले हपारिन्, ‘उम्रिँदै तीनपातेहरू, हान्छु म कचेटले।'
आन्टी आएको बेला हाम्रो प्रेम तीन वर्षको थियो। आमाको सारमा आन्टी, आन्टीको सारमा बहिनीहरू धुरिन थाले। ठूलो ज्वाइँका आफन्त गाउँमै थिए। ऊ त्यहीँ बसेकी थिई। भोलिपल्टै फर्किने भई। मैले पुर्‍याउने भएँ। ऊ पनि आन्टीसित डराएकी थिई, मजस्तै ।
त्यो रात मैले चिठी लेखेँ।
खासमा म क्रुर प्रेमी थिएँ। मैले कहिल्‍यै उसलाई नराम्ररी देखिँन। विचारमा, मनमा,व्‍यवहारमा सबै कुरा ठीक थियो। ठीक थिएन त उसको ओठका पहेँला रौँ जसलाई मेरो परिवारले 'जुँगा भाको केटी' भन्‍थे। 
भोलिपल्ट आई। झोलामा साग हालिदिएँ। आन्टी माथ्लो घर, आफन्तकहाँ थिइन् । मैले झोला बोकेँ। निस्कियौं फरेस्टको बाटो। खोलामा पुग्यौं। नुहायौं। बोकेको बिस्कुट खायौं। फेरि पनि बाचा गर्‍यौं। नछुट्टिने कसम खायौं। झोला मैले बोकेँ। उसको गाउँको छेउसम्म पुर्‍याएँ। फेरि भेट्ने बाचा गरेँ। झोला उसलाई दिएँ। फर्किएँ म।
म जति उसलाई छोडेर आइरहेको थिएँ, आङ उति नै फुलिरहेको थियो। भयले म छिट्छिटो हिँडिरहेको थिएँ। ऊ ओझेल भएपछि त हाम्फाल्दै कुदेँ। मानौं म कुनै अपराधी हुँ र आफूलाई बचाउन भागिरहेको छु।
एकैछिनमा खोला पुगेँ। घटघटी पानी पिएँ। उसको घर जाने बाटोतिर हेरेँ अनि फेरि उकालो कुदेँ।मलाई जतिसक्दो छिट्टो घर पुग्नु थियो। किनभने मैले त्यतिखेरसम्म उसलाई ब्रेक दिइसकेको थिएँ।
रायोको साग हालेको झोलाको फेदमा मैले चिठी घुसारेको थिएँ।जहाँ लेखेको थिएँ,'मलाई माफ गरिदेऊ। घरमा सप्पैले मलाई गाली गर्‍यो। तिमीलाई मन पराएनन्। म तिमीसित प्रेम गर्न सक्दिनँ। आजदेखि हाम्रो सम्बन्ध छैन।'

...

खासमा म क्रूर प्रेमी थिएँ। मैले कहिल्यै उसलाई नराम्री देखिनँ। विचारमा, मनमा, व्यवहारमा सबै कुरा ठीक थियो। ठक थिएन त उसको ओठका पहेंला रौं जसलाई मेरो परिवारले 'जुँगा भाको केटी' भन्थे। मलाई यसो भनेको पटक्कै मन पर्दैनथ्यो।
कुन्‍नि किन, अचानक म पनि जुँगा भाको केटीलाई बिहे गर्न नसक्ने भएँ।मैले धोका दिएँ। सारा कसम तोडेँ। म स्वार्थी थिएँ। तर त्यस बेला मलाई स्वार्थी भएँ, धोकेबाज भएँ भन्ने पटक्कै लागेन। 
मलाई लाग्यो, बिहे गरेर आउने घरले उसलाई मन पराएन भने उसका लागि पनि राम्रो होइन, मेरो लागि पनि।
अहिले सम्झिन्छु, म खतरनाक स्वार्थी र धोकेबाज थिएँ।
...
पछि सुनेँ, 'त्यो मान्छेलाई म जीवनभर माफ गर्दिनँ' भनी रे।
त्यसपछि कहिल्यै भेटिनँ मैले।


अन्नपूर्णपोष्टमा प्रकाशित

'समाज, समय र किताब नपढ्नेले कविता नै नलेखुन्'


(मनोज बोगटी नेपाली भाषी भारतीय साहित्यकारहरुमा अहिलेको चर्चित नाम हो। समाजबाट टिपिएका विम्ब र प्रतिकहरुले सिंगारेर आगोजस्ता कविता लेख्ने यी उम्दा कवि दार्जिलिङमा रहेर साहित्य सिर्जनामा मग्न छन् । केन्द्रमा नेपाली पहिचान राखेर नेपाली भाषी भारतीयहरुको आवाज बोल्ने यी कवि साहित्य एकेडेमी युवा पुरस्कारबाट पनि सम्मानित छन् । हालै उनको कविता संग्रह काफेर अमेरिका फिनिक्स बुक्सले बजारमा ल्याएको छ । उनै कविसँग पाहुरका लागि लक्ष्मण श्रेष्ठले फेसबुकमार्फत गरेको छलफल यहाँ प्रस्तुत छ । सं.)

लक्ष्मणः दाइ कविता किन लेख्नुहुन्छ ?
·         मनोजः शुरुमा रहरले लेखियो । कवितीय कलाबारे जान्दैगएपछि कविता मानिसको निम्ति लेखियो । कलाले समाजको चेतनालाई प्रवुद्ध पार्न ।

लक्ष्मणः तपाईका कवितामा समयचेत र समाजचेत भेटिन्छ भनेर समिक्षकहरू भन्छन् । तपाको आफ्नै धारणामा, कविताको केन्द्रमा के राख्न रूचाउनुहुन्छ ?
·         मनोजः समीक्षकहरूले कविताको अन्तरले बोलेको कुरा सुनेको हो भने ठिक कुरा देखेको हो । कविताको केन्द्रमा आजको त्यो मानिस जसलाई समयले सम्बोधनमा राख्दैन, उनीहरूको जीवन र त्यो जीवनसित जोडिएको समयलाई नै केन्द्रमा राख्न ठिक लाग्छ ।

लक्ष्मणः मनोजको कवितामा भारतीय नेपालीले खोजेको पहिचानबोध हुन्छ भन्दा फरक पर्छ ?
·         मनोजः पर्दैन । जुन समाजलाई भारतीय संघीय सत्ताले सधैँ फेंदमा राखेको छ,  उनीहरूको पहिचानलाई कविताको मूल स्वर बनाउनु आजका कविहरूको कवितीय धर्म हो ।

लक्ष्मणः तर तपाहरू नेपाली भाषाला नै उन्नति गर्ने इन्द्रबहादुर राहरूसँग असहमति राख्नुहुन्छ रे?
·         मनोजः भाषा उन्नति गर्ने इन्द्रबहादुर राईमा हाम्रो असहमति होइन । तिनको लेखनले दर्शन र आन्दोलन यताको नेपाली समाजमाथि उभेर बोल्दैन । तिनी प्रयोगवादी लेखक हुन् । तिनलाई भारतीय नेपालीको मुद्दासित सरोकार छैन । प्रयोगको निम्ति प्रयोग बेकार कुरा लाग्छ । कलाको निम्ति कला भन्नेहरूले आफू उभेको भुइँ छोडेकोमा हाम्रो विमति हो । तिनीहरूको आन्दोलन भारतीय नेपाली समाजको पीडाबाट होइन पश्चिमी विचारको अनुशरणबाट भएको हो । उत्तराधुनिकतावादी तिनको लेखकीय प्रतिबद्धता लेखनको स्टाइलसित जोडिएको छ, समाजसित होइन । उनीहरू धेरै केही बोले झैँ गर्छन्, केही ठोस भन्दैनन्। ठोस भनिँदैन, भन्न सकिँदैनजस्तो विचारका दासीहरू हुन् उनीहरू। उनीहरू साहित्यलाई रैथाने समाजभन्दा मात्थिबाट व्याख्या गर्छन्। उनीहरूलाई लाग्छ, विश्वको साहित्यिक उक्लाईसितै अघि गइरहेछ नेपाली साहित्य। तर वास्तवमा सधैँ फेदमा नै हुन्छ। नेपाली साहित्यमा पोष्टमर्डनिज्मको कुरा गरेर उनीहरू विचार ल्याउने ब्रोकर बन्न सक्छन्, राइटर होइन। विश्व जतै पुगोस्, ज्ञानको, दर्शनको सिद्धान्त जतै पुगोस्, म उनीहरूलाई होइन समाजलाई नै पछ्याउँछु लेखनमा। उनीहरू प्रभावित समाजलाई केवल लेख्छन्, हामी त्यो प्रभावको मूल स्रोत छुट्याएर त्यसमाथि हस्तक्षेप गर्छौँ।
जुन समाजले तिनले लेख्ने भाषा बोल्छ, त्यो भाषाको उन्नति चाँही गर्ने तर समाजको उन्नतिको निम्ति गर्नुपर्ने लेखकीय प्रतिवद्धताप्रति चाँही आँखा चिम्लिने तिनको लेखनीसित हामीले चासो नराखेको हो । यसलाई इन्द्रबहादुर राईसित हाम्रो विमति देख्छन् भने हामीलाई आपत्ति पनि छैन।

लक्ष्मणः अर्थात लेखकको प्रतिबध्दता समाजसित जोडिनुपर्छ भन्ने तपाईंको धारणा हो ?
·         मनोजः जुन समाज भारतीय भाषिक विविधताविच खुम्चिन्छ, जुन समाजको पहिचान नै छैन, उसको भाषामा लेखिने साहित्य समाजसित नजोडिए, त्यो समाजको निम्ति त्यो साहित्यको के अर्थ ? यो प्रतिबद्धता इन्द्रबहादुर राईले बङ्गालको सीपीएम सरकारसित जोडेर हेरेजस्तो होइन । लेखकीय प्रतिबद्धता समाजसितै जोडिनुपर्छ । भारतमा सरकारी मान्यताप्राप्त भाषा मात्र २४ वटा हो, ती भाषासम्म हाम्रो साहित्य नपुग्नुको कारण खोज्दै जाँदा पश्चिमी विचारका दासहरूको चटक र यो चटकलाई अनुवाद गर्न नसक्नु हो भन्ने निर्णयमा पुग्छु म । ती भाषाहरूमा नपुगी भारतीय साहित्यको केन्द्रमा भारतीय नेपाली साहित्यले डिस्कोर्ष ल्याउन सक्दैन । पक्कै पनि साहित्य जादू देखाउने मसाला होइन । उनीहरूले भारतीय नेपाली साहित्यको केन्द्र नेपाली साहित्य’-लाई बनाए जब कि हुनुपर्थ्यो भारतीय साहित्य

लक्ष्मणः अर्थात ती भाषामा नेपाली भाषहरूको साहित्य पनि पढिनुपर्छ, पढाइनुपर्छ ?
·         मनोजः अघि पनि भने, जस्तो कि तेस्रो आयाम र लीला लेखनहरू अरू भाषामा गएको भए उत्तराधुनिकता र विनिर्माणहरू जान्थ्यो, भारतीय नेपाली समय र समाजले आग्रह गरेको कुरा जाँदैन थियो । भारतकै अन्य भाषासम्म नजानुमा भारतीय नेपाली साहित्यमा भारतीय नेपाली समाजबाट गुदीनभरेकोले नै हो । उनीहरू खोस्टा, बोक्रा, रूप, फर्मतिर नै अल्झिए अनि विश्व साहित्यको हाराहारिमा केही गतिलो काम भयो भन्ने भ्रम(लीला)मा भुले । भारतलाई नेपाली साहित्य पढाउने काम भएन।

लक्ष्मणः तपाले भनेजस्तो अरु भाषामा जान नसक्नुको कारण के होला ?
·         मनोजः पश्चिमी विचारको प्रवाह स्रोतमा उनीहरूले पूर्वीय दर्शन मिसाएर नौलो काम गरेको हाँक नदिइबसेको भए अनि समाजलाई टिपेर हिँडेको भए हाम्रो कुरा ती जम्मै भाषामा जान सक्थ्यो । त्यो उनीहरूको निम्ति नयाँ कुरा हुन्थ्यो । बाहिरबाट ल्याइएका विचार गुदीमा राखिएकोले नै अनुवादहरू भएनन् भन्ने किटान छ मेरो त । यताका लेखकहरूले लगत ठाउँलाई केन्द्र मान्नु गल्ती भयो। शुरुदेखि नै भारतीय साहित्यलाई केन्द्र बनाउने काम गरिएको भए सबैभन्दा ठूलो दायित्व अनुवादको हुन्थ्यो तर नेपाली भाषा (नेपाललाई केन्द्र)लाई मात्र केन्द्र बनाउने जुक्तिले काम बिग्रिएको हो भन्ने मेरो अध्ययन छ।

लक्ष्मणः अर्थात सामाजिक आधार कमजोर हुनु नी आइबी राहरूको मुख्य कमजोरी थियो ? नेपाली भूगोलभित्रकै साहित्यमा पनि लीलालेखनको ठूलो प्रभाव देखिन्छ । तपाइला के लाग्छ के उनीहरू पनि राकै समाजविमुख पथमै छन् ?
·         मनोजः देशमा परेको सङ्कट, समुदाय, ससाना भाषा र भाषीहरूमा परेको पहिचानको सङ्कटदेखि लिएर देशीय विचार र अर्थनीतिमा परेको सङ्कटलाई एउटा लीला मात्र हो भन्ने विचारको पथानुसरण गर्नु दुर्भाग्य थियो  । लीलाले विभिन्न ज्ञानुशासनका सन्दर्भहरूलाई जोडेर आयाम लेखनमा लागेको आक्षेपबाट बँच्ने उपाय गरेको भए पनि अन्तमा यथास्थितिवादी विचारलाई नै पश्रय दिने लेखन थियो । इन्द्रबहादुर राईको लीला लेखनलाई तिनका फलोवरहरूले पुरै संसोधन गरेर लेखनमा ल्याइसकेका हुन् । अचेलका लीलावादीहरूले समाज सरोकारलाई पनि विशेष प्रथमिकता दिइरहेकै लागेको हो ।

लक्ष्मणः मैले थोरै मोडें, नेपाली भारतीय समाजसँग त्यहींका साहित्यकारले गाँस्नैपर्ने प्रतिबद्धता के हुन् ? त्यो भाषिक पहिचानमै सिमित छ वा पहिचानका पनि बेग्लै स्वर छन् ?
·         मनोजः  भारतमा नेपाली भाषा पनि एउटा केन्द्र हो । तर त्यो भाषामा लेखिने साहित्य भारतीय साहित्यमा केन्द्र बनेको छैन । अब पहिलो भारतमा नै नेपाली साहित्यलाई उभ्याउने र यसको सौन्दर्य पढाउने काम गर्नु नै लेखकीय प्रतिबद्धतासित जोडिने सवाल हो । त्यसो गर्न भारतीय नेपाली समाजबाट नै भारतीय नेपालीसाहित्यको सौन्दर्य टिप्नु पर्यो। यसको निम्ति प्रतिबद्धता चाहिन्छ। प्रतिबद्धता भनेको चेतना हो। आफ्नै घर, समाज, समय, देशले दिने चेतना। भारतमा नेपाली समाज देखाउन, भाषिक, साँस्कृतिक, अर्थनैतिक, राजनैतिक मूल्यहरूमा परेको विविधता देखाइन पर्यो। लेखकीय विचार आफ्नै माटोमा उम्रिन पर्यो।

लक्ष्मणः मैले सुनेको थिएँ साहित्य एकेडेमी पुरस्कार पाउँदा वितरणा समारोहमा तपाइलाइ नेपाली कवि भनेर बोलाइयो । त्यसको तपाइले प्रतिवाद गर्दै म नेपाली होइन नेपाली भाषी भारतीय हुँ भन्नुभो रे । के फरक छ, एक नेपाली कवि हुनु र नेपाली भाषी भारतीय कवि हुनुमा ?
·         मनोजः यो घटना पुरस्कारको बेला होइन, अकादमीको एउटा गोष्ठीको हो । म भारतीय नागरिक कवि हुँ, तर भाषा नेपाली । हाम्रो भाषा नेपाली हो राष्ट्रियता होइन । म भारतीय कविलाई नेपालको कवि भनेर बोलाउनुले नेपाली भाषालाई लिएर केन्द्रिय तह भ्रममा छ भन्ने बुझ्नु सहयोग गर्छ। नेपाली बोल्ने बित्तिकै नेपालको हो भन्ने कुरा हामीलाई मात्र लागू हुन्छ, बङ्गला बोल्ने बित्तिकै बङ्गला देश सम्झिन्न फेरि, पश्चिम बङ्गाल नै सम्झिन्छन्। यसैमा मेरो हस्तक्षेप थियो । हामीलाई नेपाली बोलेको कारणले नै विदेशी भनिन्छ, अथवा नेपालको नागरिक । जुन भाषालाई भारतीय भाषा हो भनेर भारतको संविधानले मान्यता दिइसकेको छ । दिल्लीलाई के लाग्छ भने नेपाल भन्ने देश भारतमा छ । यसले हाम्रो पहिचानको सवाललाई स्पष्ट पार्छ । नेपाललाई पार्छ कि पार्दैन कुन्नि? हामी भारतीय नेपालीलाई नेपालको नेपाली बुझ्नु हुँदैन, यसले हाम्रो अस्तित्व र पहिचानको सवालमा ठूलो अर्थ राख्छ ।

लक्ष्मणः निश्चय नै । म फेरी पहिचानको मुद्दामा फर्कएँ । अहिले नेपालमा पनि यो मुद्दा पेचिलो बनिरहेछ । तपाइलाइ कस्तो लाग्छ दार्जिलिंग शहरमा चिल्लो कारमा गुड्ने धनाढ्य नेपाली र तपाइको एक कवितामा भनिएझैं भान्साघर नै स्कुल, स्कुल नै भान्साघर हुने नेपाली दुवैलाइ एउटै पहिचान शब्दले सम्बोधन गर्न सक्छ ?
·         मनोजः धनि नेपालीको पहिचान हुने र गरिबको नहुने सम्बन्धको पहिचानको कुरा निश्चय पनि हामीले गरिरहेका छैनौं । नेपालीमा उठेको पहिचानको मुद्दा त्यहाँको इथ्निक, भाषिक, जातिक, र सास्कृतिक मूल्यको सवालबाट नै उठेको होला । दार्जीलिङ शहरमा चिल्लो कारमा कुद्नेहरूको संख्या कति नै पो छन् ?  दिल्लीको चिल्लो सडकमा कुद्नेहरूको तुलनामा।  यता दार्जीलिङमा धनी गरिब नेपाली भाषीको जनसंख्याको हिसाब लगाएर पहिचानको मुद्दालाई अर्थ दिन सकिन्न, परिभाषित गर्न सकिन्न । यो यता पनि जातिक, भाषिक र सास्कृतिक मूल्यवाट नै सम्बोधन गरिनुपर्ने मुद्धा हो ।

लक्ष्मणः अब थोरै शैलीको कुरा गरौं । तपाइ, राजा पुनियानी, टिका भाइ जस्ता कविहरू अहिले नेपाली भाषाी भारतीय साहित्यमा उम्दा कविको रूपमा चिनिनहुन्छ । तपाइहरूले शैलीमा ल्याएको फरकपन के हो जस्तो लाग्छ ?
·         मनोजः मेरो समाजले बुझ्नसक्ने भाषाबाट कलालाई उनीहरूको प्रयोजन र सरोकारमैत्री पार्ने हाम्रो शैली हो । विदेशबाट मिथ टिपेर पण्डित्याँर्ई देखाउने लेखक समाजले साहित्यबाट समाजलाई पर पारेको छ, हामी वर तान्ने शैली मन पराउँछौं । मिथ अब हामीसितै पर्याप्त छन्। बाहिरबाट ल्याउन पर्दैन।  बट्टारेको भाषाले, केन्द्रिय विचार र अन्तरपाठ फोक्से तर रुप र डिजाइन चाँही कलाले कुद्नसम्म कुँदेका साहित्य भारतीय नेपाली समाजको मनोविज्ञान वा समाजविज्ञान नविचारी, रतिको लागि, आनन्दको लागि, केवल कलाको लागि धेरै यता लेखियो, अब कवितालाई जनमुखी बनाउने वाग्धारा, शैली, प्रस्तुतितिर विचार पु¥याउँदै गरेको पुस्ता छ ।

लक्ष्मणः तपाइ आफ्नै कविता रचना प्रक्रियाको कुरा गरौं । कतिबेला कवित लेख्नुहुन्छ वा मुड पर्खिनपर्छ ? मनोज बोगटीलाइ कविता लेख्न उद्वेलित केले गर्छ ?
·         मनोजः समय, समाज र घटनाले नै आग्रह गर्छ। समाजको अध्ययन गर्दै जाँदा, जहाँ बोल्नुपर्ने हो लाग्छ, त्यो खाली ठाउँले कविताको रूप मागेको हो लाग्छ । मानिसको सत्तामा, उसको अधिकारमा, हकमा, दुःखमा, सुखमा देखिएको सङ्कटले उद्वेलित गर्छ, जस्तो कि भान्साघरको स्कूल कविता लेख्दा सरकारी योजनाहरू अभिभावकलाई आफ्नो नानीहरूलाई अन्डा र भात खुवाउने क्षमतानिर्माणको निम्ति तयार नगरेर भोका गरिबहरूलाई भातको लोभ देखाएर अक्षर सिकाउँछु भन्नु खतरनाक विचार हो। गरीबलाई सधैँ गरीबकोरूपमा व्याख्या गर्नु हो।  स्कूलस्कूलमा भात खुवाउने नीति, गरिबहरूलाई हेपेर बनाइएको योजना हो भन्ने ज्ञानले आग्रह गरेपछि लेखियो । यस्तो केही आग्रहहरूले लेख्छु कविता ।

लक्ष्मणः सायद चर्चित कविता काफेर अमेरिकाको पछाडि विकिलिक्स र आसन्जको घटनाक्रम थियो होला है ?
·         मनोजः ती लगायत, त्यहाँ र विश्वका नागरिकहरूको व्यक्तिसत्ता, अधिकार, सुरक्षा, मानवाधिकारको सवालमा गरिएको केन्द्रियशक्तिको चलखेल र हस्तक्षेप, समाजिक, अर्थनैतिक र अन्य संयन्त्रको क्षेत्रमा देखिएको साम्राज्यवादी चलखेलको सवाल पनि छ । शक्तिकेन्द्र सधैँ शक्तिशाली हुँदैन, वास्तवमा त्यसको आधार कमजोर हुन्छ। कसैलाई मारेर नै आफू बाच्न सकिन्छ भन्ने विचारप्रति विरोधछ। प्रतिरोधी चेत छ, काफरे अमेरिकामा।

लक्ष्मणः तपाइ कवितालाइ चाहिने विम्ब र प्रतिकहरू कहाँबाट खोज्नुहुन्छ ?
·         मनोजः जतैबाट पनि, कविताको अन्तरपाठले बोल्न जुन जुन विम्ब माग्छ, प्रतिक माग्छ जहाँबाट माग्छ, खोजिन्छ। विम्ब, प्रतिक भन्ने कुरा त कविताले बोल्ने भाषा, जसले सुन्नुपर्ने हुन्छ, उसले सुन्न बुझ्न सक्ने र कलात्मक बनाउन चाहिने कुरा न हो ।

लक्ष्मणः समाजप्रति प्रतिबद्ध र अप्रतिबद्ध कविले गर्ने सौन्दर्यबोधमा के फरक हुन्छ ?
·         मनोजः सौन्दर्यबोध समाजबाट लिएको कवि समाजप्रति चिन्तित हुन्छ, उ सधैँ जनवादी हुन्छ। त्यसरी नलिएको कवि कलाप्रति चिन्तित हुन्छ, उ सधैँ कलावादी हुन्छ । कला विचारलाई सम्प्रेषणीय बनाउने माध्यम मात्र हो ।

लक्ष्मणः हामीलाइ बताइदिनोस् न नेपाली भाषाी भारतीय साहित्यको अहिलेको सबैभन्दा सकारात्मक पक्ष के हो ? सबैभन्दा चुनौती कहाँ छ ? के मा छ ?
·         मनोजः भारतीय नेपाली साहित्यको अहिलेको सकारात्मक पक्ष अधिकांश लेखकीय चेतना जनमुखी बन्दैछ । यसलाई विथोल्ने शक्ति पनि साहित्यिक समाजमा नै घुस्रिएकोले यो चेतनाको संरक्षणको सवालमा चुनौतिहरू देखापरिरहेका छन् । शाषक र शाषित एकै ठाउँ राखेर साहित्यलाई ग्रहण गर्ने घातक चेतना अबका हस्तक्षेपीहरूको निम्ति चुनौति हो । यो घरि समावेसीरूपमा आउँछ घरि यथास्थितिबोधीरूपमा। सहीँ बढी सचेत छौं।

लक्ष्मणः मलाइ लाग्छ तपाइसँग अझै धेरै विषयमा छलफल गर्न बाँकी छ । अन्त्यमा, कवितामा भर्खरै लागेको एक सिकारू कविले ध्यान दिनैपर्ने के कुरा हुन् ? भनिदिनुस न ।
·         मनोजः १९९६ मा घर फर्कनलाईशीर्षकमा मैले पहिलो कविता लेखेको थिएँ, त्यो पारि भुटानबाट खोदिएका नेपालीहरूको भूमि फर्काइको सपनाले, आग्रहले लेखियो । मनको जेसुकै कुरा लेख्नु कविता होइन । लेख्दैगरेकाले समाज र किताबको अध्ययनले कवितालाई तिखारुन् । यसो गर्न नसक्नेले कवितै नलेखुन् । समाज, समय र किताब कविको सबैभन्दा सशक्त हतियार हो ।